स्टार बलर नचल्दा
आयोजक सिंगापुरसँगको हारपछि नेपालको दोस्रो पटक टी–ट्वान्टी विश्वकप सपना चकनाचूर
सिंगापुरमा सम्पन्न टी–ट्वान्टी विश्वकप एसियाली छनोटको अन्तिम खेलमा आयोजक सिंगापुरसँग पराजित भएपछि नेपालको दोस्रो पटक टी–ट्वान्टी विश्वकप सपना चकनाचूर भयो । फ्ल्याट पिचमा आयोजक सिंगापुरले पहिले ब्याटिङ गर्दै १ सय ९१ रन बनाएपछि नेपाली बलरमाथि दबाब बढेको थियो । तर विश्वका अनेकन टी–ट्वान्टी प्रतियोगितामा आफ्नो जादूमयी बलिङ प्रदर्शन गरिसकेका स्टार लेग स्पिनर सन्दीप लामिछानेको उपस्थितिले नेपाली टोलीको दबाब केही कम हुने आकलन थियो ।
अर्का स्पिनर वसन्त रेग्मी पनि टिममै हुनुलाई क्रिकेटप्रेमीले नेपालको जितमा बोनस हुने अनुमान गरेका थिए ।अस्ट्रेलियाको बिगबासमा मेलबर्न स्टार्सबाट खेल्ने सन्दीप र पर्थ स्क्रोचर्सबाट खेल्ने टिम डेभिडको भिडन्तकारूपमा सिंगापुर र नेपालबीचको खेललाई लिइएको थियो ।
हुन पनि डेभिडले सिंगापुरका लागि ४३ बलमा ७७ रन जोडे । सोही खेलमा ३ ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चे पनि कुनै विकेट आफ्नो नाममा लेखाउन सकेनन् । उनले ११ दशमलव ३३ को खर्चिलो रन औसतको प्रदर्शन गरे । नेपालबाट सबैभन्दा खर्चिला बलर बने,वसन्त रेग्मी । उनले ४ ओभरमा ५४ रन खर्चिए । टी–ट्वान्टीमा नेपालका कुनै पनि स्पिनरले आफ्नो स्पेलमा सबैभन्दा बढी रन खर्चिने कीर्तिमान वसन्तको नाममै रह्यो । स्पिनर चुटिएको उक्त खेलमा मिडियम पेस बलर अविनाश बोहराले आफ्नो स्पेलमा ३५ रन खर्चेर ४ विकेट आफ्नो नाम लेखाए ।
टी–ट्वान्टी म्याचमा एकै ओभरको खेल निर्णायक हुन्छ । त्यस्तै एउटै खेलाडीको प्रदर्शनमा टोलीको जित वा हार निर्भर गर्छ । तर सिंगापुरसँगको एसियाली छनोटको अन्तिम खेलमा नेपाल पूर्णतः पराजित हुन पुग्यो किनभने नेपाली टोली सिंगापुरसँग भएका कुनै पनि क्रिकेट खेलमा अहिलेसम्म अपराजित रहँदै आएको थियो ।
बलिङ नेपालको सबल पक्ष हो, क्रिकेटमा । तर त्यही सबल पक्ष निर्बल साबित हुन पुग्यो अन्तिम खेलमा, जहाँ स्टार बलर चलेनन् । टी–ट्वान्टीको विश्व वरीयतामा नेपाल ११ औँ स्थानमा छ । सिंगापुर नेपालभन्दा १२ स्थान तल छ । त्यसो त एसियाली छनोटमा रहेका कुवेत, कतार र मलेसिया पनि नेपालभन्दा कमजोर र वरीयतामा निकै तलका टोली हुन् ।
छनोटको पहिलो खेलमै कतारसँग ४ विकेटले पराजित भएपछि नेपाली टोलीलाई झट्का लागेको थियो । सिंगापुरसँगको अन्तिम खेल जितेमा नेपाल ग्लोबल छनोटमा पुग्ने आधार तयार हुँदा खुसी मनाउने समर्थकको पनि कमी थिएन । किनभने एसियाली छनोटको प्रारम्भिक चरणमा गत वर्ष मलेसियामा यी दुई टोलीबीच भेट हुँदा वर्षाले खेल प्रभावित हुनुअघि नेपालले सिंगापुरलाई मात्र ८१ रनमा प्याक गरेको दृष्टान्त थियो ।
त्यति मात्र होइन, ६ वर्षअघि काठमाडौँमा एसीसी टी–ट्वान्टी एलिट कप हुँदा नेपालले सिंगापुरविरुद्ध २ सय १० रन जोडेको थियो । यो नै नेपाली टोलीले टी–ट्वान्टी क्रिकेटमा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । जवाफमा नेपालले १५ ओभर १ बलमा सिंगापुरलाई ८९ रनमा प्याक गर्दा १ सय २१ रनको विशाल जित दर्ता गरेको थियो । उक्त टोलीका सदस्यमध्ये तीनजना मात्रै अहिले सिंगापुरलाई प्रतिनिधित्व गर्छन् । तीमध्येका एक हुन्, क्याप्टेन अमजद महबुब, जसलाई नेपालको फ्ल्याट पिच र सिंगापुरको पिचको समानताबारे जानकारी थियो । सोही अनुभवलाई आधार मानेर उनले पहिले ब्याटिङको निर्णय गरे, जुन सही साबित भयो ।
सस्तैमा आउट
बलिङमा मात्रै होइन, नेपालका ब्याटिङ स्टार पनि चल्न सकेनन्, महत्त्वपूर्ण खेलमा । स्पिनर वसन्त रेग्मी र सन्दीप लामिछाने नचलेको खेलमा ब्याट्सम्यान कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर पनि क्रिजमा जम्न सकेनन् । ७ ओभरमा सन्दीप र वसन्तले ८८ रन खर्चेर नेपाली ब्याट्सम्यानलाई दबाब दिइसकेका थिए । त्यही दबाब झेल्ने क्रममा नेपालका बी–थ्री पारस, ज्ञानेन्द्र र शरद उच्च स्कोरको लोभमा सस्तोमा आउट हुन पुगे ।
अर्कोतर्फ सिंगापुरका स्पिनर सेलाडोर विजयकुमार र अनन्थ कृष्णले समान ७ ओभरमा ४४ रन खर्चेर नेपालको ४ विकेट चट्काए । एउटै म्याच, उही मैदान र अझ उम्दा बलरको कमजोर प्रदर्शनमा नेपालले सिंगापुरलाई खेल सुम्पियो । हारेको त्यो एउटा म्याच मात्रै थिएन, क्रिकेटप्रेमी नेपालीको चन्द्र सूर्यअंकित झन्डा विश्वकपमा लहराएको हेर्ने सपना तुहिएको क्षण पनि थियो ।
मध्यक्रमका ब्याट्सम्यानको खराब प्रदर्शन पनि नेपाली टोलीको हारको प्रमुख कारण बन्यो । पहिलो खेलमा कतारसँग हार्दा पनि यही समस्या देखिएको थियो । यसअघि ब्याटिङ कन्सल्ट्यान्टका रूपमा रहेका उमेश पटवाल अहिले नेपाली टोलीको मुख्य प्रशिक्षक छन् । तर ब्याटिङ नचलेरै नेपाल विश्वकप खेल्नबाट विमुख हुन पुग्यो । कप्तान पारस खड्का ओपनरका रूपमा मैदानमा उत्रिँदा नेपालको मध्यक्रम पछिल्लो समय कमजोर हुँदै गएको छ । सिंगापुरविरुद्ध पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि २७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । ठूलो सट खेल्ने धुनमा पारस क्याच आउट हुन पुगे ।
ज्ञानेन्द्र पनि ३९ रनमा आउट भएपछि नेफालको जिम्मेवारी मध्यक्रमका ब्याट्सम्यानको काँधमा सरेको थियो । मध्यत्रमका ब्याट्सम्यानले ठूलो साझेदारी गर्नुपर्ने आवश्यकता बनेको थियो । तर कुनै पनि ब्याट्सम्यानले त्यो जिम्मेवारी वहन गर्न सकेनन् । रन चाँडै बटुल्ने योजना र ठूलो सट हिर्काउने धुनमा क्याचआउट हुँदै मध्यक्रमका ब्याट्सम्यानले नेपाललाई निरास बनाए ।
शरद भेषवाकर ७, दीपेन्द्रसिंह ऐरी २३, रोहितकुमार पौडेल ५, विनोद भण्डारी ९, करण केसी शून्य र सोमपाल कामी ११ रनमा आउट भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको थियो । ज्ञानेन्द्र र पारसले ५१ रन बनाऊँदा मध्यक्रमका ६ ब्याट्सम्यानले मात्रै ५५ रन जोड्न सके । सुरुआती लयलाई मध्यक्रमका ब्याट्सम्यानले पछ्याएको भए नेपालको जितको आधार तय हुनसक्थ्यो । तर मध्यक्रमका ब्याट्सम्यानको खराब ब्याटिङले नेपाललाई हारको स्वाद चखायो ।
हारका अन्य कारण
कप्तान पारसले कुनैबेला भनेका थिए, ‘जितले सबै दुर्बलता र कमीलाई पनि ढाकछोप गर्छ । तर हारले सबै कमजोरी उदांगो पारिदिन्छ ।’ सिंगापुरमा पनि नेपालका कमजोरी एकपछि अर्को गर्दै उदांगिए । आयोजक सिंगापुरविरुद्ध १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुआतबाटै ठूला सट खेल्नुपर्ने दबाब थियो । मैदानको बाउन्ड्री सानो हुँदा नेपालले लक्ष्य पूरा गर्ने आश गर्नु अनौठो थिएन ।
नेपालका ७ ब्याट्सम्यान ठूला सट प्रहार गर्ने धुनमा क्याच आउट हुन पुगे । दबाबमा गलत सट खेल्दै आउट हुनु नेपालका लागि हारको कारण बन्य पुग्यो । नेपालका कुनै पनि ब्याट्सम्यानले आत्मविश्वासी सट खेल्नु त परको कुरा, क्रिजमा लामो समय टिक्ने धैर्य पनि प्रदर्शन गर्न सकेनन् ।
सिंगापुरले सुरुआती ४ ओभरमा १ विकेट गुमाउँदै २० रन जोड्दा कम योगफलमै सीमित हुने आकलन थियो । तर पाँचौँ ओभरमा सन्दीपले १४ रन खर्चिएपछि सिंगापुरको रनको गतिलाई रोक्न नेपालले सकेन । नेपाली स्पिनरमाथि हाबी सिंगापुरका ब्याट्सम्यानले रनको पहाड बनाए, जसलाई नेपाली ब्याट्सम्यानले नाघ्न सकेनन् । स्पिनर मात्र होइन,पार्टटाइम बलर शरद भेषवाकरले पनि ३ ओभरमा २५ रन खर्चिए । नेपालका तीन स्पिनरले कुल १ सय १३ रन खर्चिएपछि सिंगापुरको रन औसत उकासिएको थियो । तर तीनै स्पिनर विकेटविहीन बने ।
सिंगापुरका तीव्र गतिका तीन बलरले १० ओभरमा ७६ रन खर्चेर ६ विकेट लिएका थिए । स्पिनरले १० ओभरमा १ सय १३ रन खर्चिंदा एक विकेट पनि लिन नसक्नु नेपालको हारको अर्को कारक हो । स्पिनरले रनको गति रोकेर नियमित अन्तरालमा विकेट पतन गर्न सफल भएको भए ब्याट्सम्यानलाई दबाब पर्ने थिएन । दबाब नपरेको भए नेपाली ब्याट्सम्यानले स्वाभाविक खेल देखाउन सक्थे र टिमलाई जित दिलाउने आत्मविश्वासी सट खेल्न सक्थे । स्पिनर चुटिनु नेपालको हारको प्रमुख कारण बन्न पुग्यो ।
हारको जिम्मा कसको ?
विश्वकप सपना चकनाचूर भएपछि कप्तान पारस खड्काले भने, “कप्तानको रूपमा हारको सबै जिम्मेवारी म लिन्छु । टिम नराम्रो होइन तर प्रदर्शन राम्रो गर्न सकेनौँ । आगामी दिनमा राम्रो गर्नेछौँ । जित्दा सबैको वाहवाह हुन्छ, हार्दा आलोचना ।”
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बाँकी रहेको भन्दै उनले एउटा प्रतियोगिता हार्दैमा संसार नसकिने प्रतिक्रिया दिए । कहिलेकाहीँ भाग्यले पनि साथ नदिने भन्दै उनले सिंगापुरविरुद्धको खेललाई नराम्रो सपनाको संज्ञा दिए । उनले भने, “सबै टिमको सोच र सपना नै छनोट चरण (क्वालिफायर) सम्म पुग्ने थियो । हाम्रो क्षमताअनुसार खेल्न सकेनौँ ।”
नेपाली टोलीका पूर्वप्रशिक्षक जगत टमाटा नेपालको तयारी नपुगेको सुनाउँछन् । एसियाली छनोटअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण म्याच खेलेको थियो । सिंगापुर र मलेसियाको हावापानी समान भएकाले खेलाडीलाई अभ्यस्त तुल्याउने त्यो राम्रो कदम थियो । तर खेलमा ब्याटिङ अर्डर र तौरतरिकाबारे जति परीक्षण हुनुपर्ने हो, त्यो भने भएन । टमाटा भन्छन्, “मलेसियामा हुन लागेको प्रतियोगिता सिंगापुर आफैँ गर्न तम्तयार भयो । रणनीतिक हिसाबले पनि उनीहरूले राम्रो गरे । हामीले आफ्नोतर्फबाट मात्रै तयारी गर्यौँ, विपक्षीको तयारीबारे अनभिज्ञ रह्यौँ ।”
छनोटमा एकमात्र अपराजित टोली सिंगापुर रह्यो । उनीहरूले आफूसुहाउँदो विकेट पनि तयार गरे । अभ्यासका लागि पाकिस्तानसम्म पुग्नुले सिंगापुरकोमहत्त्वाकांक्षा पनि झल्काउँछ । तर मलेसियाको घाँसे पिचमा गरेको अभ्यासनेपालका लागि पर्याप्त भएन ।
टमाटाका अनुसार व्यवस्थापन पक्षमा चुकेका कारण खेलाडीले सोचेअनुरूपको नतिजा दिन नसकेका हुन् । सहायक प्रशिक्षक र बलिङ प्रशिक्षकसमेत नहुनु पनि टिमको हारको कारक रहेको उनको भनाइ थियो । राम्रो खेलेनन् भनेर खेलाडीमाथि मात्रै दोष थुपारेर कसैले उम्किन नपाउने उनले सुनाए । क्रिकेट संघ निलम्बनमा परेपनि व्यवस्थापन सम्हालेर बसेकाहरूले आवश्यक तदारुकता अपनाउन नसकेको उनको तर्क थियो ।
खेलाडीको सफलता वा असफलता उसको प्रतिभाबाट नापिने भएपनि प्रशिक्षकको हकमा चाहिँ उनको कमानीमा टोलीले हात पार्ने जितबाटै नापिने हो । यसमा पटवाल पहिलो यात्रामै चुकेका छन् । अबका बाँकी अवसरमा आफू र टिमलाई कसरी उतार्छन्, त्यसमै उनको नेपाल बसाइको अवधि लामो/छोटो हुने निर्भर गर्नेमा कुनै शंका छैन ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...