'आमालाई भनेँ, म जंगल जान्नँ' [भिडियो]
अन्धविश्वासले आक्रान्त समयको कथा
!['आमालाई भनेँ, म जंगल जान्नँ' [भिडियो] 'आमालाई भनेँ, म जंगल जान्नँ' [भिडियो]](https://nepal-assets-api.ekantipur.com/thumb.php?src=https://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/miscellaneous/sabitra-tharu-shrestha-23012020040544.jpg&w=900&height=601)
थाहा पाउने हुँदा नै उनको शरीर कुष्ठरोगले थलिएको थियो । हातहरू लुला भइसकेका थिए । दुबै गोडा कमजोर हुँदै थिए ।
१२ वर्षको उमेरमा उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगियो । तर चिकित्सकले रोग पत्ता लगाउन सकेनन् । अनेकथरी औषधिहरू चढाइयो । औषधिको नकारात्मक असरले जिउ झन् झन् बिग्रियो ।
गत मंगलबार दामियन फाउन्डेसन नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बुटवलदेखि आफ्नो व्यथा सुनाउन आएकी सावित्रा थारु श्रेष्ठ ।
उनले अन्धविश्वासले आक्रान्त आफ्नो समयको कथा सुनाइन् ।
जब कुष्ठरोग भन्ने थाहा भयो, तब समाजले उनलाई जंगलमा लगेर राख्नुपर्ने बताउन थाल्यो ।
“मान्छे यसलाई जंगलमा लगेर राख्नुपर्छ भन्थे”, उनले आफ्नी आमालाई गरेको अनुरोध सम्झिइन्, “म जंगल जान्नँ । दिनभर त बसौँला तर रातिमा सुत्न तिमीसँगै आउँछु ।” बाबु सानैमा बितेका थिए । काकाको आडभरोसा थियो । १६ वर्ष पुगेपछि उनले काकासँग उपचारका लागि जोड गरिन् ।
पोखरा पुर्याएपछि थाहा भयो, उनलाई कुष्ठरोग रहेछ । करिब तीन वर्षको उपचारपछि कुष्ठरोगलाई जितेकी सावित्राका हातका कुनै पनि औँलाहरू सद्दे छैनन् । खुट्टा लुला छन् ।
कुष्ठरोग छ भन्ने जान्दाजान्दै बिहे गरेका पतिले पछि उनको साथ छोडे । दुई छोराहरू हुर्काएर उनी अहिले हजुरआमा बनिसकिन् ।
पूर्वजन्मको पापका रुपमा दिइने कुष्ठरोग बेलामा औषधि खाए निको हुन्छ । तर रोग पहिचान हुनै नसकेर कुनै बेला थलिएकी सावित्राको सुझाव छ– “कसैलाई रोग लागे हेलाँ होइन, सहयोग गर्नुस् ।”
हेर्नुस् सावित्राको कथा भिडियोमा