[स्मरण] पुस्तक संकलनको लत
सुरु–सुरुमा कठिन भयो । तर, पछिपछि मानिसले यसले संकलन गर्छ भन्ने थाहा पाएर आफूसँग भएका फाल्तु प्रतिहरू घरैमा ल्याइदिएका पनि उदाहरण छन् ।
अभाव नै आविष्कारको जननी हो भन्छन् । अभावले मलाई आविष्कारक त होइन, किताबप्रति अक्षुण्ण नाता कायम गरायो । म प्राय: पाठ्यपुस्तकबिनै स्कुल र कलेज गएँ । मसँग पाठ्यपुस्तक किन्ने क्षमता थिएन । त्यसले ममा पुस्तकप्रति अझ धेरै रुचि जगायो । अन्तत: मेरो जिन्दगीको सोख भनेकै पुराना किताब पढ्नु र तिनको संकलन गर्नु हुन पुग्यो ।
कक्षा १ मा पढ्दा म १० वर्षको थिएँ । यो ००८ को कुरा हो । त्यसबेला मैले बा र दाइले पढ्न ल्याएका उद्योग, उदय, प्रगति र शारदा अध्ययन गरेँ । अरू अंक पढ्न मन लागे पनि त्यो रहर पूरा गर्न सकिनँ । ०१५ मा एसएलसी उत्तीर्ण गरेपछि म पुस्तक संकलनको अभियानमा लागेँ । आफूले कुनै समय पढेका साहित्यिक पत्रिका, तिनका पछिल्ला अंकहरू र पुराना किताब कहाँ पाइन्छन् भनेर तिनको खोजीमा लागेँ । र, तिनलाई भण्डारण गर्दै गएँ ।
आफ्नो आर्थिक अभावको कुरा धेरैपटक गरिसकेको छु । तर, मैले जस्तोसुकै अभावमा पनि संकलन गर्ने पत्रिका वा किताब भने बकाइदा मूल्य चुक्ता गरेर ल्याएको छु । त्यतिबेलासम्म प्रकाशित पत्रपत्रिका र किताब मैले ०१५ मै आधाउधी संकलन गरिसकेको थिएँ ।
त्यसबेला मैले बालसखा विकास विद्यालयमा पढाउन थालिसकेको थिएँ । उद्योग ००८ र प्रगति ०१६ मा बन्द भए । तर, शशीकलाद्वारा सम्पादित स्वास्नीमान्छे (०१५) र श्यामप्रसाद शर्माद्वारा सम्पादित साहित्य (०१६) प्रकाशनमा आए । दुवै पत्रिका मेरो संकलन भण्डारका लागि त उपयुक्त थिए नै । साथै, यी पत्रिकाका सम्पादकबीचको सम्बन्धले पनि यी पत्रिका संकलन गर्न मलाई बढी प्रेरित गर्यो । शशीकला र श्यामप्रसाद दम्पती थिए ।
मेरो कुनै लत या कुलत थिएन र छैन पनि । पुस्तक संकलनबाहेक मेरो अर्को उद्देश्य पनि रहेन जीवनमा । फुर्माइसी गर्ने त हैसियत नै थिएन । म ब्राह्मण–पुत्र भएकाले कसै–कसैले कुनै तिथिविशेषमा टीका लगाएर थोरै दक्षिणा दिन्थे । त्यो थोरै दक्षिणाको रकम पनि मलाई किताब किन्न लाख हुन्थ्यो ।
किताब र पत्रिका सँगसँगै अनुसन्धानात्मक साहित्यिक लेख–रचनाहरूको पनि संकलनमा लागेँ । कुनै किताब पढ्दा कुनै लेखविशेषको चर्चा भएको छ भने त्यसको खोजी र संकलन गर्न लागिपरेँ । तर, कतिपय मित्रले जस्तो काँधमा झोला बोकेर घरघर चाहर्दै सित्तैमा पुस्तक संकलन गरिनँ । जति गरेँ, किनेर गरेँ ।
यसक्रममा मैले शारीरिक र मानसिक रूपमा पनि दु:ख पाएको छु । अच्युतरमण अधिकारीको अनामनगरको पुरानो घरभित्र जाँदा किताब फिजाउने ठाउँ थिएन । उनले बाहिर गाई पालेका थिए । त्यही गोठमा लामखुट्टे र अरू कीटपतंगलाई रगत चुसाउँदै पुराना किताब बटुलेँ । कति त हातैले सारेर पनि ल्याएको छु । यस कार्यमा मलाई ईश्वर बरालले पनि ठूलो सहयोग गरे । उनी तीन तलामाथिबाट आफैँ काँधमा किताबका चाङ बोकेर तल्लो तलामा झर्थे । मैले त्यहीँ बसेर ती पुस्तकमा भएका सबै भूमिका हातैले सारेर पछि टाइप गराएर संकलन गरेको छु । त्यसबेला फोटोकपी त्यति सहज उपलब्ध थिएन । उपलब्ध भइहाले पनि बरालले घरबाहिर किताब लैजाँदा त्यति निको मान्थेनन् । अनि, हातमा ठेला नउठाई उपायै थिएन ।
भूमिकाको किन कुरा गरेको हुँ भने कुनै पनि किताबको भूमिका नपढी त्यसको मर्मभाव बुझ्न सकिँदैन । त्यसमा पनि बरालजस्ता प्रकाण्ड विद्वान्ले लेखेका भूमिका त अझ बढी महत्त्वपूर्ण हुने नै भए । मैले बरालकै भान्छाकोठामा बसेर संकलन गरेको हुँ, उनीद्वारा सम्पादित झ्यालबाट, सयपत्री र हिमचुलीका भूमिका हातले सारेर । मलाई भूमिका पढ्न पनि उनैले सिकाएका हुन् ।
विसं १९६१ मा प्रकाशित संस्कृत–सुधा वा १९९० को संस्करणको दुर्गादत्त पराजुलीको आसौज बार्ने होस् या अठार काण्ड महाभारत हुन्, आज पनि मसँग छन् । तर, नौ जना रसिकहरूले सम्पादन गरेको सुन्दरी भने मैले पाउन सकिनँ । यसको प्रति ईश्वर बराल र प्रकाश ए राजसँग मात्र छ । तर, राममणि आदिद्वारा सम्पादित तथा मातृकाप्रसाद अधिकारी लिखित माधवी पत्रिकाका आठ प्रति भने धेरै दौडधुप गरेपछि प्राप्त गरेँ । र, तिनको प्रतिलिपि भए पनि संकलनमा राखेको छु । सूक्तिसुधा र सुन्दरीको प्रभावमा निकालिएको पत्रिका हो, माधवी ।
मैले ज्ञान आर्जन गर्नका लागि संकलन थालेको हुँ । अरूले पनि मजस्तै ज्ञान आर्जन गरून् भनेर कविताका सबै किताब मैले मार्टिन चौतारीलाई हस्तान्तरण गरिदिएँ । खासमा कविता मेरो रुचिको विषय होइन । मेरो रुचि उपन्यास र अन्य अनुसन्धनात्मक किताबमै हो ।
सुरु–सुरुमा कठिन भयो । तर, पछिपछि मानिसले यसले संकलन गर्छ भन्ने थाहा पाएर आफूसँग भएका फाल्तु प्रतिहरू घरैमा ल्याइदिएका पनि उदाहरण छन् । मेरो एकजना व्यक्तिगत चिनजान नभएका तर प्रख्यात मानिसले त करिब १० हजार किताब मलाई सित्तैमा पठाइदिए । तर, ती प्राय: सबै मेरो संकलनमा पहिल्यै थिए र मैले अरूलाई बाँडिदिएँ । यसरी आज आफूलाई काम नलाग्ने भनेर अरूलाई बाँडेर रहेका करिब २५ हजार किताब र पत्रपत्रिका मेरो भण्डारमा छन् ।
प्र स्तुति : रमण घिमिरे
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...