विप्रेषणले बदलेको गाउँ

  • रेमिट्यान्स

- लेखनाथ पौडेल

पहिले कच्ची घर भएको गाउँ एकैनासे कंक्रिटका घरले भरिएछ । कच्ची बाटा कालोपत्रे भएछन् । यातायातका हिसाबले सहरोन्मुख बस्तीमा परिणत भइसकेछ । सडकमा मोटरसाइकल बाक्लै गुड्न थालेछन् ।

मैले गाउँ छाड्दा दुइटा मात्र बाइक थिए, आज प्रत्येक घरमा रहेछन् । सडकमा कार/अटो बाक्लै भएछन् । यो परिवर्तनले मलाई एक–दुई दिन साह्रै उत्साही बनायो । लाग्यो, मेरो गाउँमा विकास भएछ ।

जब म सडक किनारकेन्द्रित घरका दौँतरी र गाउँलेका घरघर पस्दै प्रत्येकसँग विप्रेषणसँग जोडिएका, ग्रामीण अर्थव्यवस्थासँग जोडिएका अनुभव सँगाल्दै गएँ, दिनप्रतिदिन उदेक लाग्न थाल्यो । मेरो उत्साह निराशामा परिणत हुँदै गयो । विप्रेषणले बनाएको वित्तीय पर्यावरण, त्यसको सामाजिक मूल्य र ग्रामीण विकासका नाममा मोटाएका लघुवित्तको उदेकलाग्दो कथा मेरो विद्यावारिधिमा समेट्न सायदै सकूँला ।

कुरा गरौँ, विप्रेषणको । समाजका अगुवालाई विप्रेषण उत्पादनमूलक काममा उपभोग भएन भन्ने चिन्ताले गाँजेको देखियो । तर घर नहुनेले घर बनाउने कुरा पनि अनुत्पादक मान्यो । त्यही विषय विप्रेषण बुझ्नेका लागि असुरक्षाबाट मुक्तिजस्तो भयो । लगानीको प्राथमिकतामा घरजग्गा नै देखियो । पहिले खेतीका लागि जग्गा जोडिन्थ्यो, अहिले सुरक्षित र सबैभन्दा नाफामूलक लगानी ठानिन्छ । लगानी गर्नेको उद्देश्य नाफा कमाउने हुँदा उसका लागि त्यो सबैभन्दा उत्पादक बन्यो ।

त्यसपछि सुन दोकानमा आना खोज्ने तोला खोज्न लागे, सुनको सिक्री पनि नबिक्ने मेरो गाउँमा रानीहारको चमकले ढाकेछ । थुप्रै सौन्दर्य प्रसाधन र मासुको व्यापार बढेछ । घरमा हाँस, कुखुरा, बाख्रा गाईभैँसी पाल्ने चलन भने घटेछ । हिजो खेतमा हुने मेरा दौँतरीलाई वैदेशिक रोजगारीबाट फर्केपछि फुर्सदै फुर्सद भएछ । तर खेत अधियाँमा लगाउन थालेछन् । अनि विप्रेषणले आर्थिक असमानता पनि उत्तिकै बढाएछ । को वैदेशिक रोजगारका लागि कहाँ गयो, त्यो सोध्नै नपर्ने भएछ । घर हेर्दैमा को दक्षिण कोरिया, जापान पुगे, को खाडी र भारतका गल्लीमा छन्, प्रस्टै देखिन थालेछन् । आकर्षक भनिएका गन्तव्यमा जान सक्ने र नसक्नेको सामाजिक प्रतिष्ठामा रहनसहन सबैको असर सडकबाटै छुट्टिँदो रहेछ ।

बढेको महँगी, बढेको तामझामले खाडीका गन्तव्य र मलेसिया त केवल दैनन्दिन गुजारामा सीमित हुन थालेछ । राजधानीमा श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको रोजगारलाई नियमन र ठगी रोक्न गरेको प्रयत्नको पक्ष–विपक्षमा कुरा सुन्थेँ । केही हदसम्म म पनि द्विविधामै थिएँ, यो कदमले फाइदा वा नोक्सानी के गरेको छ भन्ने विषयमा । वर्षौं बिताएकालाई सोधेँ अनि बल्ल मन्त्री विष्टको प्रयासलाई धक फुकाएर साथ दिने निष्कर्षमा पुगेँ ।

मलेसिया पुगेकाको अनुभूति सुन्दा लाग्यो, श्रमको ज्यालाको हिस्सा श्रमिकले भन्दा अधिक वैदेशिक रोजगारको व्यापारले लिँदो रहेछ । गाउँबाट महिनावारी सयकडा ३ देखि ५ रुपैयाँसम्म तिरेर मलेसिया पुग्दा नठगिएको खण्डमा डेढ वर्षमा आफू जाँदाको ऋण तिर्नै नसक्दा रहेछन् । बाँकी समयको आम्दानी केवल गुजाराका लागि ठिक्क हुन्छ । ठगिएकाको त कुरै छाडौँ, घरखेत बिल्लीबाँठका दृष्टान्त थुप्रै रहेछन् । यस्तो अवस्थामा उत्पादक क्षेत्रमा लगानीको रोइलोको के अर्थ हुन्छ र ?

गाउँदेखि राजधानी र गन्तव्यका थोकदेखि खुद्रासम्मका यो प्रक्रियामा संलग्न एजेन्डाको मुनाफा त्यही श्रमिकको श्रम शोषणले सुनिश्चित गर्दो रहेछ । त्यसैले मलेसिया नखोलिएको विषय, मलेसिया जान खोज्ने श्रमिकको चासो जति छ, त्योभन्दा बढी त्यही श्रम शोषणमा टिकेको माफियाको एजेन्डा रहेछ । गाउँमा मलेसिया जान पाइन्न वा त्यो रोकिएर जनता मर्कामा परे भन्ने भ्रमको सिर्जना गरेर फेरि आफ्नो शोषण उद्योग चलाउने दाउ रहेछ । अब भारत पुग्ने  अधिकांश युवामा खाडी, मलेसियाका लागि आवश्यक लगानीको जोहो पनि गर्न नसक्ने र केवल गर्जो टार्ने आशा मात्र रहेछ । मूलतः खाडी मलेसिया र भारतबाट आएकाको पारिवारिक गर्जो टार्न आवश्यक ऋणको स्रोत हिजो गाउँका साहू भएका ठाउँमा आज लघुवित्त बन्न पुगेछ ।

आकर्षक गन्तव्यबाट विप्रेषण आउने परिवारको झकीझकाउको देखासिकी गर्न खोज्दा लघुवित्तको ऋणमा गुज्रिन पुगेछन् । अन्तर्राष्ट्रिय वित्तीय शक्ति–केन्द्र र हाम्रै सरकारले विकासको परियोजनाका रूपमा सञ्चालन गरेको लघुवित्तले महिला उत्थानका नाममा बिनाधितोको ऋण लगानी र जोखिमको नाउँमा ग्रामीण कर्जा बिमा, पशु बिमाको व्यापार गरिरहेका छन् । तर गाउँमा आएका यस्ता लघुवित्तले ऋण प्रवाह गर्ने महिला समूहको मूलतः आर्थिक स्रोत केही नै नहुने या विप्रेषण रहेछ । महिलाको समूहमा प्रवेश गरेपछि निस्कनै असम्भवजस्तै रहेछ । यसले ग्रामीण भेगका महिलामा ऋणको प्रकोप बढ्दो रहेछ ।

प्रायः टोलमा एकाध महिला ऋण तिर्न नसकी भागेका, घरपरिवार छाडेर हिँडेका वा आत्महत्या गरेकासम्म घटना सुनिए । गाउँपालिकामा पनि नसुल्झिएको ऋणसम्बन्धी मुद्दा बढ्दो देखियो । यसले नेपालमा विगतमा रहेको ऋण–सत्ताको झझल्को दिन थालिसकेछ ।

यसो हेर्दा झकीझकाउ कालोपत्रे सडक र बजारले ढाकिन लागेको मेरो गाउँ त भित्रबाट खोक्रिँदै रहेछ । वैदेशिक रोजगारमा गएका परिवारका सन्तान पर्याप्त आम्दानी भएकाहरू पढ्न–लेख्न छाड्ने र फेरि आफू पनि वैदेशिक रोजगारमै जाने भएछन् । गाउँको सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दो रहेछ तर निजी तवरमा खोलिएका स्कुल बढ्दै गएछन् । वैदेशिक रोजगारमा गएकाहरूको बुझाइमा अंग्रेजी र निजी विद्यालय प्रतिष्ठित बन्दै गएछन् । तर निजीमै पढे पनि विद्यालय तह पार गरेपछि युवाको चाहना वैदेशिक श्रम नै भएछ । गाउँमा रहेको क्याम्पसमा भर्ना घट्दो र भर्ना गरे पनि पढ्नेको संख्या झन् घट्दो रहेछ । केही वर्ष छात्राले धानेको क्याम्पस अहिले जापान जाने अवसरले त्यो संख्या पनि घट्दो रहेछ । तर जापानी र कोरियाली भाषा पढाउनेहरू सम्पन्न बन्दै गएका छन् । यो गाउँमा सामान्यतया उच्च शिक्षामा उत्तीर्ण गर्नेको प्रतिशत घट्दो छ । यसको सामाजिक मूल्य कति होला ? गाउँमा विप्रेषण पैसाको उपलब्धताले युवामा खर्चिलोपन र विभिन्न अम्मल बढाएछ । जाँडरक्सीदेखि ‘धूलो’ (ब्राउन सुगर) सम्मको प्रकोप भित्रिएछ ।

वैदेशिक श्रममा गएकाहरू आफ्ना सन्तानको शिक्षामा गरेको लगानी खेर गएको दुखेसो मात्र पोख्दै छैनन्, छोराछोरी बिग्रेको गुनासो बढी छ । रोजगारीबिना नयाँ मोबाइल, बाइक लिने र बरालिनेको संख्या बढ्यो भन्ने गुनासो रहेछ । अब तिनको पनि विदेश जानेबाहेकको अर्को उपाय नभएको भन्दै छन् । कसैले जापानी, कोरियाली भाषा पढ्दै छन्, कसैले पासपोर्टमा भिसा लगाएका छन् । मूलतः खेती गरेर आफ्नै उत्पादनमा निर्भर मेरो गाउँ २० वर्षको अन्तरालमै वैदेशिक श्रममा निर्भर भएछ । मेरो गाउँ त अन्तर्राष्ट्रिय श्रमबजारका लागि मजदुर उत्पादन र पुनरुत्पादनको कारखानामा पो बदलिएछ । निकै ठूलो सामाजिक मूल्यका बीच वैदेशिक रोजगार र विप्रेषणले ग्रामीण जीवनस्तरलाई सुधारेछ । सँगै ग्रामीण अर्थव्यवस्थामा घरव्यवहारदेखि लगानीको निर्णयमा महिलाको प्रभावलाई विस्तार गरेछ । ग्रामीण अर्थव्यवस्था/वित्तव्यवस्थामा सामान्यतया महिला निर्णायक सहभागिता बढाएछ । त्योसँगै विप्रेषणले सामान्यतया समाजमा विगतमा रहेका ग्रामीण सम्भ्रान्तको प्रभावलाई विघटन गरेछ ।

अझ, मेरो गाउँसँगै जोडिएका मधेसी समुदायका बस्तीमा जमिनदार कमजोर बनेछन् । त्यससँगै उनीहरूको सामाजिक, राजनीतिक हैसियत खुम्चिँदो रहेछ । दैनिक उपभोगका लागि हाटमा निर्भर मेरो गाउँमा आज विप्रेषणले पर्यावरण तयार गरेछ । विप्रेषणका कारण बैंक बग्रेल्ती खुलेछन्, करिब १६/१७ लघुवित्तको कार्यक्षेत्र बनेछ, सुन पसल, निर्माण सामग्री, रेस्टुराँ, भाषा पाठशाला आदि । यही विप्रेषण पर्यावरणको हिस्सा बनेछन् । त्यसै पर्यावरणमा लघुवित्त फस्टायो, वैदेशिक श्रमको ज्याला लघुवित्तको भरपर्दो मुनाफाको स्रोत बनेछ । त्यही विप्रेषणले घरजग्गाको मूल्यलाई ह्वात्तै बढाएछ । विप्रेषण पर्यावरणमा मुनाफा कमाएकाहरूको हातमा राजनीति पनि पुगेछ । अर्थात्, हाम्रो राज्य त काठमाडौँदेखि हरैयासम्म घरजग्गा (लघुवित्त) विप्रेषणको कम्प्लेक्सका रूपमा परिणत भएछ । अर्थात्, विप्रेषण पर्यावरणका माफियाको राज्यमा नियन्त्रण बढेछ । मेरो गाउँमा बजार पसेछ अनि त्यो बजारसँगै दलाली । सायद यो नै दलाल पुँजीवाद हो, जसको आधार विप्रेषण पर्यावरण ।

दौँतरी, शिक्षक र शुभचिन्तकले मलाई गाउँ फर्कन आग्रह गरे, मेरो विगतको राजनीतिक आबद्धताका आधारमा । तर मेरा दौँतरी भन्दै थिए, केही करोड जम्मा गरेर आउनू नि । त्यसले मेरो मनमा अनेकन प्रश्न उठ्यो । के म गाउँ फर्कूं ? किन फर्कने ? त्यही रियल इस्टेट (माइक्रोफाइनान्स) रेमिट्यान्स कम्प्लेक्सको हिस्सा बन्न ? यो कम्प्लेक्स तोड्न सकिएला वा राज्य दोहनमा आधारित राजनीतिक अर्थतन्त्र टुट्ला वा रेमिट्यान्सले बनाएको इकोसिस्टम भत्काउन सकिएला ? 

यो पनि पढनुहोस : नेपालीको रेमिट्यान्स : आधा कमाइ दलाललाई, बाँकी साहूलाई

प्रकाशित: श्रावण २८, २०७६

×