कोरियामा नेपाली
वि सं २०७३ । ३ देखि १९ वैशाखसम्मको यात्रा थियो कोरियाको । ०५२ सालमा मैले उत्तर कोरियाको भ्रमण गरेको थिएँ । उत्तर कोरियालीहरूमा दुई कोरियाबीच एकीकरण हुन्छ भन्ने जब्बर विश्वास भेटेको थिएँ मैले उतिबेला ।
वि सं २०७३ । ३ देखि १९ वैशाखसम्मको यात्रा थियो कोरियाको । ०५२ सालमा मैले उत्तर कोरियाको भ्रमण गरेको थिएँ । उत्तर कोरियालीहरूमा दुई कोरियाबीच एकीकरण हुन्छ भन्ने जब्बर विश्वास भेटेको थिएँ मैले उतिबेला ।
‘अमेरिकी साम्राज्यवादले हामी दाजुभाइ–दिदीबहिनीबीच कृत्रिम सीमारेखा कोरिदिएको छ । त्यो मेटिनु अनिवार्य छ । त्यसैले हामी अमेरिकी साम्राज्यवादको विनाश चाहन्छौँ । साम्राज्यवादीहरू हाम्रो विनाश चाहन्छन् । दक्षिणका दाजुभाइ–दिदीबहिनी साम्राज्यवादको जाँतोमा पिसिएका छन् । हामी अमेरिकाको आक्रमण, षड्यन्त्र र दुष्प्रचारको सिकार भएका छौँ । तर, अन्त्यमा अमेरिका यहाँबाट भाग्नेछ र हामी एक हुनेछौँ ।’
त्यसको २० वर्षपछि मैले दक्षिण कोरियामा पाइलो टेक्न पाएँ । तर, दक्षिण कोरियामा पनि मैले उत्तर र दक्षिण भेटिनँ । यहाँसम्म कि अमेरिकाले बलात् कोरिदिएको ३८औँ समानान्तर सीमारेखा पनि दुवैतिरको भित्तामा झुन्ड्याइएका कोरियाली मानचित्रसमेत देख्न पाइनँ ।
दक्षिण कोरियामा नेपालीहरू धेरै छन् । यकिन संख्या भन्न किन गाह्रो हुन्छ भने त्यहाँ गैरकानुनी ढंगले बसेकाहरू सरकारी तथ्यांकभन्दा बाहिर हुन्छन् । त्यो ‘इलिगल’ भनिने संख्या पनि सानो छैन भन्ने मलाई लाग्छ किनभने ‘इलिगल’ आतंक चलेका बेला म कोरिया पुगेको थिएँ ।
कोरियामा विभिन्न कारणले मैले यात्रा डायरी राख्न पनि सकिनँ । अति व्यस्त थियो मेरो यात्रा । यति व्यस्त कि मैले मेरो आफ्नो भानिज र भतिजसँग भेट्ने समय पनि निकाल्न सकिनँ । खुब दौडिइयो एउटा भ्यानमा पश्चिम–दक्षिणको सिमानादेखि राजधानी सोलसम्म । त्यसैले मैले भेटेका दर्जनभन्दा बढी मित्रको नाम अहिले मैले सम्झिन सकिनँ । यति हुँदाहुँदै पनि कोरियामा कसरी बसेका रहेछन् नेपाली भन्ने जानकारी दिन मैले यो संस्मरण लेखेको हुँ ।
कोरियामा उत्रिएको रात हामी चारै जना म, डोलिन्द्रप्रसाद शर्मा, लाला गुरुङ र बीके कलाकार बुद्धि गुरुङको आवासमा पुग्यौँ । नेपाली चेली मञ्जु गुरुङले हामीलाई त्यहाँ लगेकी थिइन् । राजधानी सहर सोल र अन्तर्राष्ट्रिय विमानस्थल इन्चोङको बीचमा पर्ने सउनमा व्यवसाय गरेर बस्नु हुँदो रहेछ बुद्धि गुरुङ ।
मञ्जुले आफ्नो समस्या राख्नेबित्तिकै बुद्धि भाइले भन्नुभयो, ‘बेकारमा किन मोटेलमा बस्ने ? मेरो घरमा एउटा कोठा खाली नै छ । बहिनीहरू नेपाल गएका छन् । उनीहरू १० दिनपछि मात्र आउँछन् । जति मन लाग्छ ढुक्कले बस्नूस् । हामी यही रेस्टुराँमा खान्छौँ । सँगै खाउँला । दिउँसो आ–आफ्नो काममा लागौँला । बेलुका फेरि यहीँ जुटौँला । सरहरूलाई मेरो प्रस्ताव स्वीकार्य हुन्छ भने ।’
ढुंगा खोज्दा देउता भेटेजस्तो भएको थियो हामीलाई । हामी चारै जनालाई । किनभने, किमको व्यवस्थापनमा यसरी ढुक्कले बस्ने योजना थिएन । सायदै कतै दुई रात एउटै मोटेलमा सुतिन्थ्यो होला ।
रहँदा बस्ता मञ्जुको भविष्यबारे धेरै चिन्ता गर्नुहुँदो रहेछ बुद्धि भाइ भन्ने मलाई थाहा भयो । त्यो स्वाभाविक पनि थियो । मञ्जुले कमाइ हुने खालको कुनै काम गरेकी थिइनन् । उनका बूढा किमको पनि स्थायी प्रकृतिको कुनै काम रहेनछ । किम सामाजिक सेवा गर्ने । पत्नीलाई पनि त्यतै लगाउन खोज्ने । बुद्धि भाइको चिन्ता यसैमा रहेछ ।
‘किमलाई त काम नगरी पनि खान पुग्ला । जे भए नि उनी कोरियाली हुन् । तर, भोलि कथम्कदाचित केही भयो भने यो नेपाली चेलीको कुन दुर्दशा होला !’
बुद्धि भाइको चिन्ता जायज लाग्यो मलाई । तर, किमकै सौजन्यमा घुम्न गएका हामीले केही भन्ने कुरो आएन । रुम्जाटारमा जन्मिएकी र आमासँगै दार्जीलिङको नक्सलबारी पुगेकी मञ्जुप्रति मेरो पनि सद्भाव जाग्यो । त्यसैले विमानस्थलमा बिदाइका बेलामा मञ्जुले, ‘दाइ, नराम्रो जति यतै छोडिदिनु होला, राम्रो मात्रै बोकेर जानूस् है’ भन्दै बिदा माग्न खोजेपछि त्यो स्नेह झन् बढ्यो । हामी दुई मात्र सँगै उभिएका थियौँ त्यतिबेला त्यो बिदाइ कक्षमा । त्यसबेला चाहिँ मैले भनेँ, ‘बैनी † आफ्नो भविष्यबारे पनि सोच्नु है † बुद्धिजीले चेलीको चिन्ता गर्दै हुनुहुन्थ्यो ।’
बुद्धि भाइ साउनमा स्थापित नेपाली व्यवसायी हुनुहुँदो रहेछ । उहाँमार्फत मैले अरू पाँच जना नेपाली व्यवसायीसँग भेटेको थिएँ । ती पाँचै नाम, अहिले मेरो संख्यामा मात्र सीमित छन् । मूल व्यवसाय रेस्टुराँ र मोटल रहेछ बुद्धि भाइको । नेपाल फर्किने र देशमै केही उद्यम गर्ने उहाँको सोच रहेछ । मसँग सोधपुछ गर्नुभएको थियो । नेपाल आएपछि एकचोटि बसेरै सल्लाह गरौँ भनी बिदा लिएको थिएँ मैले । यद्यपि, कोरियामा राम्ररी ‘सेटल’ भएका, दु:खसुख दुवै भोगेका बुद्धि गुरुङ नेपाल फर्किएलान् भन्ने विश्वास धेरैमा रहेनछ ।
अर्को व्यवसायी हुनुहुन्थ्यो, लक्ष्मण बोगटी । थालनी त उहाँको पनि रेस्टुराँ व्यवसाय नै रहेछ । तर, पछिल्लो कालमा उहाँले कपडा व्यवसाय पनि थाल्नु भएछ । मैले सोधेँ, ‘यता व्यवसाय त फस्टाएको होला । नेपालमा यस्तै व्यवसाय थाल्ने सोच पाल्नुभएको छैन भाइ ?’
‘नेपालमा भर्खर आरम्भ गरेका छौँ बिक्री पसलका रूपमा । यहाँको आफ्नो उत्पादन सीधै नेपाल पुर्याउने उद्देश्यले उता पसल खोलिएको हो ।’उहाँले नेपालको नयाँ सडकको पसलको ठेगाना पनि दिनुभएको थियो । पसलमा पुग्नुपर्ने काम आइनपरेको हुनाले अहिलेसम्म म त्यता लागेको छैन ।
तर, मैले धन्यवाद दिएँ लक्ष्मण भाइलाई । ‘कोरियाली ब्ल्याङ्केट’ भनी हाम्रोतिर नामांकित सिरकमा नेपाली उद्यमीको उत्पादनको पनि हिस्सा रहेछ भन्ने थाहा पाएपछि ।
यी नेपालीका सफलताका कुरा भए । सफलता यत्तिमै सीमित छैन । ख्वाङ्जु यात्राका क्रममा एक जना रेस्टुराँ व्यवसायी भाइको आतिथ्य ग्रहण गरेका थियौँ हामीले । उहाँहरूको पनि रेस्टुराँको चेन नै रहेछ । पछिल्ला दुई दिन पनि हामीले आनचानमा व्यवसाय गरी बस्ने डोलिन्द्र भाइका भानिज, गणेश रिजालको रेस्टुराँमा खाना खाएका थियौँ । गणेशका पनि दुइटा रेस्टुराँ रहेछन् । त्यहीँ डोलिन्द्रको भतिज बुद्धि पौडेलसँग पनि भेट भएको थियो हाम्रो । दिक्क मान्नुभएको थियो डोलिन्द्र भाइ, आफ्नो भतिजाले प्रगति नगरेको देखेर । भतिज झन्डैझन्डै अल्कोहलिक पनि भइसकेका रहेछन् । काका बाउको धर्म निर्वाह गर्दै डोलिन्द्र भाइले अर्ति–बुद्धि त दिनुभयो नै । मैले पनि त्यो बुद्धि लागोस् भनेर शुभेच्छा जाहेर गरेँ । मेरै भतिज काजी नेपाल पनि आइपुगेको थियो अन्तिम साँझको खाना सँगै खान । ऊ पनि आफ्नो कामसँग सन्तुष्ट थियो ।
यी भए सुख र दु:ख मिसिएका कुरा । युरोप, अमेरिका, अस्ट्रेलिया र जापानपछिको मन पर्ने मुलुक हो कोरिया, वैदेशिक रोजगारीमा । नेपालमा पनि ईपीएस बुझेको थिइनँ, शाब्दिक अर्थको रूपमा मैले । कोरियामा पनि त्यसलाई बुझ्न सकिनँ र बुझ्ने इच्छा पनि गरिनँ । ईपीएसको नाम जति सम्मानका साथ लिइन्छ नेपालमा, त्यत्ति नै कष्टकर हुँदो रहेछ त्यो कोरियामा । ईपीएसमा जाने भनेको मूलत: कृषि मजदुरको काम रहेछ । ईपीएसमार्फत कारखानाको काम भने यदाकदा मात्र रहेछ । कोरियाली भाषा परीक्षा पास गर्नैपर्ने विशेष कारण यही कृषि क्षेत्रको काम रहेछ । ईपीएसमा जानेहरूको कर्मक्षेत्र कृषि हुने हुनाले, कृषिक्षेत्र भन्नेबित्तिकै त्यो गाउँ हुनाले, स्थानीयहरूसँग सम्बन्ध राख्न उनीहरूको भाषा नबोली नहुँदो रहेछ । ठूला सहरहरूमा अंग्रेजी भाषा बोलचालको भाषा बन्दै गएको भए पनि गाउँमा अंग्रेजी भाषा ‘जिरो’को स्थितिमा रहेछ । भाषाको समस्या, गाउँको बसोवास, टनेलको जागिर, तुलनात्मक रूपमा थोरै तलब । ईपीएसको तस्बिर यस्तै देखेँ मैले ।
‘ईपीएसको काममा टिक्न नसकेर रेस्टुराँतिर काम पाइन्छ कि भनेर सोधखोज गर्दै छु दाइ’ भनेर गुनासो गरेका थिए डोलिन्द्र र म बसेको टेबलमा आइपुगेका ती भाइले । कृषि मजदुरको फारम भरेर गएका ती भाइ मसँग भेट्दा ‘ इलिगल’ भइसकेका थिए ।
वैदेशिक रोजगारीको व्यवसायका नाममा मानव तस्करी गर्नेको एउटा ठूलै हुद्दा रहेछ भन्ने लागेको थियो त्यतिबेला मलाई । अहिले पनि मलाई त्यस्तै लागिरहेछ । ईपीएसमा पठाउन मान्छे भेला गर्नेले सत्य कुरा भनिदिए सायद आधा नेपाली कोरिया होइन, नेपालमै कृषि कर्म गरेर चार दाम कमाउने थिए होलान् ।
अर्को बिजोग देखियो, काम नपाएर या कामबाट निकालिएर अलपत्रिएका नेपाली भाइबहिनीहरूको । तिनको अस्थायी बासको बन्दोबस्तलाई सेल्टर भनिँदो रहेछ । मञ्जु गुरुङले पनि एउटा सेल्टर सञ्चालन गरेकी रहिछन् ।
‘शुद्ध सामाजिक सेवा हो दाइ,’ उनले भनिन्, ‘हामीचाहिँ केटी मान्छे मात्र राख्छौँ । कसैलाई काम खोजिदिन्छौँ । उनीहरूको कागजपत्र मिलाइदिन्छौँ । घर फर्किन चाहनेलाई हामी आफैँ त सहयोग गर्न सक्दैनौँ । नेपालमा खबर गरिदिन्छौँ । यताको सहयोग त गर्नैपर्यो ।’
कोरियामा बौद्ध धर्मको बाहुल्य भए पनि इसाई धर्मावलम्बीहरू यस्तो सामाजिक क्रियाकलापमा बढी लागेको धेरै ठाउँमा भेटियो । यस्ता धेरै सेल्टर उनीहरूले नै सञ्चालन गरेको पनि सुनियो ।
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...