खुकुरी दलविरुद्ध रक्षा मण्डल
१ सय ४ वर्षे गुमेको राणा रजगज फिर्ता ल्याउने भित्री मनसायले गठन गरिएको खुकुरी दलको अराजकतालाई जवाफ दिन चैत २००७ मा रक्षा मण्डल खोलियो, काठमाडौँमा । रक्षा मण्डलले पाटनलाई कार्यक्षेत्र बनाएर खुकुरी दलका आतंक र अशान्ति नियन्त्रणका लागि काम गर्यो ।

दिल्लीमा राजा-कांग्रेस-राणा त्रिपक्षीय सम्झौता भयो, १ फागुन २००७ मा । त्यसअनुसार प्राइममिनिस्टर बनेका मोहनशमशेर र बबरशमशेरको प्रत्यक्ष/परोक्ष निर्देशनमा शासनच्युत भएका राणा खलकले प्रजातन्त्रलाई अफापसिद्ध बनाउन भरतशमशेर, बेनीबहादुर कार्की, रणवीर सुब्बा आदिको नेतृत्वमा गोरखा (खुकुरी) दल गठन भयो, फागुन २००७ मै ।
१ सय ४ वर्षे गुमेको राणा रजगज फिर्ता ल्याउने भित्री मनसायले गठन गरिएको खुकुरी दलको अराजकतालाई जवाफ दिन चैत २००७ मा रक्षा मण्डल खोलियो, काठमाडौँमा । रक्षा मण्डलले पाटनलाई कार्यक्षेत्र बनाएर खुकुरी दलका आतंक र अशान्ति नियन्त्रणका लागि काम गर्यो ।
सत्यमोहन जोशी, मूर्तिमान शाक्य, आशाराम शाक्य र केशवराम जोशीको नेतृत्वमा खोलिएको रक्षामण्डलले पाटन क्षेत्रमा रातमा गस्ती र घरलौरी गर्न थाल्यो । केशवराम मेरा साख्खे दाजु हुन् । उनी रक्षा मण्डलको अध्यक्ष पनि भए ।
खुकुरी दलका सदस्यको अराजकता रोक्ने त्यो समूहमा म सहभागी थिइनँ किनभने त्यतिबेला १३ वर्षको मात्रै थिएँ । रक्षा मण्डलले प्रतिक्रान्तिलाई निस्तेज गर्न पाटन क्षेत्रलाई सुरक्षित बनायो । रक्षा मण्डलकै कारण खुकुरी दलका कार्यकर्ताले पाटन क्षेत्र छिर्ने हिम्मतै गरेनन् ।
खुकुरी दलका एक सदस्य बेनीबहादुर कार्की पाटन, टुँडिखेलपारि कार्की गाउँका थिए । त्यसैले उनले ललितपुरमा पनि अराजकता निम्त्याउने आशंका थियो । बेनीबहादुर गोरखा दलमा लाग्नुको कारणचाहिँ उनका पिता राणा शासनमा सेनामा क्याप्टेन थिए । मुक्ति सेनाको विद्रोह दबाउन मोहनशमशेरले उनकै नेतृत्वको सेनालाई मंसिर २००७ मा वीरगन्ज पठाएका थिए । वीरगन्जको त्यो लडाइँमा मुक्तिसेनाको गोली लागेर उनी मारिए । पिता मारिएपछि त्यसको प्रतिशोधस्वरुप बेनीबहादुर खुकुरी दलमा लागेका थिए ।
भरतशमशेरको नेतृत्वमा प्रतिक्रान्तिस्वरुप नेपालभर आतंक मच्चिएको थियो त्यतिबेला । देशभर अराजकता फैलियो । घरघरमा लुटपाट हुन थाल्यो । गृहमन्त्री रहेका बीपी कोइरालाले १९ फागुन २००७ मा गोरखा दलमाथि प्रतिबन्ध लगाइदिए । भरतशमशेर र रणधीर सुब्बा ३० चैत २००७ मा पक्राउ परे ।
पक्राउको विरोधमा राणाप्रति वफादार आठपहरिया समर्थकले जेल तोडे र बीपीको त्रिपुरेश्वर निवास तोडफोड गरे । पछि जनता-सेनाको मिलिभगतमा भरतशमशेर दोस्रोचोटि पनि पक्राउ परे र श्रीमहलमा नजरबन्द भए । प्रजातन्त्रको बर्खिलापमा लागेको भन्दै क्रुद्ध जनताले उनको गाडीमा समेत आगजनी गरिदिए ।
राणा समर्थक खुकुरी दलले आफ्ना नेता/कार्यकर्ता छुटाउन फेरि पनि गृहमन्त्री निवासलाई निशाना बनायो । त्यसै क्रममा आफ्नै सुरक्षाका लागि बीपीले गोली चलाउँदा खुकुरी दलका दुई कार्यकर्ताको मृत्यु भयो । त्यसपछि बीपीले २५ कात्तिक २००८ मा गृहमन्त्रीबाट राजीनामा दिए ।
संयुक्त सरकार गठनका बेला एउटाले राजीनामा दिँदा अर्को पक्षले पनि छाड्नुपर्ने समझदारी थियो । त्यही समझदारीअनुरुप मोहनशमशेरले पनि प्राइममिनिस्टर पदबाट राजीनामा दिनुपर्यो । राणा, राजा र कांग्रेसको संयुक्त सरकार ७ महिनाभन्दा बढी टिकेन । पुनः राणातन्त्र ल्याउने खुकुरी दलको भित्री मनसुवा बीपीले राजीनामा दिएसँगै तुहिन पुग्यो । मोहनशमशेरको राजीनामापछि खुकुरी दलका गतिविधि पनि साम्य भए । घटना साम्य भएपछि भरतशमशेरलाई २४ कात्तिक २००८ मा रिहा गरियो ।
गृहमन्त्रीबाट राजीनामा दिएपछि बीपीले मातृकाप्रसाद कोइरालालालाई पार्टी सभापतिको जिम्मेवारी सुम्पे । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको सल्लाहमा राजा त्रिभुवनले कांग्रेस सभापति मातृकालाई प्रधानमन्त्री नियुक्त गरे । उनी प्रधानमन्त्री हुनासाथ कांग्रेसमा गृहकलह सुरु भयो ।
यसरी राणा रजगज फिर्ता ल्याउने उद्देश्य बोकेको खुकुरी दलको रणनीति विफल बनाउन काठमाडौँमा गठन भएको रक्षा मण्डलले ९ महिनासम्म क्रियाशील रहेर पाटनलाई सुरक्षित राख्न सक्यो ।
प्रस्तुति : गोकुल अर्याल