निर्मला प्रकरण : निसाफ नदिने ?
बलात्कारपछि हत्या गरिएकी छोरी निर्मलाका लागि न्याय माग्दै पन्त परिवार
महेन्द्रनगर– आँगनमा तुलसीको बोट छ । कति फुलिरहेका, कति ओइलाउन लागेका फूल । तर, दुर्गादेवी पन्त न छुन सक्छिन्, न त हेर्न । उखेलेर फाल्न पनि सक्दिनन् । उनैले रोपेको फाल्नु कसरी ! तुलसी र फूल छोरी निर्मलाको अन्तिम नासो हो । फूल फुल्न नपाउँदै निर्मला निमोठिइन् । १० साउनमा घरबाट निस्केकी उनी कहिल्यै फर्केर आइनन् । ११ साउनमा नजिककै उखुबारीमा शव भेटियो । १३ वर्षको कलिलो उमेरमै सामूहिक बलात्कारपछि हत्या भयो । रोपेका फूल ओइलाउन थाले । कसले मार्यो ? पत्तो छैन ।
१० साउन दिउँसोबाट दुर्गादेवीले छोरी खोज्न थालिन्, ११ साउनपछि हत्यारा खोजिरहेकी छन् । खोजेको खोज्यै छन्, दिनरात अविराम । खाने–सुत्ने ठेगान छैन । वडा प्रहरीदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगिन् । उसै त पातलो शरीर, छोरीको तापले पातलिँदै छ । ३ मंसिर साँझ त्यही आँगनीमा बसेर दुर्गादेवीलाई सोधियो, “थाक्नुभएन ?” भनिहालिन्, “छोरीले रोपेर गएको यो फूल त उखेल्न सक्दिनँ, उनको हत्यारा पत्ता नलगाई कसरी रोकिनु, कसरी थाक्नु ?” बोली दबे पनि छोरीको प्रेम र न्यायको भोक सहजै महसुस हुन्थ्यो ।
न्यायको अनुभूतिका लागि राज्य चाहिएको हो । यसबीच चर्को जनआक्रोश थामथुम पार्न सरकारले कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई स्पष्टीकरण सोध्दै बर्खास्त गर्नेबाहेक थप राहत अनुभूति दिलाउन सकेन । दुर्गादेवीलाई यत्तिले मात्र पुगेको छैन । उनलाई चाहिएको त निर्मला बलात्कार र हत्याको अपराधी हो, जुन मागका अघिल्तिर सरकारी निर्णय अत्यन्तै अपुग हो ।
राज्य, न्याय, आन्दोलन, नाराजुलुस, धर्ना– निर्मला मारिनुअघि आमा दुर्गादेवीलाई उत्रो ख्याल थिएन । उनी दिनहुँ चटपटे बेचेर तीन छोरी हुर्काइरहेकी थिइन् । बुबा यज्ञराज पन्त सधैँ सँगै हुँदैनथे । तर, उनको सानिध्य जति हुन्थ्यो, त्यही पर्याप्त मान्थे । राज्यले दिने सेवासुविधाबाट पनि पूरै वञ्चित थिए, न कतै पहुँच नै । काम गर्यो, परिवार पाल्यो । कसैसँग रिसइवी थिएन, झैझगडा थिएन । बेलाबेला बालिका बलात्कार र हत्याका खबर सुन्थिन्, जीउ सिरिंग हुन्थ्यो, मुटु काँप्थ्यो ।
यो बज्रपात एक्कासि दुर्गादेवी आफैँलाई आइलाग्यो । घटनाको चार महिना बितिसक्दा समेत हत्यारा फेला परेको छैन । करुण स्वरमा भनिन्, “घरीघरी झस्किन्छु, सपनाजस्तो लाग्छ ।” भलै, सपना हुँदो हो ! तर यो त विपनीको भयंकर डरलाग्दो नियति बनेको छ ।
हरेक सन्तान आमाका लागि उत्तिकै प्रिय हुन्छन् । निर्मला विशेष थिइन् । कहिल्यै नझर्कने, घरको काममा सघाउने । पढाइमा अब्बल । मिलनसार । सानै कुरामा खुसी भइहाल्ने । कहिलेकाहीँ दुर्गादेवी रुँदा निर्मला सम्झाउँथिन् । सुखद भविष्यको सपना देखाउँथिन् । उनी भक्कानिइन्, “छोरी भएर पनि आमाले जस्तै व्यवहार गर्थी । आडभरोसा दिन्थी ।” उनी यस्तो समाजमा हुर्किन्, जसले छोरा नभएकी आमालाई अपूर्ण मान्छ र बुढेसकालमा सहारा नहुने डर देखाउँछ । छोरीसामु यो व्यथा मुख खोलेर भन्न सक्दिनथिन् दुर्गादेवी ।
पुत्रविहीन भएकाले आमाले हिजोआज भोगेका यावत टोकेसो ९ कक्षामा पढ्ने निर्मलालाई बोध भइसकेको थियो । त्यसैले आमालाई बरोबर भनिरहिन्थन्, ‘ममी, पढेर नर्स हुन्छु । विवाह गरे पनि तपाईंलाई पाल्छु, छोराले जस्तै ।’ त्यसको छाँटकाँट देखाइसकेकी थिइन्, भान्सामा मात्र होइन, चटपटे पसलमा पनि आमालाई सघाउँथिन् । निर्मलाका यी स्मृतिहरू पोखिरहँदा दुर्गादेवी भक्कानिदै जान्थिन्, “नभनुम्, छोरीको माया । भनुम्, मुटु फुट्लाजस्तो हुन्छ ।” दुर्गादेवीसँग भलाकुसारी हुँदैछ । साँझ ढल्कँदै छ । आफूलाई रोक्न सक्दिनन्, “यसबेला त निर्मलाले मलाई खाना खान बोलाइसक्थी ।” फेरि दोहोर्याइन्, “त्यति माया गर्ने छोरीको हत्यारालाई म कसरी छाडूँ ? सक्दै–सक्दिनँ ।”
एक दिन दुर्गादेवी पुगिन्, भगवान्को शरणमा, पीडा भुलाउन । तर, मन्दिरमा भगवान् होइन, छोरीको आकृति अगाडि आयो । बरर पोखिएका आँसु रोक्नै सकिनन् । एउटी कलिली छोरीको बलात्कार र हत्या हुँदा न्याय दिन नसक्ने आमा के आमा ! भन्छिन्, “जब यस्ता कुरा मनमा खेल्छन्, मन वहकिन्छ । वरपर मलाई हाम्रा लागि लडिरहेकाहरू देख्छु । अझ आँट आउँछ । होइन भने हामी उहिल्यै थाकिसक्थ्यौँ ।”
दुर्गादेवी अहिले जसरी छोरीको यादमा छटपटाइरहेकी छन्, सानोमै आमाबुबा बितेर त्यस्तै सास्ती बेहोर्नुपरेको थियो । आमा बितेपछि बुबाले भन्थे, ‘नरो, तँलाई पढाएर मेडम बनाउँछु ।’ तर, वर्ष दिन नबित्दै बुबाले पनि छाडेर गए । ७ कक्षाभन्दा माथि पढ्न पाइनन् । बिहे गरिन्, लगातार छोरी पाइन् । हन्डरैहन्डर ।
केही वर्षयता उनी हरेक दिन साइकल चढेर भारत बनवासा जान्थिन्, पानीपुरी र अन्य सामान ओसार्थिन् । दैनिक तीन–चार घन्टा साइकलको पाइडल दबाउनुपथ्र्यो । अरू दिनमा चटपटे बेचेरै बस्थिन् । छोरी हुर्कंदै गएपछि सुख देलान् भन्ने आशा पलाउँदै थियो । एक्कासि चट्याङ पर्यो । भन्छिन्, “रुँदारुँदा नसा चड्किन्छ । अब त रुनै सक्दिनँ । मन ढुंगो भइसक्यो ।”
धर्नामा निर्मलाका आमाबुबा, महेन्द्रनगर | तस्बिरहरू : भवानी भट्ट
हिजो आश, आज त्रास
केही वर्षअगाडि दुर्गादेवी पारिवारिक समस्या लिएर प्रहरीकहाँ पुगेकी थिइन् । प्रहरीसँगको त्यो पहिलो साक्षात्कार सुखद रह्यो । उनमा छाप पर्यो, ‘केही समस्या पर्यो भने प्रहरीले मद्दत गर्छ । अन्याय गर्नेलाई कठघरामा उभ्याउँछ ।’ त्यसैले त, निर्मला समयमै घर नफर्केपछि सबैभन्दा पहिले उनले प्रहरी गुहारिन्, घटनाको सबै बेलिबिस्तार लगाइन् । तर, यसपल्ट प्रहरीको व्यवहार रुखो थियो । जे सोचेर गएकी थिइन्, ठ्याक्कै उल्टो । निर्मला खोज्न होइन, जसका कारण उनी हराएकी थिइन् र हत्या भएको थियो, उसैलाई जोगाउन लागिपर्यो प्रहरी । शव भेटेपछिको प्रहरीको रवैया सुनाइरहँदा दुर्गादेवीको मुहार आक्रोशले भरियो । उनको आवाज अलि ठूलो सुनियो, “प्रहरीले अपराधी समात्नुपर्नेमा प्रमाण मेटाएर जोगाइरहेको छ । मैमाथि यस्तो अत्याचार किन ?” वर्तमान सरकार मात्र होइन, लोकतन्त्रको मूल्यमान्यता र अस्तित्वमाथिकै गहन सवाल हो यो ।
प्रहरीको व्यवहार र अनुसन्धानका नाममा भएका क्रियाकलापबाट पूरापूर आजीत दुर्गादेवीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल घरमै पुगेर भेटेपछि राहत महसुस भएको थियो । खनालले आश्वस्त बनाएका थिए, ‘यहाँका प्रहरीले सुरुबाटै गल्ती गरे । अब गल्ती हुन्न । तपाईंहरूले न्याय पाउनुहुन्छ ।’ खनाल यति भनेर काठमाडौँ फर्किए तर कञ्चनपुर प्रहरीको रवैया फेरिएन । न अनुसन्धानलाई विश्वसनीय बनाउने प्रयासै गरियो । त्यसपछि पति यज्ञराजसहित काठमाडौँ आएर प्रधानमन्त्री केपी ओलीलाई भेटिन् । ओलीले चिप्लो भाषामा भरोसा दिलाए, ‘निर्मला तपाईंकी मात्र होइन, देशकै छोरी हो । म आफ्नै छोरी सम्झेर न्याय दिलाउँछु ।’ अन्य निकायबाट पनि यस्तैयस्तै भनियो । यही आशाको पोको बोकेर कञ्चनपुर फर्किए । तर, अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च रोकिएन । यो कथा सुनाइरहँदा दुर्गादेवी घरी झर्किन्थिन् भने घरी रुन्थिन् । भन्छिन्, “सबै हाम्रो साथमा छन्, सरकारका मात्र किन पराई ?” देशमा तीन सरकार छन्, स्थानीय, प्रदेश र केन्द्र । तर, हरेक सरकार निर्मलालाई न्याय दिलाउने हकमा उदासीन ।
निर्मला मारिएपछि तीज, दसैँ, तिहार आयो । चाड आउँदा छोरीको सम्झनाले औधि पिरोल्थ्यो दुर्गादेवीलाई । पीडाको पहाड अझ ठूलो हुँदै जान्थ्यो । निदाउँदा पनि सपनीमा निर्मला बरोबर आइरहन्छिन् । चोटको गहिराइ अझ बढिरहेको छ । “मैले मरेकी निर्मला निकाल भनेकी छैन । मार्नेलाई समातेर सजाय देऊ भनेकी हुँ,” दुर्गादेवीको बोली रोकिन्न, “अरू छोरीहरूले निर्मलाजसरी बलात्कृत भएर मर्न नपरोस् । मेरै आफ्ना दुई छोरी छन् । तिनका लागि पनि म लडिरहेकी छु ।” उनी थप्छिन्, “म होइन, निर्मलाको आत्मा बोलेको हो । उसको दु:ख र चीत्कार बोलेको हो ।”
२५ कात्तिकदेखि दुर्गादेवीका पति यज्ञराज जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरअगाडि २४ घन्टे धर्ना बसिरहेका छन् । दुई छोरीको पढाइ बिग्रने डर छ । खाना बनाउनैपर्यो । त्यसैले दुर्गादेवी बिहान धर्नास्थल जान्छिन्, साँझ फर्किन्छिन् । आउजाउ गर्ने बाटो त्यही हो, जहाँ निर्मलाको शव भेटिएको उखुबारी पर्छ । निर्मला हराएको स्थानमा रोशनी र बबिता बमको घर पर्छ । निर्मलाकै न्यायका निम्ति भन्दै चर्किएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा मृत्यु भएका सन्नी खुनाको घर । उखुबारी पुग्दा छोरीको आत्मा त्यहीँ छजस्तो लाग्छ उनलाई । सन्नीको घर पुग्दा उनी आफूलाई सम्हाल्नै सक्दिनन्, किनकि निर्मला नमारिएकी भए उनी पनि मारिँदैन थिए भन्ने सोचले उनलाई सताउँछ । धर्नामा नजाऊँ, पति एक्लै हुन्छन् । जाऊँ, यति कष्टकर बाटो छिचोल्नुपर्छ ।
पिताको पीडा
जिल्ला प्रशासन कार्यालयअगाडि टेन्ट गाँडिएको छ । टेन्ट रंगीबिरंगी छ, माहोल भने अन्धकारमय । टेन्टभित्रको ओछ्यानमा लमतन्न छन्, यज्ञराज । न्याय नपाएसम्म धर्ना बस्ने घोषणा गरेका छन् उनले । टेन्टको छानामा रातभर शीत जम्मा हुन्छ, कहिलेकाहीँ भित्रै छिर्छ । शौच कहाँ गर्ने, टुंगो छैन । दुर्गादेवी पतिछेउ चुपचाप बस्छिन्, सान्त्वना र ऐक्यबद्धता जनाउन आउनेसँग थोरै बोल्छिन् । चारै दिशा छोरी निर्मलाका तस्बिर र न्याय देऊ भनेर लेखिएका पर्चाले भरिभराउ छन् ।
यज्ञराजको हालत अझ खराब छ । सानो काँठीको ज्यान । त्यसमाथि निरन्तर धर्ना । न खाने टुंगो, न त सुत्ने । घाँटीबाट पानी निल्नसमेत गाह्रो हुन थालेको छ । चिकित्सकले भनिरहेका छन्, ‘यज्ञराजको स्वास्थ्य नाजुक बन्दैछ । ज्यानबाट शक्ति हराउँदैछ ।’ उनको मनको साहस नि ! अहँ, त्यो विलय भएको छैन । जब छोरी सम्झन्छन्, दैनिक धर्नास्थलमा सयौँ परिचित/अपरिचित अनुहार देख्छन् र ‘हामी पनि सँगै छौँ’ भन्ने आवाज सुन्छन् । देह दर्बिलो हुन्छ, आँट आउँछ । “अन्यायमा परेको छु, सरकारबाहेक सबैको साथ छ । त्यसैले म किन डराउने, हार्ने ?” यज्ञराज भन्छन्, “जो न्यायका निम्ति लड्न डराउँछ, त्यो बाँचेर काम हुन्न । छोरी मारिएपछि यही सिकेँ मैले ।”
धर्नास्थलअगाडिबाटै दौडन्छ प्रहरीको गाडी । प्रमुख जिल्ला अधिकारी, सरकारसम्बद्ध पार्टीका नेताहरू हिँड्छन् । तर, सहानुभूति कसैबाट पाउँदैनन् । पीडित परिवारलाई साथ दिन आएकाहरू सरकार र प्रहरीको खेदो खन्छन्, सधैँ लड्नुपर्छ भन्छन् । यज्ञराज उठेर बोल्न सक्दैनन् । सुतेरै बोल्छन् । उनले चार दिनसम्मको नियमित भेटमा एउटै कुरा दोह्रोर्याए, “हत्यारा जोगाउने पनि सरकार हुन्छ ? मेरी छोरी मारिएकी छ तर पनि न्याय नपाउने ?” क्रूर नियतिले अहिले गहिरो राजनीतिक र अधिकारका कुरा गर्न सक्ने भएका छन् । भन्छन्, “आफूलाई अन्याय भएपछि उल्कापात हुँदो रहेछ । म यति रुखो किन भइरहेको छु, आफैँलाई थाहा छैन । छोरीको यादले असाध्यै सताउँछ ।”
साँझबिहान अलि कम भए पनि धर्नास्थलमा दिउँसो मान्छेको भीड लाग्छ । ३० कात्तिकमा प्रदेश ७ का गृहमन्त्री प्रकाश शाह त्यहाँ पुगे, पीडित परिवारलाई थामथुम पार्ने प्रयास गरे । म पनि साथमा छु भने । तर, निर्मलाको न्यायका निम्ति सुरु गरिएको ऐक्यबद्धता पुस्तिकामा हस्ताक्षर भने गरेनन् । यज्ञराज भन्छन्, “स्थानीयदेखि केन्द्रका सबैले ओठे सहानुभूति दिन्छन्, अपराधी खोज्नतिर ध्यान दिँदैनन् । हामीलाई सहानुभूति होइन, न्याय चाहिएको छ ।” त्यहाँ पुग्ने स्थानीय पनि आक्रोशित छन् । टाढाटाढाबाट पनि मान्छे आइरहेका छन् । धर्नास्थलमा सक्रिय थारु महिला मञ्चकी अध्यक्ष भारती चौधरी भन्छिन्, “अहिले निर्मलाले न्याय पाइनन् भने अरू हत्यारा, बलात्कारीलाई सरकारले जोगाउँछ । उनीहरूको मनोबल बढ्छ । त्यो हुन नदिन पनि हामी लडिरहेका छौँ ।”
भोलि वास्तविक हत्यारा समातिँदा पनि पन्त परिवारलाई हुने भनेको ‘मनको सन्तोष’ मात्र हो । प्रत्यक्ष लाभ केही छैन तैपनि न्यायका लागि दिनरात लडिरहेका छन्, छोरीको हत्यारा पत्ता लगाउन । राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी भन्छिन्, “सरकारी अधिकारी र पहुँचवालालाई जनता सुसूचित छन् भन्ने पाठ पढाएको छ । अब सरकारले कसरी अगाडि बढ्ने भनेर आफ्नै समीक्षा गर्नुपर्छ ।” कञ्चनपुरका वरिष्ठ अधिवक्ता थानेश्वर भट्ट पनि अपराधविरुद्धमा तल्लो तहबाटै यसरी आवाज उठ्नु र त्यसले जनसमर्थन पाउनुलाई सकारात्मक मान्छन् । भन्छन्, “सरकारले यस्ता किसिमका घटनाबाट सबक सिकेन भने भविष्यमा अझ खतरा निम्तन सक्छ । जनताले सधैँ सहँदैनन् ।”
धर्नास्थलमा भेटिने कतिपयले निर्मला प्रकरणसँग सम्बन्धित मात्र होइन, राज्य प्रणाली र प्रहरीप्रति पनि आक्रोश पोखिरहेका छन् । महेन्द्रनगर गल्ली नम्बर एककी शर्मिला विष्ट भन्छिन्, “यस्ता अपराध धेरै ढाकछोप गरिएको छ । अबचाहिँ राज्य संयन्त्रले नियतवश गरेका कुनै गल्ती कञ्चनपुरबासीले सहँदैनन् ।” लाग्छ, अहिलेको आन्दोलन निर्मलाको न्यायका लागि मात्र होइन, प्रहरी र प्रशासनलाई ‘अब नसहने’ बलियो सन्देश पनि हो ।
भोलिको भय
निर्मलाले न्याय पाउन परिवारबाट सुरु भएको आन्दोलन अहिले सामूहिक बनिसकेको छ । त्यसैले अब आफूहरू चुप लागे पनि आन्दोलन नरोकिने बताउँछिन्, दुर्गादेवी । न्यायप्रतिको यो इमानदारी र संघर्ष त छँदैछ । निर्मला मारिएपछि दुई छोरीको पढाइ पूरै बिथोलिएको छ । निर्मलाकी दिदी मनीषाले यस वर्ष एसईई परीक्षा दिनुपर्नेछ । मनीषा भन्छिन्, “सधैँ बहिनीको याद आउँछ, डर लाग्छ । पढ्नै सक्दिनँ ।”
अर्कातिर, निर्मलाको काजकिरियादेखि अहिलेसम्मको सबै खर्च देश–विदेशबाट आएको सहयोग रकमले चलिरहेको छ । राज्यबाट लिएका छैनन् । तर, अरूको सहयोगले कति दिनसम्म चल्छ ! त्यसैले भोलिका दिन कसरी बिताउने, छोरीहरूलाई कसरी पढाउने, सोच्दा पनि छटपटी हुन्छ दुर्गादेवीलाई ।
यो पनि पढ्नुहोस् :
→ पीडित एकातिर प्रहरी अर्कैतिर
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...