देश-दर्शनको नक्कल
राजा महेन्द्रका दाहिने हात सुरेन्द्रबहादुर शाहले दुर्गम क्षेत्र विकास समिति अध्यक्षको हैसियतले परिकल्पना गरेको लामा देश दर्शन कार्यक्रम नेपालमा मात्र नभई भारत र चीनमा समेत प्रख्यात भयो ।
राजा महेन्द्रका दाहिने हात सुरेन्द्रबहादुर शाहले दुर्गम क्षेत्र विकास समिति अध्यक्षको हैसियतले परिकल्पना गरेको लामा देश दर्शन कार्यक्रम नेपालमा मात्र नभई भारत र चीनमा समेत प्रख्यात भयो । तिब्बती सामाजिक ढाँचामा अभ्यस्त हिमाली क्षेत्रका बासिन्दालाई देशको मूल धारमा ल्याउन यसले ठूलै काम गर्यो ।
दुर्गम क्षेत्रका कार्यक्रम कार्यान्वयनमा लैजान शाहले काठमाडौँबाट सबैभन्दा नजिकको हेलम्बु भ्रमण गरे । त्यसको केही दिनपछि राजा महेन्द्र उनको निवास डिल्लीबजार गएका रहेछन् । शाहले हिमाली क्षेत्रका पञ्चभन्दा गुम्बाका लामालाई विकास निर्माणको 'फोकल प्वाइन्ट' का रुपमा अगाडि ल्याउन सुझाएछन् ।
शाहको मतमा राजा सहमत भएपछि लामाहरुको एउटा समूहलाई हामीले ०२८ सालमा काठमाडौँ ल्याउने र देश दर्शन गराउने चाँजोपाँजो मिलायौँ । तर राजाले ०२७ सालमै यो काम फत्ते गर्न निर्देशन दिए । तीन दिनपछि नै राजा महेन्द्र एकाबिहानै हेलिकप्टर लिएर हेलम्बुको तार्केघ्याङ पुगे । स्थानीय र प्रमुख लामासँग भेटेर राजा काठमाडौँ फर्किए । भोलिपल्टै राजाले त्यहाँ गुम्बाको छाना मर्मत गर्न हेलिकप्टरबाटै जस्ता पाता पठाए ।
त्यतिबेला दुर्गम जिल्लाका सदरमुकाममै पर्याप्त सञ्चार सुविधा थिएन । ६५ जना लामा खोज्न वायरलेस सेटमार्फत दुर्गम जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सम्पर्क गर्यौँ । रेडियो नेपालबाट समेत लामा दर्शनबारे प्रचार गरियो । सीडीओलाई कार्यक्रममा सहभागी हुने लामा र गुम्बाको नामसहित सरकारी खर्च दिएर काठमाडौँ पठाउन उर्दी जारी भयो ।
विकट भूगोलका कारण रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु जिल्लाका ३५ जना लामा मात्र काठमाडौँ आउन सके । लामाको समूहलाई पाटन, बालाजु, हेटौँडा र पोखराको औद्योगिक क्षेत्र तथा स्वयम्भू, लुम्बिनी, बौद्धलगायतका धार्मिक स्थल अध्ययन भ्रमण गरायौँ । यसको उद्देश्यचाहिँ उत्तरी क्षेत्रका बासिन्दालाई मूलधारे विकाससँग नजिक्याउनु थियो । लामाहरुलाई प्रधानमन्त्री र राजासँग भेट गराएपछि देश दर्शन कार्यक्रम समापन हुन्थ्यो ।
राजासँग भेट्न लामाहरुलाई नारायणहिटी राजदरबार लैजानुपथ्र्यो । त्यतिबेला राजदरबारमा दौरा-सुरुवाल, टोपी र नेपाली नागरिकता नभएकालाई प्रवेश निषेधजस्तै थियो । तर देश दर्शनमा आएका ३५ जना लामासँग नेपाली नागरिकता रहेनछ । संस्कृतीकरणको हावा चलिरहेको समय यस्तो अप्ठेरोको गाँठो फुकाउन मैले अध्यक्ष शाहसँग आग्रह गरेँ । उनी तत्कालै राजा महेन्द्र भेट्न दरबार गए । शाहले ३५ लामाको समूहसँग नागरिकता नभएको र नेपाली टोपीबिनै दरबार पस्न निषेध रहेको कानुनबारे जिज्ञासा राखेछन् ।
राजा महेन्द्र संवेदनशील थिए । दरबार पस्दा टोपी नचाहिने बनाउनू र सबैलाई नागरिकता बनाइदिनू भनेछन् । त्यतिबेला राजधानी काठमाडौँ र जिल्लाबाट समेत नागरिकता बन्थे । राजपत्रांकित विशिष्ट श्रेणी सचिवको दस्तखतले काठमाडौँबाहिरका मान्छेको नागरिकता बन्थ्यो ।
विकासशील विचारधाराका सचिव तारादेव भट्टराईले देश दर्शन कार्यक्रमस्थल जावलाखेल महेन्द्र युवालयमा राखिएका ३५ जना लामाको सिफारिसपत्रमा दस्तखत गरेपछि काठमाडौँ सीडीओ कार्यालयले नागरिकता बनाइदियो । यसरी टोपीबिनै हामीले पहिलोपल्ट दरबारभित्र पसेर लामाहरुलाई राजा महेन्द्रसँग भेटघाटको वातावरण मिलायौँ ।
छिमेकी भारत र चीनमा समेत लामा देश दर्शन कार्यक्रमको नक्कल गरियो । किनभने नेपालमा जस्तै भारत र चीनका लामाहरु पनि देशको मूल प्रवाहमा अटाएका थिएनन् । चीनले त तिब्बतसहितका अन्य प्रान्त गरी करिब ३ हजार लामालाई वाषिर्क देश दर्शन गराएको थियो, नेपालकै कार्यक्रम नक्कल गरेर ।
चीन र भारतले नक्कल गर्न थालेपछि लामा दर्शन कार्यक्रम युनेस्कोबाट समेत प्रशंसित भयो । फ्रान्समा आयोजित सभामा नेपालले स्थानीय नेतृत्वलाई अगाडि बढाउन लिएको नवप्रवर्तनको प्रशंसा गर्दै युनेस्कोका विज्ञ कर्नेल जेस्टले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । राजनीतिज्ञभन्दा बढी प्रभाव भएका स्थानीय लामालाई अगुवा मानेपछि नै हिमाली क्षेत्र भावनात्मक रुपमा नेपालसँग जोडिन सके ।
देश दर्शनको फलस्वरुप स्थानीयमा यसको प्रभाव पर्न गई त्यस क्षेत्रका गुम्बा-घरघरका भित्तामा स्वतःस्फूर्त रुपमा तत्कालीन राजारानीका फोटा राख्न थालिए । तर ०४६ साल र खासगरी माओवादी द्वन्द्व सुरु भएसँगै घर-गुम्बामा राखिएका राजारानीका फोटा फ्याँकिए । त्यसले हिमाली क्षेत्रका वासिन्दा आफ्ना घर-गुम्बामा दलाई लामा (विदेशी) को फोटा राख्ने परिस्थितिमा पुगे, जुन अद्यापि कायमै छ ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...