बदलिँदो दाम्पत्य

- कैलाश राई

सामाजिक संस्थाको रूपमा विवाह र परिवारको संरचना लैंगिक रूपमा विभेदित संस्कृति र परम्पराको जगमा खडा भएको हो । विवाह र प्रजननका माध्यमबाट महिला र परिवारको सम्बन्ध परिभाषित छ ।

 विवाहसँग पुरुष र उसको परिवारको सुविधा–असुविधा गाँसिएका छन् । प्रजनन र मातृत्व, बालबच्चा एवं घरपरिवारका सदस्यको स्याहारसुसार, आफन्तजन तथा अतिथिको सत्कारसम्म जोडिएका छन् । पुरुष र उसको सुविधा–असुविधाका आधारमा यी सबै कामलाई महिलाको कर्तव्य बनाइयो । यी काम गर्न महिलाले ‘प्राकृतिक’ गुण लिएर आएको हुन्छ भनेर भाष्य निर्माण गरियो । निजी क्षेत्र महिलालाई र सार्वजनिक क्षेत्र पुरुषलाई जिम्मा लगाइयो ।

वैदेशिक रोजगारको क्रम व्यापक हुँदै जाँदा खासगरी पुरुष सँगसँगै महिला पनि जान थालेपछि नेपाली समाजको पारिवारिक–सामाजिक–सांस्कृतिक अभ्यासमा तीव्र परिवर्तन हुन थाल्यो । सामाजिक तथा पारिवारिक लैंगिक संरचना र व्यवहार बदलिन थाले । महिलाको लैंगिक भूमिका फेरिँदै गयो । उनीहरूको हिँडडुल र कार्यक्षेत्र फैलियो । त्यस्तो फेरबदलले पितृसत्तात्मक नेपाली समाजको आपसी लैंगिक व्यवहार र सम्बन्धमा सोझै प्रहार गर्‍यो । वैदेशिक रोजगारको प्रभाव तथा सामाजिक मूल्यको रूपमा बहुविवाह, विवाहइतरका सम्बन्ध, सम्बन्धविच्छेद, दोस्रो विवाह, लैंगिक तथा घरेलु हिंसा, आर्थिक फुर्मासीपन र मनोरन्जनात्मक क्रियाकलापमा हुने संलग्नतामा वृद्धिका घटना बढ्दो क्रममा छन् ।

वैवाहिक सम्बन्ध टुट्नु, अभिभावकीय ममताको अभावमा बालबच्चामा नकारात्मक प्रभाव पर्नु, परिवारका सदस्यमा स्याहारसुसार अभाव हुनुजस्ता घटनामा पुरुषलाई भन्दा महिलालाई बढी जिम्मेवार ठहर्‍याइन्छ । यस्ता घटना हुन नदिने कर्तव्य महिलाको हो भन्ने धारणा व्याप्त छ किनकि समाजसँग महिला र पुरुषको सम्बन्ध फरक–फरक किसिमले संरचित छ । परिवारसँगको महिला पुरुषको सम्बन्ध पनि बेग्लाबेग्लै आधारमा निहित छ । बच्चासँग आमाबाबुको सम्बन्ध पनि अलग–अलग तरिकाले निर्माण गरिएको छ । त्यसैले महिला र पुरुषका लागि समाज र परिवारमा भिन्नाभिन्नै मापदण्ड प्रयोग गरिन्छ । घरको पुरुष वैदेशिक रोजगारीमा गएपछि महिला घरमै रहँदा होस् वा तिनी आफैँ वैदेशिक रोजगारीमा जाँदा होस्, उनीहरूमध्ये धेरैजसोले सामाजिक अवगाल र चरित्र हत्याको सामना गर्छन् ।

वैदेशिक रोजगारमा गएकाहरूको परिवारमा एक्लोपन, मानसिक तनाव, अतिरिक्त कार्यबोझ र दह्रो सामाजिक निगरानी हुने गर्छ । सामाजिक निगरानीकै माध्यमबाट निकालिएको निर्क्योलअन्तर्गत वैदेशिक रोजगारीले पारिवारिक विखण्डन भएका घटना धेरै सुनिन्छ । छापा माध्यममा पनि बाक्लै पढ्न पाइन्छ । गत मंसिरमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान उद्घाटन कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले भनेका थिए, ‘लैंगिक हिंसाको मुख्य कारण वैदेशिक रोजगार र त्यसबाट आउने रेमिट्यान्स हो । वैदेशिक रोजगारीले हाम्रो समाज र परिवार छिन्नभिन्न भएको छ ।’ त्यही भनाइ पुष्टि गर्ने गरी गत ५ जेठमा ‘वैदेशिक रोजगारीले दाम्पत्यमा फाटो’ शीर्षकमा कान्तिपुरमा समाचार छापियो, जसअनुसार बुटवल उपमहानगरमा ०७५/७६ को १० महिनाभित्र सम्बन्धविच्छेदका लागि ६४० जनाले जिल्ला अदालतमा मुद्दा दर्ता गरे । अघिल्लो आर्थिक वर्षमा भने ५ सय १० जोडीले सम्बन्धविच्छेद गरेका थिए । त्यसको कारण वैदेशिक रोजगारले निम्त्याएको विवाद हो भनिएको छ ।

तर वैदेशिक रोजगार र विप्रेषणले नेपाली समाजको पारिवारिक एवं दाम्पत्य सम्बन्ध भत्किँदै गएको भन्ने बुझाइ आंशिक हो र उत्तिकै सतही पनि । वैदेशिक रोजगार आफैँमा सकारात्मक वा नकारात्मक ऊर्जा–शक्ति होइन, जसले स्वतःस्फूर्त नेपाली समाजको विवाहरूपी पारिवारिक संस्थागत संरचना बलियो पार्ने वा बिथोल्ने गर्छ । समाजको सामाजिक संरचना र अभ्यासअनुरूप त्यसले आफ्नो प्रभाव फैलाउने हो ।

पारिवारिक विखण्डनको रूपमा प्रभाव फैलिँदै जाँदा त्यसको ‘कर्ता’ मा बढीजसो महिलालाई उभ्याउने गरिन्छ । श्रीमान्लाई छाडेर श्रीमती विदेश गएपछि श्रीमान्ले दोस्रो विवाह गर्नु स्वाभाविक हो । श्रीमान् विदेश गएपछि श्रीमतीले आफ्नो ‘मानथान’ मा नबस्नु अस्वाभाविक हो । सुरक्षित वैदेशिक रोजगार परियोजनाको एक अध्ययनले देखायो– वैदेशिक रोजगारमा गएका ८ हजार ९ सय ३३ घरपरिवारमा श्रीमती विदेश गएकामा ३६ प्रतिशत श्रीमानले दोस्रो विवाह गरेका छन् । श्रीमान् विदेश गएकामा २ प्रतिशत श्रीमतीले दोस्रो विवाह गरेका छन् । कानुनतः महिला र पुरुषले सम्बन्धविच्छेदपछि दोस्रो विवाह गर्ने समान अधिकार पाए पनि महिलाको दोस्रो विवाहलाई सामाजिक तथा पारिवारिक स्वीकृति मिल्न सहज छैन । श्रीमान्सँग सम्बन्धविच्छेद नै नगरीकन दोस्रो विवाह गरेको खण्डमा त्यसको (दुष्) परिणाम के–के हुन सक्छन् वा त्यसबापत महिलाले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने सजिलै अनुमान लगाउन सकिँदैन ।

वैदेशिक रोजगारमा गएका परिवारमा कलह उब्जिनु, वैवाहिक सम्बन्ध टुट्नु, अर्को विवाह गर्नुमा महिला पुरुष दुवैको भूमिका, आवश्यकता र व्यवहारको पक्ष उत्तिकै जिम्मेवार छ । तर जुनसुकै मूल्य चुकाउनुपरे पनि घरपरिवारको बलियो मियोको काम गर्दै महिलाले वैवाहिक सम्बन्ध धानिराख्नैपर्ने सोच बलियो छ । वैदेशिक रोजगारमा गएका परिवारमा हुर्कंदै गरेका अधिकांश बालबच्चामा समेत यही सोच पुस्तान्तरण भइरहेको छ । केही महिलाले भने त्यस्तो सोच त्याग्न थाले । अमेल र तनावपूर्ण सम्बन्ध टिकाइराख्नुको सट्टा जिल्ला अदालतसम्म गएर सम्बन्धविच्छेदको मुद्दा दायर गर्न थाले । आफूले पाउनुपर्ने क्षतिपूर्ति वा सम्पत्तिमाथि हकदाबी गर्न थाले ।

महिलाका त्यस्तो कदमलाई नेपाली समाजको पारिवारिक र विवाहको मूल्य–मान्यतामा परिवर्तन ल्याऊने सक्रिय क्रियाकलाप मानियो । महिला ‘सुखी’ परिवार भाँड्ने र अनेक दुर्घटना निम्त्याउने ‘तत्त्व’ मा दरिन थाले । गत १३ जेठमा नेपाल साप्ताहिकमा ‘दाम्पत्यमा दरार आएपछि...’ शीर्षकमा समाचार छापियो । उक्त समाचार ६ जेठमा प्रदेश १ को पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा दुई परिवारका चार बालिकासहित नौ जनाको हत्या घटनामा केन्द्रित थियो । समाचारमा वैदेशिक रोजगारमा गएर पैसा कमाउन नसकेका पतिप्रति पत्नीको असन्तुष्टि र पत्नीले सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुलाई घटना हुनुको कारण ठहर्‍याइएको छ । उक्त असाधारण घटना वैदेशिक रोजगार र वैवाहिक सम्बन्धमा आएको फाटोसँग जोडिएको प्रस्टै छ ।

मुख्यतः वैदेशिक रोजगार र विप्रेषणलाई जीवनपद्धतिको अभिन्न अंग बनाएको नेपाली समाजमा त्यसको दुष्परिणाम र प्रभावको सही व्यवस्थापनको पूर्वसोच राखिएको पाइँदैन । विगतमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने उद्देश्यले केही सरकारी नीति र प्रावधान अपनाइयो । महिलालाई वैदेशिक रोजगारीमा जान तोकिएको उमेर हदबन्दी त्यसैको एउटा कडी थियो । त्यसले वैदेशिक रोजगारमा जाने महिला कामदारलाई झनै जोखिम र समस्यामा पार्‍यो ।

दाम्पत्य जीवन टुट्नु, परिवार छुटफुट हुनु, घरेलु हिंसा हुनुजस्ता घटना विवाह र परिवारको सुरुआतदेखि नै हुँदै आएका छन् । वैदेशिक रोजगारबाट यी पक्ष प्रत्यक्ष प्रभावित भएपछि त्यसको असर गाढा हुँदै गएको छ । वैदेशिक रोजगारसम्बन्धी राम्रा–नराम्रा घटना–कथाबाट निर्माण गरिने भाष्य पुरानै पितृसत्तात्मक सोचअनुरूपका हुने गरेका छन् । त्यसैले नकारात्मक परिणामको ‘कर्ता’ महिला हो र वैदेशिक रोजगार र विप्रेषणले उसलाई ‘कर्ता’ बनाएको हो भन्ने अनुमान सहजै लगाउने गरिन्छ, जुन सही हुन पनि सक्छ । र, नहुन पनि । यद्यपि पुरुषको गल्ती क्षमालायक, महिलाको अस्वीकार्य र दण्डनीय पनि । यस्तो सोचका कारण दाम्पत्य सम्बन्ध र परिवारमा देखिएको समस्यामा वैदेशिक रोजगार र महिला केन्द्रीय विषय बन्न पुगेका छन् ।

वैदेशिक रोजगारको प्रभावस्वरूप पारिवारिक संरचना र दाम्पत्य सम्बन्धमा देखिएको परिवर्तनलाई सकारात्मक तरिकाले व्यवस्थापन गर्न नसकिएसम्म त्यसको असर गहिरिँदै र फैलिँदै जानेछ । राज्यले वैदेशिक रोजगार तथा विप्रेषणसँगै आउने परिवर्तित सामाजिक–सांस्कृतिक सन्दर्भ र लैंगिक भूमिकासँगै आउने चुनौती व्यवस्थापन, बाधा पन्छाउने बृहत् अनि लैंगिक रूपमा सही नीति निर्माण गर्नु जरुरी छ । समाज र परिवारले त्यस्ता चुनौती र प्रभावसँग जुध्ने सकारात्मक मनस्थिति, संस्कृति र अभ्यासको विकास गर्नु लाभदायी हुनेछ । 

प्रकाशित: श्रावण २१, २०७६