यसरी घुसाइयो हिन्दु राष्ट्र
एकीकृत नेपालका राजा पृथ्वीनारायण शाह (१८२५–१८३१) देखि सुरु शाहवंशले महेन्द्रीय शासनकाल (२०११–२०२८) सम्म आइपुग्दा मात्र नेपाल हिन्दु अधिराज्य घोषणा भयो ।
एकीकृत नेपालका राजा पृथ्वीनारायण शाह (१८२५–१८३१) देखि सुरु शाहवंशले महेन्द्रीय शासनकाल (२०११–२०२८) सम्म आइपुग्दा मात्र नेपाल हिन्दु अधिराज्य घोषणा भयो । शाह र राणा शासकले लिखत कानुनबिनै नेपालको राज्य संयन्त्र आफ्नो रुचिअनुसार चलाए ।
नेपालको संविधानको पहिलो प्रारुप नेपाल वैधानिक कानुन हो । प्रधानमन्त्री पद्मशमशेरले घोषणा गरेको त्यो कानुन १ वैशाख २००५ देखि लागू हुने भनिए पनि राणा परिवारभित्रकै किचलोका कारण कार्यान्वयनमा आएन र कागजी रुपमा मात्र सीमित हुन पुग्यो । त्यसमा कहीँ–कतै हिन्दु अधिराज्यबारे एक शब्द पनि उल्लेख थिएन । राणाको पतनपछि राजा त्रिभुवनले देशको शासन व्यवस्था अब उपरान्त जनताका प्रतिनिधिबाट घोषणा गरिने उल्लेख गर्दै अन्तरिम शासन विधान, २००७ लागू गराए । त्यसमा पनि हिन्दु राज्यबारे उल्लेख थिएन ।
त्रिभुवनपछि राजपाठ सम्हालेका राजा महेन्द्रबाट १ फागुन २०१५ मा घोषणा भएको नेपाल अधिराज्यको संविधान, २०१५ पनि हिन्दु धर्मबारे मौन नै छ । राणाकालमै हिन्दु धर्ममा सुधारका नारा नउठेका भने थिएनन् । पाटनका माधवराज जोशीले मूर्तिपूजा, जातीय भेदभाव, कर्मकाण्डको विरोध गर्दै नेपालमा आर्यसमाजी आन्दोलन पनि चलाएका थिए, चन्द्रशमशेरको पालामा । यिनै जोशीले आफ्ना बाआमा, छोरा (सहिद) शुक्रराज जोशी शास्त्री मर्दासमेत परम्परागत थितिअनुसार क्रियाकर्म नगरेपछि चन्द्रशमशेरको दरबारमा बडागुरुज्यू प्रयागराज पाण्डे सम्मिलित गुरुपुरोहितले लौरो, छाताको डन्ठी आदिले कुटेर रक्ताम्य बनाएका थिए । अचम्म के भने १९६२ भदौको यो घटनामा केही दोषीलाई दिनहुँ पशुपति गई टीका लगाउनुपर्ने सजाय दिइएको थियो । त्यो घटना देखेको मैले बाका मुखबाट सुनेको हुँ ।
मौखिक कानुन मानिने उबेला पनि हिन्दु धर्मबारे छोइछिटो गरे राणा शासकले कठोर दण्ड सजाय दिन्थे । हिन्दु धर्म त्यागेर बुद्ध धर्म अनुसरण गर्न नपाइने । हिन्दुबाट बौद्ध भए कठोर सजायको भागीदार हुनुपर्ने । धर्मबाटै सामाजिक जागरण ल्याउन सकिने ध्येयमा लागेकाहरु राणा शासकको नजरमा परिहाल्थे । राणा शासक धार्मिक प्रचारकप्रति पनि अनुदार थिए । विसं १९८१ माघको घटना हो । काठमाडौँ जैसीदेवलका नानीकाजी श्रेष्ठ, चिकंमुगलका कान्छा वन्देजु, पाटनका हर्षदेव वन्देजु सम्मिलित तीन सदस्यीय टोली तिब्बत गएर लामा धर्ममा प्रव्रजित भई नेपाल आएर अरुलाई बौद्ध धर्ममा दीक्षित गर्न थाले । यस घटनाको जानकारी चन्द्रशमशेरले थाहा पाइहाले । बौद्ध धर्म ग्रहण गरी प्रव्रजित हुने सबैलाई देश निकाला गरिएको थियो ।
राणा शासन गयो । त्यसपछि आएको प्रजातन्त्र पनि नेपालीले लामो समय उपभोग गर्न पाएनन् । राजा महेन्द्रले १ पुस २०१७ मा प्रजातान्त्रिक सरकार बलात् हटाए । नेताहरु जेलमा कोचिए । २२ पुस २०१७ देखि राजनीतिक दल र दलगत राजनीतिक उद्देश्यले प्रेरित संगठनलाई अवैध घोषित गरियो । तर पञ्चायत चलाउन ६ वटा वर्गीय संगठन गठन गरिए ।
महेन्द्रले नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्दा निर्दलीय पञ्चायत व्यवस्थालाई केन्द्रमा राखे, नेपालको संविधान, २०१९ को नाम दिएर । पञ्चायतकालभर चलेको यो संविधान निर्माणका लागि राजाले तत्कालीन अर्थ, आर्थिक कार्य विशेषमन्त्री ऋषिकेश शाह अध्यक्ष तथा कुलशेखर शर्मा सदस्य सचिव र महिला सदस्यका रुपमा श्रीमती अंगुरबाबा जोशी सम्मिलित तीन सदस्यीय संविधान मस्यौदा समिति बनाए ।
१ पुस २०१९ देखि कार्यान्वयनमा आएको नेपालको संवैधानिक विकासक्रममा चौथो मानिएको लिखत कानुनमा राजा महेन्द्रले नेपाल हिन्दु अधिराज्य र आफू संसारभरका हिन्दु सम्राट रहेको सगर्व घोषणा गरिदिए ।
हिन्दु सम्राट घोषणासँगै भारतीय जनताको सहानुभूति राजा महेन्द्रतिर नढल्किने कुरै थिएन । उबेला प्रजातन्त्र नामेट पारेर निर्दलीय पञ्चायत ल्याउँदा राजा महेन्द्रमाथि दबाब दिने राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति कमजोर थिए । महेन्द्र कूटनीतिक राजा थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनलाई साथ–सहयोग दिँदै आएको दक्षिण छिमेक त्यतिबेला नेपालको विषयमा चुँसम्म गरेन । खासमा भारत अरुणाचल सीमा विवादलाई लिएर चीनसँगको लडाइँमा नराम्ररी पराजित हुन पुग्यो । ४ कात्तिक २०१९ देखि सुरु भारत–चीन सीमा युद्ध ५ मंसिर २०१९ सम्म चलेको थियो । राजा महेन्द्रले निर्दलीय शासन लागू गर्दा बीपी कोइरालासँगै भारत स्वतन्त्रताका लागि लडेका भारतीय प्रधानमन्क्री जवाहरलाल नेहरसमेत प्रतिक्रियाविहीन रहे । यसरी राजा महेन्द्रले घोषणा गरेको ०१९ को संविधानकै कारण अहिले नेपालमा हिन्दु राज्यका पक्ष–विपक्षमा मत बाँडिने अवस्था सिर्जना भएको हो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...