घोटालै घोटाला
सामाजिक सुरक्षा भत्ताको चिन्ताजनक तस्बिर
स्थानीय विकास मन्त्रालय अन्तर्गतको सबैभन्दा कान्छो केन्द्रीय पन्जीकरण विभागले सञ्चालनमा ल्याएको अनलाइनमा आधारित इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (एमआईएस)ले सामाजिक सुरक्षा भत्ताको अत्यन्त चिन्ताजनक तस्बिर बाहिर ल्याएको छ । गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको एमआईएसमा हालसम्म सामाजिक सुरक्षा भत्ता पाइरहेका २७ जिल्लाका ८ लाख ५३ हजार व्यक्तिको लगत संकलन गर्दा करिब १५ प्रतिशतको त्रुटि देखिएको छ ।
त्यति मात्र होइन, बाँके, बाग्लुङ र सुर्खेतमा गरिएको प्वाइन्ट अफ सेल्स (पीओएस)को नमुना परियोजनामा भत्ता पाउनेहरूको संख्या थप १० प्रतिशतले घटेको छ । त्यो परीक्षणले बसाइँसराइ भइसकेकाका नाममा अरूले भत्ता लिएको, मृत्यु भइसकेका नाममा भत्ता वितरण भएको जस्ता बेथिति उजागर गरेको छ ।
पीओएस प्रणालीमा खाता खोल्दा भौतिक उपस्थिति हुनुपर्ने भएकाले गाउँमा नभएका र मृत्यु भएकाहरू स्वत: लगत कट्टामा परेका थिए । एमआईएस प्रणाली र पीओएस विधिबाट लगत अद्यावधिक गर्दा करिब २५ प्रतिशतको त्रुटि हुन सक्ने अनुमान छ ।
यसै त्रुटिलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षमा मात्र सामाजिक सुरक्षा भत्ताको चार अर्ब रुपियाँभन्दा बढी अपचलन हुने सम्भावना छ । यसबाट विगत दुई दशकमा कुन हदसम्म राज्य स्रोतको दुरुपयोग भएको रहेछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
यति धेरै त्रुटि देखिनुमा मूलत: मन्त्रालय नै जिम्मेवार रहेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईसमेत स्वीकार्छन् । भन्छन्, “मन्त्रालयले अरू निकायलाई बुझाउन नसकेकै कारण यो त्रुटि देखिएको हो । यसको जिम्मेवारी पनि मन्त्रालयले लिनुपर्छ ।”
लगतमा ठूलो मात्रामा त्रुटि भेटिएपछि यस वर्ष मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि थप बजेट मागेको छैन । त्रुटि सच्याउनासाथ लाभान्वितहरूको संख्यामा वृद्धि भए पनि हालकै बजेटले पुग्ने देखेर थप बजेट नमागिएको मन्त्रालयका प्रवक्ता भट्टराई दाबी गर्छन् ।
उमेरै नपुगी वृद्धभत्ता
भत्ता वितरणको सुरुआत भएदेखि नै यस्तो समस्या रहँदै आएको छ । एमआईएस र पीओएसले त यस किसिमको बेथितिलाई सतहमा ल्याएको मात्र हो । एमआईएसले उमेर नपुगेकालाई समेत वृद्धभत्ता दिइएको तथ्य उजागर गरेको छ । यति मात्र होइन, नाम दोहोरिएका र नागरिकता नभएकाले समेत भत्ता लिएका छन् । जबकि, सामाजिक सुरक्षा भत्ता कार्यविधिमा चालू आर्थिक वर्षको असार मसान्तमा ७० वर्ष नाघेकाले मात्र पाउने व्यवस्था छ । त्यसैले पछिको मिति राखेर उमेर नपुगेकाहरूलाई समेत सचिवहरूले भत्ता वितरण गर्ने गरेको देखिएको हो । कतिपयलाई नागरिकताबिनै भत्ता वितरण गरेको पनि भेटिएको छ । एमआईएसले भने नागरिकताबिनाको लगतलाई स्वीकारै गर्दैन र व्यक्तिगत विवरण मिलेको खण्डमा नाम स्वत: हट्छ ।
भत्ता वितरणमा भएका अनियमितता र अपारदर्शी हिसाबकिताबका बारेमा महालेखा परीक्षकको कार्यालयले बर्सेनि आफ्नो प्रतिवेदनमार्फत सम्बन्धित निकायलाई सचेत गराउँदै आएको छ । तर, जिम्मेवार निकायहरूले टेरपुच्छर लगाएका थिएनन् ।
०५१/५२ देखि सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ताका लागि ०५२/५३ मा २६ करोड रुपियाँ विनियोजन भएकामा २४ करोड ४६ लाख निकासा भएमध्ये ३८ जिल्लाको १२.७७ करोडको मात्र लेखापरीक्षण भएको थियो । बाँकी ३७ जिल्लाको हिसाबकिताब दुरुस्त नभएकाले लेखापरीक्षण गर्न नसकिएको भन्दै महालेखा परीक्षकको कार्यालयले ०५३ मै ११ करोड ६९ लाख रुपियाँ बेरुजु देखाएको थियो ।
महालेखा परीक्षक कार्यालयले हरेक वर्ष गाविस र जिविसको लेखापरीक्षण गर्छ । सामाजिक सुरक्षा भत्ता पाउनेमा १५ जनाभन्दा बढीको कैफियत देखिएको खण्डमा कार्यालयले त्यसलाई बेरुजु उल्लेख गरी छानबिनपछि जिविसलाई असुलउपर र फस्र्योटका लागि निर्देशन दिँदै आएको छ । भत्ता वितरणका लागि लिएको पेस्की फस्र्योट नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । गत चैतमा सार्वजनिक भएको महालेखा परीक्षकको ५३औँ प्रतिवेदनमा त्यस्ता बेथितिको लामै सूची भेटिन्छ । कार्यालयले यस्ता गम्भीर त्रुटि बर्सेनि औँल्याउँदै आए पनि सम्बन्धित निकाय खासै गम्भीर देखिँदैनन् ।
भत्ता वितरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गाविस सचिवहरूमाथि भ्रष्टाचार आरोपमा मुद्दा चलाइसकेको छ । दुई वर्षअघि अख्तियारले पर्सा, गम्हरिया गाविसका तत्कालीन सचिव जयनारायण चौरसिया र प्राविधिक सहायक जयप्रकाश साहविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा नै दायर गरेको थियो ।
त्यसै गरी गत वर्ष अख्तियारको टोलीले गरेको स्थलगत अध्ययनले जाजरकोटको लहँ गाविसका सचिवले ५ सय ६ जनाका नाममा नक्कली कागजात बनाइएको फेला पारेको थियो । अख्तियारको अनुसन्धानमा सुर्खेतका विभिन्न ३० वटा गाविसमा पनि सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको फेला परेको थियो ।
महालेखाले गरेका स्थलगत अध्ययनमा मृत्युको लगत नराख्ने, ल्याप्चे लगाएर पनि भत्ता नदिने समस्या देखिएको थियो । जबकि, सामाजिक सुरक्षा भत्तासम्बन्धी निर्देशिकामा हरेक वर्ष माघ मसान्तभित्र लगत अद्यावधिक गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।
बारा जिल्लामा गरिएको अध्ययनमा ५० प्रतिशतको मात्र मृत्युको लगत अद्यावधिक गरेको तथ्य बाहिर आएको थियो । यस्तो बेथितिका लागि को छ त जिम्मेवार ? महालेखा परीक्षकको कार्यालयका सहसचिव विश्वनाथ रेग्मी स्थानीय निकायले अभिलेख व्यवस्थापन दुरुस्त नगरेका कारण यस्तो बेथिति देखिएको औँल्याउँछन् ।
सामाजिक सुरक्षा भत्ताका वास्तविक लाभान्वितहरूको विवरण हरेक वर्ष दुरुस्त गर्नुपर्ने, मृत्यु भएकाको लगतबाट हटाउनुपर्ने र आन्तरिक लेखापरीक्षण हुनुपर्ने रेग्मीको जिकिर छ । भन्छन्, “पेस्की लग्नेलाई समयमा सम्परीक्षण गराउनसमेत मन्त्रालय असफल छ । खालि कर्मचारी पुगेन भनेर गुनासो गरेर भएन ।”
सामाजिक सुरक्षामा विद्यमान यस्तो बेथितिका कारण एकातिर राज्यको ठूलो धनराशि दुरुपयोग भइरहेको छ भने अर्कोतर्फ नागरिकको ठूलो हिस्सा त्यसबाट वञ्चित छ । पाउनेले पनि ठूलो झन्झट र सास्ती बेहोर्नुपर्ने अवस्था विद्यमान छ । भत्ता विवरणका लागि राज्य एक्लो गाविस सचिवमाथि निर्भर हुनु र स्थानीय नागरिक समाजले चासो नदेखाउँदा विकृति बढेको सरकारी अधिकारीहरू तर्क गर्छन् ।
छैन बैंकिङ च्यानल
यस्तो विकृतिलाई निरुत्साहित गर्न बैंकिङ च्यानल प्रयोगमा ल्याउनुपर्ने पूर्वअर्थसचिव विद्याधर मल्लिकको भनाइ छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकलाई भत्ता वितरण गर्ने जिम्मेवारी दिए पनि हस्ताक्षर र ल्याप्चेको अभिलेख दुरुस्त नहुँदा भत्ता विवरणको बेथिति रोकिएन । कतिपय जिल्लामा एउटाका नाममा अर्काले हस्ताक्षर तथा ल्याप्चे गरेर रकम लिएको समेत पाइएको छ ।
एउटा मात्र बैंकबाट उक्त काम सम्भव नदेखेपछि केन्द्रीय पन्जीकरण विभागको अगुवाइमा तीनवटा जिल्लामा राष्ट्र बैंकबाट अनुमति प्राप्त अन्य वाणिज्य बैंकलाई संलग्न गराएर भत्ता वितरणको पाइलट परियोजना सञ्चालनमा ल्याइएको थियो । थप १४ जिल्लामा खाता खोल्नका लागि आवश्यक गृहकार्य सुरु भइसकेको मन्त्रालयका प्रवक्ता भट्टराईको भनाइ छ । बैंकहरूलाई के कसरी सहभागी गराउने र भत्ता वितरणको मोडालिटी के हुने भन्नेबारेमा राजस्व सचिव राजन खनालको नेतृत्वमा एउटा समितिसमेत गठन भएको छ ।
सामाजिक सुरक्षा भत्ता बैंकहरूमार्फत तत्काल वितरण गर्न सम्भव भने देखिँदैन । किनभने, देशभरका सबै गाविसमा इन्टरनेट सुविधा सुलभ नभएका कारण बैंकिङ सेवा तत्काल लागू गर्न कठिन छ । तर, सामाजिक सुरक्षा भत्तामा देखिएको बेथितिलाई कम गर्न आगामी वर्षदेखि भत्ता पाएकाहरूको भौचर सार्वजनिक गर्न मन्त्रालयले पत्राचार गरिसकेको छ । त्यसो गर्नुको एक मात्र उद्देश्य स्थानीयस्तरमै भत्ता पाउनेहरूको सूची सार्वजनिक गराउनु हो ।
घटना दर्ताको व्यवस्था ०३४ सालमै सुरु भए पनि पन्जीकरण विभाग भने ०७१ सालमा मात्र स्थापना भएको हो । निकै ढिलो गरी स्थापना भएको विभागका सामु साधनस्रोतको अभाव टड्कारो छ । विभागसँग आफैँले त्यो जुटाउने हैसियत छैन । जबकि, एमआईएस होस् वा पीओस, दुवैका लागि दक्ष जनशक्ति र स्रोतको अत्यधिक खाँचो पर्छ । पूर्वसचिव मल्लिक भने यावत् समस्याको समाधान राष्ट्रिय परिचयपत्रले मात्र दिन सक्ने दाबी गर्छन् । भन्छन्, “मन्त्रालयपिच्छे कार्यक्रम र योजना ल्याउनु भनेको स्रोत छर्नु मात्र हो । अब राष्ट्रिय परिचयपत्रका लागि समेत धेरै ढिलो भइसक्यो ।”
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...