एउटा पुलको कथा
ओखलढुंगा र उदयपुरको बीचमा अवस्थित सुनकोसी नदीमा ठेक्का लागेको १३ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएको छ ।

पुल निर्माणको कथा अलि लामो छ । सुरुमा पुलको डिजाइनै फेल भयो । विकल्पका रूपमा सञ्चालित डुंगा दुर्घटना हुँदा एक दर्जन सर्वसाधारणको ज्यान गयो । बाँसबाट निर्मित पुलमा भाडा तिरेर नदी तर्नुपरेका दिन सर्वसाधारणको सम्झनामा ताजै छन् ।
ड्रम जोडेर सवारीसाधन तार्दा होस् या फलामको 'फेरी' नदीले बगाउँदाको समय होस्, कष्टकर दिनका साक्षी छन् सर्वसाधारण । हिउँदमा अस्थायी बेलिबि्रजको स्वाद पनि उनीहरूले चाखेका छन् । गत वर्ष निर्माण सम्पन्न हुने बेलामा बे लिबि्रज भाँचिएर खस्यो ।
पुलको बीचमा रहेको वेल सिलिङ गाड्ने ठाउँमा चट्टान भेटिएकाले एउटै खम्बा गाड्न १० वर्ष लाग्यो । तर, खम्बाको काम सकिएपछि स्टिल ट्रस जोड्न थालियो । काम सम्पन्न हुन १५ दिन बाँकी हुँदा पुल चैत ०७० मा हावाहुरीले लडायो ।
यस्तै बाधा र अवरोधबीच ७ पुसमा पुलको विधिवत् उद्घाटन भयो । एउटा पुल बनाउन यत्ति लामो समय लागेको यो नेपालकै दोस्रो उदाहरण हो । यसअघि नै ठेक्का लागेको पश्चिम भेरी नदीमा भने अझै पुल बनेको छैन ।