विश्वकप २०१८ : विवादको घेरामा रुस
पश्चिमा राष्ट्रहरूको आलोचनाबीच विश्वकप सफल पार्ने चुनौती
फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले ८ वर्षअघि रुसलाई सन् २०१८ को विश्वकपको आयोजक छान्दा विवाद भयो । त्यतिबेला विश्वकप आयोजनामा फुटबलको हस्ती राष्ट्र बेलायतले पनि चासो देखाएको थियो । त्यस्तै, पोर्चुगल, स्पेन, बेल्जियम र नेदरल्यान्ड्सले पनि विश्वकप आयोजनाका लागि निवेदन दिएका थिए । तर, ६५ लाख ९३ हजार ८ सय वर्गमाइलमा फैलिएको र ९ वटा टाइमजोन भएको विश्वकै सबैभन्दा ठूलो राष्ट्र रुसले आयोजकमा बाजी मार्यो ।
फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले विश्वकप आयोजकको नाम घोषणा गर्दै भनेका थिए, ‘हामी यसपटक नयाँ भूमिमा जाँदैछौँ । यसअघि रुस र पूर्वी युरोपमा कहिल्यै विश्वकप आयोजना भएका थिएनन् । ती क्षेत्रका वासिन्दाले लामो समयसम्म यसको प्रतीक्षा गरेका थिए । फुटबलको विकास र विस्तारका लागि यो कोशेढुंगा सावित हुनेछ ।’
रुसले पनि सोभियत संघको पतनपछि विश्व मानचित्रमा आफूलाई अझै शक्तिशाली भएको प्रमाणित गर्न विश्वकप आयोजना गर्ने मनसाय राखेको थियो । त्यसका लागि हुने पूर्वाधार निर्माणको लाभ रुस लिन चाहन्थ्यो । त्यसैले त्यतिबेला उसले १३ सहरका १६ वटा स्टेडियममा फुटबल आयोजना गर्ने महत्त्वाकांक्षी योजना राखेको थियो ।
राजनीतिक प्रभाव
रुसले विश्वकप आयोजना गर्न पाउने भएयता विभिन्न शक्ति–राष्ट्रहरूको कडा टिप्पणी आएको थियो । रुसमा आयोजना भएका खेलकुदका बृहत् प्रतियोगिता विवादमुक्त रहेनन् । त्यसको छाया यो विश्वकपमा पनि पर्ने आकलन धेरैले गरेका थिए । सन् १९७९ मा अफगानिस्तानमाथि आक्रमण गरेको विरोधमा अमेरिकासहित ६५ राष्ट्रले सन् १९८० मा मस्कोमा आयोजना भएको ग्रीष्मकालीन ओलम्पिक वहिष्कार गरेका थिए ।
इँटको जवाफ पत्थरले दिने मनसायले पूर्वी ब्लकका १४ राष्ट्र, तत्कालीन सोभियत संघ र पूर्वी जर्मनीले अमेरिकाको लस एन्जल्समा आयोजना भएको ओलम्पिक वहिष्कार गरेका थिए । सिरियामाथिको आक्रमणमा विभाजित दुई शक्तिशाली राष्ट्रबीचको शीतयुद्धले पनि यो संस्करणको विश्वकपलाई रोमाञ्चक तुल्याउने आकलन धेरैले गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘राष्ट्रपति पुटिनलाई फुटबल मन पर्दैन । उनले केही खेल हेर्ने समय निकाले मात्रै त्यो ठूलो हुनेछ ।’ तर, फुटबलको शक्ति र त्यसबाट विश्वलाई प्रभावित पार्न सक्ने क्षमताबाट पुटिन बेखबर छैनन् ।
जर्मन नेता माइकल फुच्सले मलेसियन एयरलाइन्सको विमान १७ को दुर्घटनाको सजाय स्वरूप रुसलाई विश्वकप आयोजकबाटै च्यूत गर्नुपर्नेसम्मको कडा चेतावनी दिए । तर, यति हुँदाहुँदै पनि फुटबलको महाकुम्भ यस्तो राष्ट्रमा आयोजना हुँदैछ, जो सधैँ विवादको घेराभित्र रहँदै आएको छ । परिवर्तित विश्व राजनीतिमा सदैव एउटा शक्तिको रूपमा उभिएको, शीतयुद्ध अन्त्यपछि आफूलाई शक्तिशाली देखाउन प्रयास गरिरहेको र विदेशी चुनावको नतिजालाई प्रभावित पारेको भन्दै आलोचना भइरहेको समय रुस विश्वकप आयोजक बनेको छ । तर, विश्वका अन्य मुलुकका लागि स्वागतको ढोका खोल्ने माध्यमका रूपमा रुस यो विश्वकपको प्रयोग गर्न चाहन्छ । सारा विश्वको ध्यान विश्वकप आयोजनामा हुने फाइदा रुसले अहिले लिइरहेको छ ।
विश्वकपको सफल आयोजना गरेर पुटिन आफ्ना आलोचकको मुख बन्द गरिदिन चाहन्छन् । पश्चिमा राष्ट्रहरूको आलोचनाबीच विश्वकपको सफल आयोजना गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने पुटिनलाई राम्ररी थाहा छ । चार वर्षमा लगातार ओरालो लागेको कामदारको न्यूनतम ज्याला र घट्दो आर्थिक वृद्धिदरबाट जनताको ध्यान मोड्न विश्वकप जत्तिको महत्त्वपूर्ण र मेगा इभेन्ट अरू कुनै हुने छैन ।
विवादका मुद्दा
सन् १९७८ मा अर्जेन्टिनाले आयोजना गरेको विश्वकप पनि विवादमुक्त थिएन । जुन्टा शासकको निर्मम र पाशविक यातनाका कारण ४० वर्षअघिको विश्वकपबारे अहिलेसम्म चर्चा हुने गरेको छ । रुस पनि आन्तरिक कलह र विवादमा फसिसकेको छ । रंगभेद, होमोफोबिया, मानव अधिकार र यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार, घट्दो आर्थिक वृद्धिदर र अन्तर्राष्ट्रिय स्तरमै आलोचित क्षेत्रीय राजनीति केही विवादित मुद्दा हुन् ।
सन् २०१० मै विश्वकप आयोजक चुनिएको कतारले सन् २०२२ को विश्वकप आयोजना गर्दैछ, जुन विवादमुक्त छैन । पश्चिमा राष्ट्रहरूले कतारमा विश्वकप आयोजना हुन नसक्ने दलील अझै पेस गर्न छाडेका छैनन् । तर, रुस यो मौका गुमाउन चाहँदैन । राजनीतिक प्रभावले सन् २०१८ र २०२२ को विश्वकप आयोजक चुनिएको भनेर आरोप लगाउनेहरू पनि कम छैनन् ।
रुसले फुटबल राजनीतिमार्फत विश्व राजनीतिमा आफूलाई हावी पार्न खोजेको परिघटनाले पनि यसको पुष्टि गर्छ । फुटबल र राजनीति पछिल्लो समय एकअर्कामा नराम्ररी घुलमिल भइसकेका छन् । त्यसलाई सम्भवत: अर्को उचाइमा रुसले पुर्याउन खोज्दैछ । किनभने, विश्वकपजस्तो फुटबलको महाकुम्भ अरू छैन । र, रुसका लागि विश्वकपजस्तो अरू कुनै हुने छैन ।
आयोजक रुस र विश्वकपको विवाद यत्तिमै अन्त्य हुँदैन । खेलकुदमा रुस र डोपिङ एकअर्काका पर्यायवाचीजस्तै छन् । डोपिङमा पोजेटिभ पाइएपछि रुसका खेलाडीका ५१ वटा पदक खोसिएका छन् । सन् २०११ देखि १५ सम्ममा रुसका १ हजारभन्दा बढी खेलाडीको डोपिङमा पोजेटिभ पाइएको थियो । तीमध्ये अधिकांशलाई प्रशिक्षक र खेल संघले औषधि सेवन गर्न लगाएको पुष्टि भइसकेको छ ।
रुसले विश्वकप आयोजनाअघि झन्डै २० लाख भुस्याहा कुकुर र बिराला मार्ने अभियान चलाएको थियो । विश्वकप आयोजना हुने ११ सहरमा रुसी सरकारले कुकुर र बिराला मार्न सम्झौता गरेको थियो । यसका लागि १९ लाख २० हजार अमेरिकी डलर खर्च भइसकेको छ । कुकर, बिरालो र चराचुरुंगीसमेत निर्मम तरिकाले मारिएको र जिउँदै जलाउने काम भएको भन्दै पशु अधिकारवादी संघ–संस्थाले आलोचना गर्दै आएका छन् ।
पूर्वी युक्रेनमा रुसी सेनाको तैनाथी पनि विवादित अर्को मुद्दा बनेको छ । क्राइमियामा भएको रुसी हस्तक्षेपलाई पनि पश्चिमा राष्ट्रले रुसविरुद्ध आक्रमण गर्ने वहाना बनाएका छन् । तर, यीमध्ये सबैभन्दा संगीन आरोपचाहिँ विदेशी खेलाडीप्रति रुसी समर्थकको रंगभेदी व्यवहार हो ।
सन् २०१३ मा रुसी क्लब सीएसकेए मस्कोका समर्थकले आइभरीकोस्टका खेलाडी याया टुरेविरुद्ध स्टेडिममै लगाएको रंगभेदी नारा सबैभन्दा आलोचित बनेको थियो । त्यस घटनापछि दु:ख व्यक्त गर्दै टुरेले रुसलाई विश्वकप आयोजकबाट बर्खास्त गर्न मागसमेत गरेका थिए । जुलाई १३ सन् २०१४ मा ब्राजिलबाट विश्वकप आयोजक रुसलाई हस्तान्तरण गर्दा राष्ट्रपति पुटिनले भनेका थिए, ‘फिफा अध्यक्ष ब्लाटरले सामाजिक मुद्दामा सुधार गर्न बारम्बार सुझाव दिएका छन् । हामी आशा गर्छौं, विश्वकप आयोजना गर्ने समयसम्म हामी लागूऔषधको जालो तोड्नेछौँ, रंगभेदी व्यवहारमा परिवर्तन ल्याउनेछौँ र अहिले देखिएका अनेकन समस्या हल गर्नेछौँ ।’
त्यसो त, विश्वकप आयोजकका रूपमा बितेका चार वर्षमा रुसले ती सबै क्षेत्रमा उल्लेख्य सुधार गर्न सकेको छैन । दुई महिनाअघिसम्म विश्वकप आयोजना हुने केही स्टेडियम तयार भइनसकेको भन्दै फिफाले चिन्ता जनाएबाट रुस आयोजकका रूपमा असफल हुने त होइन भन्ने संशय प्रकट भएको थियो । जेहोस्, रुस विश्वकप २०१८ विविध हिसाबले अविस्मरणीय हुने पक्का छ । रुसले सफल वा असफल आयोजकको बिल्ला कुनचाहिँ भिर्ने हो, त्यो हेर्न केही साता कुर्नैपर्नेछ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...