हिमाली क्षेत्रको तिब्बत साइनो
वर्तमान नेपालको एकीकृत संरचना हुनुअघि नै ताप्लेजुङदेखि दार्चुलासम्मका हिमाली जिल्ला तिब्बतसँग सीमा जोडिएको हुँदा यस क्षेत्रको सामाजिक, आर्थिक तथा धार्मिक संरचना उसैसँग मिल्दोजुल्दो छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालका १५ हिमाली जिल्लालाई भोट (तिब्बत) क्षेत्र मान्ने गरिएको छ । २ हजार वर्ष पुरानो इतिहास बोकेको परम्परागत भोटे अथवा भोट्याहा भनिने जनजातिको बसोबास क्षेत्रलाई भोट मानिएको हो । वर्तमान नेपालको एकीकृत संरचना हुनुअघि नै ताप्लेजुङदेखि दार्चुलासम्मका हिमाली जिल्ला तिब्बतसँग सीमा जोडिएको हुँदा यस क्षेत्रको सामाजिक, आर्थिक तथा धार्मिक संरचना उसैसँग मिल्दोजुल्दो छ ।
विजेताको मात्र इतिहास लेखिने विश्व परम्परा भएकाले हालको नेपालको सीमा समेटिएको भोट क्षेत्र हजारौँ वर्षअगाडि तिब्बत अधीन रहेको मानिन्छ । किनभने वर्तमान नेपालको एकीकृत तस्बिर विसं १८२५ देखि मात्र आएको हो । त्यसअगाडि पश्चिमतिर बाइसे/चौबीसे राज्य, पूर्वतिर लिम्बुवान, खम्बुवान र उपत्यकामा पनि भुरे/टाकुरे राज्य स्थापना भए ।
एकीकृत नेपाल निर्माण हुँदै गर्दा हालका भोट क्षेत्र पनि सँगै गाभिए । नेपाल–तिब्बतबीचको पटक–पटकको लडाइँले सिमाना यताउता भए । सीमा हेरफेरले केही मानिस जमिनसहित आए । सीमा पनि आयो । सन् १९५५ मा सम्पन्न नेपाल–चीनबीचको शान्ति तथा मैत्री सन्धिअघि तिब्बतमा पनि नेपालको दक्षिण क्षेत्रजस्तै आउजाउ, बिहेबारी, साइनो/सम्बन्ध सबै खुला थियो । सन् १९५५ मा मात्र पासपोर्ट सिस्टम लागू भएको हो ।
थातथलोसँगै सीमा सरेपछि हिमाली वासिन्दा नेपालका आदिवासी भएका हुन् । सीमा काट्दा एउटा गाउँ तिब्बत र अर्को गाउँ नेपालका भोट क्षेत्र बने । यिनै हिमाली क्षेत्रमा बसोबास गर्नेलाई कालान्तरमा आदिवासी मानियो । नेपालको हिमाली क्षेत्रमा बस्नेलाई अन्तर्राष्ट्रिय स्तरमै संयुत्त राष्ट्रसंघ, विश्व बैंकलगायतका संस्थाले आदिवासीको मान्यता दिए । यो मान्यताको पुष्टि गर्ने आधारचाहिँ यस क्षेत्रमा पर्ने डाँडाकाँडा, खोलाखोल्सी, गाउँसहर, हिमाललगायत स्थान भोट भाषासँग मिल्दाजुल्दा छन् । भोट भाषाको झोमुल्होङ्मालाई शाहकालीन समय सगरमाथा नाम दिइए पनि स्थानीयले चलनचल्तीमा अझै भोट भाषाकै नामबाट पुकार्छन् । कञ्चनजंघालाई पनि भोट भाषाकै घाङचेनच्योन्ङ्गा भन्छन् । औपनिवेशिक राज्यमा जनजातिका नामबाट बनेका स्थानको नाम फेरिदिने चलन नेपालमा मात्र नभई विश्वभर प्रचलित छ । त्यसको उदाहरण भारतमा चेन्नाईबाट मद्रास, मुम्बर्ईबाट बम्बई, कलकताबाट कोलकात्ता आदि बनाइएका थिए । अहिले पुरानै नाम बोलिन थालिएको छ ।
अचम्म के भने विश्वका उच्च १४ मध्ये नेपालमा पर्ने १० हिमालको नाम पनि भोट शब्दबाटै जुराइएको हो । नेपालमा मात्र नभई भारत र मुस्लिम बहुल पाकिस्तानमा रहेका हिमालको नामसमेत तिब्बती शब्दबाट राखिएका छन् ।
सर्भे अफ इन्डियाले यस क्षेत्रका लागि बनाएको नक्सामा समेत भोट क्षेत्र भनेर प्रस्ट्याएको छ । ताप्लेजुङलाई वालुङभोट, संखुवासभालाई सिन्साभोट, सोलुखुम्बुलाई खुम्बुभोट, मनाङभोट, मुस्ताङभोटलगायत तिब्बती शब्दबाट पहिचान दिइएको छ । नेपालकै पुराना मुलुकी ऐन, लालमोहर, ताम्रपत्रलगायतमा पनि भोट/भोट्याहा लेखिएको छ ।
नेपालका भोट क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक परिवेश पनि तिब्बती ढाँचासँग सोह्रैआना मिल्दोजुल्दो छ । पछि भोट क्षेत्रमा बसोबास गरेका अन्य जातिले समेत तिब्बती परम्परा धानेका छन् । हुम्लामा बाहुन/क्षत्री आदि जातिले पनि पहिले–पहिले बख्खु लगाउँथे, जुन तिब्बती भेषभूषा हो ।
भोट क्षेत्रमा पर्ने डोल्पा पूरै महाकाली अञ्चल र उपत्यकाका तीन जिल्लाभन्दा ठूलो छ । तत्कालीन श्री ५ को सरकारले विसं ०२२ मा दुर्गम क्षेत्र विकास समिति गठन गरेको थियो । त्यो समिति हालै मात्र विघटन भयो । ३८ प्रतिशत बसोबास रहेको नेपालको भोट क्षेत्रमा परम्परागत रुपमै तिब्बतसँगको व्यापार, त्यसपछि पशुपालन, गलैँचा तथा राडीपाखी बुनाइ अहिले पनि छ । पछिल्लो समय केही जिल्लामा पर्यटन व्यवसाय थपिएको छ ।
भोट क्षेत्रमा तिब्बतीसँग बिहेबारी हुने चलन सन् १९५५ देखि केही घटे पनि अहिलेसम्म निरन्तर छ । मुस्ताङी राजाका छोराले सन् १९८६ मा तिब्बती महिलासँग बिहे गरेका थिए । अहिले बिहेबारी तिब्बततिर घटे पनि शरणार्थीका रुपमा नेपालमा थातथलो बनाएका तिब्बतीसँग भोट क्षेत्रका मान्छेको बिहेबारी निर्वाध भइरहेको छ । पासपोर्ट सिस्टमले बिहेबारी केही घटाए पनि ३० किमि सीमा वरपरका वासिन्दाले निर्वाध आउजाउ सुविधा पाइरहेकै छन् ।
ओलाङचुङगोलालगायतका कतिपय उत्तरी जिल्लामा सन् १९५५ अघि ५० प्रतिशत बिहेबारी उतै हुन्थ्यो । हाम्रै परिवारको बिहेबारीसमेत तिब्बततिरै भएको थियो । मेरा बुबातर्फको हजुरआमा र आमातर्फको हजुरआमा तिब्बतबाटै बिहे भएर आएका हुन् ।
उक्याबसँग सरकारको कर्मचारी प्रशासनका साथै चीनको स्वशासित क्षेत्र तिब्बतमा महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव छ ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...