मनकामना बस सर्भिसमा राजपरिवार
नेपालको यातायात क्षेत्रमा शिख समुदायको लोभलाग्दो प्रगति देखेर विभिन्न कम्पनी खुले तर दिगो हुन सकेनन् ।

सन् १९५९ मा पब्लिक मोटर्स स्थापनासँगै नेपालभर सार्वजनिक यातायात सञ्चालनार्थ कैयौँ कम्पनी विस्तार भए । सुरुमा एक कम्पनीबाट सञ्चालित ट्रान्सपोर्ट व्यवसाय विस्तार हुँदै जाँदा पारिवारिक साझेदारीमा राजपरिवारका सदस्यसमेत हिस्सेदार बने ।
काठमाडौँमा सार्वजनिक यातायात सञ्चालनमा ल्याएलगत्तै उपत्यका नजिकको देवीघाट–त्रिशूलीमा बस सेवा चलायौँ, पहिलोपल्ट, सन् १९५९ मै । त्यसपछि नेपालभर ट्रान्सपोर्ट व्यवसाय सञ्चालनका लागि पहिलोपल्ट वीरगन्जमा लोकभक्त बस सेवा कम्पनी खोलियो । यसले वीरगन्ज–नारायणगढ बस सेवा सञ्चालन गथ्र्यो । वीरगन्ज–काठमाडौँ बस सेवा पनि यही कम्पनीमार्फत चलायौँ ।
पश्चिमतर्फ यातायात विस्तार गर्न नेपाल दर्शन बस सेवा कम्पनी खोल्यौँ । यो कम्पनीमार्फत सञ्चालित बस–ट्रक बुटवल–पोखरालगायत पश्चिम पहाडी जिल्लामा चलाइयो । नेपालगन्जबाट ट्रान्सपोर्ट सेवा थाल्न इन्डो–नेपाल रोडवेज कम्पनी खोल्यौँ । यो कम्पनीले पनि सडक सञ्जाल विस्तारसँगै काठमाडौँ–पोखरा, बुटवल, धनगढीसम्म यात्रु सेवा दियो । पारिवारिक साझेदारीका कम्पनी सञ्चालन गर्न परिवारका विभिन्न सदस्य उपत्यकाबाहिर बस्थे ।
नेपालको यातायात क्षेत्रमा शिख समुदायको लोभलाग्दो प्रगति देखेर विभिन्न कम्पनी खुले तर दिगो हुन सकेनन् । मैले नै खोलेको मनकामना बस सर्भिस कम्पनीमा राजपरिवारका सदस्य पनि जोडिन आइपुगे । महेन्द्रका ज्वाइँ दीपकविक्रम शाह (शान्ति शाहका पति) सँगै हामीले मनकामना बस सेवा ५ वर्षसम्म साझेदारीमै चलायौँ । कम्पनी मुनाफामा जान थालेपछि दीपक .आफैँले चलाउने निर्णय गरे । त्यसपछि मैले उक्त कम्पनीबाट हात झिकेँ । राजाका ज्वाइँको एकल स्वामित्वमा सञ्चालित मनकामना बस सेवा कमजोर व्यवस्थापनका कारण एक–डेढ वर्ष चलेर बन्द भयो ।
शिख समुदायकै कारण नेपालमा ट्रान्सपोर्ट फैलिएपछि राजा महेन्द्रले बस व्यवसायमा पनि लगानी बढाउन आग्रह गर्थे । मनकामना बस सेवा सञ्चालन गरेको यस्तै २–३ महिना भएको थियो । उपत्यकाबाहिर चल्ने बस सेवा सञ्चालनको अवस्था बुझ्न राजा महेन्द्रबाट मलाई दरबारमा बोलावट भयो । राजाले नै सार्वजनिक यातायातमा नेपालका अन्य कम्पनीसँग हातेमालो गरेर अगाडि बढ्न सुझाए ।
आफ्नो सल्लाहमै ज्वाइँले बस सेवामा लगानी हालेको राजाले मलाई जानकारी दिए ।
सुदूरपश्चिममा यात्रु तथा मालवाहक सेवा दिन पारिवारिक साझेदारीकै अर्को कम्पनी हेमकुण्ड ट्रान्सपोर्ट खोल्यौँ । कान्छो भाइ दर्शन सिंहको जिम्मामा रहेको यो कम्पनीले धनगढी–डडेल्धुरासम्म यात्रु तथा मालवाहक सेवा चलाउँथ्यो । पछि नेपालमा सडक निर्माण हुँदै गए । महेन्द्र राजमार्ग निर्माणले गति लियो । उपत्यकाबाहिर खुलेका कम्पनीले राजधानीसम्म बस तथा ट्रक चलाउन थाले ।
हामीले नेपालमा यातायात सुरु गरेको २३ वर्षपछि बुटवल–पोखरा, नारायणगढ–बुटवल, सुनौली–पोखरा, धनगढी–नेपालगन्ज, नारायणगढ–मुग्लिन, काठमाडौँ–पोखरा, वीरगन्ज–बुटवललगायतका सडक बने । यी सडकमा पहिलोपल्ट गाडी चलाउने कम्पनी हाम्रै थिए ।
नेपालको समथर क्षेत्र पश्चिममा यातायात चल्न थालेपछि राजा महेन्द्रले पूर्वाञ्चललाई आधार बनाएर राजमार्ग निर्माण अगाडि बढाए । दुई छिमेकीका साथै दातृ समुदायले पनि नेपालको सडक विस्तारमा सहयोग पुर्याए । जनकपुर, वीरगन्ज–पथलैया सडक बने । हामीले पनि पूर्वतिर बस सेवा थाल्यौँ । हाम्रा कम्पनीले यातायात सेवा सुरु गर्नुअघि तराईका वीरगन्ज–रक्सौल, नेपालगन्जल, विराटनगरलगायत सहरमा टाँगा चल्थे । धनगढीमा बढीजसो बयलगाडा चल्थे । पहाडमा हुनेखानेले मात्र घोडा पाल्थे । खाद्यान्न ढुवानी भरियामार्फत हुन्थ्यो ।
नेपालमा पर्याप्त बस नहुँदा सर्वसाधारणलाई कयौँपल्ट ट्रकमै राखेर गन्तव्य पुर्याइन्थ्यो । तराई क्षेत्रमा त ट्रकको हुटमा समेत मानिस कोचिन्थे । पहाडी क्षेत्रमा मालवाहक ट्रकलाई बिनासिटका यात्रुवाहक साधन पनि बनाइयो । पारिवारिक साझेदारीका झन्डै चार सय बस, ट्रक र ट्यांकरमार्फत नेपालको सार्वजनिक यातायात क्षेत्रमा करिब चार दशकसम्म सेवा गरियो ।
नेपालमा सार्वजनिक यातायातको व्यवस्थित जग बसाएर सन् १९५८–२००० सम्मको अवधिमा हजारौँ ड्राइभर, मेकानिक्सलगायतका दक्ष जनशक्ति उत्पादन गरियो । हाम्रा कम्पनी उकासिए । अन्य निजी यातायात कम्पनीले फस्टाउने अवसर पाए ।
प्रस्तुति : गोकुल अर्याल