हाम्रै प्रजातन्त्र राम्रो
वीर गोर्खाली ड्राइभरले जस्तो बाटो काट्दै गरेका पैदल यात्रुलाई ‘मर्लास् नि’ भन्दै गाडीको हावाले हान्दै दगुर्दा रहेनछन् । आँटै नभएका सवारी चालक हुँदा रहेछन् यहाँ ।
अमेरिकामा त भन्नुको मात्र प्रजातन्क्र रहेछ । यात्राको त्रममा साथीहरूले सुनाएका सवारी नियम सुन्दा र प्रहरीको निरंकुशता देखेर छक्कै परियो । उता हामी ओभरहेड पुलकै मुनिबाट सवारी साधनलाई कुमले घचेट्दै दनादन सडकबाट बाटो काट्छौँ । यता भने हाइवेमा कुनै मान्छे झुक्किएर पस्यो भने प्रहरीले समातेर थुनिदिने रहेछ, आत्महत्या प्रयासको कसूरमा ।
उता हाम्रो प्रहरी कति उदार छ, सडकमा सवारी चालकले गल्ती गर्दा मानवीयता महसुस गरेर, बिन्तीभाउ सुनेर, चिनजान, नातासम्बन्ध थाहा पाएर, चालकको हप्कीदप्की खप्न नसकेर वा ठूलाबडाको सोर्सफोर्स सामना गर्न नसकेर वा उस्तै परे कुटाकुटमा जित्न नसकेर सवारी चालकलाई माफ गरिदिन्छ । यता त प्रहरीको शब्दकोशमा माफी भन्ने शब्दै नहुने रहेछ । एक अमेरिकी आफन्तले सुनाएको यो घटनाले यताको प्रहरी कतिसम्म निरंकुश छ बताउँछ–
एक नेपाली महिलालाई आधा रातमा सुत्केरी व्यथाले च्यापेछ । उनका श्रीमान्ले हतारहतार गाडीमा हालेर बेतोडसँग हस्पिटलतिर कुदाएछन् । अलि पर पुगेपछि प्रहरी भ्यानले पिछा गर्न थालेछ । उनले थाहा पाइहाले गाडीको स्पीड ज्यादा भएकाले पिछा गरेको । उनले तुरुन्तै प्रहरीको नम्बरमा आफ्नो आपतकालीन अवस्थाबारे जानकारी गराए । तर पनि प्रहरीले पिछा गर्न छाडेन । अस्पतालमा पुगेपछि उनी श्रीमतीलाई लिएर भित्र पसे । केही बेरपछि बच्चा जन्मियो । उनी वेटिङ रुममा बसिरहेका थिए । अघि उनलाई पिछा गर्ने पुलिस आएर हात मिलाउँदै बच्चाको बाबु भएकामा बधाइसँगै दुइटा जरिवानाका चिट थमाएर गएछ । एउटा गाडी छिटो गतिमा चलाएबापत, अर्को बिरामीलाई एम्बुलेन्समा नलगी साधारण गाडीमा लगेबापत । नियम पालनाको मामलामा यस्तो निर्दयी रहेछ यहाँको प्रहरी ।
यहाँ ट्राफिक प्रहरी र सवारी चालकबीच माझ सडकमा बाझाबाझ हुँदो रहेनछ । ड्राइभर र बटुवासमेत भेला भएर प्रहरीको सातोपुत्लो उडाउने, नारा–जुलुस लगाउने वा बाटो अवरोध गर्ने केही गर्दैनन् अरे । हेलमेट फुकालेर प्रहरीलाई हानेर भाग्ने आँट पनि कसैले गर्दो रहेनछ । एक जना प्रहरी बसेको गाडीले पिछा गर्दा पनि गाडी लुरुक्क परेर किनारा लाग्दा रहेछन् । त्यसरी रोकेपछि प्रहरीले ड्राइभरलाई बाहिर निकालेर कठालो समात्नुपर्ने, थप्पड हान्नुपर्ने, केही गर्दो रहेनछ, जरिवानाको टिकट थमाएर छाड्दो रहेछ । हामी भए जरिवानाको आधा पैसा घुस दिएर प्रहरीलाई दंग पारेर पठाउँथ्यौँ । घुस नखानेलाई लछारपछारको कारबाही गर्ने त छँदैछ । पैदले बटुवा देखेपछि ड्राइभर बीस हात पर गाडी रोकेर बाटो काट्न छाड्दा रहेछन् । वीर गोर्खाली ड्राइभरले जस्तो बाटो काट्दै गरेका पैदल यात्रुलाई ‘मर्लास् नि’ भन्दै गाडीको हावाले हान्दै दगुर्दा रहेनछन् । आँटै नभएका सवारी चालक हुँदा रहेछन् यहाँ ।
अर्को अचम्मको कुरा सुनियो, कुनै गाडी दुर्घटनामा पर्यो भने त्यसलाई सोझै कबाडीखानातिर रवाना दिनुपर्ने रे । हामी त झीरमा खसेर टुक्राटुत्रा भएको गाडीलाई पनि जोडजाड गरेर वर्षौंसम्म गुडाइदिन्छौँ । सम्पत्ति बढी कमाएर मात्तिएको रहेछ यो अमेरिका ।
हामीकहाँजस्तो गौँडा छेकेर सवारी चालकको मुखमा नाक जोतेर मापसे पत्ता लगाउने प्रविधि यहाँ रहेनछ । मापसे गरेर गाडी चलाए पनि गल्ती नगरुन्जेल कारबाही हुँदैन रे । गल्ती गरिहाल्यो भने त सक्किगो नि ! यस्तो मनपरीतन्त्र पनि चल्दो रहेछ यहाँ । संसारकै उत्कृष्ट प्रजातन्त्र त हाम्रै देशमा रहेजस्तो लाग्यो ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...