हिप्पीहरूको कलात्मक भित्तो कसरी बन्यो प्रेमको निशानी ?
झोछेँको स्नोम्यान सामान्य क्याफे हो । तर यो सामान्य क्याफेका भित्ताहरू नियालेर हेर्ने हो भने यहाँ अनगिन्ति असामान्य कथाहरू भेटिन्छन् ।

झोछेँ कुनै बेला हिप्पीहरूको केन्द्र थियो । उनीहरूले दिएको नाम 'फ्रिक स्ट्रिट' अहिले पनि यहाँ देख्न पाइन्छ होडिङ बोर्डहरूमा । स्वतन्त्रताको खोजीमा पश्चिमा मुलुकबाट सन् १९६० को दशकमा नेपालसम्म आइपुगेका हिप्पीहरूसँग लामो संगत गरेका रामप्रसाद मानन्धर (७४) ले नेपाल म्यागजिनसँग आफ्ना अनुभूति बाँडेका छन् ।
सन् १९६५ मा खोलेको स्नोम्यान रेस्टुरेन्ट अहिले क्याफे बनेको छ । हिप्पीहरूले बनाएका पेन्टिङहरू, चित्रहरूमाथि नेपाली युवायुवतीले आफ्ना प्रेमी वा साथीका नाम रंग्याएका छन् । दुई तले यो क्याफेका भित्ताहरू यहाँ पुग्ने युवायुवतीका लागि प्रेमको निशानी बनेका छन् ।
कसैले नाम लेखेका छन् । कसैले उक्ति र उद्दरण । कसैले रिस पोखेका छन् त कसैले प्रेमका शब्दहरू ।
ठमेलमा चहलपहल हुनुअघि नै बसन्तपुर र यसआसपासका क्षेत्र गुल्जार थिए । पर्यटकहरू बढ्दै गएपछि यहाँ रेस्टुरेन्ट होटेलहरू खुल्न थाले । पछि ठमेल खुल्यो । ठमेलमा चकाचक भयो । यता भने व्यापार सुक्यो । तर रामप्रसादको स्नोम्यान चलिरह्यो । हिप्पीहरूको याद दिलाउने यो क्याफेबारेको भिडियो रिपोर्ट