इतिहासकारको झैझगडा
सं ०१७ देखि इतिहास तथा धर्मसंस्कृतिबारे ३० जति पुस्तक लेखियो । ती पुस्तकमा मैले नेपालको इतिहासलाई सूक्ष्म रुपमा केलाउने प्रयास गरेँ ।
विसं ०१७ देखि इतिहास तथा धर्मसंस्कृतिबारे ३० जति पुस्तक लेखियो । ती पुस्तकमा मैले नेपालको इतिहासलाई सूक्ष्म रुपमा केलाउने प्रयास गरेँ । गोपाल, महिषपाल, किराँत, लिच्छविकाल, मल्लकाल, शाहकाल, नेपाल राज्यको स्थापना र विकासबारे पौराणिक आख्यान प्रचलित छन् । तैपनि वैज्ञानिक प्रमाणको अभावमा स्थिति स्पष्ट हुन सकेको छैन । इतिहास शिलापत्र, ताम्रपत्र, स्वर्णपत्र, काष्ठपत्र, विदेशी यात्रीको यात्रा वर्णन, साहित्यिक स्रोतजस्ता सामग्रीबाटै लेखिने हो ।
घन्टाकर्णलाई राक्षस आयो भनेर दिनभर चौबाटोमा त्रिखुट्टी राखेर ठड्याउने र राती गाली गर्दै बागमती/विष्णुमतीमा सेलाउने प्रचलन छ । खासमा घन्टाकर्ण भनेको राक्षस हुँदै होइन । पाटन कुम्भेश्वर, काठमाडौँ कमलादी गणेशस्थानमा पनि त्यसको मूर्ति छ । त्यो मूर्ति महादेव पुत्र कुमारको हो । यिनको कानमा घन्ट झुन्डिएकाले घन्टाकर्ण भनिएको हो । यसलाई मैले धर्मका नाममा विद्वेष ल्याउने प्रपञ्च ठान्दै आएको छु ।
नेपालको सबैभन्दा पुरानो मूर्ति विरुपाक्षबारे पनि इतिहासकारबीच मतभेद छन् । विरुपाक्ष महादेवको द्वादश (१२) औँ शिवलिंगमध्येको एउटा अवतार हो । यसलाई केही इतिहासकारले विरुपाक्ष भनेको आमालाई स्वास्नी बनाउने पापी हो भने पनि म त्यसमा सहमत छैन । संस्कृतमा दुई आँखा भएको स्थानमा तीन आँखा (चक्षु) विरुप भएकालाई विरुपाक्ष भनिएको हो ।
०३० मा छापिएका धनव्रजको लिच्छविकालको अभिलेख र मेरो नेपालको प्राचीन अभिलेखमा चावहिल अभिलेखबारे मतैक्य छैन । धनव्रजले चावहिल अभिलेख वृषदेवले स्थापना गरेको भनेर किटान साथ लेखेका छन् । मानदेवका बराजु वृषदेवको पालामा नभई मानदेवकै पाला (शकसंवत् ४२५) मा स्थापना भएको मेरो दाबी रह्यो । सुरुमा विवाद रहे पनि अहिले आएर चावहिल अभिलेखका केही टुक्रा शिलालेख भेटिएपछि मेरो मान्यताले वैधानिकता पायो । अरु इतिहासकारले पनि स्वीकारे ।
माहिला छोरा चक्रवर्तेन्द्रको मृत्युपछि राजा प्रताप मल्लले शोकाकुल रानीलाई खुसी तुल्याउन सन् १६६५ मा रानीपोखरी निर्माण गरेको भनिएको छ । तर मेरो दाबीमा रानीपोखरी पहिले नै प्राकृतिक रुपमा स्थापित थियो । त्यसलाई राजा प्रताप मल्लले पर्खाल लगाएर, बारबुर गरेर सिागारेको ठान्छु । प्रताप मल्लले बूढानीलकण्ठलगायतका धार्मिक स्थलबाट पानी ल्याएर रानीपोखरी निर्माण गरेका हुन् भनिए पनि यसले पुष्टि गर्दैन ।
रानीपोखरीमा पानी जाने चार स्रोत मैले पनि देखेँ । हालको सांस्कृतिक संस्थान आरसीटी बिल्डिङ छेउबाट जाने पानी, भोटाहिटी सब–वेबाट जाने पानी, तीनधारा पाठशालाबाट जाने पानी र विद्युत् प्राधिकरणनेरबाट जाने गरी चार कुनाबाट रानीपोखरीमा पानी जान्थ्यो । रानीपोखरी निर्माण प्रताप मल्लले नै गरेको अभिलेखमा उल्लेख भए पनि मैले लेखेको इतिहासलाई अहिलेसम्म कसैले चित्तबुझ्दो खण्डन गर्न सकेका छैनन् ।
रानीपोखरीमा पानी जाने सब–वेमुनि सात धारा थिए । यस सम्बन्धमा मैले त्यसलाई नेवारी भाषामा न्ह्यराहिटी नाम दिएर लेखेँ भने डिल्लीरमण रेग्मीले सप्तश्री धाराको नाम दिए । पछि यसमा रेग्मी पनि सहमत भए । रानीपोखरीबारे संशोधनमण्डलका महेशराज पन्तले मेरो उछितो काडेर लेखे ।
००७/००८ तिर नयराज पन्तले आफ्ना विद्यार्थीलाई अभिलेख, संस्कृत, साहित्यबारे ज्ञान दिएर तयार पारेको समूहलाई संशोधन मण्डल भनिन्थ्यो । संशोधन मण्डलमा रामजी तेवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, धनव्रज, महेशराज लगायत थिए । मण्डल प्राचीन इतिहास लेखन शिलालेखका आधारमा गरिनुपर्छ भन्छ भने मचाहिँ ‘शिलालेखले मात्र इतिहास कहँदैन, त्यसका विस्तृत तर्क, खोज, अध्ययन–अनुसन्धान हुनुपर्ने’ मान्यता राख्छु ।
अंशुवर्माको मुद्राबारे पनि इतिहासकारको एकमत छैन । बनेपाको अंशुवर्माबारे अभिलेखमा कसैले उनलाई नेपालको पहिलो महाराजधिराज ठानेका छन् । तर बनेपाकै त्यही अभिलेखमा भट्टारक महाराज शिवदेव लेखिएको छ । त्यहीमुनि अंशुवर्मालाई महाराजधिराज भनिएको छ । त्यो महाराजधिराज भनेको सामन्त पदवी हो । एउटा राजा हुँदाहुँदै अर्कोलाई महाराज भनिँदैन भन्ने मेरो तर्क छ ।
यसबाट पनि पुष्टि हुन्छ, शिलालेख, अभिलेख सबै साँचो प्रमाण हुँदै हुँदैनन् । किनभने उबेला शासन गर्नेहरुले कीर्ति फिजाउन आफैँले यस्ता अभिलेख लेख्न लगाउँथे । यदि अभिलेखलाई नै प्रमाण मान्ने हो भने अहिलेको सूचना विभागले संगृहीत गर्ने राजा/प्रधानमन्त्री, मन्त्रीहरुका त्रियाकलापबारेका विवरणलाई पनि सही ठहर्याउनुपर्ने हुन्छ । यसरी मेरो इतिहास लेखन कहीँ साक्षी प्रमाणका रुपमा प्रस्तुत भए पनि त्यसलाई अरु इतिहासकारले मान्यता दिइसकेका छैनन् ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...