दरबार जाँचबुझ केन्द्र
राजा महेन्द्रले तत्कालीन जेठा छोरा वीरेन्द्रलाई शासन-प्रशासन सिकाउने अभिप्रायले ०२७ सालको अन्त्यतिर दरबार जाँचबुझ केन्द्र स्थापना गरे ।
राजा महेन्द्रले तत्कालीन जेठा छोरा वीरेन्द्रलाई शासन-प्रशासन सिकाउने अभिप्रायले ०२७ सालको अन्त्यतिर दरबार जाँचबुझ केन्द्र स्थापना गरे । युवराज वीरेन्द्रबाट जाँचबुझ केन्द्र स्थापनाको केही महिनापछि सिंहदरबारस्थित दुर्गम क्षेत्र विकास समितिको कार्यालयमा 'सरप्राइज' भ्रमण भयो । युवराज वीरेन्द्र समितिको कार्यालय आउँदा अध्यक्ष सुरेन्द्रबहादुर शाह धार्मिक यात्रामा काशी गएका थिए । युवराज वीरेन्द्रसँग दार्जिलिङ नर्थप्वाइन्ट अध्ययनताका सामान्य चिनापर्ची थियो । त्यसैले हुनुपर्छ, मलाई देख्नेबित्तिकै अंग्रेजीमै 'आर यू हेअर ?' भने । त्यसपछि मैले कार्यक्षेत्र पर्ने जिल्लाको ठूलो नक्सा देखाएर युवराजलाई समितिबाट भए-गरेका कामकारबाहीबारे एक घन्टाजति बि्रफिङ गरेँ । त्यसको एक घन्टापछि युवराज वीरेन्द्र 'आई विल बी ईन टच विथ यू' भनेर कार्यालयबाट बाहिरिए ।
युवराज वीरेन्द्रले समितिको भ्रमण गरेको महिना दिनपछि तत्कालीन गृहसचिव क्षेत्रविक्रम राणाले गृह मन्त्रालयमा बोलाए । मन्त्रालय पुगेर आफ्नो नाम बताएँ । त्यसपछि गृहसचिव राणाले 'तपाईंलाई भोलि श्री ५ युवराजधिराज सरकारबाट साढे ३ बजे दर्शनभेट हुन्छ । राजदरबारको पूर्वी ढोका (जयनेपाल हलछेउ) जानू' भने । समितिको कार्यालयमा डोरबहादुर विष्टसँग युवराजसमक्ष दर्शनभेटका लागि कसरी प्रस्तुत हुने भनेर छलफल गरेँ । पहिलोपल्ट युवराज वीरेन्द्रलाई भेट्न दौरासुरुवाल लगाएर पूर्वी गेट पुगेँ, ३:१५ बजे । त्यहाँ जाँचबुझ केन्द्रमा काम गर्ने मेरै समूहका अन्य साथीद्वय डा नवराज चालिसे र बालकृष्णलाल जोशी पनि रहेछन् । तर मैले चिनेको थिइनँ । युवराजको कार्यालयबाट एउटा सैनिक आयो र मेरो नाम बोलायो । युवराजको कार्यालय र वासस्थान दुवै रहेको श्रीसदन पुगेँ । युवराजसँगको भेटमा जाँचबुझसम्बन्धी कामलाई कसरी अगाडि बढाउने भनेर छलफल भयो । युवराजले भने, "सामान्यतया जाँचबुझ केन्द्र गठन भएको तिमीलाई थाहा छ । मैले तिमीलाई केन्द्रमा एउटा एसाइन्मेन्ट दिँदै छु ।" अन्य केही विषयमा छलफल गरेपछि श्रीसदनबाट बाहिरिएँ ।
जाँचबुझको अफिस हालको नारायणहिटी संग्रहालय मुख्य ढोकाको बाहिरपट्टी लालदरबारको कम्पाउन्डमा थियो । जाँचबुझमा हामी तीन जना विशेष अधिकृतका रुपमा नियुक्त भएका थियौँ । विज्ञविशेषज्ञमध्ये डा चालिसे राष्ट्र बैंकका जागिरे र जोशी एनआइडीसीमा कार्यरत थिए । बेलायतको इटन, अमेरिकाको हार्वर्ड, बेलायतकै अक्सफोर्ड, टोकियो युनिभर्सिटी, सेन्टजोसेफ नर्थप्वाइन्ट दार्जिलिङमा अध्ययन गरेका युवराज वीरेन्द्रलाई नेपालको परिस्थितिअनुसार यहाँको विकास-निर्माणमा संलग्न गराउने, नेपाली जनजीवनबारे गहिरोसँग अध्ययन र अभ्यास गराउन राजा महेन्द्रले जाँचबुझ केन्द्र स्थापना गरेको भनिन्थ्यो । उक्त जाँचबुझ केन्द्र वीरेन्द्रको प्रत्यक्ष निगरानीमा सञ्चालित थियो ।
जाँचबुझ केन्द्रमा हरेक तीन जनाको कार्यदललाई एउटा विशेष प्रोजेक्ट एसाइन्ट हुन्थ्यो । हामीहरुले गरेको कार्यप्रगतिबारे युवराज वीरेन्द्रलाई ब्रिफिङ गथ्र्यौं । यसअघि अनौपचारिक रुपमा नेपालका विभिन्न स्थान घुमेका वीरेन्द्र त्यसपछि मात्र आधिकारिक रुपमा विकास क्षेत्र भ्रमणमा जान थाले । जाँचबुझ केन्द्रबाट खटिएका हामीले सम्बन्धित क्षेत्रको रेकी गरेर काठमाडौँ आएपछि बुझाएको रिपोर्टका आधारमा वीरेन्द्र भ्रमणमा निस्कन्थे । यस्तो काम पुलिस, सेना, राष्ट्रिय अनुसन्धान विभागबाट पनि हुन्थ्यो ।
यस्तो रिपोर्ट संकलनमा ०२८ मा मेची, कोसीका पहाडी जिल्ला भ्रमणमा म आफैँ गएको पनि थिएँ । भ्रमणका क्रममा युवराजसमक्ष सर्वसाधारणले व्यक्त गर्ने विकास निर्माणका गुनासा, विभिन्न आयोजनामा हुने ढिलासुस्ती, भ्रष्टाचार, अन्य विषयबारे बि्रफिङ अनि डि-ब्रिफिङ पनि गथ्र्यौं ।
केन्द्र स्थापनाको वर्ष दिनमै राजा महेन्द्रको निधन (०२८) भयो र युवराज वीरेन्द्रले शासन सम्हाले । केही समय जाँचबुझ केन्द्र अन्योलमै रह्यो । पछि युवराज वीरेन्द्रको सचिवालयमा रहेको अड्डा राजा भएपछि निजी सचिवालयअन्तर्गत भयो । त्यसपछि राजाको विकास क्षेत्र भ्रमणको सुरुआत जाँचबुझ केन्द्रबाटै हुन थाल्यो । पहिले केन्द्रबाटै रेकी गर्न जाने र हामीले तयार गरेको रिपोर्ट र अन्य रिपोर्टका आधारमा राजा भ्रमणमा निस्कन्थे । राजाको यस्तो विकास क्षेत्र भ्रमणमा म आफैँ ६ पटक सँगै गएको छु । राजाको भ्रमणमा अरु निकाय पनि सक्रिय रहन्थे ।
पटक-पटक काज सरुवा भएर जाँचबुझ केन्द्रमा मैले ४ वर्षजति काम गरेँ । राजाको सवारीमा बोलावट हुनेबित्तिकै जाँचबुझ केन्द्रमा हाजिर हुनैपथ्र्यो । जाँचबुझ केन्द्र पञ्चायत नीति तथा जाँचबुझ समिति स्थापनासँगै विघटनजस्तै भयो । विकास प्रशासन सबलीकरण जाँचबुझ केन्द्रको विशेष कार्यभार थियो । तर पञ्चायत नीति तथा जाँचबुझ समिति पञ्चायत राजनीतिसँग बढी सम्बन्धित थियो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...