प्रातः भ्रमणको पहिलो किस्ता

- खगेन्द्र संग्रौला

एक बारको दुर्लभ जुनीमा समय बित्न बेरै नलाग्ने । मैले प्रातः कालमा खुट्टा तन्काउन थालेको हिजैजस्तो लाग्छ । तर मेरो मर्निङ वाकको आयु १३ वर्ष पुगेछ ।

मेरो वाकका आदि–गुरु तीन जना थिए । टोलिया त्रिमूर्ति । लगौँटियातुल्य प्रेमिल यार । अनेक मोर्चाका  सहकर्मी । जीवनको घर्षणमय मिसन पथका सहयात्री । दुःखमा सँगै, सुखमा सँगै । कफीगफमा सँगै, सोमरसमा सँगै । दृश्यावली हेर्ने र मुख फेर्ने एकाध दिनका पदयात्रामा सँगै । बौद्धिक विमर्शमा सँगै, यदाकदा सडक अभियानमा पनि सँगै । यी तीनमध्ये एक जना छँदै छन्, दुई जना अनस्तित्वको गर्तमा विलीन भए । बडो असामयिक भयो, तिनको अन्त्य । जिउँ र केही गरुँको रहर नपुग्दै झ्याप्प निभ्यो तिनको जीवनदीप । बडो नाटकीय र त्रासद थियो, त्यो अवसान । सम्झेर ल्याउँदा त्यसैत्यसै रोऊँरोऊँ लागेर आउने । मेरो हृदयको कोमल पन्तुरोमा ती दुई मित्र जहाँ बस्थे, त्यो ठाउँ अहिले रित्तो छ । यो रित्ततामा कसै गरी निको नहुने घाउ छ । सम्झनामा जब ती आउँछन्, यो घाउ नराम्ररी दुख्छ ।

मनमा यो विचार फुरेको तीन वर्ष भयो । यार, एक न एक दिन म आफूले देखे–भोगेको मर्निङ वाकको कथा सिरियल कसो नलेखूँला र ? लहडै–लहडमा लेख्नलाई यसो नोट बनाइटोपलेँ पनि । तर बनाएँ, थन्क्याएँ र भुसुक्कै बिर्सें । नोटमा आक्कलझुक्कल आँखा पर्दा द्विविधाजनक प्रश्न उठिरह्यो । नाथे मर्निङ वाक सिरियल लेखिनलायकको कथा हो र ? आखिर होइन किन ? प्रश्नले प्रश्नलाई प्रश्न गर्‍यो । साँचो हो, मेरो वाक सिरियलमा खासै गुरुगम्भीर कुरा छैनन् । मननीय, स्मरणीय र उत्रो रुचिकर कुरा पनि छैनन् । तथापि झिनामसिनै सही, यसमा केही कुरा त अवश्य छन् । यसमा विविध पात्र छन् । विविध उमेर छन् । विविध प्रवृत्ति छन् । विविध रंग छन् । र, विविध रस छन् । यसमा जीवनको राग र वैराग छ । यसमा हास्य रस र करुण रस छ । यसमा रौद्र रस छ र मैथुन रस पनि छ । भनूँ भने यसमा नवरसमध्ये न्यूनाधिक कुन रस छैन ? यसमा इमान छ । यसमा ढोङ छ । यसमा रुढी छ । यसमा रहस्य छ । यसमा निष्ठा छ । यसमा निष्ठा विचलन छ । यसमा रुढी, रहस्य, तिलस्म र ढोङको अनावरणको सानोतिनो चेष्टा पनि छ । त्यसो त यसमा आस्थागत द्वन्द्व, बलात् आरोपण र भयावह स्खलनको विद्रूप कथा पनि छ । त्यसैले यो मर्निङ वाक सिरियल भूगोलको सानो वृत्तमा सौ–पचास वाकेहरुका अनेक ओली रुचि र शैली, मनोवृत्ति र प्रवृत्ति एवं मुद्रा र भंगिमाको वृत्तान्तमा जटिल जीवनको एक सानो झलक कसो नहोला ?

जिज्ञासु पाठकको स्वाभाविक प्रश्न छः कथा वाचक, को हुन् ती वाक गुरु, जो दृश्यमान छन् र ती जो अलप भए ? प्रियजन, जो दृश्यमान छन्, ती अर्थविद् केशव आचार्य हुन् । अर्थ मन्त्रालयका नित्य अनिवार्य तत्व । लाग्छ, जीवनमा यी मित्रलाई सधैँ मुते आतुरी छ । जागिरधन्दा, जागिरधन्दा र फेरि पनि जागिरधन्दाको धुन छ । यी मनुवा पनि मेरा लागि भन्नु मात्र दृश्यमान छन् । अचेल यिनलाई भेट्नु भीरको शिरमुनि अक्करको सुनाखरीलाई भेट्नुजस्तै भा’छ मलाई । अनि जो अलप भए तीचाहिँ को हुन् ? ती हुन्– भोला शर्मा र गोविन्द वर्तमान । भोला शर्मा सरकारी जागिरे, सोखिन गायक, रसिक मित्र र असल पाठक । गो विन्द वर्तमान कवि, गद्यकार, समीक्षक र अनुवादक एवं एक निष्णात मार्क्सवादी । गए बरु ज्यान जाओस्, स्वतन्त्र विवेकले रोजेको प्रिय आस्था कतै नजाओस् भन्ने संकल्पधारी । सतत वागी मानव । सत्यनिष्ठामा नित्य अटल, स्वभावमा प्रायः एकला चलो टाइपका ।

पृष्ठभूमि गन्थन यत्ति हो । जेहोस्, यो मर्निङ वाक सिरियल अब लेखिने भो । छाँटले त्यस्तै २०–२२ किस्ता होला यो । यदाकदा पृथक विषय रोजेर कमर्सियल ब्रेक पनि दिादै गरुँला ! 

प्रकाशित: श्रावण २२, २०७६