[आवरण] छोराछोरी विदेशमा, बूढा आमाबाबु एक्लिँदै घरमा
स्याहार नपाएर एक्लै अस्पतालमा
बुढ्यौली टेक्दाटेक्दै पक्षाघात भएका साथीको दुर्गति देखेर कपनका सुवास कोइराला अवकाशदेखि डराउन थालेका छन् । उनीसँगै हुर्केका साथी वाणिज्य बैंकमा जागिरे थिए । अवकाश लिएको एक महिनामै पक्षाघात भई दायाँ भागको हातगोडा नचल्ने भयो । साथीको अवस्थाले त्रस्त ५७ वर्षीय कोइराला भन्छन्, “रिटायरमेन्टपछि मलाई पनि त्यस्तै हुन्छ कि ?”
नेपालमा अवकाश लिनु भनेको बुढ्यौलीको संकेत हो, जसको व्यावहारिक अर्थ सम्पूर्ण कुराबाट निष्क्रिय बस्नु बुझिन्छ । विदेशमा ६० कटेपछि जिन्दगीको ‘सेकेन्ड इनिङ’ अर्थात् दोस्रो पारी सुरु भएको मानिन्छ । तर नेपालमा भने बुढेसकाल डरलाग्दो रोगको रूपमा विकास भइरहेको छ ।
सुवास मात्र होइन, बुढेसकालसँग तर्सिने । कलाकार हरिवंश आचार्य, ६१, ले बुढ्यौलीको गुनासो पोख्दै गीत गाए, ‘बूढो हुन मन छैन...।’ गीतमा बूढाबूढी भएपछि शरीर खिइँदै जाने, बोल्ने साथी नपाइनेजस्ता भाव अभिव्यक्त गरिएको छ । बुढ्यौलीले हरिवंशजस्तो चर्चित कलाकारलाई त सकस पारेको छ भने विपन्न वर्ग, दूरदराजमा बस्ने बूढाबूढीको हालत के होला !
चितवन देवघाटमा भजनकीर्तनमा सहभागी वृद्धाहरू
गौशालाको बैंकटेश्वर मन्दिरनजिक साढे दुई तले सिमेन्टी घरमा बस्छिन्, उमेरले ८० नाघिसकेकी इन्दिरा ढकाल । घरअगाडि हिँड्ने बटुवालाई हेरिबस्नु उनको दिनचर्या हो । उनका ३ भाइ छोरा, ३ बुहारी र नातिनातिना छन् तर सबै विदेशमा । विवाहित नातिनी मात्र उनीसँगै बस्छिन् । उनी पनि अमेरिका जाने प्रक्रियामा छिन् । सबै छोराबुहारीलाई किन विदेश पठाएको त ? उनी छोटो जवाफ दिन्छिन्, “नजा किन भन्नु ? त्यही जान कति पैसा खर्च गर्छन् ।”
१४ वर्षे उमेरमा कुपन्डोलबाट बिहे गरेर गौशाला आएकी इन्दिराका पति २२ वर्षअघि बितेका हुन् । खुट्टाका हड्डी खिइँदै गएका कारण दुई वर्षदेखि उनी घरको ढोका नाघेर बाहिर निस्कन सकेकी छैनन् । उनका दुई छोरा डीभी चिठ्ठा परेर अमेरिका गएका हुन् भने एउटा क्यानडामा पर्मानेन्ट रेसिडेन्ट्स (पीआर) प्रक्रियाबाट गएका हुन् । “कान्छो छोरा भर्खर आएर गयो, अब दसैँमा जेठो छोरा आउँछ,” उनी भन्छिन्, “म किन जाने विदेश ? के गर्न जाने त्यहाँ ?”
साँझबिहान छतमै बस्यो, बदलिएको बाहिरी संसार हेर्यो, स्मृतिमा रुमल्लियो, बाती कात्यो... इन्दिराको समय यसरी नै बितिरहेको छ । खाना आफैँ पकाउँछिन् । बिहान भात र साँझमा रोटी खान्छिन् । औषधी आफैँ चिन्छिन् । भन्छिन्, “बद्री, केदार दर्शन गर्ने धोको थियो, पूरा भएन । अब कसरी जानू ?” इन्दिरा प्रायः मौन रहन्छिन् । बोल्नुपर्दा छोटो तर खरो जवाफ दिन्छिन् ।
एक्लोपन इन्दिराको मात्र होइन । निःसहाय सेवा सदन, शान्तिनगरमा ६ महिनादेखि आश्रय लिइरहेका उत्तम अधिकारी (नाम परिवर्तन), ६६, स्मार्ट फोनमा धर्मपत्नी र छोराको बाल्यकालीन पुरानो जमानाको श्यामश्वेत तस्बिर हेरिबस्छन् । बानेश्वरको घर छाडी सदनमा बसिरहेका उत्तमको एउटै छोरा अस्ट्रेलिया बस्छन्, छोरीज्वाइँ काठमाडौँमै । छोराबुहारीले उनलाई उता बस्न बोलाइरहेका छन् तर जान मान्दैनन् । भन्छन्, “किन जानू यो उमेरमा त्यहाँ ? न भाषा मिल्छ, न त खानपान । म यहाँ खुल्ला भएर बसेको मान्छे ।”
दुई वर्षअघि पत्नी बितेपछि उत्तम घरमा बस्न चाहेनन् । काठमाडौँबाहिर बसे । घरको भाडा ज्वाइँले उठाउँछन् । ज्वाइँले नै सदनमा पठाए । उनका छोरालाई वृद्धाश्रममा बसेको थाहा छ । तर मिडियामा केही गरी तस्बिर आए छोराको चित्त दुख्ला भनेर उनले तस्बिर खिच्न मानेनन् । भन्छन्, “छोरासँग दिनहुँ कुरा हुन्छ । जे गरे पनि छोराले आफ्नो स्वास्थ्यको ख्याल राख्नू भन्छ ।”
बसिबियाँलो : पाटन दरबार स्क्वायरमा भलाकुसारी गर्दै वृद्धहरू
उत्तम सदनका अरू असहाय वृद्धवृद्धालाई लुगा लगाउन मद्दत गर्ने, कसैलाई सदनबाहिर जानुपरे सहयोग गर्ने, ह्विलचेयरमा बस्ने अशक्त ज्येष्ठ नागरिकलाई वरपर डुलाउनेजस्ता काममा व्यस्त हुन्छन् । खाली समय कापीमा ‘कृष्ण कृष्ण’ लेखेर बस्छन् । “म खासै धार्मिक त होइन, अर्को साथीलाई एक लाख अक्षर पुर्याउनु रहेछ र लेखिदिएको,” कानमा हेयरिङ लगाएका उनी थप्छन् ।
सदनमै ७ वर्षदेखि बसिरहेका छन्, मोरङ, सुन्दरहरैचाका खडानन्द सापकोटा, ८६ । उनी उत्तमका रूमपार्टनर पनि हुन् । उनलाई पत्नी र छोराछोरीले वृद्धाश्रममा आउन बाध्य बनाएका रहेछन् । पत्नी, ५ सन्तान, नातिनातिना जिउँदै भए पनि उनको खोजखबर गर्न कोही आउँदैनन् । सुस्तरी बोल्ने उनी सबै दोष भाग्यलाई दिन्छन्, इशाराले निधार देखाउँदै ।
खडानन्दका एक छोरा कुवेतमा छन्, अर्का दुबईमा । छोरीहरूको बिहे भइसकेको छ । जेठी छोरी भारतमा बस्छिन्, बाँकी नेपालमा । सदनदेखि एक किलोमिटर दूरीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई–दुई वर्षमा छोराहरू नेपाल आउजाउ गरिरहन्छन् तर खडानन्दलाई भने ज्यूँदै छ कि मर्यो भन्ने जानकारीसमेत लिन चाहँदैनन् ।
एक्लोपन
स्वयम्भूको सेतो गुम्बानजिक कार्यालय छ, एजिङ नेपाल । त्यही संस्थामार्फत १० वर्षयता बूढाबूढीबारे अनुसन्धान, तालिम तथा नीति नियमका क्षेत्रमा काम गरिरहेका कृष्णमुरारि गौतम उर्फ चट्याङ मास्टर, ६६, दिनमा एक पटक राधाकृष्ण मन्दिरनजिकको पातलीको पसलमा चिया खान पुग्छन्, टोलका अन्य बूढासँगै । अधिकांश बूढाका छोराछोरी अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानलगायतका देशमा छन् । बूढाबूढी भने राम्रा चिटिक्क परेका घर रुङ्दै बस्छन् । भन्छन्, “समूहमा हुँदा फुर्तिफार्ती लगाउँछन्, छोराछोरीले यति कमाउँछन् उति कमाउँछन् भनेर । तर एक्लै भेट्दा विचरा बूढाहरूको विजोग छ । कसरी बस्ने एक्लै घरमा ?” तर त्यो भन्ने मान्छेको कहानी पनि त्यही हो चट्याङ मास्टर भन्छन् । उनका पनि दुवै छोरा विदेशमा बस्छन् ।
कति ज्येष्ठ नागरिकलाई छोराछोरी युरोप, अमेरिकाजस्तो कमाउ देशमा छन् भन्नु पनि आत्मरति मात्र हो । रहरले छोराछोरी उता पठाए पनि उल्टै यहाँबाट उनीहरूलाई उता पैसा पठाइदिने बाबुआमा पनि छन् । बानेश्वरकी भारती श्रेष्ठ, ६३, एकल महिला हुन् । उनका छोरा अमेरिका बस्छन् । स्नातकोत्तर गर्न गएका छोरा उतै बसेको ८ वर्ष हुन लाग्यो । पढ्ने बेलामा पनि २५/३० लाख खर्च गरेको उनी सम्झिन्छिन् । भन्छिन्, “जग्गा बेचेर बैंकको ऋण चुक्ता गरेँ । अहिले फेरि घर किन्न दिनू ममी भनिरहेको छ ।”
चट्याङ मास्टरका अनुसार नेपालमा ६० लाग्नेबित्तिकै जिन्दगी खत्तम भयो भन्ने परिभाषाले बुढेसकाल डरलाग्दो भएको छ । वृद्धका लागि न गीत रचिन्छ यहाँ, न त अखबार र पत्रपत्रिकामै लेखिन्छ । वृद्धा महिलामाथि बलात्कार भयो भने महिला आयोगले मुद्दासमेत लिन नमानेको अनुभव सुनाउँछन् उनी । भन्छन्, “यो देशमा वृद्धको लिंगसमेत छुट्टिँदैन । वृद्ध हुनेबित्तिकै नमागे पनि २/४ पैसा हातमा राखिदिन्छन् । अनि भन्छन्, बूढाबूढीलाई सम्मान गर्छौं ।”
खोइ सेवा–सुविधा ?
६० वर्ष उमेर कटेकालाई ज्येष्ठ नागरिक भन्ने गरिन्छ । विश्वमा हाल ६० वर्षमाथिको जनसंख्या ९० करोड छ । नेपालमा ०६८ को जनगणनाअनुसार ६० वर्षमाथि कुल जनसंख्याको ९.१ फ्रतिशत छ, जुन करिब ३० लाख हो । ज्येष्ठ नागरिकको संख्या बढ्ने क्रममा छ । संयुत्त राष्ट्रसंघको तथ्यांकअनुसार १ जना शिशु जन्मिदा ३ जना वृद्धवृद्धा तयार भइसकेका हुन्छन् । विश्वभरि नै ज्येष्ठ नागरिकको संख्या वृद्धि भइरहेको छ ।
तथ्यांक विभागका अनुसार ०८० सम्म नेपालीको औसत आयु ८० वर्ष पुग्नेछ । हालको औसत आयु ७१ छ । सरकारी जागिरमा ५८ वर्षमा अवकाश पाउँछन् । अवकाशपछिको २० वर्ष कसरी सक्रिय बनाउने भन्नेमा राज्यले सोचेको देखिँदैन । राज्यले बूढाबूढीलाई सक्रिय बनाउनेभन्दा भत्ता दिएर लथालिंग छाडिदिएको छ । सन् १९९१ अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु भएको हो ।
नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने उल्लेख छ । २० वैशाखमा सरकारले नीति तथा कार्यक्रममै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरी वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याएको थियो । चुनावमा वृद्धवृद्धाको कल्याणको काम गर्छौ भन्दै मत मागेकाले बढाउन बाध्य भएको सरकारले घोषणा त गर्यो तर त्यसलाई कार्यान्वयन गर्न सकेन । १५ जेठमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले ज्येष्ठ नागरिकको भत्ता बढाउँदै ५ नभई ३ हजार रुपैयाँ पुर्याएका थिए । यसबाटै देखिन्छ, सरकार भत्ता दिलाएकै भरमा आफ्नो कर्तव्य पूरा भएको सन्तुष्टि लिइरहेको छ ।
सम्मान होइन, माया
ज्येष्ठ नागरिक भन्नेबित्तिकै सम्मानको कुरा हुन्छ । के ज्येष्ठ नागरिकले सम्मान मात्रै खोजेका हुन् त ? ज्येष्ठ नागरिकको क्षेत्रमा ३० वर्षदेखि काम गरिरहेका प्रेमप्रसाद उप्रेती भन्छन्, “उनीहरू सम्मान होइन, मायाका भोगी हुन् । मायाले बोलिदिनुस्, कुरा सुनिदिनुस् । के छ बा ? के छ आमा भनेर सोध्नुस्, त्यसै खुसी हुन्छन् ।”
कैयौँ वृद्धवृद्धा परिवार तथा आफन्तले दुर्व्यवहार गरेका कारण घरबार छाड्न बाध्य छन् । एजिङ नेपालका प्रकाश गौतमका अनुसार बूढाबूढीमा हुने दुर्व्यवहारबारे १० वर्षदेखि अनुसन्धान गरिरहेको छ । नतिजा निराशाजनक छ । भन्छन्, “पढेलेखेका छोराबुहारीको दुर्व्यवहार सहन बाध्य हुन्छन्, कसैलाई गुहार्न सक्दैनन् ।”
एजिङ नेपालले बूढाबूढीका लागि अक्षर सिकाउने, स्मार्ट फोन, टीभीको रिमोट चलाउन सिकाउने गर्छ । नेपालमा बूढाबूढीको हेरचाह गर्न जानेका व्यावसायिक मानिस अत्यन्त कम छन् । चट्याङ मास्टर आफैँले ८४ वर्षीय बुबालाई सेवा दिन खोज्दा निकै कठिनाइ भोग्नुपर्यो, त्यसपछि संस्थाको परिकल्पना गरे ।
थरीथरीका रोग
४० नाघेपछि नै शरीरमा अनेक रोग देखिन थाल्छन् । नेपालको सन्दर्भमा खानपानमा ध्यान नदिनु र निरन्तर व्यायाम नहुनुले रोगको लक्षण देखिन थाल्ने चिकित्सक बताउँछन् । अहिले प्रायः मधुमेह, दम, उच्च रक्तचाप, हृदयघात, क्यान्सर, डिमेन्सिया, अल्जाइमर्स, पार्किन्सन्सजस्ता रोगका सिकार भइरहेका छन् । त्यसैगरी मानसिक रोगमा विचार दोहोरिरहने (ओसीडी), उदासीनता तथा एक्कासि बिनाकारण हुने अधिक त्रासजस्ता रोग ज्येष्ठ नागरिकमा देखिने गरेको छ ।
मनोसामाजिक काउन्सिलर सिरु भण्डारीका अनुसार अधिकांश बूढाबूढी जागिर छुटेपछि फुर्सदिला हुन्छन् । अचानक महत्त्वपूर्ण व्यक्तिबाट साधारण बन्न पुग्छन् । बूढाबूढी भएपछि छिटो र स्पष्ट बोल्न सक्दैनन् । एकोहोरो, मुडी स्वभावका हुन्छन् । एउटै कुरा दोहोर्याइरहन्छन् । त्यसले पनि मान्छे रिसाउँछन् । उनीहरूसँग कुरा गर्ने, कुरा सुन्ने मान्छे नै हुँदैन । भन्छिन्, “मकहाँ यस्तै बिरामी आउँछन् । म उहाँहरूको कुरा सुनिदिन्छु । खोजेजस्तो व्यवहार गरिदिन्छु ।” नेपालमा अधिकांश बूढाबूढी शारीरिक परिवर्तन, एक्लोपन, परनिर्भरता, अवकाशपछिको योजना, नयाँ प्रविधिसँग परिचित नहुँदा बढी उदासीन हुने गरेका छन् ।
ज्येष्ठ नागरिक संघर्ष समितिले ज्येष्ठ नागरिकको हेरचाह, आदर, सुरक्षा र सम्मानको माग गर्दै विगतमा पटक–पटक आन्दोलन गरेको थियो । यसको परिणाम उनीहरूले सार्वजनिक यातायातमा ५० प्रतिशत र स्वास्थ्योपचारमा केही छूटसमेत पाएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकका लागि तलबभत्ता सहज हुने, क्षमताअनुसार आयमूलक काम दिने भन्ने जनाए पनि नियम नबनिदिँदा यी कार्य योजनामै सीमित छन् । तलबभत्ता बूढाबूढीले सहजै पाउँदैनन् । दिवा सेवा केन्द्र, सशुल्क वृद्धाश्रम भने सञ्चालनमा आएका छन् ।
अर्किड केयर होममा अशक्त वृद्धवृद्धालाई सशुल्क राखिन्छ । बसुन्धरामा रहेको होममा अहिले २९ बिरामी बूढाबूढी त्यही बस्छन् । बूढाबूढीलाई दिनमा काममा व्यस्त राख्न होमले भर्खरै दिवा सेवा केन्द्र खोलेको छ । होमकी परिकल्पनाकार यमुना कटुवाल भन्छिन्, “हाम्रा बाआमालाई बूढो हुन पनि आउँदैन । बूढो भएपछि विकसित देशमा आफूलाई इच्छा लागेका कामकुरा गर्ने चलन छ । तर हामीकहाँ ठीक उल्टो ।”
आमाको दिनचर्या बिताउन धागो कात्ने, सिउनेजस्ता काम दिँदै आएकी उनी बाका लागि के काम दिने भनेर रन्नभुल्लमा परेको बताउँछिन् । “बाहरूले कहिल्यै घरको काम गर्नुभएन, अहिले आएर धागो कात्न सक्नुहुन्न,” उनले भनिन्, “राज्यले बूढो भएपछि उनीहरूका लागि के–कस्ता सेवा–सुविधा र काम दिने भन्नेबारे सोच्नु जरुरी छ ।”
यमुनाका अनुसार बूढाबूढीलाई स्याहार दिन सक्ने दक्ष जनशक्तिसमेत अभाव छ । बूढाबूढीसँग काम गर्न धैर्य चाहिन्छ, विशेष सीप पनि । थोरै पैसामा काम गर्न मान्दैनन् । आफ्नैका गुहुमुत स्याहार्न नचाहने छोराछोरीले अर्कार्का बुबाआमाको सुसार गर्न गाह्रो मान्नु स्वाभाविकै हो । यमुना अल्जाइमर्सपीडित एक वृद्धाले आफूले बाल्यकालमा गाउँमा भित्तामा गोबर टाँसेको सम्झिँदै आफ्नो दिसालाई पोतेको प्रसंग सुनाउँछिन् ।
अब त गाउँगाउँमा सिंहदरबार छिरेको छ, स्थानीय निकायको रूपमा । स्थानीय निकायका वडा कार्यालयले प्रत्येक वडामा कति बूढाबूढी छन्, तथ्यांक संकलन गरी उनीहरूका लागि चाहिने सेवा–सुविधा दिनुपर्ने धारणा राख्छन्, ज्येष्ठ नागरिक । भन्छन्, “बाआमालाई कस्तो छ भन्ने तथ्यांक राखेपछि छोराछोरीले गरेका दुर्व्यवहारका घटना दर्ता गर्न सहज हुन्छ । हाम्रो सरकार रहेछ भन्ने अनुभूति हुन्छ ।”
जबसम्म राज्यले आफ्ना युवा नागरिकलाई देशमै रोजगार दिन सक्दैन, तबसम्म वृद्धवृद्धाको अवस्था दर्दनाक हुँदै जानेछ । कमाउ युवाको संख्या घट्दै जानु र वृद्धवृद्धा बढ्दै जानु देशका लागि खतरा हो ।
आवरणसहित तस्बिरहरु : सरोज बैजु
साथमा यो पनि पढ्नुहोस् : बूढो हुँदैछौँ हामी, बूढो हुन मन छैन [भिडियोसहित]
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...