बालुवाटारमा प्रधानमन्त्रीका अर्थपूर्ण आग्रह
सम्पादकहरूलाई भने, ‘म क्षमाप्रार्थी छु, तर तपाईंहरु पनि अलिकति बढ्ता चाहि भाकै हो ।’
प्रधानमन्त्री केपी ओली निर्धारित समयभन्दा एक घन्टा ढिलो आइपुगे भन्ने प्रसंग कुनै खबर होइन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास निर्माणाधीन रहेकाले साविकको मुख्यसचिव निवासमा सम्पादकहरूलाई निम्त्याउँदै गर्दा उनको सचिवालयले सरकारी सञ्चारमाध्यमका सम्पादकलाई छुटाउनु अर्थपूर्ण थियो । बुझ्न सकिन्थ्यो, प्रधानमन्त्री आफ्ना ‘आलोचकहरूसँग’ चियापान गर्न चाहन्छन् ।
मंगलबार अपराह्न चार बजे बैठक हलमा पस्नेबित्तिकै ओलीले भने, ‘अरुबेलाजस्तो पहिले मैले बोल्ने, तपाईंहरू सुन्ने होइन । पहिले तपाईंहरू बोल्ने । प्रश्न वा जिज्ञासामात्रै होइन, आज मन्तव्य पनि दिन पाइन्छ ।’
'बडी ल्यांग्वेज'बाटै थाहा हुन्थ्यो, प्रधानमन्त्री पछिल्ला महिनाहरूमा मिडियासँग चिसिएको सम्बन्ध सुधार्न चाहन्छन् । पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकपश्चात ओलीले थप एक्लिएको अनुभूति गरेका छन् । नेकपाको सचिवालय, स्थायी कमिटी उनका लागि आजका दिन उति अनुकुल छैन । पोलिटब्युरोले आकार पाउन बाँकी छ । यस्तो प्रतिकुलतामा पनि के ‘सम्पादकहरूको मुटु’ खोजेर बसिराख्नु !
अलिकति 'रेस्ट्रिक्सन्' पनि चाहिन्छ...
सल्लाहकारहरू विष्ण रिमाल, राजन भट्टराई र सूर्य थापालाई दायाँबायाँ राख्दै सम्पादकहरूका तिखा टिप्पणीहरू सुनेका ओलीले आफ्नो सरकारले दुई वर्षमा गरेका कामहरूको प्रशंसा गर्न छुटाएनन् । अनि आलोचनाहरूलाई पनि धैर्यपूर्वक सुनिरहेको, त्यो स्वभाविक भएको पनि टिप्पणी गरे । प्रेसलाई कस्ने कानुनहरू नबन्ने बचनबद्धता दोहोर्याउँदै गर्दा उनले यो पनि भन्न छुटाएनन्, ‘सभ्य र शालीन समाजका लागि अलिकति 'रेस्ट्रिक्सन्' पनि चाहिन्छ । देशलाई समृद्ध मात्रै बनाएर पुग्दैन, मानवीय भावनायुक्त पनि बनाउनुपर्यो ।’
प्रेस, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूले लामो समय संघर्ष गरिआएको भन्दै ओलीले सरकारको आलोचना गर्दैगर्दा जनता निराश बनाउन नहुने पनि टिप्पणी गरे । ‘जनता निराश भए देश बर्बाद हुन्छ, जनताको आत्मविश्वास जगाउनुपर्यो,’ उनले भने, ‘परिवर्तनपछि बनेको सरकार हो, तर यसले पनि धेरै कुरामा सम्झौता गरेको छ । कर्मचारीतन्त्र उस्तै छ । समाजमा चर्का भावनाहरूलाई मिलाउनुपर्ने छ, सानो प्रयासले यो सन्तुलन कायम भएको छैन ।’
एमसीसीबारे
एमसीसीका पक्षमा संसदबाट यसै अधिवेशनबाट टुंगो लगाउनुपर्ने भन्दै ओलीले सरकार त्यसका लागि प्रयत्नरत रहेको पनि बताए । उनले प्रतिपक्षी कांग्रेससमेत यसका पक्षमा रहेका बेला आफ्नो पार्टीका साथीहरूले ‘सम्झौता गरिसकेपछि बहस गर्ने पुरानै चलन दोहोर्याएको’ कटाक्ष पनि गर्न छुटाएनन् । अमेरिकाजस्तो महाशक्तिसँग इन्डो प्यासिफिकमात्रै नभई सिंगै विश्वका लागि रणनीति हुनु स्वभाविक भन्दै त्यस्तोमा पर्ने कि नपर्ने भन्ने निर्णय यहाँको नेतृत्वले गर्न सक्नुपर्ने, अनि गर्ने पनि बताए ।
‘मलाई पहिलोचोटि प्रधानमन्त्रीबाट हटाएर बनाएको सरकारले एमसीसीलाई अघि बढाएको हो, तर म त्यसलाई बाधा गर्दिनँ किनकि यो देशको हितमा छ,’ उनले भने, ‘कार्यदलका साथीहरू (झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली) ले १० दिनको समय मागेका छन्, आज त तीन दिन बितिनै सक्यो ।’
ओलीले निर्वाचन प्रणालीको पनि कुरा गरे । पार्टी केन्द्रीय कमिटीमा निर्वाचन खर्चालु भएको प्रसंग जोडतोडले उठेको भन्दै उनले भ्रष्टाचार बढ्नुको कारण यो पनि हुन पुगेको औंल्याए । उनको कुरालाई मान्ने हो भने नेकपा सरकारले संविधानमा लेखिएको मिश्रित निर्वाचन पद्दतिका बारेमा पुनर्विचार गर्नुपर्ने हुन्छ ।
बालुवाटारको जग्गा
भ्रष्टाचार र अनियमितताकै कुरा उठ्दा सम्पादकहरूले बालुवाटार ललितानिवासको जग्गा, यति होल्डिङ्स प्रकरणलगायत महत्वपूर्ण मुद्दा उठाउन छुटाएनन् । ओलीले तिनको जवाफ चित्तबुझ्दोगरी दिन त सकेनन् । तर थुम्थुम्याउने प्रयास गरे, ‘त्योबेला म पनि बालकोटतिर जग्गा किन्दैथिए, पछि बालुवाटारको जग्गामा विवाद उठेपछि साथीहरूलाई सोधें, कतै यहाँको (बालकोट) को जग्गा पनि विवादग्रस्त त छैन ?’ उनले आफ्नो पालामा भ्रष्टाचार उत्खनन् भइरहेको भन्दै आफूमाथि शंका नगर्न आग्रह गरे ।
‘म पनि घडेरी खोज्दै हिडेको थिएँ, धन्न बालुवाटारको जग्गा परेनछ, सरकारले यसमा अनुसन्धान गर्दैछ,’ उनले भने । दरबारमार्गमा यती समूहले बनाएको बिल्डिङले आफ्नो प्रक्रिया पुर्याएको दाबी गरे पनि अरु प्रकरणबारे चाहिँ केही जवाफ दिएनन् । बरु आफ्नो नियतमाथि शंका नगर्न जिकिर गरेर प्रश्न पन्छाए ।
ओलीले नेकपा नेताहरूबारे गरेको टिप्पणी सबैभन्दा अर्थपूर्ण थियो । भैंसेपाटीस्थित वामदेव गौतम निवासमा केही अघिको बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, माधव नेपाल, झलनाथ खनाललगायत सहभागी भएको प्रसंगलाई अति सामान्य रुपमा लिन ओलीले आग्रह गरे पनि उनी त्यसबाट खुसी छैनन् भन्ने बुझ्न सकिन्थ्यो । भन्न त उनले भने, ‘त्यस्ता बैठक खुमलटार, डल्लु, सिंहदरबारतिर जहिल्यै भइरहेका हुन्छन्, यहाँ पनि भइरहेकै हुन्छन् । केही नेताले बैठक गरे भन्दैमा मिडियाले ठूलो बनाइहाल्ने ?’
प्रधानमन्त्रीको कुर्सीमा अहिले आफू भए पनि अझै सिनियर प्रधानमन्त्री र पार्टी अध्यक्षहरू पार्टीभित्रै भएकाले उनीहरूको पनि भावना बुझ्न खोज्दा कहिलेकाहि जटिलता उत्पन्न हुने उनले स्वीकारे । र अहिलेसम्म पार्टीभित्र आफूले एकछत्र गर्दैआएका निर्णयहरू अब हुन गाह्रो रहेको छनक पनि दिए । यसबाट चौतर्फी प्रतिकुलता झेल्दै गरेका प्रधानमन्त्री पार्टीभित्र पनि सहज अनुकुलतामा छैनन् भन्ने प्रष्टै अर्थ लगाउन सकिन्छ ।
बलिङ र ब्याटिङ
पत्रकारहरूबारे अक्सर टिप्पणी गरिरहने ओलीले यहाँ पनि के छाड्थे ! ‘हुन चाहि तपाईंहरू पनि अलिकति बढ्ता चाहिँ भाकै हो,’ उनले भने, अनि हत्तपत्त सम्हालिँदै भने, ‘हुन त त्यो स्वाभाविक पनि हो । म पनि पहिले त्यस्तै प्रकारको थिएँ ।’ यसो भन्दै सम्पादकहरूको इगो मालिस गर्न शब्द खर्चे, ‘सरकारलाई आफूले मात्रै भन्न पाउनुपर्छ भन्ने, हामीले जवाफ फर्कायो भने सहनै नसक्ने ? आफूले बलिङ गरेको गर्यै, उताबाट यसो ब्याटिङ फर्काइदेको, इस्यु बनाइदिने ?’
अन्तिममा ओलीले सम्पादकहरूसामू दुईवटा सांकेतिक काम गरे । विगतमा बोल्ने, गर्ने क्रममा भुलचुक भएको भए माफी दिन आग्रह गरे, जो यसअघि उनी गर्दैनथे । अनि आफूलाई ‘को–अपरेट गर्न’ अर्थपूर्ण आग्रह गरे, यो पनि यसअघि उनी गर्दैनथे ।
३ वर्ष मजाले काम गर्छु
सरकारमाथि आम असन्तोषको ज्वर बढ्दै छ भन्ने ओलीले ठम्याइसकेको बुझ्न सकिन्छ । दुई वर्षको कार्यावधिमा केही राम्रा कामको थालनी भए पनि टुंगो लाग्न बाकी रहेको भन्दै उनले थुम्थुम्याउदैगर्दा एउटा प्रसंग उप्काउन छुटाएनन्, ‘मैले कुनै पनि निर्णय गर्दा तपाईंहरूले के ठान्नुहोला भनी सोच्नुपर्छ । प्रतिपक्षी पार्टीले, अनि अरु असन्तुष्ट पक्षहरूले के भन्लान् भनी सोच्नुपर्छ ।’ आफू राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै आफ्नो स्वास्थ्यबारे हल्कै टिप्पणी गरे, ‘एउटा किड्नी ट्रान्सप्लान्ट गर्छु, त्यसपछि बाकी ३ वर्ष मज्जाले काम गर्छु ।’
अनि आलोपालो सत्ता चलाउने भन्दै आएका प्रचण्डलाई पनि सांकेतिक व्यंग्य गरे, ‘मैले त उहाँलाई आधा आधा अवधि आलोपालो गरौं भनेको, उहाँले त्यसो गर्दा स्थिरता खलबलिन्छ भन्दै मैलाई चलाउन आग्रह गर्नुभयो ।’
मिटिङ सकिएसँगै ओलीले हामीलाई अर्को भवनमा लगे, जहाँ ‘मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सारंगी साँझ’ चल्दै थियो । सम्पादकहरूसँग प्रधानमन्त्रीको भेट छलेका सञ्चारमन्त्री गोकुल बास्कोटा त्यहाँ भने आइपुगेका थिए । ओलीसँग फरक मत राख्दै आएका प्रचण्ड, वामदेव गौतम त्यहाँ नदेखिए पनि माधव नेपाल र झलनाथ खनाल उपस्थित थिए । उनीहरूले त्यहाँ बाजा पनि बजाए ।
बालुवाटारमा आयोजित सारंगी साँझमा बाजा बजाउँदै प्रधानमन्त्री ओली, झलनाथ खनाल र माधव नेपाल । तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट ।
सम्पादकहरूसँग टेबुल सेयर गरिरहेका सञ्चारमन्त्री गोकुल बास्कोटालाई देखेपछि ओली नजिकै आए । उनलाई समाउँदै ठट्टा गरे, ‘तपाईँहरूले समाउनुपर्ने मान्छे यही हो । सम्पादकलाई हेप्नी ?’
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...