[स्मरण] ‘तेस्रो आयाम’को न्वारान
यथार्थमा आयामिक लेखन के लेख्ने हो भन्दा पनि कसरी लेख्ने भन्नेमा पछिसम्मै केन्द्रित थियो । शब्दमा व्यक्त भएका स्रष्टाको अनुभूति पाठकले डल्लै (सम्पूर्ण) ग्रहण गर्न सक्ने गरी कसरी लेख्ने ?
![[स्मरण] ‘तेस्रो आयाम’को न्वारान [स्मरण] ‘तेस्रो आयाम’को न्वारान](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2018/miscellaneous/bairagi-cover-20092018055438.jpg&w=900&height=601)
तेस्रो पटक मलाई लागेको टीबी रोग बल्झियो । तारककुमार कार्कीको प्रयासले डा जीएस गुरुङको उपचार र निगरानीमा देशबन्धु चेस्ट क्लिनिक, बडा कागझोडामा भर्ना भएा, सन् ०६२ को हिउँदमा । दैनिक हेरचाहमा सहयोग गर्ने उतिबेला राजाको निरंकुश कदमविरुद्ध सशस्त्र क्रान्तिमा लागेका मेरा दाइ भूविक्रम नेम्बाङका सहयोगी आफ्नै गाउँका काशीराम आचार्य थिए । ताप्लेजुङ, पाँचथर, इलाम र झापाका क्रान्तिकारी साथीहरु पनि हेर्न आइरहन्थे । साहित्यकारमा आइबी राई र ईश्वरवल्लभ पनि भेट्न आइरहन्थे ।
यो ०१९ हिउाददेखि ०२० को असार–साउनसम्मको कुरा हो । त्यसअघि नयाँ ढंगको लेखन अगाडि सार्नुपर्छ भनेर म प्रकाशक र ईश्वरवल्लभ सम्पादक भएर फूल पात पत्कर (सन् १९६१) पत्रिकाका दुई अंक निकालिसकेका थियौँ । ईश्वरवल्लभ अलि बेग्लै स्वभावका थिए, कसैसाग नदब्ने । यस्तै स्वभावले गर्दा टर्नबुल हाइस्कुलबाट पनि राजीनामा गर्नुपरेको थियो । त्यसपछि उनी फुलटाइमर साहित्यकारजस्तै भए । उनको आईबी राईसाग घनिष्ठता र सहकार्य बढ्यो ।
नेपाली साहित्यमा नयाँ ढंगमा लेख्ने अभियानलाई के कसरी मूर्त रुप दिन सकिन्छ भन्नेमा हाम्राबीच छलफल भइरहन्थे । पाठकले ‘झ्वाम्म’ अथवा ‘डल्लै’ अनुभूत गर्न सक्ने सिर्जना गरिनुपर्ने कुरा हुन्थे । ‘च्याप्टो’ साहित्यले मानिसको अनुभूति सग्लै व्यक्त गर्न सक्दैन भन्थ्यौँ । म बिरामीलाई हेर्न आएका बखत एक दिन दाइ आईबीले भन्नुभयो, “नयाँ थोक केही गर्नुपर्छ । नयाँ पाराको काम केही गर्नुपर्छ ।”
त्यसैबेला नेपालबाट रुपरेखाले प्रेमकविता विशेषांक निकाल्दै थियो । उताका साहित्यकारहरुको रचना संकलन गरेर पठाइदिन आईबी राई सक्रिय रुपले लागे । मलाई पनि लेख भन्नुभयो । मैले ‘मेरो अटोग्राफ’ भन्ने प्रेमकविता लेखेँ रुपरेखाका लागि ।
च्याप्टो साहित्यका विरुद्ध डल्लो साहित्य लेखनका लागि पत्रिका निकाल्ने कुरा भयो । अर्थको व्यवस्था र नाम सुझाउने दायित्व मेरो काँधमा आइलाग्यो । मैले सुझाएँ– ‘थर्ड डाइमेन्सन’ । अनि, त्यसैलाई नेपालीकरण गरेर जन्मियो– तेस्रो आयाम पत्रिका ।
पहिलो अंक (असार, २०२०) मा मेरा दुई कविता ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसँग’ र ‘साँझ : रेखाचित्र’ छापिएका थिए । ईश्वरवल्लभका दुई कविता– ‘आयतनमा जिन्दगी’ र ‘बन्द कुहिरोमा नानीका पाइला’ अनि आईबी दाजुको कथा ‘काजु, बदाम र ब्ल्याकआउट’ प्रकाशित थिए । अगमसिंह गिरीको ‘चिहान यहाँ बोलिरहेछ’ कविता पनि छापिएको थियो ।
जम्मा २० पृष्ठको पत्रिकामा आईबी राईले लेख्नुभएको २० पंक्तिको पहिलो अंकको सम्पादकीय नै ‘तेस्रो आयाम’ को दर्शन बन्यो । उहाँले लेख्नुभएको थियो, “अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नुपर्छ । मानिस आँखा मात्र, कान मात्र, मन मात्र होइन । ऊ जम्मै इन्द्रिय, हृदय, मस्तिष्कको पुञ्ज हो । र, अब लेखिने प्रत्येक वाक्य र पंक्तिले उसको सम्पूर्णतालाई समाउनुपर्छ, उचाल्नुपर्छ । यो गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ । दु:ख पाउने मान्छेको कथा वा कविता त्यो एउटा मान्छेले दु:ख पाएको कथा वा कवितामा मात्र सीमित नरहोस् । त्यसले उठ्न सकेर त्यो टुक्रा कुराको पछि विशाल विचार बसेको होस् । उँभोतिर एउटा दर्शनको आकाश टाँगियोस्, त्यो एउटा टुक्राले राजनीति बोकोस्, सामाजिक भाष्य बनोस् त्यो । त्यो ‘मात्र’ भन्दा धेरैधेरै ‘अरु’ कुरा होस् । यही ‘धेरै’ हरु हो– तेस्रो आयाम ।
‘धेरै अरु’ भित्र सबै समेटिने कुरा बुझिन्छ । हामी मानिस एक्लै वा थोरैमा आफू मात्र रमाउन थालेकाले हामीले हरायौँ समग्रता वा सम्पूर्णता । आज हाम्रो ‘हराएको सम्पदा भयो सम्पूर्णता’ । अबको लेखनको दर्शन त्यो सम्पूर्णताको पुन:प्राप्ति हुनुपर्छ ।”
सम्पूर्णताको दर्शन र समग्रताको लेखनबारे आईबी राईको उक्त विचारोत्तेजक सम्पादकीय आयामिक लेखनको आधारशिला बन्न पुग्यो ।
यथार्थमा आयामिक लेखन के लेख्ने हो भन्दा पनि कसरी लेख्ने भन्नेमा पछिसम्मै केन्द्रित थियो । शब्दमा व्यक्त भएका स्रष्टाको अनुभूति पाठकले डल्लै (सम्पूर्ण) ग्रहण गर्न सक्ने गरी कसरी लेख्ने ? यस्ता प्रश्नहरुका उत्तरको खोजीमा मिथकीय विम्बदेखि चित्रकलामा चलेका अमूर्त तथा घनत्ववादी शैली र चित्रकलाको सोझो साम्य भाषा प्रयोगको चर्चा गर्दै निस्केको थियो, तेस्रो आयाम ।
आरम्भदेखि पछिसम्म नै चर्का विरोधको सामना गर्यौँ । अन्तत: यही विरोधले नेपाली साहित्यमा ‘तेस्रो आयाम’लाई स्थापित गरायो ।
प्रस्तुति : रमण घिमिरे