राजा र राणाका विलासी कार
ट्रक लिएर काठमाडौँ छिरेको शिख समुदायले उपत्यकासहित नेपालभर व्यवस्थित यातायातको जग बसाल्यो ।

ट्रक लिएर काठमाडौँ छिरेको शिख समुदायले उपत्यकासहित नेपालभर व्यवस्थित यातायातको जग बसाल्यो । यसको सुरुआत नेपालकै पहिलो त्रिभुवन राजपथबाटै भयो । शिख समुदायले ढुवानीका साधन मात्र नभई यात्रुवाहक बस पनि सञ्चालनमा ल्यायो । उपत्यकामा सार्वजनिक यातायात नियमित नभए पनि अमलेखगन्ज–भीमफेदीसम्म फोर्ड कम्पनीका पुराना साना बस चल्थे । यी बस पनि नियमित हुँदैनथे । कारण, सडकको अवस्था राम्रो थिएन । सेभ्रोलेटका जीप, जीएमसी चार बाई चारका ट्रक पनि फाट्टफुट्ट थिए । राजधानीमा नियमित यातायात नहुँदा आवश्यक खाद्यान्न हेटौँडाबाट रोपवेमार्फत कालीमाटी आउँथ्यो ।
सन् १९५६ सम्म उपत्यकामा कमर्सियल गाडी थिएनन् भन्दा पनि हुन्छ । मोटरसाइकल मुस्किलले तीन–चार वटा र व्यक्तिगत ट्याक्सी यस्तै १५–२० वटा थिए । बहुसंख्यक मानिस पैदल र साइकल प्रयोग गर्थे । प्रशासनिक अड्डा सिंहदरबारमा जागिर खान उपत्यकाका काँठ क्षेत्रबाट आउने बढीजसोसँग साइकल हुन्थे ।
हामीले काठमाडौँमा बस सेवा सुरु गर्दासमेत राजा–राणा खलकका संसारमै महँगोमध्ये पर्ने रोड राइडर कार चल्थे । करिब २०–२५ वटा यस्ता महँगा कार विलासी ठाँटबाँट भएकाले मात्र प्रयोग गर्छन् भन्ने गाइँगुइँ सुनिन्थ्यो । पुलिसका आईजीपीसमेत साइकल चढेर कार्यालय र निवास धाएको म आफैँले देखेँ । त्यतिबेला इन्स्पेक्टर रहेर पछि आईजीपी भएका डीबी लामाले काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी सञ्चालनार्थ भरपूर सहयोग गरे ।
उपल्लो प्रशासनिक ओहोदाका वरिष्ठ अधिकारीसँग समेत सरकारी–निजी सवारी साधन थिएनन् । यसको प्रमाण म आफैँ गुरुजी बनेर तत्कालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहलाई मध्यतराई भ्रमण गराएँ, सन् १९६१ मा । काठमाडौँबाट सरकारी काम विशेषले न्यायाधीश सिंहलाई ट्रकमा राखेर वीरगन्ज र जनकपुर घुमाएँ । काम सकिएपछि ट्रकमै बोकेर काठमाडौँ उतारेँ । मध्यतराई ट्रक यात्रा गराएको यस्तै ३–४ वर्षपछि मुख्य न्यायमूर्तिलाई भेट्न जाँदा भने सिंहसँग सरकारले दिएको पुरानो जीप देखेको थिएँ ।
काठमाडौँमै व्यवस्थित सडक नभएको अवस्थामा सार्वजनिक यातायातको पहुँच हुने कुरै भएन । राजदरबारदेखि न्युरोडसम्मको बाटो मात्र कालोपत्रे थियो । अहिले विकसित स्वरुपमा आएका राजधानीका बाहिरी–भित्री सडक कच्ची थिए भने पानी पर्दा हिलाम्य हुन्थे । अहिले अन्नपूर्ण होटल रहेको क्षेत्रको बाटो धेरै पछि खुलेको हो । काठमाडौँ–थानकोट ट्रयाक भर्खरै खुलेको थियो ।
ललितपुर, भक्तपुरका सडक पनि कच्ची नै थिए । उपत्यकामा सार्वजनिक बस हुइँकिँदासमेत ललितपुर र भक्तपुरलाई आधाभन्दा बढी जंगलले ढाकेको थियो । पछि अरनिको राजमार्ग विस्तारका क्रममा मात्र आधुनिक भक्तपुर निर्माणले गति लिएको हो ।
सार्वजनिक यातायात शून्य रहेको अवस्थामा हामीले नै सन् १९५९ मा पहिलोपल्ट काठमाडौँमा बस भित्र्यायौँँ । भारतबाट पार्टपुर्जा ल्याएर वीरगन्जमा एसेम्बलिङ गरी बस भित्र्याएपछि मात्र उपत्यकाबासीले नियमित यातायात उपभोग गर्न पाए । सुरुमा दुइटा बसबाट सुरु गरेको सेवा विस्तार हुँदै जाँदा ६० सम्म पुगे । पछि काठमाडौँमै भारतबाट पार्टपुर्जा ल्याएर नयाँ बसको आकारमा ढाल्न थाल्यौँ । त्यसका लागि आफैँले दक्ष जनशक्ति जम्मु कश्मीरबाटै ल्याएँ । उपत्यकामा चलाउन जम्मु कश्मीरबाटै फियाट कार ल्याएको थिएँ ।
उपत्यकामा बस सेवा सुरु भएकै समय राजा महेन्द्रले मलाई दरबार बोलाए, सन् १९६० मा । त्यो भेटमा राजाले खाद्यान्न ढुवानी साधनजस्तै यात्रुबस सेवा विस्तार गर्न सुझाए । त्यसपछि हामीले भारतीय नम्बर प्लेटका गाडीसमेत काठमाडौँ भित्र्यायौँ । भारतीय ट्रक नेपालमा पहिलेदेखि नै चल्थे । भारतबाट सार्वजनिक यातायात ल्याउँदा नेपाल सरकारले भन्सार चलान, कर, सडक दस्तुर सबैमा छूट दिने व्यवस्था गरिदियो । यस्ता गाडी आवश्यकता परुन्जेल चलाउने र पछि उतै फर्काइन्थ्यो ।
त्रिभुवन राजपथबाहेक अन्यत्र सडक नभएको अवस्था फेरिँदै गयो । लाइफ–लाइन मानिने महेन्द्र राजमार्ग शिलान्याससँगै सडक विस्तारले तीव्रता पाउन थाल्यो । उपत्यकाबाहिर सडक सञ्जाल विस्तारसँगै राजधानीमा पनि पूर्वाधार निर्माणले गति लियो । सन् १९६५ पछि विराटनगरको निजी कम्पनीले काठमाडौँमा सार्वजनिक यातायात सुरु गर्यो । बाटाघाटा बनेसँगै अरु कम्पनी पनि थपिए ।