पद्मकन्याकी पहिली सभापति
स्ववियु सभापतिको हैसियतमा हाम्रो टिमले पद्मकन्यामा सर्वप्रथम बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई सहज आवास सुविधा दिलाउन पहल गर्यौँ । सोही पहलस्वरुप ११ पुस ०३६ मा पीकेमा ३२ कोठासहितको छात्रावास निर्माण भयो ।
स्ववियु निर्वाचनलगायत ३६ सूत्रीय माग राखेर २२ चैत ०३५ देखि सुरु भएको विद्यार्थी आन्दोलनले राजधानी काठमाडौँसहित देशैभर राजनीतिक प्रतिरोधको स्वरुप लियो । आन्दोलनको दौरान कैयौँ विद्यार्थी घाइते भए । विभिन्न खेमामा विभक्त विद्यार्थी संगठन एउटै भई शाही सरकारसँग मुकाबिला गर्न ९ सदस्यीय संयुक्त संघर्ष समिति बनाए, २७ चैत ०३५ मा । त्यो समितिमा नेपाल विद्यार्थी संघका बलबहादुर केसी, बेनुप प्रसाईं, शिव भुर्तेल, अनेरास्ववियुका शरणविक्रम मल्ल, भरत पोखरेल र ध्रुव ज्ञवाली अनि नेराविफेका ध्रुव श्रेष्ठ, कैलाश कार्की र सुनील मानन्धर थिए ।
पहिलोपल्ट विद्यार्थी संगठन एकीकृत मागसहित आन्दोलनमा उत्रिएपछि पञ्चायती सरकार वार्तामार्फत समस्या समाधान गर्न तम्सियो । त्यसैको परिणाम राजा वीरेन्द्रले विद्यार्थी आन्दोलनका क्रममा भएका ज्यादती छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका न्यायाधीश धनेन्द्रबहादुर सिंहको अध्यक्षतामा शाही आयोग गठन गरे, ७ जेठ ०३६ मा ।
संघर्ष समितिका प्रतिनिधि र शाही आयोगबीच भएको वार्ता समझदारीमा टुंगियो । विद्यार्थीका माग पूरा गर्न सरकार बाध्य भयो । आन्दोलनकै कारण राजनीतिक दल प्रतिबन्धित रहेकै अवस्थामा पहिलोपल्ट सरकारी/निजी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन गठन गर्ने अधिकार पनि प्राप्त भयो । विभिन्न पार्टी संगठनमा आस्था राख्ने विद्यार्थी संगठनबीच क्याम्पसमा स्ववियु सभापति चुनिने व्यवस्था गरियो ।
त्रिभुवन विश्वविद्यालय क्याम्पस, विद्यार्थी युनियन विनियम, ०३६ अनुसार नेपालभरका सरकारी तथा निजी क्याम्पसमा स्ववियु चुनाव भयो, २७ कात्तिक ०३६ मा । पद्मकन्या (पीके) मा अध्ययनरत मैले पहिलोपल्ट स्ववियु सभापतिमा उम्मेदवारी दिने सहमति बन्यो । दलीय व्यवस्था प्रतिबन्धित रहे पनि स्ववियु चुनावमा पार्टीको सिफारिसमा उम्मेदवारी तय हुन्थ्यो ।
उबेला पीकेमा करिब ५ हजार विद्यार्थी अध्ययनरत थिए । स्ववियु निर्वाचनमा पहिलोपल्ट विद्यार्थीले त्रासबिनै खुला वातावरणमा मतदानमा भाग लिए । पीकेमा नेविसंघ समूहबाट स्ववियु पदाधिकारीमा ११ जना चुनावी मैदान उत्रिएका थियौँ । त्यसमध्ये सभापतिमा मीना खड्का (उबेला मेरो बिहे भइसकेको थिएन), उपसभापतिमा ज्योति भण्डारी, सचिवमा इन्दिरा बस्नेत, सहसचिवमा प्रतिमा पाठक, कोषाध्यक्षमा कुसुम शाक्य थियौँ । त्यस्तै, स्ववियु सदस्यका लागि दुर्गा भट्टराई, माया आले, चोलावती उपाध्याय, वसन्ती मिश्र, गीता श्रेष्ठ र कल्पना पियाले चुनावी प्रतिस्पर्धा गरेका थिए ।
स्ववियु निर्वाचनमा विभिन्न विचारधाराका कम्युनिस्ट पार्टीहरुका विद्यार्थी संगठनले एकीकृत रुपमा उम्मेदवारी घोषणा गरेका थिए । सोहीअनुसार सावित्री भुसाल अखिल छैटौँ (नेकपा) र कमला ज्ञवाली (माले) सभापतिको प्रतिस्पर्धामा थिए ।
स्ववियु निर्वाचनको समयमा त्रिविका उपकुलपति महेन्द्र प्रसाद थिए । पीकेका क्याम्पस प्रमुख साम्बभक्त पन्त अध्यक्षताको समितिले स्ववियु निर्वाचन गराएको थियो । स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविले खटाएका चेतनाथ गौतमले निर्वाचन आयुक्तको जिम्मेवारी पाएका थिए । निर्वाचनको भोलिपल्ट अर्थात् २८ कात्तिक ०३६ मा उनै गौतमले मत परिणाम घोषणा गरे ।
पद्मकन्या स्ववियु इकाइको चुनावमा सभापतिसहित नेविसंघ समर्थक पूरै प्यानल विजयी हुन सफल भयौँ । हामीले खसेको मतको करिब ७५ प्रतिशत (३ हजार ७ सय ५०) र कम्युनिस्ट पार्टीमा आबद्ध विद्यार्थी संगठनले २५ प्रतिशत (१ हजार २ सय ५०) मत ल्याउन सके । क्याम्पस परिसरभित्र दलीय आधारमा भएको स्ववियु चुनाव संसदीय निर्वाचनभन्दा भिन्न देखिँदैनथ्यो । माउराजनीतिक दलका शीर्ष नेतृत्वसमेत भ्रातृसंगठनबाट चुनावी मैदानमा उत्रिएकालाई हौसला दिन क्याम्पस परिक्रमा गर्थे ।
उबेला निजी कलेजको संख्या न्यून थियो । पीकेमा शाही परिवारका नाता-सम्बन्ध भएका र पञ्च शासक/प्रशासकका छोरीचेलीले पनि अध्ययन गर्थे । पञ्चायती शासन टिकाउन भरथेग गरिरहेका उनै पञ्चायत समर्थकका छोरीहरुको मतबाट प्रजातन्त्रमा आस्था राख्ने हामी अत्यधिक मतले चुनियौँ ।
स्ववियु सभापतिको हैसियतमा हाम्रो टिमले पद्मकन्यामा सर्वप्रथम बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई सहज आवास सुविधा दिलाउन पहल गर्यौँ । सोही पहलस्वरुप ११ पुस ०३६ मा पीकेमा ३२ कोठासहितको छात्रावास निर्माण भयो । त्यो छात्रावासचाहिँ रानी ऐश्वर्याले उद्घाटन गरेकी थिइन् । पीकेमा स्ववियु सभापतिको कार्यकाल पूरा गरेपछि म महिला संघमा आबद्ध भएँ ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...