[स्मरण] रानी ऐश्वर्यले रोकेपछि
युवराज दीपेन्द्रलाई पनि सुप्रिया खुबै मन परेकी थिइन् । त्यसैले उनको पूर्ण कदको ठूलो तस्बिर दीपेन्द्रले त्रिभुवन सदनभित्र रहेको आफ्नो बेडरुममा सजाएर राखेका थिए ।
दरबारमार्गको नाङ्लो रेस्टुराँमा युवराज दीपेन्द्रका साथीहरू र अंगरक्षकबीच कुटपिट भएको खबर थाहा पाएपछि मैले राजा वीरेन्द्रमा जाहेर गरेको थिएँ– ‘सरकार ! जवानी, धनसम्पत्तिका अतिरिक्त रिसको समयमा विवेक गुमाउन पुग्दा यस्ता घटना हुन्छन् । अब युवक अंगरक्षकभन्दा माथि पाको कमान्डर राख्नुका साथै युवराजको पनि चाँडो विवाह गरिदिनुपर्यो ।’ प्रत्युत्तरमा राजा वीरेन्द्रले ‘उपयुक्त समय आउनासाथ विवाह भइहाल्छ नि !’ भन्नुभयो । तर, दुर्भाग्य ! युवराज दीपेन्द्रको विवाहका निम्ति राजा वीरेन्द्रले भन्ने गरेको त्यो ‘उपयुक्त समय’ भने कहिल्यै आएन ।
युवराज दीपेन्द्रको विवाह प्रसंगमा उनीसँग पनि मेरो केही संवाद भएको थियो । युवराज दीपेन्द्र भर्खर मात्र पाटन क्याम्पसबाट स्नातक उत्तीर्ण भएका थिए । काम विशेषले त्रिभुवन सदनमा छिरेको थिएँ । उनी दरबारमा हालै मात्र भित्रिएको कम्प्युटरमा तास खेलेर बसिरहेका थिए । मैले आफ्नो परिचय दिएपछि पछाडि पनि नफर्किएरै ‘के छ तिम्रो हालखबर’ भनी सोधे । मैले भनेँ, ‘सरकारको विवाह भोज कहिले खान पाइएला भनी कर्मचारीहरू गाइँगुइँ गर्छन् । जनता पनि सरकारको बिहे चाँडो भएको हेर्न आतुर छन् ।’
मेरो कुरा सुनेपछि युवराज दीपेन्द्र पछाडि फर्किएर मुसुक्क हाँसे । त्यसपछि ‘पर्ख न पर्ख, एक दिन भैहाल्छ नि ! तिमीहरूलाई भोज नख्वाएर कसलाई ख्वाउँला र ?’ भन्दै पूर्ववत् तास खेल्नमा व्यस्त भए । विवाह प्रसंगले युवराजलाई पुलकित तुल्याउँथ्यो । र, उनी रोमाञ्चित भएजस्तो लाग्थ्यो ।
नोकरीबाट अवकाश पाए पनि म दरबारिया कार्यक्रममा भने बरोबर आमन्त्रित हुन्थेँ ।
राजदरबारभित्रका खास–खास पूर्वकर्मचारीलाई निमन्त्रणा कार्ड पठाएरै त्यस्ता कार्यक्रममा आमन्त्रण गरिन्थ्यो । विसं २०५२ को सन्दर्भ हो । अधिराजकुमारी श्रुतिको विवाह गोरखशमशेर राणाका साथ सम्पन्न हुने तय भएपछि दरबारमा आयोजित भोजमा मैले पनि निम्तो पाएँ । भोज खाइरहेका बेला युवराज दीपेन्द्रको नजर ममाथि परेछ । खानाको प्लेट लिएर उनी सीधै मनिर आएर भने, “रेवती ! तिमीले अब मेरो बिहेभोज खान नपाउने भयौ ।” मैले भनेँ, “नोकरीबाट अवकाश पाए पनि यस्तै निम्ता पाए हाजिर भैहाल्छु नि !” त्यसपछि युवराज केही बोलेनन् । म पनि त्यहाँबाट निस्केर सरासर घरतर्फ लागेँ ।
बिहेको प्रसंग निस्किँदा पुलकित हुने र रमाइला एवं ठट्यौला गफगाफ गर्ने युवराजले किन यस्तो भने भनेर मेरो मथिङ्गल घुमिरह्यो । पक्कै पनि उनी त्यत्तिकै यति गम्भीर भएका थिएनन् । बुझ्दै जाँदा थाहा पाएँ, वास्तवमा निश्चितजस्तै भएको उनको विवाह कार्यक्रम रद्द हुने पुगेको आवेशमा उनले त्यस्तो अभिव्यक्ति दिएका रहेछन् ।
त्यतिबेला उनको विवाह मुमाबडामहारानी रत्नको नजिकका नातेदार रथी प्रदीपविक्रम शाहकी छोरी सुप्रियासँग हुने लगभग निश्चितजस्तै भइसकेको थियो । सायद त्यही भएर सुप्रियालाई ०४९ मै दरबारिया काइदा–कानुन र रहन–सहन सिकाउने भनेर मुमाबडामहारानी रत्नसँगै राजदरबारभित्रै बस्ने प्रबन्ध मिलाइएको थियो । यति मात्रै होइन, उनलाई दरबारभित्रै जागिर पनि दिइएको थियो । ढुकुटी विभागले युवराजको विवाहका निम्ति भनेर गहना बनाउन अर्डर दिइसकेको हल्ला दरबारभित्रै चलेको थियो ।
युवराजलाई पनि सुप्रिया खुबै मन परेकी थिइन् । त्यसैले उनको पूर्ण कदको ठूलो तस्बिर दीपेन्द्रले त्रिभुवन सदनभित्र रहेको आफ्नो बेडरुममा सजाएर राखेका थिए । त्यो तस्बिरबारे मैले बैठकेहरूबाट थाहा पाएको थिएँ ।
रानी ऐश्वर्य भने सुप्रियासँग दीपेन्द्रको विवाहको विपक्षमा रहिछन् । अरू के के कारण थिए, त्यो त थाहा भएन । तर, सुप्रिया सासू रत्नकी नातेदार परेकाले ऐश्वर्यलाई उनी मन परेकी रहिनछन् । यही कारण हुनुपर्छ, ऐश्वर्यले सुप्रियालाई भित्र्याउन अस्वीकार गरेपछि उनलाई राजदरबारबाटै फिर्ता पठाइएको र युवराज दीपेन्द्रको सुप्रियासँग तय भएको बिहे रद्द हुन पुगेको रहेछ । यही झोकमा युवराज दीपेन्द्रले ‘अब तिमीले भोज खान नपाउने भयौ’ भनेका थिए ।
सुप्रियासँग ‘फिक्स’ भएको विवाह कार्यक्रम एकाएक रद्द हुन पुगेपछि दीपेन्द्र ज्यादै निराश र एकान्तप्रेमीजस्तो बन्न पुगेका थिए । त्यसपछि उनको नाम पशुपतिशमशेरकी छोरी देवयानीसँग जोडियो । तर, त्यो सम्बन्धलाई लिएर पनि रानी ऐश्वयले विरोध गरेपछि युवराज दीपेन्द्रको विवाह नै हुन पाएन ।
धेरै लामो समयदेखि विवाहको कुरा उठाउने तर हुन नदिने कार्यले युवराज दीपेन्द्रको मनस्थिति कस्तो भयो होला भन्नेबारे कसैले सोचेको पाइएन । सायद यही कारण हुनुपर्छ, दीपेन्द्रले आफ्ना एडीसी कर्णेल सुन्दरप्रताप रानालाई ‘अब मेरो विवाह नै नहुने भयो’ भनेर दु:ख मनाउ गरेको । अन्तत: १९ जेठ ०५८ मा राजदरबार हत्याकाण्डसँगै युवराज दीपेन्द्रको पनि इहलीला समाप्त भयो ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...