इन्द्रजाल

- कुमार नगरकोटी

 ।। बिहान ।।

– तिमी को हौ बाबु ?

– म बच्चा हुँ ।

– नाम चैँ के हो नि ?

– नारायण ।

– नारायण के ?

– ढकाल ।

– अच्छा ! तिमी नारायण ढकाल हौ ?

– होइन ।

– होइन रे ? भर्खरै नाम नारायण भन्या होइन ?

– नारायण त मेरो शरीरको नाम हो क्या !

– ढकाल चैँ तिम्रो आत्माको नाम हो ?

– ह्याँ, अंकल पनि ! आत्मा होइन क्या !

– क्या हो त उसो भए ?

– ढकाल त मेरो छायाको नाम पो त !

– अच्छा ! कस्तो सच्चा ! बुझेँ बुझेँ । तिम्रो शरीरको नाम नारायण र छायाको नाम ढकाल । कस्तो राम्रो । कति सुन्दर कुरा ! तैपनि तिमी हो चैँ के ? वास्तवमा को हौ ?

– बच्चा हुँ क्या बच्चा ! एउटै कुरा कति

सोधी’रा ? काम छैन ? ११ वर्षको बच्चा हुँ । घर मूलपानी, काठमान्डु । ५ कक्षामा पढ्छु । अहिले सानो छु, पढेर ठूलो भएसी लेखक बन्छु । कथा लेख्छु । निबन्ध लेख्छु । खै, मेरो बाटो छाड्नुस् । मलाई स्कुल जान दिनुस् ।

।। दिउँसो ।।

– गुड आफ्टरनुन मिस्टर ढकाल । सो नाइस टु सी यु अगेन !

– आफ्टरनुन, आफ्टरनुन ।

– म यो खाली कुर्सीमा बसूँ ?

– त्यहाँ अलरेडी कोही बसिरा’छ ।

– देख्दिनँ त !

– त्यो कुर्सीमा मेरो आत्मा बसिरा’छ । आत्मालाई तपाईं कसरी देख्न सक्नुहुन्छ ? म आफ्नो आत्मासित संवाद गरिरा’छु ।

– टेबलमा खाली पाना रहेछन् । केही लेख्दै हो ?

– मेरो पहिलो उपन्यास पीत संवादको क्लाइमेक्स लेख्दै छु ।

– गुड ! आत्मासित संवाद गर्दै पीत संवाद लेख्दै हुनुहुन्छ । भेरी गुड । द्याट्स लाइक अ गुड राइटर ।

– तर माफ गर्नु होला । मैले तपाईंलाई चिन्न सकिनँ ।

– म तपाईंको प्रशंसक । तपाईंका कथा, निबन्ध

मन पर्छन् । तपाईंलाई मैले बिहान भेटेको थिएँ नि ! बिर्सनुभयो ? स्कुल जाँदै हुनुहुन्थ्यो । बिहान त तपाईं बच्चा हुनुहुन्थ्यो ।

– त्यही त ! बिहान बच्चा थिएँ । तर हेर्नुस् न ! दिउँसो अधबैँसे भइगएको छु । समय निकै छली छ । इन्द्रजालजस्तो छ ।

– जे होस्, सो होस् । म अब तपाईंलाई डिस्टर्ब गर्दिनँ । पहिलो उपन्यास पूरा गर्नुस् । मेरो शुभकामना छ । अहिले जान्छु ।

।। साँझ ।।

– दर्शन गरेँ ढकाल बाजे ।

– दर्शन बाबु  ! आउनुस्, ओछ्यानको डिलमा बस्नुस् ।

– अनुहार चाउरिएछ । दीनहीन देख्छु । हजुर त बूढो हुनुभएछ ।

– हो बाबै, बूढो भइयो । उमेरले नेटो काट्यो । अब त लेख्न बस्दा पनि औँलाहरु काँप्छन् । आँखाले पनि मधूरो देख्छु । पुरानो सामानझैँ घरको एउटा कुनामा थन्कनु पर्‍या छ । मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ । के गर्नु

बाबु ! यो ज्यान पनि ढुंगा भा’छ । ढुंगामा ढुसी लेउ ला’छ ।

– सिरानीको त्यो रातो किताब इन्द्रजाल होइन ?

– हो बाबु हो । यो कथासंग्रहको तेस्रो संस्करणमा केही शुद्धाशुद्धि गरौँ भनेको, आँखा–औँलाले साथ दिँदैनन् । मेरो किताबको नामझैँ आखिर जीवन पनि इन्द्रजाल नै रहेछ ।

– जीवन इन्द्रजाल कि समय इन्द्रजाल ?

– सबै इन्द्रजाल । बिहान बच्चा थिएँ । दिउँसो अधबैँसे । साँझ बूढो भएको छु । मध्यराततिर चैँ मर्ने छु सायद । भोलि फेरि जन्मनेछु । जीवन एक दिनको रामरमिता रहेछ । घाम–छाया रहेछ ।

– छायाको कुरा गरिहाल्नुभयो । कोठामा हजुरको शरीर मात्र देख्छु । छाया चैँ

कता गयो ?

– छायाको कुरा नगर्नुस् बाबु । छाया काल लिन गा’छ । अझैसम्म फर्केर आ’छैन ।

– म आ’को छु नि त ढकाल बाजे ।

– तपाईँ काल पो हुनुहुन्छ ?

– ज्यु ! म काल हुँ । हजुरलाई लिन बिहान आ’को थिएँ । दिउँसो आ’को थिएँ । र, साँझ पनि आ’को छु । हजुरले मलाई अझै चिन्नुभएन ?

– चिनेँ बाबु चिनेँ । अब म तपाईंसितै जान्छु । यो शरीरलाई तपाईंकै जिम्मा लाउँछु । तर काल महाराज जानुअघि यो कायाको छायालाई केही बेर कुर्ने पो हो कि !

– हजुरको जो इच्छा !

प्रकाशित: श्रावण १५, २०७६