बूढो हुँदैछौँ हामी, बूढो हुन मन छैन [भिडियोसहित]
युवावस्थाका मानिस नराम्रो र अप्रिय कुरा बढी सम्झन्छन् भने वृद्धावस्थाका मानिस प्रिय कुरा बढी सम्झन खोज्छन् । जीवनमा धेरै समय छैनजस्तो लाग्ने कुरा आफू कति बूढो छ भन्नेमा भर नपर्न पनि सक्छ ।
सन् २०१२ जनवरी । म आर्कान्सा राज्य (अमेरिका) को फायेटभिलस्थित आर्कान्सा विश्वविद्यालयमा रिसर्च प्रस्तुत गर्न जाँदा विश्वविद्यालय परिसरकै होटलमा बसेको थिएँ । रिसर्च प्रस्तुत गर्ने अघिल्लो साँझ त्यहाँका एक प्राध्यापकसँग डिनर गएँ । फर्कंदा उनले मलाई होटलको पार्किङमा छाडिदिए । पार्किङबाट होटलतिर जाँदा मेरो खुट्टा सानो भर्याङको तल्लो खुड्किलामा ठोक्कियो र म लडेँ । त्यसरी लड्दा मेरो टाउको माथिल्लो सिँढीमा फेरि ठोक्कियो र चस्मा फुट्यो । साथै आँखा वरिपरिको भाग केही छिनपछि कालो भयो ।
भोलिपल्ट बिहान पेपर प्रस्तुत गरेर म तत्कालीन बासस्थान बर्कली फर्कें । बर्कलीमा मित्र आमोद पोखरेल र म सँगसँगै अस्पताल गयौँ । नर्सले रक्तचाप नापिन् । वर्षौंदेखि मैले अस्पतालमा रक्तचाप, दिसापिसाब आदि नाप्ने कामलाई सामान्य औपचारिकता मात्र मान्दै आएको थिएँ । डाक्टर मलाई ‘यो नाप्नुपर्छ, त्यो जाँच गर्नुपर्छ’ भन्थे अनि रिजल्ट आएपछि सबै ठीक छ भन्थे । तर त्यो दिन नर्सले पहिलो पटक नापिन्, दोस्रो पटक नापिन्, फेरि नापिन् । त्यसपछि आत्तिँदै भनिन्, ‘ओ माई गड ! यू कुड ह्याभ स्ट्रोक एनी टाइम !’ मेरो डायस्टोलिक रक्तचाप उनले तीन पटक नाप्दा सयदेखि १ सय ५ को बीचमा थियो ।
रक्तचाप र स्ट्रोकबारे मलाई त्यस बेलासम्म केही थाहा थिएन । कसैले भने पनि त्यति मतलब गर्दैनथेँ । त्यस दिनदेखि मैले कसैले रक्तचापको कुरा गरे केही क्षण ध्यान दिएर सुन्ने गरेको छु । त्यस दिन नर्स र डाक्टरले रक्तचाप छ र कुनै पनि बेला स्ट्रोक हुन सक्छ भन्दा मलाई पसिना आयो । र, बाहिर आएर मलाई कुरिरहेका मित्र आमोद छेउ रहेको कुर्सीमा एकछिन सुतेँ, रिँगटा लाग्यो भनेर । एक छिनपछि फेरि भित्र गएर डाक्टरसँग अब के गर्ने, कुन औषधी खाने भनेर छलफल गरेँ ।
चितवनको सौराहामा भैँसी चराउँदै वृद्ध
अस्पतालबाट अपार्टमेन्ट फर्कंदै गर्दा मनमा सबैभन्दा ठूलो प्रश्न मलाई के पो हुन लागेको हो भन्ने नै थियो । मेरो विश्वविद्यालयमा मभन्दा केही सिनियर प्रोफेसर जागिर गर्दागर्दै मुटुमा भएको आक्रमणले मरेका थिए । मलाई सधैँ त्यस्ता कुरा आफ्ना लागि हैनन्, अरूका लागि हुन् भन्ने लाग्थ्यो । त्यस दिन अचानक सबै जनाको जस्तै मेरो पनि जीवन सीमित छ भन्ने महसुस भयो ।
अज्ञात गन्तव्यतर्फ भयपूर्ण यात्रा
साँच्चै मसँग थोरै समय मात्र बाँकी भए मैले के गर्नुपर्छ होला ? अस्पतालबाट अपार्टमेन्ट जाँदै गर्दा सोचेँ । मलाई सन् १९५४ को चितवनको बाढीपछि चितवनलाई बासस्थानयोग्य बनाउन सरकारले गरेको प्रयास, अमेरिकी सरकारले त्यहाँ गरेको मिहिनेत, पहिलो पञ्चवर्षीय योजनामा त्यहाँ लगेर ७५ हजार परिवारलाई राख्न गरिएको योजना आदिको सेरोफेरोमा रहेर उपन्यास लेख्ने रहर थियो ।
चितवनमा मेरो घरछेउमा गोरखा, बाग्लुङ, कास्कीजस्ता विभिन्न ठाउँबाट आएका मानिस बस्थे । तर पहिलो लटमा चितवनमा आएका मान्छे कम हुँदै गएका थिए । मेरो घर छेउमै ९३ वर्षका मच्छेश्वर खनालको घर थियो । त्यसबेला आएकामध्ये मैले चिनेका सबैझन्दा वृद्ध व्यक्ति । मेरो सूचनाको स्रोत हुन सक्ने अर्का व्यत्ति मेरो बा हुनुहुन्थ्यो । उहाँको चितवनको प्रथम यात्रा सन् १९५६ को थियो । त्यस दिन मैले बालाई फोन गरेँ । बाको गुनासो थियो, “तेरी आमा बिरामी भइराख्छे । म पनि बूढो भएँ । तिमीहरू दुवै जना (मेरो दाइ पनि विदेशमा हुनुहुन्छ) यहाँ भएनौ भने हामीलाई सबैले हेप्छन् । तँ अब नेपाल आइज बाबु ।”
मेरो बुबा र ममा त्यस दिन पहिलो पटक एक समानता थियो, हामी दुवैले जीवनको सीमिततालाई हेरिरहेका थियौँ । त्यस दिनसम्म म युधिष्ठिरले यक्षलाई जवाफ दिएजस्तो स्थितिमा थिएँ । यक्षले युधिष्ठिरलाई संसारमा सबैभन्दा आश्चर्यजनक कुरा के हो भनेर सोधेका थिए । उत्तरमा युधिष्ठिरले भनेका थिए :
अह्यन्यहनि भूतानि गच्छन्तीह यमालयम्
शेषाः स्थावरमिच्छन्ति किमाश्चर्यमितः परम्
(अर्थात्, हरेक दिन धेरै मानिस मरिरहेका हुन्छन् तैपनि बाँच्नेलाई आफू त मर्दिनँ कि जस्तो लाग्छ । यो नै सबैभन्दा आश्चर्यजनक कुरा हो ।) अब म पनि बाजस्तै भएको थिएँ । धेरै बाँच्दिनँ कि क्या हो भन्ने डर मनमा आइसकेको थियो ।
स्ट्यान्फोर्ड विश्वविद्यालयकी मनोचिकित्सक लाउरा क्रिस्टेनसनद्वारा प्रतिपादित सिद्धान्त सोसियोइमोसनल सेलेक्टिभिटी थ्यौरीका अनुसार जतिखेर जीवन लामो छजस्तो लाग्छ, त्यसबेला मान्छेको जीवनमा नयाँ कुरा गरौँ, सिकौँ भन्ने हुन्छ । तर जब जीवनमा धेरै समय छैनजस्तो लाग्छ, मान्छेले त्यसबेला आफ्ना हिँड्डुल गर्ने साथीको संख्यामा नियन्त्रण गर्छ, जो पायो, त्यो नयाँ साथी बनाउन खोज्दैन ।
युवावस्थाका मानिस नराम्रो र अप्रिय कुरा बढी सम्झन्छन् भने वृद्धावस्थाका मानिस प्रिय कुरा बढी सम्झन खोज्छन् । जीवनमा धेरै समय छैनजस्तो लाग्ने कुरा आफू कति बूढो छ भन्नेमा भर नपर्न पनि सक्छ । ४० वर्षमै क्यान्सर लागेर मर्न लागेको मान्छे र ८५ वर्ष पुगेर मृत्युतिर हेर्दै हिँड्न लागेको मान्छेको व्यवहार र झुकाव लगभग उस्तै हुन्छ ।
आर्कान्सामा घटित त्यो घटनाको केही महिनापछि नेपाल फर्केर काठमाडौँ बस्न थालेको मलाई नेपालमा डाक्टरले रक्तचाप अमेरिकामा नापेजस्तो उच्च नभएको भन्दै कसरत गरे पनि हुने सल्लाह दिएका थिए । तर आँखामा केही असर देखिएकाले मैले औषधी खाने निर्णय गरेको थिएँ । रक्तचाप हुँदैमा डराउनुपर्दैन भनेर बिस्तारै बुझ्न थालेँ । तर रक्तचापको त्यो खबरले भित्रसम्म हल्लाएर मुटु यसो ढुकढुक गर्दा वा सानोतिनो चक्कर आउँदा पनि मलाई केही हुन लागेको त हैन भन्ने डर आउने बनायो । त्यसको केही समयपछि सन् २०१६ मा नेपालको स्वास्थ्य मन्त्रालयले गरेको डेमोग्राफिक एन्ड हेल्थ सर्भे (डीएचएस) का अनुसार नेपालमा १५ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमध्ये १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा मलाई जस्तै उच्च रक्तचापको समस्या रहेछ । अमेरिकी हार्ट एसोसिएसनको सन् २०१३ को एक बुलेटिनअनुसार हरेक ३ वयस्क अमेरिकीमध्ये एकलाई उच्च रक्तचापको समस्या छ । रक्तचाप असाधारण हैन भन्ने यसले देखाउँछ । तर त्यो दिनको घटना र जसरी अस्पतालमा मैले खबर पाएँ, त्यसले मलाई युधिष्ठिरको अमर्त्य मानवबाट हान्ना एन्ड हर सिस्टर्सको वुडी एलेनजस्तो हरेक सानो घटनामा पनि केही गम्भीर बिरामी हुन लागेको त हैन भनेर सोच्ने नर्भस हाइपोकोन्ड्रियाक बनाएको थियो ।
मेरा बाआमा चितवन बस्नुहुन्थ्यो । आमालाई सधैँ केही न केही भइराख्थ्यो तर डाक्टरले उहाँलाई एन्जाइटी भएको भनेर एन्टिडिप्रेसान्ट दिएका थिए । म नेपाल आएपछि आमाको गुनासो ९५ प्रतिशतले कम भयो । मेरी श्रीमती र म हरेक साता वा दुई सातामा एक पटक चितवन भने गइराख्थ्यौँ । हामी कहिलेकाहीँ विदेश जाने भयौँ भने जाने बेला आमा निकै चिन्तित हुनुहुन्थ्यो । उहाँलाई सधैँ मैले विदेशमा जाने जागिर त खोजिरहेको छैन भन्ने चिन्ता हुन्थ्यो । मलाई भन्नुहुन्थ्यो, “हामी बूढो भइसक्यौँ बाबु, धेरै मन नडुला ।”
मलाई बाआमा जीवनको उत्तरार्द्धमा पुगेको थाहा थियो । यो बेला उहाँहरूको चाहना छोराहरूसँगै बस्ने थियो । चितवनमा हाम्रो घर थियो र उहाँहरूले त्यसलाई तत्कालै छाड्न सक्ने स्थिति पनि थिएन । म पनि तुरुन्त गएर चितवन बस्न सक्दिनथेँ । त्यही बेला सरकारले मेरो काठमाडौँदेखि चितवन यात्राको समय छोट्याउन सक्ने दुइटा ठूला प्रोजेक्टबारे सोचिरहेको थियो, काठमाडौँदेखि पोखरा चार लेनको सडक बनाउने र मुग्लिङ–नारायणघाट सडक ९ देखि ११ मिटरसम्म चौडा गर्ने । दोस्रो प्रोजेक्ट एसएनआरटीटीपी कार्यक्रमअन्तर्गत थियो, जसका लागि सरकारले लगभग १० करोड डलर ऋण लिँदै थियो । सन् २०१३ को डिसेम्बरमा म वासिङ्टन डिसीस्थित विश्व बैंकको केन्द्रीय कार्यालयमा नेपाली ब्युरोक्र्याटहरूसँगै उक्त प्रोजेक्टको फन्ड म्यानेजर र अर्थशास्त्रीसँग थिएँ । मैले फन्ड म्यानेजर डिएपलाई सोधेँ, “मलाई मुग्लिङ–नारायणघाट बाआमालाई भेट्न आउजाउ गरिराख्नुपर्छ । तिमीहरूको यो चौडा गराइ अमेरिकाको जस्तो सडक चौडा गर्दा अरू ट्राफिकलाई असर नपार्ने हो कि नेपालतिरको जस्तो सबै रोकेर गरिने हो ?” उनले उत्तर दिइन्, “एक दिन पनि ट्राफिक रोकिँदैन । एक छेउमा काम गर्दै गर्छौं, अर्को छेउमा गाडी चल्दै गर्छ ।”
लगभग तीन वर्षअघि चितवनको बजारबाट घर फर्कंदै गर्दा बा एकाएक स्ट्रोकको सिकार हुनुभयो । बाको हात चलेन र वाक्य बस्यो । लगभग आधा घन्टा उहाँ जडवत् हुनुभयो । त्यसपछि बिस्तारै होस आयो । उहाँ आमा भएको ठाउँ पुग्नुभयो । घरमा आमाबा मात्र हुनुहुन्थ्यो । आमाले मलाई काठमाडौँमा फोन गर्नुभयो । मुग्लिङ–नारायणघाट सडक निर्माण भइरहेको र बर्खा पनि भएकाले म तुरुन्त चितवन जान सक्ने स्थिति थिएन ।
मेरो अमेरिकामा भएको वार्ताविपरीत उक्त सडक विस्तार लथालिंग पाराले, मनपरी गाडी रोकेर गरिएको थियो । हरेक दिन हजारौँ यात्रुले दुःख पाएको खबर पत्रपत्रिकामा आइरहेका थिए । बालाई तुरुन्त अरू आफन्त र छिमेकीले भरतपुरको चितवन मेडिकल अस्पताल लिएर गए । डाक्टरले स्थिति स्थिर भएको बताएपछि मैले उहाँलाई भोलिपल्ट बिहानको जहाजबाट काठमाडौँ बोलाएँ । नर्भिक अस्पतालमा डाक्टरले चेक गरेपछि उहाँको टाउकोमा साधारण रगत जमेकाले त्यो केही शारीरिक थेरापी र एक साधारण औषधी सेवनले सन्चो हुन सक्ने बताए । बालाई टेस्टपछि जम्मा १८ रुपैयाँजतिको औषधी मात्र किन्नुपर्यो ।
त्यो उपचारको दौरान काठमाडौँ तीन साताजति सँगै बस्दा मलाई बामा भएको आफूलाई केही हुन्छ कि भन्ने भय र त्यसले निर्दिष्ट गरेको व्यवहारगत परिवर्तन हेर्ने मौका मिल्यो । बा काठमाडौँमा आफ्ना आफन्तलाई फोन गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “मलाई यस्तो भयो । म यहाँ छोराकहाँ बसेको छु ।” आत्मविश्वास हटेर कोही मान्छे भेट्न आइदिए हुन्थ्यो, केही सान्त्वना दिए हुन्थ्यो भन्ने बानी उहाँमा देखियो । मलाई त्यसबेला एउटा तत्त्वबोध भयो, बा र म धेरै फरक रहेछौँ । ममा बिरामी हुँदा कसैसँग कुरा नगरी, कसैले गरेको फोन पनि नउठाई बस्ने बानी थियो । बाको उल्टो बानी रहेछ । हामी कतिपय नेपालीलाई जस्तै मर्ने बेला सन्तान, छरछिमेक कोही पनि छेउछाउ हुँदैनन् कि भन्ने डर उहाँलाई पनि थियो ।
मैले बालाई कृष्ण र बुद्धका उदाहरण दिएर केही सम्झाउन खोजेँ । श्रीमद्भगवत गीताका रचयिता भगवान् कृष्णको मृत्यु हुँदा जम्मा एक जना व्याधा मात्र मलामी गएका थिए । स्टिफन ब्याचलर लिखित कन्फेसन अफ अ बुद्धिस्ट एथेइस्टका अनुसार भगवान् बुद्ध मर्नुभन्दा अघि कौशल नरेश पासेनादिले उहाँलाई दिएको जेथावन आश्रम छाडेर आश्रय खोज्दै पाटलीपुत्र, वैशाली हुँदै वैशाखको चर्को घाममा ८० वर्षको वृद्ध शरीर लिएर कुशीनगर पुग्नुभएको थियो, जतिखेर बुद्धसँग केही मात्र शिष्य थिए । विषालु खाना खाएर मर्दा बुद्धका वरिपरि खासै मान्छे थिएनन् । मलामी कति जना गए भन्ने कुराले मान्छेको महानता मापन गर्दैन । तर बाको दिमागमा एक्लो मृत्युजस्तो अपमानजनक मृत्यु केही हुँदैन भन्ने नै गढेकाले मेरा यी उदाहरणले उहाँलाई खासै असर परेन ।
सन् २०१४ मा मैले विश्व बैंकका पदाधिकारीलाई भेट्दा उनीहरूले भनेका थिए, “हामी मुग्लिङदेखि नौबिसे सडक चार लेनमा विस्तार गर्ने कामको डीपीआर गर्दै छौँ, डिसेम्बरसम्म सकिन्छ ।” त्यही बेला जापानीले थानकोटको सुरुङ खनेर झ्याप्ले खोलासम्म पुर्याउने घोषणा गरे । यी सबै काम समयमै भए मलाई चितवन टाँडीको घरसम्म पुग्न ३ घन्टाभन्दा बढी नलाग्नुपर्ने थियो । त्यसबेला मलाई के पनि थाहा भयो भने शक्तिखोरदेखि माझिमटारसम्म सुरुङमार्ग बनाउने हो र संसारका अरू सबै विकसित देशमा भएजस्ता राम्रा सडक बनाउने हो भने काठमाडौँबाट पूर्व चितवनको टाँडी १ घन्टामा पुग्न सकिन्छ । मैले चीनमा हाम्रोजस्तै हालतबाट उनीहरूले प्रगति गरेर राम्रा सडक बनाएको देखेको थिएँ । हाम्रो मुलुक बलियो नहुनुको पछाडि जनता जोड्ने रणनीति नहुनु हो भन्ने मेरो सोचाइ थियो । ०४८ पछि धेरै सडक बने तर एउटा सर्वांगीण यातायात गुरुयोजना नभएकाले नेताहरूले मान्छे नभएको आफ्नो सानो गाउँमा पनि बजेट लगे । मान्छे नै मान्छे भएका बस्ती जोड्ने कार्य गरेनन् ।
यसैले यी प्रस्तावित सडक समयमा बन्ने स्थिति भएन । बाआमालाई चितवनको मोह थियो । तर सन् २०१७ मा बाको स्ट्रोक भएको केही महिनापछि फरक–फरक ठाउँमा बस्नु राम्रो नहोला भन्ने सोचेर मैले बाआमालाई सधैँ बस्ने गरी निवासमा ल्याएँ । त्यहाँ आएपछि पनि बामा अझै स्ट्रोकको भय थियो र बेलाबेला आफूलाई टाउकोमा सन्न हुने कुरा गर्नुहुन्थ्यो । डाक्टरले बालाई हाइपोकन्ड्रिया भएको हो भने ।
हार्वर्ड विश्वविद्यालय मेडिकल स्कुलका प्राध्यापक अतुल गवान्डेको सन् २०१४ मा प्रकाशित किताब बिइङ मोर्टलमा हाम्रो वृद्धावस्था कसरी आउँछ भन्ने कुरालाई यसरी प्रस्तुत गरिएको छ : बूढो हुँदै गर्दा हाम्रो दाँतको जरामा जाने रगत कम हुन्छ, गिजा दाँतबाट पर हुँदै जान्छ, दाँत कालो हुन्छ, हल्लिन थाल्छ र जरासम्म देखिन्छ । विकसित देशका जनताको समेत ६० वर्षको उमेर पुग्दा औसत एक तिहाइ दाँत झरेका हुन्छन् भने ८५ वर्षको उमेर पुग्दा ४० प्रतिशत मानिसका एउटा पनि दाँत रहेका हुन्नन् । रगतका नली, जोर्नी, मुटुको मासु र भल्भ तथा फोक्सोमा क्याल्सियम जम्मा हुँदै झन्झन् कडा हुन जान्छन् । रक्तनली सानो हुँदै जाने भएकाले मुटुले पहिलाजत्तिकै रगत पम्प गर्नुपर्दा नलीमा धेरै चाप पार्छ र यसैले ६५ वर्ष कटेका आधाभन्दा बेसी मान्छेमा धेरै रक्तचाप देखिन्छ । मुटुले यसरी रगत तान्नमा बढी मिहिनेत गर्नुपर्ने भएकाले हाम्रो अरू थकाइ लाग्ने काममा उसले मद्दत गर्न सक्दैन । यसैले हामी चाँडै थाक्छौँ, बेसरी हिँड्न सक्दैनौँ, सिँढी चढ्न सक्दैनौँ । ४० वर्ष कटेपछि मासु पनि बिस्तारै घट्छ र ८० वर्ष पुग्दा हामीले हाम्रो २५ देखि ५० प्रतिशतसम्म मासु गुमाएका हुन्छौँ । हाम्रो फोक्सोको क्षमता घट्छ । दिसा गर्न गाह्रो हुँदै जान्छ । ग्रन्थिले बिस्तारै काम गर्न छाड्छन् । दिमाग बिस्तारै खुम्चिन्छ । ३० वर्षको उमेरमा हाम्रो दिमाग लगभग १ हजार ३ सय ५० ग्रामको हुन्छ र खप्परमा बल्लबल्ल अटेको हुन्छ भने ७० वर्ष पुग्दा दिमागको आकार घटेर खप्परभित्र एक इन्चजति खाली ठाउँ बच्छ । त्यसैले बूढाबूढीहरू लडेर टाउको ठोक्कियो भने युवाको भन्दा बढी सेरेब्रल रक्तस्राव हुन्छ । ८५ वर्ष पुग्दा त हामीमध्ये ४० प्रतिशतको सम्झनाशक्ति र निर्णय क्षमता बिग्रेर डिमेन्सिया भएको हुन्छ । वृद्धावस्थामा मान्छे पोस्चरल हाइपोटेन्सन भएर लड्न थाल्छन् । सबैभन्दा दुःख दिने मानिएको हिप सर्जरी गर्नुपर्ने स्थिति पनि यही लडेर फेमर भनिने हिपको हाड सिसाजस्तै टुक्रिने हुनाले हुन्छ । यसैले वृद्धवृद्धा सकेसम्म तल्लो तलामा बस्नुपर्छ । मर्दा हामी यसरी एकएक अंग गर्दै मर्छौं । मत्यु एक्लो मत्यु मात्र हैन, यो त विभिन्न अंगको कत्लेआम हो ।
अंगको अवसान शरीरको भित्री कुरा भयो तर मत्युबोधले मानिसको व्यवहार, रुचि आदिमा धेरै परिवर्तन ल्याउँछ र उसको संसार हेर्ने तरिका भिन्न भइदिन्छ । मत्युको ज्ञान भएपछिको जीवनदेखि मत्युतिरको यात्राबारे जगदीश घिमिरेले अन्तर्मनको यात्रामा प्रकाश पारेका छन् । उक्त किताबमा आफू मृत्योन्मुख छु भन्ने जानेपछि जगदीशको रुचि, आग्रह धेरै फेरिन्छ र संसार हेर्ने एउटा नयाँ आँखा आएको पाठकले देख्छन् । समले पनि अस्पतालको सुविधा नभएको त्यो युगमा आफ्ना हजुरबाको अन्तिम यात्राबारे मेरो कविताको आराधनमा मन च्वास्स पार्ने केही विवरण दिएका छन् । बूढा हुँदै गएका आफ्ना हजुरबा डम्बरशमशेरबारे सम लेख्छन्, ‘डम्बर नेपालका सर्वश्रेष्ठ भोगीमध्ये एक थिए । दुराचार, अत्याचार, व्यभिचारका उनी प्रसिद्ध नायक थिए । बूढो हुँदै गर्दा डम्बरलाई चलचित्रमा सोख बढेको थियो । दिनदिनै नाच–बैठकमा उनी शो हेर्थे ।’ अनि बिस्तारै डम्बर बूढो हुँदै गएको समले यसरी वर्णन गरेका छन्, “डम्बरशमशेरको बोली पक्षाघातले गर्दा अब अस्पष्टबाट नबुझिने हुँदै गयो । उनी धेरै समयसम्म बलिरहेको ज्वालामुखी पर्वत निभेर खरानीको थुप्रो बाँकी भएझैँ देखिन थाले । उनी झन्झन् हिँड्नै सक्दैनथे । अरूलाई समाती खुट्टा चाल्न नसकी झुन्डिरहन्थे । बराबर र्याल बगिरहन्थ्यो, एक जनाले पिकदानी थापी पुछिरहनु पर्थ्यो । उनी क्रमशः विक्षिप्तजस्ता पनि हुँदै गएका थिए । वृथामा हाँस्थे, रिसाउँथे । त्यसको कारण अरूले नबुझिदिँदा कहिले रुन्थे, कहिले फेरि आफैँ हाँस्थे । जससित नेपालका प्रधानमन्त्री वीरशमशेर पनि डराउँथे,...यी सब कुरा अब उनलाई देख्दा कोही अनुमान गर्न सक्दैनथ्यो किनभने अब त स–साना केटीहरू उनीसित डराउन छाडिसकेका थिए, ती उनलाई हप्काउँथे । उनी बालकजस्तै चञ्चल र चकचके थिए, एउटी साधारण नानी सुसारेले उनलाई ताती गराउनु, घिसार्नु, तान्नु र सम्हाल्नुपर्थ्यो । त्यो देखेर बज्यैज्यू चिन्तित हुन्थिन्, चाँडै मरेर जान चाहन्थिन् ।”
मर्दा हामी यसरी एकएक अंग गर्दै मर्छौं । मत्यु एक्लो मत्यु मात्र हैन, यो त विभिन्न अंगको कत्लेआम हो ।
मृत्योन्मुख डम्बरशमशेरको बानी धेरै बदलिएको भने पाइँदैन । एक ठाउँमा सम लेख्छन्, ‘बाजेज्यू बोल्न नसक्ने, अरूले दुईतिरबाट समाती हिँडाउनुपर्ने, र्याल बगाइरहने, अर्द्धविक्षिप्त अवस्थामा पनि हेरिनसक्नु कामुक व्यभिचारी भएर दिन गुजारिरहन्थे ।’ डम्बरको अन्तिम केही दिनबारे समले यसरी लेखेका छन्, ‘मर्ने बेला डाक्टर केशवले डम्बरशमशेरलाई छातीको दुवैतिर निमोनिया भएको पत्ता लगाए ।... दिनदिनै व्यथा बढ्दै गयो । व्यथा लागेको सात दिनमा घाट चलाए ।’
उपन्यासकार लियो टोल्स्टोयको उपन्यास इभान इल्यिचको मत्यु (सन् १८८२) को मुख्य पात्र इभान इल्यिच एक दिन आफ्नो जागिरमा बढुवा भएर जान लाग्दा सामान सार्ने क्रममा सिँढीमा लड्छ । उसलाई आफूलाई खासै केही भएजस्तो लागेको हुँदैन । तर त्यो ठोक्किएको ठाउँ दुख्दै जान्छ । ऊ बिरामी हुँदै जान्छ र बिस्तारै आफ्नो वरिपरिका मान्छेको कृत्रिमताप्रति घृणा जाग्दै जान्छ । उसका लागि श्रीमती र छोरीहरू नाटक हेर्ने कार्यक्रम पनि छाड्न खोजिरहेका हुन्नन् । डाक्टर भने कोही के, कोही के भन्दै जान्छन् । कोही आशा दिन्छन्, कोही निराश पार्छन् । उसले खोजेको सान्त्वना, दया एक रुसी किसान नोकर गेरासिमले दिन्छ । त्यो गेरासिमप्रति मात्र उसलाई मर्नुअघि केही दया आउँछ ।
आफू मर्दै छु भनेर जान्नु र आफ्ना प्रियजन मर्दैछन् भनेर जान्नुमा के फरक हुन्छ ? महाभारतमा यसका दुइटा उदाहरण छन् । परीक्षित राजालाई एक दिन श्रृंगी ऋषिले सात दिनभित्र मर्छस् भनेर श्राप दिन्छन् र उक्त मत्यु अकाट्य छ भन्छन् । परीक्षितले त्यसपछि दुइटा प्रतिक्रिया जनाउँछन्– एक, उनी सत्ता सबै छाडेर भागवत् सुन्छन् । दोस्रो, उनी बच्ने केही उपाय छ कि भनेर तक्षकको विषबाट कसैले बचाउन सक्छ भने ऊक्त व्यक्तिलाई ठूलो पुरस्कारको घोषणा गर्छन् । महाभारतको अर्को एक उदाहरणचाहिँ सावित्री–सत्यवानको छ । शल्वनरेश द्युमत्सेनका छोरा सत्यवानलाई सावित्रीले मन पराइन् । त्यस बेला राज्यच्युत द्युमत्सेनसँग खासै सम्पत्ति थिएन र अन्धा थिए । छोरा सत्यवानसँग ती जंगलमा कुटीमा बस्थे । सावित्रीलाई नारदले सत्यवान बिहे गरेको एक वर्षमा मर्छन् भनेका थिए । पति मर्ने र सासूससुरा पनि विपन्न र अन्धा भइसकेको हुनाले सावित्रीको वैवाहिक जीवनप्रति उनका बुबा अश्वजित चिन्तित थिए । तर सावित्रीले बिहे गर्ने अड्डी छाडिनन् । उनीहरूको बिहे भयो । बिहे गरेको एक वर्ष पुग्न चार दिन अघिदेखि सावित्री निराहार व्रत बस्न थाल्छिन् । चौथो दिन उनी बिहान उठेर अग्निको पूजा गर्छिन् र त्यसपछि जिद्दी गरेर सत्यवानसँगै काठदाउरा काट्न जंगल जान्छिन् । दाउरा काट्दाकाट्दै सत्यवान थाक्छन् र उनको जीउमा धेरै पसिना आउँछ । त्यसपछि सावित्रीले सत्यवानलाई आफ्नो काखमा राख्छिन् । त्यही बेला यमराज आउँछन् । सत्यवानको आत्मा लिएर दक्षिण दिशातिर हिँड्न थाल्छन् र सावित्री यमराजलाई पछ्याउँछिन् ।
यी दुई उदाहरणबाट महाभारतले दिन खोजेको शिक्षा के हो त ? मृत्युको ज्ञान हुनुले दिने एन्जाइटी सबैलाई हुन्छ । जसलाई आफ्नो मृत्युको दिनबारे ज्ञान हुन्छ, ऊ आफ्नो मृत्युसँग डराउँछ, एन्जिअस हुन्छ । तर प्रियजनलाई थाहा भयो, बिरामीलाई थाहा नभए हुने एक मात्र फरक हो– त्यो एन्जाइटी प्रियजनतिर सर्छ ।
महाभारतमा अर्को दुईखाले पात्र छन् । एक, इच्छा मृत्यु भएका (भीष्म) र अर्का चिरञ्जीवी (अश्वत्थामा) । महाभारतले जवाफ नदिने एक प्रश्न के हो भने इच्छामृत्युको वरदान पाएका भीष्मले किन अझै लामो समय बाँचिरहन वा चिरञ्जीवी हुन खोजेनन् ? लर्ड अफ द रिङलगायतका स्वैरकल्पनायुक्त किताबका लेखक टोल्किएनले क्वेन्टा सिल्मरिलिअनमा मृत्युलाई मान्छेले पाएको एक वरदान भनेका छन्, जुन अमरत्व पाएका एल्फहरूले समेत अन्ततोगत्वा चाहना गर्न थाले । टोल्किएनले लेखेका छन्, मृत्यु यस्तो वरदान हो, जुन समय बित्दै गएपछि सबैभन्दा शक्तिशालीले पनि लोभ गर्छन् । मृत्यु भएन भने न इतिहास हुन्छ, न त भविष्य । ढुंगाजस्तो विरक्त लागुन्जेल तपाईं एकै ठाउँ टाँसिएर बस्नुहुन्छ । मृत्यु एक स्वाभाविक प्रक्रिया र एक वरदान थियो, जुन भीष्मले छाने । अर्कोतिर महाभारतले टोल्किएनले झैँ अभिशप्त अश्वत्थामालाई चिरञ्जीवी बनाएको छ ।
स्याहारका समस्या
लाखौँ नेपाली मजस्तो स्थितिमा हुन्छन् । गाउँमा हुर्केर १० कक्षा पास गरेपछि कलेज पढ्न सहर पस्छन् । विदेश जान्छन् । वर्षौंसम्म बाआमासँग नजिकको सम्बन्ध हुँदैन । बुढेसकालमा बाआमालाई हेर्दा हामी धेरै भावनात्मक हुन्छौँ । त्यसैले हाम्रो स्याहारसुसार ‘मैले सकेसम्म केही कमी हुन दिएको थिइनँ’ भन्न पाइयोस् भन्नेमा बढी केन्द्रित हुन्छ । तर धेरै कुरामा निर्णय गर्न हामी मानसिक रूपले तयार हुँदैनौँ ।
दुई वर्षअघि डाक्टरले आमाको ओपन हार्ट सर्जरी गर्नुपर्छ भन्दा मलाई निर्णय गर्न निकै गाह्रो भएको थियो । उहाँको मुटुको भित्तामा देखिएको सिउडो अनार्युजमले दैनिकीलाई खासै असर गरेको थिएन । तर डाक्टरका अनुसार त्यो कुनै पनि बेला फुटेर आमाको अचानक मृत्यु हुन सक्थ्यो । उहाँ धेरै खर्च गरेर अपरेसन नगरौँ बाबु भन्दै हुनुहुन्थ्यो र म पनि मानसिक रूपमा ठूलो निर्णय गर्न सक्ने स्थितिमा थिइनँ । मैले सकेसम्म धेरै चिकित्सकको सल्लाह लिएर त्यो अपरेसन गर्ने निर्णय लिएको थिएँ । चिकित्सकका कुरालाई अन्तिम सत्य मान्छन्, धेरै नेपाली । तर प्रमाणले के देखाउँछन् भने चिकित्सक पनि हामीजस्तै प्राणी हुन्, चिकित्सा क्षेत्रमा पनि धेरै गल्ती हुन सक्छ । जनसंख्यामा जतिजति धेरै वृद्ध हुँदै जान्छन्, यी कुरा हामीले झन्झन् बढी आत्मसात गर्नुपर्ने हुन्छ ।
वृद्धवृद्धाको हेरचाह भनेको परिवारभित्रको कथा मात्र हैन, यसले मुलुकलाई पनि समग्रमा असर पारेको हुन्छ । सरकार भनेकै मान्छे अशक्त हुँदा उसको हेरचाह गरिदिने एक निकाय हो । धेरै पहिले समाजमा राज्य नहुँदा, मान्छे बलियो हुँदा उनीहरूले मोज गर्थे, अरूको सम्पत्ति, श्रीमती पनि लुट्थे । जुन दिन उनीहरू कमजोर हुन्थे, बलियाले तिनीहरूलाई यसै गर्थे । यो स्थितिलाई प्राचीन रोमन दार्शनिकले ल्याटिन भाषामा ‘होमो होमिनी लुपस’ (अर्थात् एक मान्छे अर्को मान्छेका लागि ब्वाँसो भएको अवस्था) भन्थे । पहिला परिवार र सम्पत्तिमाथिको सुरक्षा प्रत्याभूतिको माध्यमबाट बुढेसकालको सुरक्षा गरिन्थ्यो भने अहिले पेन्सन, बिमा, वृद्धभत्ता आदि विभिन्न औजार प्रयोग गरिन्छ । यसमध्ये कुनैमा प्रत्यक्ष र कुनैमा अप्रत्यक्ष रूपमा राज्यको लगानी हुन्छ ।
स्पष्ट छ, यदि वृद्धको संख्या बढ्दै गयो भने राज्यको दायित्व पनि बढ्दै जान्छ । संयुक्त राष्ट्रसंघले सन् २००९ मा निकालेको एक जनसंख्यासम्बन्धी रिपोर्टले नेपालको जनसंख्यामा वृद्धको संख्या बढ्दै जाने प्रक्षेपण गरेको थियो (टेबल १) । नेपालमा राष्ट्रिय योजना आयोगले निकालेको अर्को एक तथ्यांकअनुसार नेपालको जनसंख्या सन् २०२८ मा एजिङ (कुल जनसंख्याको ७ प्रतिशतभन्दा बढी ६५ वर्षका) र ०५४ मा एजेड (कुल जनसंख्याको १४ प्रतिशतभन्दा बढी ६५ वर्षका व्यक्ति हुने) हुनेछ ।
सार्वजनिक स्वास्थ्यमा आएको सुधारसँगै मुलुकभरि नै अब वृद्धवृद्धा धेरै हुनेछन् । सन् १९९६ मा डीएचएसले प्रतिपरिवार ४.६ बच्चा भएको देखाएकामा सन् २०१६ मा यो संख्या २.३ मा झरेको छ । नेपालको परिवारको संरचनामा आधारभूत परिवर्तन आएको छ । यो प्रवृत्ति लगभग संसारभरि नै देखिन थालेको छ ।
एसियाली विकास बैंकबाट सन् २०१२ मा प्रकाशित एजिङ, इकोनोमिक ग्रोथ एन्ड ओल्ड एज सेक्युरिटी इन एसियामा पूर्वी एसियाको आर्थिक वृद्धिको चरण (सन् १९६० देखि ८० सम्मको) लाई पहिलो जनसांख्यिक लाभांश भनिएको छ । त्यसबेला एसियामा धेरै काम गर्ने उमेरका जनसंख्या थिए र केही मुलुकले ठ्याक्क त्यस अवस्थाबाट कसरी फाइदा लिने भन्ने पत्ता लगाएर नीति बनाए । अहिले एसिया दोस्रो जनसांख्यिक लाभांश लिने अवस्थामा छ । भविष्यमा धेरै मान्छे बूढा हुन्छन्, त्यो बुझेर धेरै बचत गर्दै त्यसलाई उद्योगधन्दा आदिमा लगानी गर्नुपर्छ भन्ने चेतना आयो भने त्यसले हाम्रो वर्तमान अझै समृद्ध बनाउन सक्छ । किनकि हामी धेरै बचत र धेरै लगानी गरिरहेका हुनेछौँ । तर त्यसका लागि त्यस्तै चेतना भएको सरकार र नीति जरुरत पर्छ । एडीबीको रिपोर्टले इंगित गरेको दोस्रो जनसांख्यिक लाभ यही हो ।
एसियाका अरू देशको वृद्धावस्थाको प्रक्षेपण हेरौँ । राष्ट्रसंघीय जनसांख्यिक रिपोर्टमा कोरिया र जापानको जनसंख्यामा ६० वर्ष कटेका व्यक्तिको अनुपात सन् २०५० मा ४० प्रतिशत कट्ने प्रक्षेपण गरिएको छ । सन् २०१६ मा अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थको एक अध्ययनअनुसार संसारमा ८.५ प्रतिशत मान्छे (६१ करोडजति) उक्त समयमा ६५ वर्षभन्दा माथि भएकामा सन २०५० मा यो संख्या १ अर्ब ६० करोड (कुल जनसंख्याको १७ प्रतिशतजति) पुग्नेछ । यस्तै सन् २०१५ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को एक रिपोर्टअनुसार संसारमा ८० वर्ष नाघेका साढे १२ करोड मानिस थिए भने सन् २०५० मा चीनमा मात्र यस्ता मानिस १२ करोड हुनेछन् ।
यति धेरै वृद्धलाई कसले र कसरी पाल्ने हो ? यो प्रश्न पश्चिम युरोप र उक्तरी अमेरिकामा सन् १९५० तिर सोधिएको थियो । तर ती मुलुकमा सुरुमा जब बच्चाको मृत्युदर घट्न थाल्यो, ठीक त्यही बेला महिला मुत्तिका आन्दोलन भए, महिला श्रमशक्तिमा आवद्ध हुन थाले र महिला लेबर फोर्स पार्टिसिपेसन रेट (एलएफपीआर) बढ्न थाल्यो । अर्कोतिर, उनीहरू बिस्तारै आप्रवासनप्रति उदार हुँदै गए । त्यसैले ती मुलुकले सुरुमा त्यो समस्या धेरै भोग्नुपरेन ।
नेपालमा सन् २०१७/१८ मा गरिएको केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षणअनुसार महिलाको एलएफपीआर २६.३ प्रतिशत छ । महिलालाई सशक्त बनाएर उनीहरूलाई श्रमशक्तिमा राख्ने रणनीति अरू कुराका अलावा यो आसन्न वृद्धको जनसंख्या बढ्ने अवस्थाले पनि वाञ्छनीय हुने देखिन्छ । त्यसबाहेक अन्तरिम समाधानको एक अर्को सूत्र नेपाली समाजमा आफ्ना घरमा मान्छे कम भए नातेदार ल्याएर घरमा राख्नु पनि भएको छ ।
फ्रास्वाँ लिबोइ र भिन्सेन्ट सोम्भिलले केहीअघि वर्ल्ड डेभलपमेन्टमा नेपालको सन् २०११ को लिभिङ स्ट्यान्डर्ड सर्भेमा आधारित एक अध्ययनको नतिजा प्रकाशित गरेका थिए । त्यो अध्ययनले अरू कुराका अलावा यदि नेपालीले आफ्नै बच्चा कम पाएका छन् भने त्यो घरमा नातेदार वा अरू आएर बस्छन्, आफ्नै बच्चा धेरै छन् भने त्यस्ता बाहिरी सदस्य कम आएर बस्छन् भन्ने देखाएको थियो ।
महिलालाई सशक्तीकरण गर्नुका अलावा डब्लूएचओले वृद्ध जनसंख्यासँग जुध्न अरू उपाय पनि सुझाएको छ । स्वास्थ्यका अरू क्षेत्रमा प्रगति भए पनि वृद्धावस्थामा हुने मध्यम तथा निम्नस्तरको विकलांगपना रोक्नेसम्बन्धी क्षेत्रमा स्वास्थ्य विज्ञानमा खासै प्रगति भएको छैन । तपाईं नियमित रूपमा व्यायाम गर्नुहुन्छ, हिँड्नु, डुल्नुहुन्छ, त्यस्तो वातावरण छ भने त्यसले तपाईंको वृद्धावस्थाका विकलांगपना घटाउँछ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एजिङले वृद्धावस्थामा धेरै रोग हुने मुख्य रिस्क फ्याक्टर भनेर चुरोट सेवन, मद्यपान र व्यायाम कम गर्नेलाई लिएको छ । यी संस्थाले सुझाव दिएझैँ गर्नाले मानिस वृद्धावस्थामा समाजलाई बोझ बन्दैनन्, पक्षाघात हुने सम्भावना कम हुन्छ, हेरचाह गर्ने मान्छे चाहिने सम्भावना कम हुन्छ ।
हाम्रो मुलुकको कमजोरी यहीँ छ । हाम्रो वृद्धावस्थाको समर्थन खालि केही सरकारी भत्तामा सीमित छ । पार्क बनाउने, मानिसलाई हिँड्न–डुल्न ठाउँ बनाउने र जीवन राम्रो बनाउनेजस्ता विषयमा हाम्रो ध्यान गएको छैन । गत वर्ष वृद्धभत्ता २ हजारबाट ३ हजार रुपैयाँ पुर्याउँदा वार्षिक १५ अर्ब खर्च बढ्ने भयो । त्यो रकमले १५ वटा सहरमा ठिक्क खाले पार्क बनाउन हुन्थ्यो । त्यहाँ वृद्धवृद्धा हिँड्न सक्थे, डुल्न सक्थे, बाघचाल खेल्न सक्थे, तिनको रोग कम हुन्थ्यो । चीनमा यस्ता पार्क बनाउने काममा गएको केही दशकमा तीव्रता आएको छ । हाम्रोमा पैसा दिने तर पार्क बनाउन उदासीन हुने गर्नाले त्यसले समाजलाई पुर्याउन सक्ने जति फाइदा भएको छैन ।
बुढेसकालको चिकित्सा सेवा
बुढेसकालको अप्ठेरोमा एक भरोसा चिकित्सा सेवा पनि हो । चिकित्सकप्रति हाम्रो विश्वास हुँदाहुँदै पनि चिकित्सा सेवा गल्तीहीन पेसा होइन । यो एक अर्थमा कलाजस्तै हो, नैतिकता र इमानदारीले, तीखा आँखा र स्थिर हातको लामो समयदेखिको अभ्यासले यसलाई उत्कृष्ट बनाउँछ भने पैसाका लोभीहरूको हातमा यसको जिम्मा छाडिदिनाले समस्या आउँछ ।
नेपालमा मेडिकल गल्तीबारे कम अनुसन्धान भएका छन् । सन् १९७४ मा अमेरिकी सिनेटमा यससम्बन्धी सुनुवाइ हुँदा त्यसबेला वर्षमा २४ लाख नचाहिने सर्जरी डाक्टरले जबर्जस्ती गरेको र त्यसले ११ हजार ९ सय अमेरिकीको अनाहकमा मृत्यु भएको देखाएको थियो । सन् २०१६ मा जोन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापकद्वय मार्टिन म्याकरी र माइकल डानिएलले लेखेको एक रिपोर्ट अमेरिकामा चर्चित भएको थियो । उक्त रिपोर्टअनुसार वर्षमा २ लाख ५१ हजार अमेरिकी डाक्टरको गल्ती (अर्थात् मेडिकल एरर) ले मर्छन् ।
यसरी मान्छे मर्ने गरेकाले यसलाई कम गर्न कसरी स्वास्थ्य सेवाको प्राक्टिस गर्ने भनेर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक लुसिएन लिपले लामो समयसम्म अभियान चलाएका थिए । र, उक्त अभियानलाई धेरै मानिसको साथ थियो । नेपालमा भने यस्ता सिर्जनात्मक काम गर्ने जाँगर चिकित्सक, स्वास्थ्य सेवाप्रदायक व्यवसायी, सरकार, प्राध्यापक कसैले पनि चलाएको देखिँदैन । यसले नेपालमा भएका सर्जरी कति आवश्यक छन्, कति अनावश्यक छन् भन्न सकिन्न ।
त्यसबाहेक राम्रो छोरा–बुहारी बन्ने चक्करमा बाआमालाई बुढेसकालमा यो अस्पताल र त्यो अस्पताल लाने, यो अपरेसन र त्यो अपरेसन गर्ने सामाजिक तथा मानसिक दबाबको अर्को पक्ष नेपालमा राम्रोसँग अध्ययन भएकै छैन । यसले गर्दा मान्छे घरमा परिवारको बीचमा बसेर शान्तसँग मर्नुको सट्टा पहिला नानाथरी काटकुट गरेर बेहोस अवस्थामा वा लठ्याउने औषधी लिँदालिँदै आईसीयूमा मर्ने क्रम बढ्दो छ । लान्सेट जर्नलमा सन २०११ मा प्रकाशित हार्वर्ड विश्वविद्यालयका प्राध्यापक अल्विन कोकको समूहले गरेको एक अध्ययनअनुसार सन् २००८ मा अमेरिकामा स्वास्थ्य सुविधा पाउने ६५ वर्षभन्दा माथिका १८ लाख मृत अमेरिकीमध्ये ३२ प्रतिशत अमेरिकी मर्दा सर्जरी गरेको एक वर्षभन्दा कम समय भएको थियो । १८.२ प्रतिशत मृत अमेरिकी सर्जरी गरेको १ महिनाभित्र मरेका थिए भने ८ प्रतिशत अमेरिकी सर्जरी गरेको १ साताभित्र मरेका थिए । अर्कोतिर विस्कन्सिन विश्वविद्यालयका प्राध्यापक कुपरको समूहले गरेको एक अध्ययनमा ६५ वर्षभन्दा बढीका र अर्जेन्ट वा इमर्जेन्ट पेटको सर्जरी गरेकामध्ये २० प्रतिशत वृद्धवृद्धा सर्जरी गरेको ३० दिनभित्र मरेका थिए । प्रश्न उठ्छ, किन गरिएका थिए यति धेरै सर्जरी ?
राम्रो छोरा–बुहारी बन्ने चक्करमा बाआमालाई बुढेसकालमा यो अस्पताल र त्यो अस्पताल लाने, यो अपरेसन र त्यो अपरेसन गर्ने सामाजिक तथा मानसिक दबाबको अर्को पक्ष नेपालमा राम्रोसँग अध्ययन भएकै छैन ।
यसबाहेक अमेरिकी रिसर्चले नर्स र डाक्टरले कस्तो वातावरणमा काम गरेका छन्, त्यसले पनि उनीहरूले दिने सेवाको गुणस्तरमा असर पार्ने नतिजा देखाएका छन् । म आफैँले पीएचडी गर्दै गर्दा हाल युनिभर्सिटी अफ मेरिल्यान्ड (कलेजपार्क) मा कार्यरत प्रोफेसर इथान काप्लनको समूहको रिसर्च असिस्ट्यान्टका रूपमा काम गरेको एक अध्ययनको नतिजा सन् २०१६ मा इन्डस्ट्रियल एन्ड लेबर रिलेसन रिभ्यूमा प्रकाशित भएको थियो । क्यालिफोर्नियामा सन् १९९६ देखि २००५ सम्म अस्पताल भर्ना भएका सबै बिरामीको करोडौँ तथ्यांक हेरेर गरिएको उक्त अध्ययनमा जहाँजहाँ नर्सले युनियन बनाउन पाएका थिए, त्यहाँ उनीहरूले दिने सेवाको गुणस्तर राम्रो भएको देखिएको थियो । नेपालमा हामी अझै सूक्ष्म तथ्यांकमा हेर्ने, कस्तो वातावरणमा डाक्टर र नर्स काम गरिरहेका छन् भनेर हेर्ने र स्वास्थ्य गुणस्तरको मापन गरेर सोहीअनुसारको नीतिनियम बनाउने संस्कृतिमा अझै गइसकेका छैनौँ । यसले हामीलाई भविष्यमा हामी बूढा हुँदा पाउने चिकित्सा सेवाको गुणस्तर राम्रो नहुने सम्भावना इंगित गर्छ ।
वृद्धावस्थाको स्याहार
मुलुकमा वृद्धको संख्या बढ्दै जाँदा सरकारले सोच्नुपर्ने भनेको कसरी अहिलेको पुस्ताले आफैँ आफूलाई वृद्ध हुँदा पाल्न सक्ने वातावरण बनाउने भन्ने हो ताकि एकातिर ती भविष्यमा अरूका लागि बोझ नहोऊन् भने अर्कातिर तिनीहरूले आफ्नो बचतबाट त्यसबेलाका युवा पुस्तासँग सेवासुविधा किन्न सकून् । त्यसका लागि धेरै नीतिगत बाटा छन् । एक, जनताले गर्ने बचत बढाउने । दुई, मुलुकको उत्पादकत्व बढाउने र त्यसका लागि शिक्षा, यातायात पूर्वाधार तथा स्वास्थ्यमा व्यापक लगानी गर्ने । यसो भए उनीहरूलाई भविष्यमा चाहिने धेरै सेवा थोरै मानिसबाट नै प्राप्त हुन सक्छ । तर यसरी सम्पत्तिलाई एक समयबाट अर्को समयमा लैजान सरकारी नीतिको अहं भूमिका हुन्छ ।
अहिले पूर्वी एसियाका धेरै मुलुकमा जस्तै नेपालमा वृद्धावस्थाको स्याहारसम्बन्धी सरकारको नीति प्रत्यक्ष भत्ता दिने, कर्मचारीको हकमा पेन्सन दिने र अन्य कतिपय विपन्नको हकमा मुख्य रोगको उपचारमा सहयोग गर्ने खाले नगद र सहयोगको मिश्रणबाट बनेको छ । वृद्धको संख्या बढ्दै जाँदा त्यो बोझ पनि कामकाजी व्यक्तिलाई नै सर्छ किनकि वृद्धलाई दिइने भत्ताजस्ता सुविधा बचतबाट नभई करबाट आउँछ । युनिभर्सिटी अफ हवाईका अर्थशास्त्रीद्वय मेसन र लीले सन् २००७ मा गरेको एक अध्ययनअनुसार यदि मान्छे वृद्धावस्थामा आफ्नै बचतमा भर पर्न थाले भने त्यसले अर्थतन्त्रलाई सकारात्मक असर पार्छ किनकि धेरै बाँचिन्छ भन्ने भएपछि मानिसले सोचविचार गरेर लगानी गर्छन् ।
मानौँ, नेपालीले शिक्षामा अहिले बढी लगानी गरे र प्रत्यक्ष व्यक्तिगत बचत बढाए । शिक्षाको लगानी मुख्यतः सरकारमार्फत हुन्छ । अहिले हाइस्कुलसम्म जाने नेपाली विद्यार्थीमध्ये १८.४ प्रतिशत मात्र निजी क्षेत्रमा छन् । त्यसको असर के हुन्छ त ? भविष्यमा नेपालीको उत्पादकत्व बढ्छ र उनीहरू या नेपालमा या विदेशमा काम गर्छन् । नेपालमा काम गर्नेलाई सरकारले सीधै कर लगाउन सक्छ । विदेशमा काम गर्नेलाई कर लगाउन नसके पनि उनीहरूले पठाएको रेमिट्यान्सबाट तिनको उपभोगका लागि आएका सामानलाई कर लगाउँछ । तर सरकारले ती व्यक्तिमा गरेको लगानी व्यर्थ हुन्छ, जो विदेशमा सधैँका लागि बसिदिन्छन् । उत्पादकत्व बढी भएका नेपाली धेरै जना विदेश गएर बस्न थाले भने लगानी खेर त जान्छ नै, त्यसलाई शोधभर्ना गर्न र सरकारले लगाउने कर एकै समूहलाई बढी नहोस् भनेर पनि विदेशबाट दक्ष मानिस आएर यहाँ बस्न सजिलो बनाउनुपर्ने हुन्छ । गत वर्षको लगानी सम्मेलनअघि म आफैँ, अर्थशास्त्री गोविन्द नेपाल र अन्य भएर गरेको एक अध्ययनमा नेपालमा दक्ष व्यक्ति ल्याएर काम गराउन एसियामै सबैभन्दा गाह्रो भएको देखिएको थियो, जसले बाह्य लगानी तान्न पनि मुस्किल भएको थियो । यी नियम पनि अव पुनरावलोकन गर्नुपर्ने स्थिति छ ।
२५ वर्षसम्म लगभग एकै प्रक्रियामा दिइएको वृद्धभत्ताका असरबारे पनि अब मूल्यांकन गरिनुपर्ने बेला आएको छ । हार्वर्ड अर्थशास्त्री मार्टिन फेल्ड्स्टाइन र उनका सहयोगी रिसर्चरले वृद्धावस्थामा दिइने सहयोगको असरबारे गरेको अनुसन्धानको एक प्रश्न नेपालको परिप्रेक्ष्यमा यो थियो । यदि सरकारले अहिले महिनाको २० हजारका दरले वृद्धभत्ता दिने प्रत्याभूति गर्यो भने के हुन्छ ?
उनको मोटामोटी उत्तरचाहिँ मान्छेको बचत दर घट्छ भन्ने थियो । यदि त्यसो हो भने या वृद्धभत्ता बचत गर्न सक्ने व्यत्तिलाई दिनुभएन (उदाहरणका लागि प्रगतिशील वृद्धभत्ता पद्धति लागू गरेर) या त जबर्जस्ती बचत गराउन लाग्नुपर्यो । के सरकारले त्यसो भए जबर्जस्ती सिंगापुरले गरेजस्तो धेरै बचत गराउन सक्छ ? हामी औपचारिक क्षेत्रका कर्मचारीको रकम जबर्जस्ती बचत (तलबको १० प्रतिशत) गर्छौं तर वृद्धभत्ता बाँड्ने पैसा भने अहिले उठाउने करबाट आउँछ ।
यो परिप्रेक्ष्यमा हेर्दा वृद्धभत्ता पाउने उमेर घटाउनेभन्दा बढाउने, अवकाशको उमेर बढाउने, शिक्षामा र सुनौला हजार दिनजस्ता भविष्यमा श्रमशक्तिको उत्पादकत्व बढाउने क्षेत्रमा सरकारमार्फत लगानी बढाउने, बचत बढाउन बल गर्ने र त्यो बचतलाई सडक, ऊर्जाजस्ता उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्नेजस्ता नीतिमा कसरी जोड दिने भनेर बहस गर्नुपर्ने स्थिति अहिले आएको छ । लोकतन्त्रलाई भोटको खेलबाट माथि उठाएर भविष्यको विचार गर्न सक्ने पद्धति बनाउन सकिन्छ कि सकिन्न भन्ने परीक्षा पनि यिनै बहसको निचोडबाट हुन्छ ।
यदि अहिलेसम्म चलिरहेको बाटोमा हिँड्यौँ भने हाम्रो भविष्य लगभग यस्तो हुनेछ । संसारका धेरै देशको जस्तै हाम्रो जनसंख्या चाँडै वृद्ध व्यक्ति धेरै भएको हुनेछ । तर भएका युवा जनशक्ति त्यसबेला नेपालका वृद्धको हेरचाह गर्नभन्दा वृद्धवृद्धा धेरै भएका कोरिया, जापानलगायतका मुलुकमा काम गर्न गइरहेका हुनेछन् ।
गएको वर्ष जापानमा धेरै गाउँमा भएका अस्पतालका नर्स जाडोको बेला गाउँ छाडेर सहर पसेपछि त्यहाँ वृद्धवृद्धालाई हेरचाह गर्ने मानिस पनि भएनन् । र, यो वर्ष उनीहरूले एसियाका गरिब देशबाट मानिस बोलाए । हाम्रो सहरमा भएका भौतिक संरचना हेर्दा अहिले राम्रोसँग हिँडडुल गर्ने ठाउँ पनि छैनन् । हामी बुढेसकालमा रोगी हुने सम्भावना बढी छ । त्यसबाहेक अस्पतालमा सही वा गलत जे अपरेसन गरे पनि हुने र त्यसलाई नियमन गर्ने निकाय नहुने अहिलेको स्थितिमा लगभग आधाभन्दा बढी अपरेसन नै नचाहिने हुने सम्भावना छ । हाम्रो बुढेसकाल सहायताविहीन भएर, द्रव्यलालचीले लुटिएर बित्ने सम्भावना त्यसैले प्रबल छ ।
सरकारले ध्यान दिनुपर्ने चार विषय
वृद्धावस्था सबैलाई उराठ हुन्छ । चीनको इन्टिग्रेटेड नेसनल मोर्टालिटी सर्वेलेन्स सिस्टममा भएका मृत चिनियाँको २०१३/२०१४ को तथ्यांक अनुसन्धान गरेर हङकङ विश्वविद्यालयका प्राध्यापक पाओ लियाङ चोङको समूहले सन् २०१६ मा निकालेको एक नतिजामा उक्त वर्ष चीनमा आत्महत्या गर्नेमध्ये ३८.२ प्रतिशत वृद्ध थिए । जबकि चीनले सन् २००३ मा ग्रामीण नागरिकलाई र २००७ मा सहरिया नागरिकलाई सार्वजनिक स्वास्थ्य बिमा उपलब्ध गराउने, सन् २००९ मा ग्रामीण क्षेत्रका लागि विश्वव्यापी पेन्सन सिस्टम दिलाउनेजस्ता वृद्धमैत्री कार्यक्रम ल्याएको पनि थियो/छ । वृद्ध बढ्दै जाँदा सरकारले आवश्यक कुरामा ध्यान दिन सकेन भने अर्थतन्त्र अप्ठेरोमा पर्ने, चिकित्सा सेवामा बदमासको बोलवाला हुनेदेखि अन्य धेरै नक्कली स्याहारसुसारका कार्यक्रमले मान्छेको बचत लुटिन सक्छ । अर्कोतिर बालबच्चा कम हुँदै गएकाले धेरै घरमा एक्ला वृद्धले निसासिएर आत्महत्यासम्म गर्न पुग्नेछन्, जसले राज्यले प्रत्याभूत गरेको ‘होमो होमिनी लुपस’ को स्थिति आउन नदिने करार पनि कमजोर हुँदै जानेछ ।
यो अवस्थामा अबको हाम्रो वृद्धावस्थाको स्याहारको व्यवस्थापनसम्बन्धी मूल प्रश्न निम्न हुनेछन् :
१. वृद्धभत्तालगायत वृद्ध व्यक्तिलाई लक्षित गरिएका कार्यक्रम कसरी डिजाइन गर्ने ? हामीले गरेको भत्ताको दिगोपनको आधार के हुने हो ? त्यसबाहेक हामीले कति पैसा बूढो हुँदा रोग नलागोस् भनेर व्यायाम गर्ने पार्क बनाउनेजस्ता अन्य सुविधाजनक विषय निर्माण गर्न प्रयोग गर्ने, कति पैसा गरिब घरपरिवारको औषधोपचारमा सरकारी अनुदानको रूपमा खर्चिने ?
यसपालि म जुन २४ मा बुटवलको नगरसभा बजेटसम्बन्धी पूर्वछलफलमा भाग लिन गएँ । बजेटबारे धेरै छलफल भए । एक अवकाशप्राप्त अध्यापक आनन्द शाक्यको भनाइ यस लेखसँग सम्बन्धित छ । शाक्यले भन्नुभएको थियो, “हाम्रो नगरपालिकामा बूढाबूढी हिँड्ने राम्रो ठाउँ छैन । विदेशतिर खानेकुरा किन्यो भने बाहिर खान सकिने स्थिति हुन्छ, हाम्रोमा घर लैजानुपर्छ । डुल्ने ठाउँ पनि छैन । बूढापाकाले एकअर्कालाई भेट्ने ठाउँ पनि छैन ।”
चीनमा वृद्धवृद्धालाई लक्षित गरेर धेरै पार्क बनाइएको देखिन्छ । अमेरिका, युरोपले त सहर डिजाइन गर्दा नै धेरैजस्तो यो पक्षलाई हेरेर गरेका थिए । जस्तो, लुई नेपोलियन र हाउसम्यानले पेरिस डिजाइन गर्दा नै भविष्यको विश्वकै राजधानीजस्तो सुन्दर, कलात्मक सहर, जहाँ राज्यलाई हुलदंगा नियन्त्रण गर्न सजिलो पनि हुन्छ भनेर बनाएका थिए । हाम्रा सहर जथाभावी बन्दै छन्, त्यसको पछाडि कुनै लक्ष्य र दर्शन छैनन् । हाम्रो जनसंख्यामा वृद्धवृद्धाको अनुपात बढ्दैछ भन्ने सोचेर सहर त बनाएका छँदै छैनौँ । अब वृद्धवृद्धाको स्वास्थ्य सुधार लक्षित स्तरीय पार्क जरुरत भइसकेको छ ।
काठमाडौँमा आप्रवासन बढेको सन्दर्भमा गाउँबाट सरेर आउने वृद्धवृद्धाको हकमा त अझ बढी समस्या छ । आफ्नो उमेरका मान्छे भेट्न गाह्रो छ । बाटामा भेटेर गफ गरेपछि रेस्टुराँमा जाने उनीहरूको आदत हुँदैन, घरमा यसरी नयाँ भेटेका मान्छे लैजान सजिलो पनि हुँदैन र घरको नेतृत्व उनीहरूको हातमा पनि हुँदैन । छोराबुहारीले कस्तो मान्ने हुन् भन्ने धक पनि हुन्छ । यसरी बाटाबाटामा हिँडेका बूढाबूढी भैँसेपाटीलगायतका आवास क्षेत्रमा पनि धेरै देखिन्छन् । यिनलाई लक्षित गरेर पार्क बनाउन ढिलो भइसकेको छ ।
अर्को प्रश्न हो, चिकित्सा क्षेत्रलाई कसरी वृद्ध व्यक्तिलक्षित बनाउने ? डा गवान्डेले माथि उल्लिखित किताबमा एक प्रसंग यसरी लेखेका छन्, ‘डाक्टरहरू जुन क्षेत्रमा विज्ञ छन्, लगभग त्यही क्षेत्रको उपचार गरिहाल्न खोज्छन् ।’ उदाहरणका लागि, धेरैजसो ८० वर्षका व्यक्तिसँग उमेरजन्य कारणले पनि कम्तीमा चार–पाँच वटा रोग हुन्छन् । रक्तचाप होला, डायबिटिज होला, ग्रन्थि रससेचनमा कमजोर होलान्,
फोक्सोको केही समस्या होला । तर छाती दुख्यो भन्दै तपाईं मुटुको डाक्टरकहाँ जानुभयो भने मुटुको अपरेसन गर्न भन्लान् । त्यसले फोक्सो अथवा अरू ठाउँमा भइरहेको समस्यालाई झन् खराब बनाइदिन सक्छ । त्यसैले कतिपय अवस्थामा तपाईं धेरै बूढो हुनुहुन्छ भने केही नगरीकन बस्दा अपरेसन गरेको भन्दा फाइदा हुन सक्छ । वृद्धावस्थाका यस्ता रोगलाई समग्र रोगको परिप्रेक्ष्यमा राखेर हेर्ने काम जेरियाट्रिसियनले गर्छन् । अमेरिकामा वर्षमा जम्मा ३ सय जना त्यस्ता डाक्टर (एउटा राज्यमा औसत ६ जना मात्र) उत्पादन हुन्छन् ।
नेपालमा मेडिकल काउन्सिलको वेबसाइट हेर्दा त्यसरी छुट्टाछुट्टै विशेषज्ञताका आधारमा मुलुकभित्रको चिकित्सा क्षेत्रको उत्पादनलाई राखिएको पाइँदैन । तर जेरियाट्रिसियनको संख्या कम भएको व्यक्तिगत संवादबाट ज्ञात भएको छ । यस्ता जनशक्ति मिसम्याचका स्थितिलाई कसरी व्यवस्थापन गर्ने ?
चिकित्सा क्षेत्र अपरिहार्य हो तर यो क्षेत्रका नेतृत्वकर्ता चिकित्सक आर्थिक लोभमा नपरीकन अनुशासन र समाज सेवा सिकाउने हुनुपर्छ । अगतिलो नेतृत्व छ भने पछि आउने डाक्टर पैसाका लागि जथाभावी अपरेसन गर्ने र नचाहिने औषधी खान लगाउने हुन्छन् । दुःखको कुरा, अरू क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि नेतृत्व र नियामक निकायमा गतिला र बदमास दुवैखाले मान्छे छन् । नेपालको चिकित्सा क्षेत्रमा अब निकै सुधार जरुरत छ, जुन आफ्नो पेसालाई निर्मम समीक्षा गरेर अनुसन्धान गर्ने र समाजका लागि योगदान दिने लुसिएन लिपजस्ता चिकित्सकको उत्पादन सुरु गर्नु पनि हो ।
२. हाम्रो अर्थतन्त्र अब वृद्धावस्थामा जाँदाको उत्कृष्ट बचत अनुपात के हुनुपर्छ ? कसरी त्यति बचत हुने कुराको प्रत्याभूति गर्ने ? के–के औजार प्रयोग गर्ने ? यसरी लगानी गर्न वित्तीय मौका प्रदान गर्ने कार्यक्रम कसरी बनाउने ? के सरकारले यसका लागि अहिलेको भन्दा ठूलो बजारको आकार मुलुकमा बनाउन सक्छ ?
विसं ००७ सम्म नेपालमा राणाबाहेकका सीमित मान्छे मात्र धनी हुने कारण बजारको बिस्तार नहुनु पनि थियो । स–साना हाटबजारमा व्यापार गरेर मान्छेको खासै प्रगति हुन सक्दैनथ्यो । क्याम्ब्रिज अर्थशास्त्री आर्थर पिगु समाजवादी धारका भए पनि उनले सय वर्षअगाडि एक ठाउँमा लेखेका थिए, ‘मुलुकमा केही साह्रै धनी मान्छे भएको पनि राम्रो हो, तिनीहरूले आर्ट (पेन्टिङ), खेलकुदजस्ता राज्यले खासै ध्यान नदिने क्षेत्र स्पोन्सर गर्छन्, म्युजियम बनाउँछन्, विश्वविद्यालयहरूलाई आफ्नो ढंगले समर्थन गर्छन् । राज्यले यस्ता कुरामा सधैँ ध्यान पुर्याउन सक्दैन ।’
हाम्रो मुलुकमा भने स–साना बजार मात्र भइन्जेल खासै धनी मान्छे भएनन् । अहिले बजार बिस्तारै बढ्दा अर्बपति जन्माउन थालेका छौँ । यद्यपि तिनीहरूमा दिने बानी अझै आइसकेको छैन । धेरै जनसंख्या भएका सहर बनाउने र तिनलाई जोड्ने गर्दा बजार पनि बढ्छन्, धेरै लगानी गर्ने कोषले पनि ठाउँ पाउँछन् । तर सहर बनाउने र जोड्ने जस्ता सार्वजनिक महत्त्वका सकारात्मक बाह्यता (पोजिटिभ एक्स्टर्नालिटी) हुने सरकारले नै गर्नुपर्ने काम हुन् ।
कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषजस्ता कोष घर भाडामा लगानी गरेर अथवा नेता नजिकका अदक्ष नेतृत्वले हाँकेको वायु सेवा निगमलाई ऋण दिएर मात्र अब चल्न सक्दैनन् । किनकि यस्ता कोष अब धेरै हुँदै गएका छन् र मुलुकमा बजार र लगानी गर्ने अवसरको विस्तार नभए यी सबै पैसा त्यसै खेर जानेछन् । जसले जति बल गरे पनि, जति आदर्शका कुरा गरे पनि यस्ता कोष ३ हजार जनसंख्या भएको सुदूर गाउँमा लगानी गर्न स्वेच्छाले जानेवाला छैनन् । यो तथ्य सरकारले यथाशीघ्र बुझ्नु जरुरी छ ।
३. हाम्रो जनशक्ति निर्माणमा अहिले देखिएको निम्न लगानीलाई कसरी हटाउने ? हामीले विश्वविद्यालय चलाउन नसकेको अहिलेसम्मको अवस्थामा कसरी राम्रा विश्वविद्यालय बनाउने र चलाउने ? किनकि मानव संसाधन विकास गरेर पुँजी सघनतायुक्त (क्यापिटल डिपेनिङ) अर्थतन्त्र निर्माण गर्न नसके लगानीको राम्रो प्रतिफल आउँदैन र युवावस्थाबाट वृद्धावस्थामा स्रोत लैजान सकिँदैन ।
काठमाडौँमा ०५० तिर नाम चलेका धेरै विद्यालय निजी र नाफामूलक थिए । तर ती विद्यालयका मालिकले अर्बौं कमाउँदा पनि सार्वजनिक प्रयोग हुने पुस्तकालय, रंगशालामा लगानी गरेनन् । खालि विद्यार्थी संख्या बढाउने र त्यसका लागि नयाँ र कम गुणस्तरका भवन थप्ने काम गरे । निजी कलेजको स्थिति झनै खराब छ । अर्कोतिर शिक्षामा अमेरिकामा निजी तर गैरनाफामूलक विश्वविद्यालय खोलिए, जुन आजसम्म संसारको इतिहासकै सबैभन्दा सफल हुन सकेका छन् । उच्चस्तरीय विश्वविद्यालय बनाएर संसारमा आविष्कार र राजनीतिको नेतृत्व विकास गर्ने अमेरिकी मोडल आज अरू देशमा पनि लोकप्रिय छ । जस्तो, चीनमा यो क्षेत्रमा भइरहेको विकास हेरौँ । चिनियाँले सन् १९९० तिर एक्काइसौँ शताब्दीका लागि एक सय विश्वविद्यालयमा धेरै लगानी गर्ने कार्यक्रम (प्रोजेक्ट ‘२११’) ल्याए । १ हजारभन्दा बढी विश्वविद्यालय भएको चीनमा पहिले नेपालमा जस्तै जो नेताको नजिक छ उसले सरकारी कोष लैजान सक्ने स्थिति थियो । सय वटालाई फोकस गर्ने भनेपछि यो स्थिति अलिकति भए पनि कम भयो । उनीहरूका सरकारी विश्वविद्यालय पनि बिस्तारै सुध्रिन थाले ।
अर्को मुख्य घटना सन् २०१५ मा भयो । मार्चमा सात जना प्रख्यात चिनियाँले एक निजी विश्वविद्यालय खोल्न सरकारलाई निवेदन दिए, जसलाई तुरुन्त अर्को महिना राष्ट्रपति सी चिनफिङले स्वीकृति दिए । नोबेल पुरस्कार विजेता याङ छननिङलगायतका विद्वान् संलग्न उक्त विश्वविद्यालयलाई चिनियाँ अर्बपतिहरू वु याचुन (रियलइस्टेट म्याग्नेट), वाङ चिआनलिन (वान्डा ग्रुप चेयरम्यान) र मा हुआथङ (चीनका सबैभन्दा धनी व्यक्ति, टेनसेन्टका मालिक) ले महत्त्वपूर्ण आर्थिक सहायता दिए । उक्त विश्वविद्यालयले अहिले राम्रा चिनियाँ प्रतिभालाई अमेरिकी विश्वविद्यालयले दिएजत्तिकै तलब दिएर काम गर्न बोलाउँछ ।
नेपालका विश्वविद्यालय हेर्दा, त्यहाँ भएका नेतृत्व र माथि सरकारमा भएका नेतृत्वलाई हेर्दा यति ढुक्कसँग भन्न सकिन्छ– हामी चिनियाँजस्तो मानव संसाधनको आधुनिकीकरण सोच्न सक्दैनौँ । हामी अझै पनि हामीसँग भएका स्रोत यो र त्यो नामको भत्तामा, तलबै तिर्नु नपर्ने जनप्रतिनिधिलाई तलब र गाडी दिएर उडाइरहेका छौँ । भविष्यको निर्माण कसरी गर्ने, भविष्यका लागि लगानी कसरी गर्ने, भविष्यको उत्पादकत्व कसरी बढाउने भनेर सोचेका छैनौँ । तर अब सधैँ यसरी चल्दैन र भविष्य सोच्नुपर्ने बेला आएको छ ।
हाल श्रमशक्तिमा आबद्ध नभएका महिलालगायतका समूहको अध्ययन र मूल्यांकन गरी उनीहरूलाई श्रमशक्तिमा आबद्ध गराउन छात्रवृत्ति, तालिम आदिको व्यवस्था गर्नुपर्छ । माथि उल्लेख गरिएझैँ अमेरिकालगायतका मुलुकमा यो नै पहिलो ‘लो ह्याङिङ फ्रुट’ थियो ।
४. कसरी सरकारले विद्यमान बचतलाई आफ्नो निहित उद्देश्यमा खर्च गर्न नपाउने बनाउने ? सरकारको वित्तीय पद्धति कहिलेकाहीँ मुलुक चलाउन र भविष्य बनाउन बाधक बन्छ । उदाहरणका लागि, केही अघि सुनिएअनुसार सामाजिक सुरक्षा कोषमा भएको पैसा (२० अर्बभन्दा बढी) सरकारले ‘रिङ फेन्सिङ’ गरेको रहनेछ र खर्च गरिसकेको रहेछ । यदि सरकारले भविष्यका लागि भनेर बचत गरिने सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष आदिमा रहेका पैसा अहिले जथाभावी खर्च गर्यो भने भविष्यको पुस्ताले त्यसलाई चुक्ता गर्न झन् बढी कर तिर्नुपर्ने स्थिति हुन्छ । यस्ता अन्तरकालीन स्थानान्तरण (इन्टरटेम्पोरल ट्रान्सफर) को सही उपयोगमा सरकार जाने कि जथाभावी लगानी (जस्तो, व्यवसाय योजनाबिना आएका जहाज किन्ने कार्यक्रममा लगानी) गर्ने ? यी प्रश्न सरकारले अब तुरुन्त सोच्नुपर्ने भएको छ । भविष्यका लागि गरिने बचत भनेको आज सरकारलाई गाह्रो–साँघुरो फुकाउने कुरा होइन भन्ने बुझ्नुपर्छ ।
अन्त्यमा, विज्ञानको क्षेत्रबाट आएका दुई छोटा सकारात्मक खबर प्रस्तुत गर्न चाहन्छु । वैज्ञानिकले अहिले एजिङबारे अध्ययन गर्न धेरै प्रयोग गरेको कीरा (राउन्ड वर्म),Caenorhabditis elegans हो । यो सेल्फ–फर्टिलाइजिङ कीरा पारदर्शी हुने भएकाले यसका कोष कहाँ छन् भन्न सकिन्छ । यसको जिनलाई यताउता चलाएर उमेर बढाउन वैज्ञानिकलाई सफलता मिलेको छ । अनुसन्धानका धेरैजसो नतिजा जति यिनको जिनलाई तनाव प्रतिरोधी (स्ट्रेस रेसिस्ट्यान्ट) बनायो, त्यति यिनीहरूको उमेर बढ्छ भन्नेतर्फ लक्षित छन् । तर हालै नेचरमा प्रकाशित केही रिसर्चले भने तनाव मात्र घटाएर उमेर बढाउन सकिन्छ भन्ने छैन भनेका छन् । अर्कोचाहिँ नानो टेक्नोलोजीबाट छ । अहिले कसैको अंग प्रत्यारोपण गर्नुपर्यो भने अरूको अंग लिएर हाम्रो शरीरले त्यसलाई अस्वीकार गर्छ/गर्दैन हेरेर निर्णय गरिन्छ । नानोले तपाईंको आफ्नै कोषबाट अंग बनाउने सुविधा दिन्छ, जुन अस्वीकृत हुँदैन । त्यस्तै शरीरभित्र राखिने नानो बोटले क्यान्सरलगायत रोगलाई सुरुकै स्टेजमा डिटेक्ट गर्न सक्छन् र उपचार गर्न सक्छन् । लेखक नोआ हरारीले स्यापियन्समा त हामी सन् २०५० सम्म एमोर्टल (दुर्घटनाबाहेक अरूले नमर्ने) हुने सम्भावना छ भनेका छन् । नानो टेक्नोलोजीसम्बन्धी धेरै वेबसाइटमा लेखकहरूले लगभग यस्तै दाबी गरेको पाइन्छ ।
भाग्यवश चाँडै यस्तो भए भविष्यमा हाम्रो जनसंख्या धेरै वृद्ध भए के गर्ने भनेर धेरै पीर गर्नु नपर्ला । तर भाग्यमा भर पर्नु नै हाम्रो समग्र रणनीति भने हुनु हुँदैन ।
साथमा यो पनि पढ्नुहोस् : [आवरण] छोराछोरी विदेशमा, बूढा आमाबाबु एक्लिँदै घरमा
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...