[स्मरण] एक्लै लड्ने अठोट
पछिल्लो समय स्रष्टाभन्दा बढी सामाजिक अभियन्ता र आन्दोलनकारी साहित्यकार भएछु म ।
जीवनको आठौँ दशकको उकालीमा हिँडिरहादा म यात्रा गर्दै आएका बाटोहरुलाई सम्झिन पुग्छु । मैले ००७ को जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको अभ्युदय देखेँ । त्यसपछिको प्रजातन्त्र र ०१५ को पहिलो आमनिर्वाचनलाई पनि अनुभव गरेँ । ०१७ मा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायती कालरात्रि निम्त्याएको पनि भोगेँ ।
०४६ को जनआन्दोलनपछि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सदस्यको साढे आठ वर्षजतिको अनुभव लिएँ । ०६२–०६३ को जनआन्दोलनबाट गठित नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति (०६०–०७०) सम्मको अनुभव गर्ने अवसर पनि पाएँ ।
दोस्रो जनआन्दोलनमा हामी सबै विचारधाराका स्रष्टा र साधकहरु आन्दोलनलाई सफल बनाउन गोलबद्ध भयौँ । यो आफैँमा ऐतिहासिक घटना थियो । त्यस आन्दोलनताका स्रष्टाहरुको लोकतान्त्रिक संयुक्त मोर्चाको अध्यक्षमण्डलको पहिलो अध्यक्ष वा सदस्य भएर सहभागिता जनाउन पाएँ।
पछिल्लो समय स्रष्टाभन्दा बढी सामाजिक अभियन्ता र आन्दोलनकारी साहित्यकार भएछु म ।
यतिका वर्ष साहित्यमा लागेर कुद्दा घरव्यवहारतिर चाहिँ पटक्कै ध्यान दिइनछु । खेतीपाती पनि छाडेँ, कुनै व्यापार–व्यवसाय पनि गरिनँ । हो, मेरा कविताले एक मानो चामल किन्न सहयोग गर्न सकेन होला । तर, साहित्यले मलाई परिचय दियो, प्रतिष्ठा दियो । पाठक तथा शुभेच्छुकका रुपमा धेरै अन्तरंग इष्टमित्र दिलायो । मैले कमाएको पैसा त खर्च भइसक्थ्यो । साहित्य सिर्जनाले मलाई खर्च गरेर नसकिने धनका रुपमा इष्टमित्र र बन्धुत्व दियो । यसमा म खुसी र तृप्त छु ।
धेरै वर्ष भयो, मैले कविता नलेखेको । तर, मेरो परिचय नै कवि भयो । सबैले सद्भावका साथ पत्यार नहुने मिथकजस्ता कवि भनेका छन् । अभिभूत भएको छु, गजक्क भएको छु । यो कविको प्रतिष्ठा नेपाली पाठक र ती पाठकको प्रतिनिधित्व गर्ने समाजले दियो । त्यसैले आफ्नो साहित्य–यात्राबाट म असाध्यै खुसी छु ।
त्यसो त, साहित्यमा नलागी कुनै इलम गरेको भए या बाबुबाजेले धानेको खेतीकिसानी गर्दै पुख्र्यौली सम्पत्ति थामेको भए मात्र पनि म आफ्नो परिवारलाई सुख–सुविधापूर्वक खान–लाउन पुर्याएर सुखसयलमा राख्न सक्थेँ । एउटै छोरीलाई अत्यन्त राम्रो स्कुल–कलेजमा पढाउन सक्थेँ होला । तर, मलाई छोरी कुन विषयमा कतिमा पढ्दै छ भन्ने पनि थाहा भएन, उसबेला साहित्यमा लाग्दा । मैले आफ्नो परिवारप्रति आर्थिक–सामाजिक जिम्मेवारी वहन गर्न सकिनँ । सुखसुविधा दिन सकिनँ । यो कुरा सोच्दा मनमा दु:ख लागिरहन्छ । पिताजीले जोडेको सम्पत्ति अलिकति बाँकी छ । त्यसलाई मेरा दाजुभाइ, इष्टमित्रहरुले रेखदेख गरिदिएका छन् । कथम् कदाचित केही भइहाल्यो भने मेरो शेषपछि परिवारले उति दु:ख पाउँदैन भन्ने विश्वास छ ।
०६२–०६३ को दोस्रो जनआन्दोलनपछि सबैलाई अनुभव भइरहेको छ– लोकतान्त्रिक मूल्य–मान्यतामा आस्था र विश्वास राख्नेहरुको काम सकिएकै रहेनछ । मुलुकले साँच्चै काँचुली फेरेकै हो । तर, फेरिएको काँचुली मात्र रहेछ, अन्तरात्मा भूतजस्तो बाँकी बचेको । संविधानसभाले मुलुकलाई संविधान दियो । मुलुक गणतन्त्रात्मक दिशामा गयो भनियो मात्र ।
जनआन्दोलनले जनतामा सत्ता हस्तान्तरण गरेको ठानेका थियौँ । तर, राजदरबारबाट सिंहदरबारसम्म मात्र सत्ता स्थानान्तर भएछ । हामी स्रष्टा र साधकका त खबरदारी गर्ने काम त्यसै बाँकी रहेछन् । लोकतान्त्रिक गणतन्त्रको लडाइामा हामी सँगै थियौँ । निर्वाचित अधिनायकवादको विरोधमा अलगअलग हुन पनि सक्छौँ । निर्वाचनरुपी सम्राटको पोसाक लाएर अधिनायकवाद हाम्रा अघि उभिएको छ । हामीले जुनै रुपको होस्, अधिनायकवादविरुद्ध उभिनैपर्छ । लोकतान्त्रिक पक्षको लडाइामा निर्भय उभिनैपर्छ । यद्यपि, अब हुने लोकतान्त्रिक स्रष्टाहरुको आन्दोलनमा म एक्लै हुन पनि सक्छु ।
स्रष्टाले सधैँ एक्लै लड्नुपर्छ । किनभने, स्रष्टा भनेको सधैँ एक्लै हुने हो । एक्लै भएर पनि सबैलाई छुने गरी लेख्ने व्यक्ति स्रष्टा हो । लेख्दा मैले कुनै एक पार्टीको आदेशले लेखिनँ । बहुमतले उकासिएर लेखिनँ । न अल्पमतमा परेर नलेखेको हुँ, न त कुनै पार्टीको आदेश हुँदा नलेखेको हुँ । नलेखेरै नलेखेको हुँ । तर, म समाजको अभिन्न अंग हुँ । मेरा लागि कविता सामाजिक संवाद हो । त्यति मात्र नभएर मृत्युपछिको जीवनको निरन्तरता हो ।
प्रस्तुति : रमण घिमिरे
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...