बाघे बर्दीधारी, सादा पोसाकधारी

- खगेन्द्र संग्रौला

अनौठो संयोग पर्‍यो । ज्ञानेन्द्रको सिंहासन र मेरो मर्निङ वाकको सँगै जन्म भयो । उमेरले सिंहासन दाजु, मर्निङ वाक भाइ । कथा कौतुकमय छ । र, डरलाग्दो पनि । दाजु वीरेन्द्रको वंश मासियो । भाइ ज्ञानेन्द्रका तालुमा आलु फल्यो । दाजुको खरानीमाथि रगतपच्छे सिंहासनमा उक्लिए, ज्ञानेन्द्र । र, भुइँफुट्टा सिंहासनधारीले गमक्क फुल्दै गम खाए– दाजु काँतर थियो, म भनेको मै हुँ । म हुँ वीर बाबु महेन्द्रको वीर छोरो । पिताश्रीको अमूल्य दीक्षा छ– झ्याप्प प्रजाका मुख थुन । र, मिसिनगनले मिडिया कब्जा गर । बस्, सब चीज आरामले चल्छ । मनलाग्दी हैकम चल्छ । चौतर्फी शान्ति छाउँछ । र, हुन्छ– यता तैँ चुप, उता उही चुप । त्यसपछि, इहलोकमा अखण्ड शान्ति । छेलोखेलो विकास । र, अपार सुख ।

चुपचापको कष्टकर याममा सधैँजसो हाम्रो भेट हुन्छ । भेट्ने थलो हो– सबैकी दिदीको ठर्राशाला । यहाँ पहिले नेवारी ऐला चल्दो हो । अहिले कुराले लोकल ठर्रा चल्छ, वास्तवमा हो यो भुस र युरिया मलको जहरतुल्य तरल । ठर्राशाला सडकको छेवैमा छ । भित्र पसेको देखे पवित्र नाक काटिन्छ । नाक जोगाउन हामी अन्धकारमा लुकेर भित्र पस्छौँ । दिदीले असी हिउँद काटेकी छिन् । तथापि उनको अटल अठोट छ– मान्छेले हातखुट्टा चलुन्जेल आफ्नै कमाइमा जिउनुपर्छ । दिदीको पकेट साइजको घर छ । कोठा छ, सेमिपकेट साइजको । त्यस्तै सात बाइ आठ फिटको । दिदीको बैठक, भान्सा, शयन कक्ष, रेस्टुराँ जे भने पनि यही हो । यही फिस्टे कोठा ।

यो कोठामा चित्तको निसास पोख्न मित्रमण्डलीको भेट हुन्छ । उनै गोविन्द वर्तमान, भोला शर्मा, केशव आचार्य र मेरो भेट । साथमा प्रायः ध्रुव लामा हुन्छन् । सबैका ध्रुव दाइ । जमानाका धनाढ्य, हाल बुटिटाट । बाठा अन्यहरुले जम्मै माटो खाइदिएर सुकुम्बासी भएका मतवाली । लामा दाइ किञ्चित् पठित छन् । पत्रपत्रिका पढ्छन् । समयको नाडी नाम्छन् । र, इतिहासका पदचापबारे हामीसँग बात मार्छन् । त्यसैले उनी हाम्रा प्रिय छन् । जब नशाको अन्धवेगी अश्वमा सवार हुन्छन्, ध्रुव दाइ मेघसरी गर्जिन्छन् । गर्जनमा आकाश र बतासलाई आफू लुटिएको कथा सुनाउँछन् । र, भन्छन्– दिस इज ध्रुव लामा कलिङ काइरो । कलिङ काइरोको अर्थ बुझिँदैन । जेहोस्, शोषित ध्रुव दाइ ठर्राशालाका एक मनोरञ्जक तत्व हुन् । एक आभूषण । एक जीवन्त स्पन्दन ।

हाम्रो भेटमा विचारका कुरा हुन्थे । वागी विचारका । अब त्यो बर्जित छ । सडकमा फौजी बुट बज्रिरहेका छन् । भित्ताको माउसुलीधरी जासुस हो कि जस्तो लाग्छ । फौजी ताण्डव, जहररुपी ठर्राको राग र दमित मुद्राको सन्तापबाट जीवन आहत छ । यस्तोमा चित्तको निसास पोख्न मर्निङ वाकको कुरा उठ्यो । तीन मित्रले मलाई वाकको महात्म्य सुनाए । यतै फाइदा रे, उतै फाइदा । तीन बन्धुको दाउ मलाई वाके वृत्तमा हुल्नु थियो । म किन हुलिऊँ ? न मेरो भुँडी विस्तारित छ, न त ज्यानमा विकारवाहक बोसो छ । तिनले मलाई तर्साउँदै हौस्याए । के थाहा, शरीरमा अज्ञात रोग बास पो बसिसके कि ! हजार रोगको एक दबाइ, नित्य मर्निङ वाक !

म परेँ बिहानको लास्टै अल्छी । कति छिटो उज्यालो भएको हो ? मलाई बहुधा कालचक्रसँग रिस उठ्छ । हाइ काड्दै सात बजेतिर उठ्छु म । अनि बित्थामा केको वाक ? तर उल्का भयो । मित्रहरु मलाई आफ्नो वृत्तमा फसाउने दाउमा लिप्त, म पत्तै नपाई मनमनै मर्निङ वाकमा प्रवृत्त । सोचेँ– यो फौजी आतंकमा कमसेकम एकाध घन्टा त म मित्रहरुसँग हुन्छु । केही बात हुन्छ । बातसँगै मनमा केही आशा, केही उमंग, केही साहस र केही संकल्प सञ्चार हुन्छ । आखिर फौजी ताण्डवविरुद्ध लड्नु त छँदैछ ।

बस्, बाघे बर्दीधारी ज्ञानेन्द्र फौजी वाकमा निस्के । सादा पोसाकधारी म खगेन्द्र मर्निङ वाकमा निस्केँ ।

प्रकाशित: श्रावण २७, २०७६

×