राजपरिवार नै शरणार्थी
सन् १९६४ मा भुटानी दरबारमा सत्ता कलहपछि शाही परिवारलाई नेपालमा शरण लिएका बेला म नर्थप्वाइन्ट दार्जिलिङमा अध्ययनरत थिएँ ।

भुटानबाट दुईथरी शरणार्थी नेपाल आए । एउटा समूह भुटानको आन्तरिक कलहले उब्जिएको सत्ता संघर्षका कारण र अर्को समूह नेपालीभाषी भुटानी । सन् १९६४ मा भुटानी दरबारमा सत्ता कलहपछि शाही परिवारलाई नेपालमा शरण लिएका बेला म नर्थप्वाइन्ट दार्जिलिङमा अध्ययनरत थिएँ ।
भुटानमा अहिलेका राजाका बाजे जिग्मे दोर्जे वाङचुङ सत्तामा थिए । राजाको तिब्बती महिला अजी याङकीसँगको सहवासलाई लिएर तत्कालीन प्रधानमन्त्री जिग्मे दोर्जे (राजाका जेठान) सँग पारिवारिक किचलो भएको रहेछ । किनभने प्रधानमन्त्रीकी बहिनी तत्कालीन रानी केसाङ थिइन् । त्यतिबेलै भुटानी प्रधानमन्त्री दोर्जे षडयन्त्रपूर्वक मारिएको चर्चा चल्यो । भुटानमा त्यतिबेला सेनापति बहादुर नाम्गेल र क्वार्टरमास्टर जनरल बक्चु वाङदी थिए । सेनापति राजाका नाता पर्थे । प्रधानमन्त्री मारिनेबित्तिकै राजाले दोर्जेकै साला लम्पी दोर्जेलाई कार्यवाहक प्रधानमन्त्रीमा नियुक्त गरे । दोर्जेले दाजुको हत्या अनुसन्धानलाई अगाडि बढाए । शंकाको सुई सेनापति र क्वार्टरमास्टर जनरलमाथि सोझियो । ती दुईलाई कोर्टमार्सल गरेर फायरिङ स्क्वाड (गोली हानी हत्या) गरियो ।
अकस्मात् मुटु रोगले च्यापेपछि स्वीट्जरल्यान्ड उपचारार्थ गएसँगै भुटानी राजाका दुई रानीसँग प्रधानमन्त्री परिवारको मनमुटाव भयो । जेठीले भुटान छाडिन् । उनी पहिले दार्जिलिङ र कहिलेकाहीँ नेपाल बस्थिन् । आन्तरिक कलह चर्किंदै गएपछि राजाले स्वीट्जरल्यान्डबाटै कार्यवाहक प्रधानमन्त्रीलाई गिरफ्तार गर्न सेनापति उगेन ताम्बीलाई आदेश दिए । तर सेनापतिले राजाको आदेश कार्यान्वयन गरेनन् । कार्यवाहक प्रधानमन्त्री, उनकी दिदी, तत्कालीन सेनापति, दुई कर्णेल र अन्य उच्च ओहोदाका अधिकारी पनि भागेरै नेपालमा शरणका लागि आए ।
भुटानी राजाले भारतीयको सहयोगमा शरणागत परिवारलाई अपहरण गर्न सक्ने आशंकामा राजा महेन्द्रले नेपाली सेनाको कडा सुरक्षा दिएका थिए । भुटानी शाही परिवारका सदस्यलाई व्यवसाय गर्न पनि छूट थियो । भुटानी राजाका साला लम्पी दोर्जे काठमाडौँको सोल्टी होटलमा क्यासिनो चलाएरै बसेका थिए । उनले नर्थप्वाइन्टमै अध्ययन गरेकाले मसँग पहिल्यै चिनजान थियो । भुटानी राजाकी दिदी आसी टासी कोलम्बो प्लानकी भुटान प्रतिनिधि थिइन् । उनी पनि सत्ता कलहका कारण नेपालमै बस्थिन् । पछि रानीका छोरा जिग्मे सिग्मे राजा भएपछि भुटानमा शाही कलहले विश्राम पायो । भुटानी शाही परिवारका सदस्य सन् १९७३ सम्म नेपाल बसेका थिए । पछि कोही फर्किए, कोही अहिले पनि नेपालमा व्यवसाय गर्छन् ।
भुटानी नेपालीभाषी लखेटिएर नेपाल पसे, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा । भुटानको माथिल्लो क्षेत्रमा डुक्पाको र तराई क्षेत्रका गेलेकफु, चमर्ची, फुन्चोलिङलगायत स्थानमा नेपालीभाषीको बसोबास छ । धेरैजसो नेपालीलाई भुटानका प्रधानमन्त्री दोर्चेले नै त्यहाँ लगेका हुन् भनिन्छ किनकि दोर्चेको घर कालिम्पोङमा पनि थियो । त्यहाँ बस्दा उनले नेपालीसँग हिमचिम गरेका थिए ।
भुटानसँग चीनको दौत्य सम्बन्ध नभए पनि सांस्कृतिक हिसाबले धेरै नजिक छ । त्यसैकारण चीनतिर लहसिने आशंकामा भारतले भुटानसँग परराष्ट्र र सुरक्षा मामलामा समझदारी गरेको छ । नेपालमा आएको प्रजातन्त्रको बाछिटा भुटान पस्यो । केही नेपालीभाषी भुटानीले प्रजातन्त्र, मानव अधिकारलगायतका मुद्दामा नेपालका नेताको सिको गरे । भुटानले नेपालीभाषीलाई दोस्रो दर्जाका नागरिकको व्यवहार गथ्र्यो । भुटानी राजाले त्यहाँका नेपालीको माग सुन्नु त परै जाओस्, भारतसँग गुप्त सहमति गरेर आफूहरुलाई लखेटिदिएको नेपालीभाषी भुटानीको गुनासो छ ।
भारतले भुटानी सत्तालाई समर्थन गर्ने हुँदा त्यहाँ रहेका नेपालीभाषी लखेट्न सहमति दियो, आफूकहाँ बस्न नपाउने सर्तमा । भुटानको फिनचोलिङ सीमा पार गर्नेबित्तिकै भारतको जयगाउँ आउँछ । जयगाउँबाट सयौँ भारतीय ट्रक, बसमा कोचेर नेपालीभाषी भुटानीलाई नेपालको सीमाबिन्दु काँकडभिट्टा हुलियो, भारतीय सुरक्षाकर्मीकै सहयोगमा ।
नेपालको मोरङ, सुनसरीका विभिन्न स्थानमा क्याम्प बनाएर भुटानी नेपालीभाषीलाई शरणार्थीका रुपमा राखियो । कोही भुटानी विदेश जान पाउने लोभमा त्यत्तिकै नेपाल आए, कोही भागाभागमा परेर आए । झन्डै एक लाखलाई लखेटिए पनि भुटानमा करिब ७० हजारजति नेपालीभाषी बस्छन् ।
भुटानी शरणार्थीलाई क्रिस्चियन संस्था, विश्व खाद्य, लुथरन, रेडक्रसलगायतले चामल, दूध बाँड्थे । पछि नेपालमा शरणार्थीसम्बन्धी उच्च आयोग, नेपाल सरकार र दातृ निकायको समन्वयमा १ लाख हाराहारी भुटानी शरणार्थी अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत तेस्रो देश पुनर्वास गए । अहिले ७ हजारजति क्याम्पमै होलान् । गृह मन्त्रालयमा छँदा मैले भुटानी शरणार्थी क्याम्प व्यवस्थापनको जिम्मा पाएको थिएँ ।
प्रस्तुति : गोकुल अर्याल