घनचक्कर बाबा

- कुमार नगरकोटी

धुम्रगृहको भूमिगत क्याबिनमा थियौँ । टेबलमै जडिएको डिजिटल समय यन्त्रमा अपराह्नको १३ बजेको थियो । घनचक्कर बाबाले बेयरालाई आफ्नो अर्डर टिपाए : फ्रोजन मिन्ट लेमोनेड । बेयराका जिज्ञासु आँखाले मलाई सोध्यो– तपाईं चैँ के लिन चाहनुहुन्छ ? मेरो आँखाले भन्यो– हुक्का ।

– कुन फ्लेबरको हुक्का ?

– सेक्स अन द बिच ।

– ड्रिंक्स पनि केही लिनुहुन्छ कि !

– लिन्नँ । हामी लेमोनेड आलोपालो पिउँछौँ ।

त्यसपछि तु गएँ, तु आएँ भनी कुलेलम ठोकेको बेयरा नभन्दै तु आइपुग्यो लेमोनेड र हुक्का लिएर ।

ग्रिन जल र ग्रे धुवाँ पालैपालो पिउन थाल्यौँ ।

यस्तैमा घनचक्कर बाबाले भने, ‘कुमार ! केही दिनका लागि मलाई तिम्रो अनुहार देऊ । चिन्ता नगर, फिर्ता गरिहाल्छु ।’ म मुस्कुराएँ । तर उनी गुरुगम्भीर देखिए ।

घनचक्कर बाबाको सांसारिक नाम सञ्जीव उप्रेती हो क्यारे ! परन्तु मेरा निम्ति सांसारिकता छु मतलब ! हु केयर्स । म त यी भला मानुषलाई घनचक्कर बाबा नै भन्थेँ अघिल्लो जन्ममा । भन्छु यो जन्ममा । र, भनी नै रहनेछु आगामी जन्ममा पनि ।

अघिल्लो जन्मका हाम्रा रोचक किस्सा कहानीको बयान कुनै बखत फुर्सदमा गरौँला । अहिलेलाई भने धुम्रगृहकै कुरा गरौँ, जहाँ उनले मेरो अनुहार पैँचो मागेका थिए । हामीबीच ऐँचोपैँचो उधारो–सापटी चली नै रहन्छ ।

कहिले म उनको अनुभव पैँचो माग्छु, कहिले उनी मेरो अनुभूति सापटी माग्छन् । आ–आफ्नो म्याडनेस र अब्सर्डिटी हामी सट्टापट्टा गर्छौं । स्मृति एवं सपनाहरु लेनादेना गर्छौं । पाप र पुण्यहरु विनिमय गर्छौं । त्यो दिन अनुहार माग्दा मैले भनेँ, ‘तपाईंलाई अनुहार मात्र चाहिएको हो कि मेरो हुलिया र विचार पनि ?’

उनले भने,

– ‘विचार आफैँसित राख । हुलियाचाहिँ देऊ ।’

– अनि मेरो आवाज नि ?

– आवाज पनि देऊ ।

– फिर्ताचाहिँ कैले गर्नुहुन्छ ?

– आज शुक्रबार ! पर्सि आइतबार फिर्ता गरिहाल्छु ।

ठीक १३ : ३१ बजे हामीले बिदाइको हात मिलायौँ । हात मिलाउने क्रममा नै मैले आफ्नो अनुहार, हुलिया र आवाज उनलाई हस्ते गरेँ । म फिजिकल्ली एन्ड स्पिरिचुअल्ली उनको देह र आत्मामा ट्रान्सफर भएँ । र, उनी मभित्र ट्रान्सफर भए । एकअर्कामा कायाकल्पित हुन हामीलाई धेरै समय लागेन । त्यसपछि घनचक्कर बाबा भूमिगत क्याबिनबाट अलप भए ।

पर्सिपल्टको आइतबार । म त्यहीँ थिएँ, घनचक्कर बाबाको अनुहार ओढी बसेको । फ्रोजन मिन्ट लेमोनेड र सेक्स अन द बिचसितै । म उनैलाई पर्खिरहेको थिएँ । १३ बज्यो तर उनी आएनन् । १४, १५, १६ बज्यो तैपनि उनी देखा परेनन् । १७ बजेतिर बरु टुप्लुकिए प्रोफेसर अरुण गुप्तो । उनको हातमा घनचक्कर थियो ।

उनी सामुन्नेको खाली सिटमा बसे । उपन्यासलाई मतर्फ बढाउँदै भने, ‘यो किताबमा तिम्रो अटोग्राफ छुटेको रहेछ । केही लेखेर सिग्नेचर गरिदेऊ । तर सञ्जीव, तिमी त अचेल निकै मोटाएछौ ! के खाने गर्छौ ? हाम्रो भेट नभएको पनि युगौँ भएछ ।’

म केही बोलिनँ । केवल मुस्कुराएँ । उपन्यासमा टु माई इटरनल फ्रेन्ड अरुण गुप्तो, विथ इटरनल लभ लेखेर दस्तखत गरेँ । त्यसलाई उनले पढे र आश्चर्यचकित हुँदै भने, ‘सञ्जीव, तिम्रो त ह्यान्डराइटिङ र सिग्नेचर पनि बदलिएछ !’

मैले भनेँ, ‘हो अरुण ! धेरै चीज बदलिसकेका छन् । तिम्रो चस्माको फ्रेम बदलियो, मेरो सिग्नेचर बदलियो । मौसम–हावापानी, मान्छे–जिन्दगानी सबै सबै बदलिसकेका छन् ।’

युग बितेर गयो ।

धुम्रगृहको भूमिगत क्याबिनमा म अझै पनि घनचक्कर बाबालाई पर्खिबसेको छु । उनका अनेक मित्र, शुभचिन्तक र प्रशंसकको घनचक्करमा दस्तखत गरिरहेको छु । उनीहरुको किताबमा ‘विथ लभ फ्रम सञ्जीव’ लेखिरहेको छु ।

घनचक्कर बाबा कहाँ छन्, के गर्दैछन् ? मलाई केही थाहा छैन । कोही भन्छन्, उनी नदी बने । कोही भन्छन् चरा । कोही भन्छन्, उनी बतास बनी लेक र पर्वतमा सुसेल्दै बहेका छन् । कोही भन्छन्, उनी ग्रेभयार्ड र चिल्ड्रेन पार्कहरुमा घाँस बनी उम्रेका छन् ।

यस्ता किंवदन्तीमा मेरो कुनै विश्वास छैन । कुनै दिन उनी अवश्य पनि फर्कनेछन् । मलाई मेरो अनुहार, हुलिया र आवाज फर्काउने छन् । 

प्रकाशित: श्रावण १, २०७६