मेरी मितबहिनीसँग वल्लभको बिहे
मैले कोठामा साथी राखेको, बहिनीलाई ट्युसन पढाउन सिफारिस गरेको मान्छेले छोरी माग्दा मितबाबु र मितआमा मसँग रिसाउनु पनि भयो ।

त्यसबेला नेपालबाट दार्जिलिङ जाँदा साहित्यकार–कलाकारहरुको सम्मानमा सभा गरिन्थ्यो गोर्खा दु:ख निवारक सम्मलेन (जीडीएनएस) को सभाकक्षमा । धर्मराज थापा ‘नेपालीले माया मार्यो बरी लै’ भन्ने गीत घन्काउादै देहरादुन, आसाम हुादै दार्जिलिङ पुग्दा पनि भव्य कार्यक्रम गरिएको थियो रे । प्रसिद्ध लोकगायक कलानाथ अधिकारीको सम्मानमा जीडीएनएसकै सभाकक्षमा आयोजित सांस्कृतिक कार्यक्रममा मैले पहिलो पटक देखेको थिएा, ईश्वरवल्लभलाई ।
वल्लभका पिता पण्डित मुरलीधर शर्मा प्रख्यात पुराणवाचक र संस्कृतका धुरन्धर विद्वान् थिए । वल्लभजी सर्लाही पुग्दा प्रजातान्त्रिक नेता रामहरि जोशीले आफू हेडमास्टर भएको मलंगवाको हाइस्कुलमा शिक्षकको जागिर पनि दिएका रहेछन् । त्यो छाडेर इलाहावादबाट संस्कृतमा उत्तर मध्यमा गरेर जीविकाको खोजीमा कसरी दार्जिलिङ आइपुग्नुभयो भन्न सक्दिना । उहाँले यसबारे कहिल्यै केही भन्नुभएन ।
कलानाथको कार्यक्रममा ईश्वरवल्लभको परिचय दिइएको थियो । त्यसबेलासम्म इन्द्रबहादुर राईसँग मेरो परिचय भइसकेको थिएन । करफोक विद्यामन्दिर, इलामको हेडमास्टरी छाडेर सन् १९५५ को मध्यतिर उहाँ टर्नबुल हाइस्कुलमा पढाउन थाल्नुभएको थियो । त्यसको दुई वर्षपछि वल्लभले त्यहाँ संस्कृत शिक्षकको काम पाउनुभयो ।
त्यसपछि वल्लभसँग साहित्यिक गोष्ठीहरुतिर फाट्टफुट्ट भेट हुन थाल्यो । म पनि स्कुल सकेर गभर्मेन्ट कलेजमा भर्ना भइसकेको थिएँ । नेपालबाट पढ्न जानेहरुमा तारानाथ शर्मा, काजीमान कन्दङवालगायत १०–१२ जना साहित्यिक अभिरुचि राख्नेहरु थियौँ ।
वल्लभ सुरुमा मात्रिक छन्दमा राम्रो कविता लेख्नुहुन्थ्यो । उहाँको कथालेखन अझ राम्रो थियो । उहाँका सुरुका कविताभन्दा रोमान्टिक कथा र गद्यलेखन प्रभावकारी लाग्थे मलाई । हिन्दी र अवधी भाषामा पनि उहाँको बलियो पकड थियो ।
वल्लभ मेरा जेठा र माइला दाजुहरुसँग पहिल्यै परिचित हुनुहुादो रहेछ । हिउँदे बिदामा मेरो जेठा दाजुसँग उहाँ झापा, मदनपुरको हाम्रो कामतमा आउनुभएको रहेछ । म त्यसबेला झापाकै बुधबारेको कामतमा पुगेको थिएँ । जेठा दाजुले मदनपुरबाट आफू पहाड जाने भएपछि वल्लभलाई दार्जिलिङ जाने व्यवस्था मिलाइदिनु भनेर बुधबारे पठाइदिनुभयो । त्यतिबेला धानको भाउ मनको आठ–नौ रुपैयाँ थियो । मैले १७ मनजति धान बेचेर उहाँका हातमा डेढ सय रुपैयाँजति राखिदिएँ । र, भारतको सिमाना नक्सलबाडीसम्म एक जना साथी पठाएर दार्जिलिङको गाडी चढाउन लगाएँ ।
हिउँदे बिदा सकेपछि म दार्जिलिङ पुग्दा उहाँ निकै बिरामी पर्नुभएछ । एक्लो मान्छे कता खानुहुन्थ्यो, कता बस्नुहुन्थ्यो, टुंगो थिएन । उहाँ आफ्ना विद्यार्थीहरुकहाँ पनि बस्नुहुन्थ्यो । त्यसताका मेरा लोकल गार्जियन मितबा मन्तुलाल क्षत्री हुनुहुन्थ्यो । पछि आफ्नो गोदामबाट उहाँले नै बन्दोबस्त गरिदिएको अर्को कोठा म्युनिसिपल बिल्डिङ ‘सी’ मा बस्थेँ ।
अस्पतालबाट डिस्चार्ज भएपछि मैले वल्लभलाई त्यही कोठामा लिएर आएँ । वल्लभलाई सँगै राख्दा कुनै नाइँनास्ती गरेनन् । त्यसपछि वल्लभ र मेरो नाता गाढा भयो । हामी मितबाको भान्छामा खान्थ्यौँ, एउटै कोठामा सुत्थ्यौँ ।
आर्यसमाजीहरुको प्रेसले जनदूत नामक २०–२५ पृष्ठको सानो पत्रिका निकाल्थ्यो । उक्त पत्रिकाको सम्पादक आरबी प्रधान हाम्रा अनन्य मित्र थिए । त्यसमा हामी लेखिरहन्थ्यौँ । म सुरुमा हास्यव्यंग्य– कविता, निबन्ध र कथा लेख्थेँ । चोकबजारको भित्ताबाट वल्लभ र मैले दार्जिलिङमै पहिलो भित्तेपत्रिका प्रकाशित गर्यौँ । कोठेगोष्ठी साहित्य प्रतिष्ठान खोलेर कोठेगोष्ठी गर्न थाल्यौँ । उमेर छिप्पिएपछि बीए पढ्न दार्जिलिङ पुगेका गणेशबहादुर प्रसाईं पनि हाम्रो कोठेगोष्ठीमा मिसिए ।
तिनताका वल्लभ मेरा मितबाकी जेठी छोरी कमललाई ट्युसन पढाउँथे । ट्युसन पढाउँदा–पढाउँदै वल्लभ र बहिनी कमलका बीच प्रेमसम्बन्ध बढेछ । बहिनीले मन पराएकी, बाबुआमाकी असाध्यै प्यारी छोरी थिइन् कमल । उनको कुरा काट्न आमाबाबुलाई पनि सकस । फेरि नेपालका प्रख्यात पण्डितका छोरा । तर, मैले कोठामा साथी राखेको, बहिनीलाई ट्युसन पढाउन सिफारिस गरेको मान्छेले छोरी माग्दा मितबाबु र मितआमा मसँग रिसाउनु पनि भयो ।
यसरी मेरी मितबहिनीसँग वल्लभको विवाह भयो । त्यसपछि ईश्वरवल्लभ र मेरो खाने भान्छाघर त एउटै भयो तर सुत्ने कोठा अलगअलग । केही वर्षपछि उनका भाइ विश्ववल्लभले पनि कमलकै कान्छा काकाकी छोरी (बहिनी) हरिसँग बिहे गरे ।
प्रस्तुति : रमण घिमिरे