शिख समुदायको नेपाल साइनो
नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा जम्मु कश्मीरबाट म आफैँले करिब १० हजारजति जनशक्ति ल्याएँ । राजा महेन्द्रको जोडबलमै नेपालमा यातायात विस्तार गर्यौँ । नेपालमा जहाँ–जहाँ सडक बने, त्यहाँ–त्यहाँ शिख समुदायले यातायात सञ्चालन गरे ।

'सडक बादशाह’ को उपमा पाएको शिख समुदायले नेपाललाई कहिलेदेखि थातथलो बनाएको थियो भन्नेमा प्राचीन–आधुनिक दुवै मत पाइन्छन् । शिख समुदायले नेपाललाई धार्मिक, सैनिक सहयोग र ट्रान्सपोर्ट व्यवसाय सञ्चालनार्थ थातथलो बनाएको विभिन्न घटनाले देखाएका छन् ।
पहिलो मतअनुसार मल्लकालीन राजा जयजगत मल्लको समय शिख गुरु आदिदेव धार्मिक यात्राका क्रममा काठमाडौँ आएका रहेछन् । तिनै शिख गुरुले राजाका मानसिक सन्तुलन गुमाएका छोरालाई बिसेक गरिदिएपछि बालाजु, म्हैपीमा करिब १६ सय रोपनी जग्गा बक्सिसस्वरुप पाएछन् । त्यसपछि शिख समुदाय काठमाडौँ उपत्यकामा बस्न थालेको मानिन्छ ।
ब्रिटिस शासनकालमा करिब डेढ सय वर्षअघि शिख समुदाय नेपाल आएको अर्को प्रसंग पनि छ । भारतमा अंग्रेजको पोल्टामा पुगिनसकेको स्वतन्त्र पञ्जाब राष्ट्र र संसारमै बहादुर लडाकुको देशका रुपमा परिचित नेपालबीच भाइचारा सम्बन्ध थियो । ब्रिटिस अंग्रेजसँगको लडाइँमा पराजित हुनु परेपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले पञ्जाबका महाराजा रणजीत सिंहसँग सैनिक सहयोग मागे ।
यो पनि पढ्नुस्ः कश्मीरी पण्डितको पलायन
महाराजा सिंहले नेपालको सहयोगार्थ शिख सेना पठाए । अमरसिंह थापा सेनापति थिए । तर, नेपाल–अंग्रेजबीच सुगौली सन्धि भयो । त्यसपछि नेपालको सहयोगार्थ आएको १० हजार सैनिकसहितको परिवारलाई बाँके नेपालगन्जमा बसालिएको सन्दर्भ शिख हेरिटेज अफ नेपाल पुस्तकमा छ ।
नेपालगन्जलाई थातथलो बनाएकै कारण अहिले पनि बाँकेका शिखनापुर, जमुनाह, वनकटहवा, बकौली, मनिपुर्वालगायत स्थानमा शिख समुदायको बाक्लो बस्ती छ । यही शिख समुदायले भारतमा अंग्रेज शासन अन्त्यसँगै भारत–पाकिस्तान विभाजनको पीडा पनि खेपेको थियो ।
पछिल्लो समय शिख समुदायको नेपाल प्रवेश सन्दर्भमा म आफैँ जोडिएँ । ट्रान्सपोर्ट व्यवसायलाई विस्तार गर्ने उद्देश्यले नेपाल प्रवेश गर्यौँ, सन् १९५६ मा । नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा जम्मु कश्मीरबाट म आफैँले करिब १० हजारजति जनशक्ति ल्याएँ । राजा महेन्द्रको जोडबलमै नेपालमा यातायात विस्तार गर्यौँ । नेपालमा जहाँ–जहाँ सडक बने, त्यहाँ–त्यहाँ शिख समुदायले यातायात सञ्चालन गरे । जम्मु कश्मीरबाटै आएको यातायात जनशक्तिले कालान्तरमा ड्राइभर, मेकानिक्स, प्लम्बरजस्ता काममा नेपालीलाई दक्ष बनायो ।
काठमाडौँ उपत्यकाभित्र र बाहिरका कम्पनी चलाउन परिवारका सदस्य र ट्रान्सपोर्टमा कार्यरत जनशक्तिले पनि नेपालका मुख्य सहरलाई आफ्नो थातथलो बनाए । काठमाडौँ मुख्य स्थल छँदै थियो । काठमाडौँपछि पहिलोपल्ट सन् १९६० मा शिख समुदाय वीरगन्ज पुग्यो । त्यहाँ पुगेपछि थातबास बनायो । यातायात विस्तारकै क्रममा केहीले बुटवल, कृष्णनगरलाई बासस्थान बनाए भने केहीले धनगढीमा अड्डा जमाए । केहीले नेपालगन्जलाई पनि रोजे ।
दुई–तीन सय वर्ष अघिदेखि बाँकेलाई थातथलो बनाउँदै आएका शिख नेपाली नागरिक भइसकेका छन् । नेपाली नागरिकता पनि प्राप्त गरिसकेका छन् । तिनीहरु थोरै संख्यामै भए पनि पुलिस, सशस्त्र प्रहरी, प्राविधिकजस्ता सरकारी पदमा कार्यरत छन् । बाँकेका विभिन्न स्थानमा बस्ने शिख समुदायको संख्या अहिले ५ हजारजति होला । ६२ वर्षदेखि ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा नेपाल आएको १० हजार जनशक्तिमध्ये अहिले विविध कारणले यस्तै ३ हजार मात्र होला । कामका लागि नेपाल बसेको ठूलो हिस्सा भने विविध कारणवश आफ्नै देश फर्कियो ।
यो पनि पढ्नुस्ः जम्मुदेखि काठमाडौँसम्म
नेपालमा शिख समुदायको थातथलो बढ्दै गयो । हाम्रै कम्पनीका लागि जम्मु कश्मीरबाट आएको जनशक्ति नेपाल बसेको दशकौँ भइसकेको थियो । पञ्चायत समय नेपालमा नागरिकता प्रावधानमा कडाइ थियो । ट्रान्सपोर्ट व्यवसाय विस्तार र त्यसका अप्ठेरा फुकाउन बेलाबेला राजा महेन्द्रले मलाई दरबारमा निम्तो गर्थे । त्यही बेला मैले राजासँग नागरिकता विषयमा पनि कुरा उठाएँ । राजा महेन्द्रले नागरिकता पाउन इच्छुक शिख समुदायका व्यक्तिको नाम मागे ।
राजा महेन्द्रको विकास क्षेत्र भ्रमणअन्तर्गत हेटौँडा सवारी भएको थियो । त्यतिबेलै शिख समुदायको अगुवाइ गर्दै राजालाई भेट्न म हेटौँडा गएँ । हाम्रो समुदायका तर्फबाट डेढ–दुई सयको नाम टिपायौँ । पछि राजासँग दरबारमा भेट हुँदा शिख समुदायका व्यक्तिको नागरिकता बनाउन गृह मन्त्रालयमा कारबाहीका लागि अगाडि बढाएको मलाई जानकारी दिएका थिए । तर हामीले बुझाएको २ सयको संख्यामध्ये १७ जनाले मात्र नागरिकता पाए । नेपालमा यातायात सुरु भएदेखि नै ट्रान्सपोर्ट व्यवसायमा संलग्न म आफैँ पनि अहिलेसम्म नेपाली नागरिक हुन पाएको छैन ।
शिख समुदाय सहिष्णु भएकै कारण नेपालको मुस्लिम बहुल क्षेत्रमा वर्षौंदेखि अड्डा जमाएरै बसेको छ । शिख हिन्दु धर्म सम्प्रदायका भए पनि सामाजिक अन्तरघुलनकै कारण नेपालगन्ज, वीरगन्ज, कृष्णनगरजस्ता मुस्लिम क्षेत्रमा बाक्लो बस्ती बसाउन सकेका हुन् ।
प्रस्तुतिः गोकुल अर्याल