आत्मदाहको साटो माधवी
आत्मदाह गरेर शासकहरूको मन फेर्ने कुरा भावनात्मक बढी र वस्तुनिष्ठ कम हुने ठानेँ ।
नगेन्द्रप्रसाद रिजाल नेतृत्वको सरकारले ६ भदौ ०३२ मा ‘ मन्त्रिपरिषद्को निर्णय अनुसार आजको मितिदेखि तपाईंको सम्पादन र प्रकाशनमा रहेको पत्रिका समीक्षामाथि प्रतिबन्ध लगाइएको छ’ भन्ने बेहोराको पुर्जी पठायो । त्यसरी प्रतिबन्धित हुनेमा समीक्षा, राष्ट्र पुकारलगायत सातवटा पत्रिका थिए । सञ्चार राज्यमन्त्री राधाप्रसाद घिमिरे थिए तर यो काम पञ्चायती संविधानको दोस्रो संशोधननिम्ति पूर्वतयारीका रूपमा तुलसी गिरीले पर्दापछाडिबाट गरेका हुन् भनेर बुझ्न गाह्रो थिएन ।
मंसिर ०३२ मा मन्त्रिपरिषद् परिवर्तनसँगै गिरी प्रधानमन्त्री भए भने जोगमेहर श्रेष्ठ सञ्चारमन्त्री । गिरीसँग पुरानो चिनजान र सम्पर्क थियो । प्रधानमन्त्री भएपछि उनलाई पत्रिका प्रतिबन्धित भएका बारे त्रिपुरेश्वरस्थित एक नम्बर गेस्ट हाउसमा भेटी कुराकानी गरेँ । तर, उनले दरबारबाटै चालिएको कदम भएकाले यसमा आफूले केही गर्न नसक्ने भन्दै पन्छाइदिए । भने, “तपाईंको पत्रिका छुने मेरो के साहस ?”
दरबारका प्रमुख संवाद सचिव चिरनशमशेर थापाको नक्साल, भगवतीबहालस्थित घरमै गएर आफ्ना कुरा राखेँ । उनले ‘मुलुकको झन्डै पौने दुई करोड जनसंख्यामा तपाईं एक व्यक्तिप्रति राजाको कुनै द्वैष छ भन्ने मलाई लाग्दैन’ भन्दै प्रधानमन्त्री तहमै कुरा गरेर सल्टाउन सुझाव दिए । दरबारले प्रधानमन्त्रीलाई देखाउने र प्रधानमन्त्रीले दरबारलाई देखाउने प्रक्रिया तीनपटकसम्म चलिरह्यो । तर, पत्रिकामाथिको प्रतिबन्ध भने फुकुवा हुने लक्षण देखिएन ।
०३३ मा संविधानमा दोस्रो संशोधनसँगै प्रधानमन्त्री गिरीले मन्त्रिपरिषद्मा फेरबदल गरे । सञ्चारमन्त्रीको जिम्मेवारी रवीन्द्रनाथ शर्मालाई सुम्पिए । त्यस मन्त्रिपरिषद्ले समीक्षा र राष्ट्र पुकारबाहेक पाँच पत्रिकामाथिको प्रतिबन्ध फुकुवा गर्यो । शर्मा मेरो नजिकका नातेदार पनि भएकाले उनले अवश्य सघाउँछन् भन्ने आश थियो । उनले त उल्टै ‘रवीन्द्रनाथ शर्माले यसो गरेनन्, उसो गरेनन् भनेर आफूलाई गाली गरेर दरबारमा बिन्तीपत्र दिन’ पो सुझाए । उनको उद्देश्य बुझेपछि चुप लाग्नुसिवाय अर्को बाटो देखिनँ ।
हजार कोसिस गर्दा पनि पत्रिकामाथिको प्रतिबन्ध फुकुवा गर्न सकिएन । क्रोध र नैराश्य झन्झन् चुलिँदै म त एक किसिमले बौलाहाजस्तो बन्न पुगेँ । समीक्षामाथि प्रतिबन्ध लागेको दुई वर्ष बितिसकेको थियो । उता सरकार भने दलविहीन पञ्चायती प्रजातन्त्र भनेर चिच्याउन छाडेको थिएन । राजाप्रति यति क्रोध उत्पन्न भयो कि नारायणहिटी दरबारको दक्षिणतर्फको ट्राफिक बिटमा उभिएर आफ्नो शरीरमा पेट्रोल छर्किएर ‘लौ राजा ! तिम्रो पञ्चायती प्रजातन्त्रको रूप हेर’ भन्दै आत्मदाह गर्ने निर्णयमा पुगेँ । त्यसका लागि १ पुस ०३४ को दिन रोज्ने मन:स्थिति बनाएँ । त्यतिबेला दक्षिण भियतनाममा अमेरिकी सैनिक हस्तक्षेपविरुद्ध र श्रीलंकामा प्रजातन्त्रको सवाललाई लिएर कतिपय बौद्ध भिक्षुले स्वतन्त्रताको पक्षमा आत्मदाह गरिरहेका थिए । सायद ती घटनाले पनि मलाई प्रभावित पारेको हुन सक्छ ।
१ पुसको बिहान एकाएक मन फेरियो । आत्मदाह गरेर शासकहरूको मन फेर्ने कुरा भावनात्मक बढी र वस्तुनिष्ठ कम हुने ठानेँ । मेराविरुद्ध अन्याय गर्ने नगेन्द्रप्रसाद रिजाल र राधाप्रसाद घिमिरे । अनि, उनीहरूको अपराधबापत आत्मदाह गरेर सजायचाहिँ मैले आफैँले भोग्नू ? मैले आफैँसँग प्रश्न गरेँ र आफैँमाथि अन्याय हुने ठानेँ । मनमनै तर्कवितर्क भए । र, अन्त्यमा आफैँलाई भनेँ, ‘ उनीहरूले मेरो अखबार पो बन्द गराएका छन् । मेरो कलमै खोस्न र भाँच्न त सकेका छैनन् नि !’
पत्रिकामाथि प्रतिबन्ध लगाएपछि १० भदौ ०३२ देखि नै मेरी नीलिमा लेख्न सुरु गरेको थिएँ । त्यसको केही समयपछि नल–दमयन्तीको कथामा आधारित रहेर अर्को एउटा वैदिककालीन उपन्यास लेख्ने जमर्को गरिरहेको थिएँ । यत्तिकैमा जनकपुरका मेरा मित्र रामजीप्रसाद उपाध्याय मेरो घरमै आएर महाभारतको उद्योग पर्वमा रहेको माधवी र गालवको कथालाई नेपाली परिवेश अनुकूल उतार्न सके त्यो नेपाली साहित्यको क्षेत्रमा एउटा कोसेढुंगा साबित हुने बताए । उनको कुरा मलाई पनि चित्त बुझ्यो ।
एकाएक कहाँबाट त्यस्तो मनोबल आयो कुन्नि ! मैले १ पुस ०३४ का दिन आत्मदाह होइन, आजसम्म नेपाली वाङ्मयमा नलेखिएको र हत्तपत्त कसैले लेख्ने आँट नगर्ने नेपाली बौद्धिक समाजको विचारलाई हल्लाउन सक्ने कृति लेखेर देखाउँछु भन्ने अठोट लिएँ । र, कलम चोबेँ । ‘के गुरु दक्षिणा दिऊँ गुरुदेव भनी गालबले सोधे...’ वाक्यबाट भयो मेरो नयाँ कृतिको आरम्भ । त्यो कृति थियो, माधवी ।
६ पटक पुन:लेखन गरेँ । त्यसपछिका करिब ३४ वर्षमा ९० पटक मैले त्यो उपन्यास पढेँ । र, अहिले पनि समय मिल्दा त्यही पढेर बस्छु । उपन्यासका गालब र माधवीसँग मात्र होइन, हरेक कथा र पात्रसँग म आफैँ एकाकार भएको पाउँछु । ०३९ सालको मदन पुरस्कार प्राप्त त्यस पाण्डुलिपिका झन्डै पाँच सय पृष्ठ मेरा आँसुले भिजेका थिए । मलाई गर्व छ, मेरो अखबार बन्द गर्ने पञ्चायती शासकहरूलाई माथिल्लो र चिरस्थायी किसिमको कृति लेखेर एक झापड हानेँ । त्यस कृतिको उचाइ र सफलताले जीवनमा मलाई अनुपम उत्साह मात्र होइन, अमनचैन र शान्ति पनि दिएको छ ।
प्रस्तुतिः ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...