पत्रिका खुलाउन जनता सडकमा
बन्द पत्रिका खुलाउनुपर्ने आन्दोलनमा कुनै पार्टीको साथ/सहभागिता थिएन । त्यो जुलुसमा मैले पनि सहभागिता जनाएँ । तर राजा महेन्द्रको निर्देशनमा प्रतिबन्ध लगाइदिएको त्यो पत्रिका पुनः प्रकाशन भएन ।
विराटनगर रघुपति जुटमिलको एउटा कोठामा वायरलेस सेट राखेर प्रजातन्त्र रेडियो नेपाल स्थापना भयो, २८ मंसिर २००७ मा । त्यसले सुरुमा राणा शासनको अन्त्यका लागि सशस्क्र युद्धमा होमिएको मुत्ति सेनाको हौसला बढाउन विभिन्न कार्यक्रम प्रसारण गर्थ्यो । त्यो रेडियोका संस्थापक थिए, तारिणीप्रसाद कोइराला । प्रजातन्त्र आगमनसँगै त्यो रेडियो २० चैत ००७ मा विराटनगरबाट काठमाडौँ सारियो । राणाका छोराछोरी पढ्ने सिंहदबारस्थित स्कुल भवनबाट यसको प्रसारण सुरु भयो । त्यसको नाम फेरेर १५ असार ००८ मा अहिलेको रेडियो नेपाल बनेको हो । नाम फेरिएपछि रेडियो नेपालको डाइरेक्टर तारिणीप्रसाद कोइराला भए भने सूचना विभागका डाइरेक्टर बालकृष्ण सम, नातिकाजीलगायत उनका सहयोगी थिए । रेडियो नेपाल अहिले पनि त्यही भवनमा छ ।
सूचना प्रवाहमा सानो घेराभित्र कैद हुनुपरेको र प्रजातन्त्र उन्नत भइनसकेको अवस्थामा त्यसलाई बलियो बनाउन प्रजातन्त्र रेडियो नेपालले विराटनगरको आवाज काठमाडौँ लिएर आएथ्यो । प्रजातन्त्र बहालीसँगै निजी छापाको रुपमा ७ फागुन ००७ देखि नेपाली आवाज प्रकाशन सुरु भयो ।
००८ तिर विराटनगरबाटै तारिणीको सम्पादकत्वमा आँधी, दियालो पत्रिका प्रकाशन हुन्थे । प्रजातन्त्र रेडियो नेपालसँगै दियालो पत्रिका पनि काठमाडौँ सारियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाविरुद्ध लेखेपछि विराटनगरको आँधी पत्रिका बन्द गराइयो ।
हुन त त्यतिबेला काठमाडौँबाट मणिराज उपाध्यायको समाज दैनिक, चन्द्रलाल झाको नेपाल टाइम्स, गोपालदास सम्पादकत्वको अंग्रेजी साप्ताहिक द कमनर, मनिन्द्रराज श्रेष्ठको मदरल्यान्ड आदि पत्रपत्रिका निस्कन्थे । काठमाडौँबाट प्रकाशित हुने पत्रपत्रिका धेरैजसो संविधानसभा पक्षधर थिए । तर सत्तापक्ष वा सरकारको बर्खिलाप जाँदैनथे । तारिणीको दियालोले भने संविधानसभाका पक्षमा लेखिरह्यो । दियालोमा सरकारबाट भएका कमी–कमजोरीको उछितो काडिन्थ्यो । ०१२ मा काठमाडौँ, कमलपोखरीबाट प्रकाशन हुन थालेको दियालो करिब एक–डेढ वर्ष चल्यो, जतिबेला प्रधानमन्त्री थिए, टंकप्रसाद आचार्य । आचार्य सरकारले संविधानसभाको पहल नगरेको भन्दै पत्रिकामा सम्पादकीय लेखेकै भरमा दियालो सरकारी कोपभाजनमा परी बन्द हुन पुग्यो ।
अचम्म के भने सरकारले दियालो बन्द गराएपछि काठमाडौँका जनता स्वतःस्फूर्त सडकमा उर्लिए । उनीहरुले पत्रिका बन्द गराउन पाइँदैन, प्रतिबन्ध फुकुवा हुनुपर्छ आदि माग राखेका थिए । बन्द पत्रिका खुलाउनुपर्ने आन्दोलनमा कुनै पार्टीको साथ/सहभागिता थिएन । त्यो जुलुसमा मैले पनि सहभागिता जनाएँ । नेपालको इतिहासमै पत्रिका बन्द भएपछि जुलुस निस्किएको त्यो नै पहिलो घटना हो । तर राजा महेन्द्रको निर्देशनमा प्रतिबन्ध लगाइदिएको त्यो पत्रिका पुनः प्रकाशन भएन । त्यतिबेला भारतबाट प्रकाशित पत्रपत्रिकाले पनि नेपालमा संविधानसभाबारे बहस चलाएका थिए । तर तिनीहरु सेन्सरसिपमा पर्दैनथे ।
२० वैशाख ०१३ मा राज्याभिषेकपछि राजा महेन्द्रमा शक्तिको उन्माद बढ्यो । महेन्द्रले अब संविधानसभाका लागि चुनाव नभई संसद्का लागि हुने शाही घोषणा गरे । त्यसको व्यापक विरोध भयो । दियालो बन्दपछि तारिणीले अर्को पत्रिका निकाले उज्यालो, ०१३–१४ तिर । त्यो पत्रिकामा पनि संविधानसभाबारे लेख, सम्पादकीय र सरकारको आलोचना गरिन्थ्यो । त्यस्तै ६–७ अंक निस्कियो । सरकारी आलोचनापछि उज्यालोको पनि अवसान हुन पुग्यो । त्यससँगै तारिणीले कल्पना पत्रिका प्रकाशन थाले । त्यो पत्रिकामा राखिएको ‘जनमत स्तम्भ’ ‘संसद्का लागि चुनाव गर्ने कि संविधानसभाका’ लागि भनेर जनताको अभिमत बुझ्ने चौतारो थियो । तारिणीसँग मेरो उठबस नभए पनि जनमत स्तम्भका लागि ‘संविधानसभाको चुनाव हुनुपर्छ, त्रिभुवनले घोषणा गरेको संविधानसभा निर्णयलाई छोरा महेन्द्रले कुल्चिनुहुन्न’ भन्ने धारणासहितका चिट्ठी लिएर दुईपल्ट पत्रिकाको मुख्यालय कमलपोखरी पुगेँ । मेरा दुवै चिट्ठी छापिए । ०१३/१४ तिर छापा माध्यममा संविधानसभा बहस एक किसिमले निषेधजस्तै थियो । संविधासभाबारे लेख्ने/छाप्नेलाई बिनापुर्जी पक्राउ गरिन्थ्यो । महेन्द्रतन्त्र प्रत्येक मोर्चाबाट दैनन्दिन शक्ति सञ्चयले बलवान हुँदो थियो । कम्युनिस्ट पार्टी प्रतिबन्धित नभए पनि त्यसका नेताहरु अर्धभूमिगत थिए । सत्तापक्षको विरोधमा लेख, सम्पादकीय र संविधानसभा बहस प्रकाशित गरेकै कारण कल्पना पत्रिका पनि ६–७ महिना चलेर बन्द गराइयो । मैले राजा महेन्द्रका विरुद्धमा कल्पना पत्रिकामा छपाउन ठिक्क पारेको संविधानसभासम्बन्धी कविता भने प्रशासनको अवरोधका कारण छाप्न सकिनँ ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...