मोमिला, हाजिर हो !

- कुमार नगरकोटी

“अब आफ्नो कविता पेस गर्न यो कठघरामा आउँदै हुनुहुन्छ, मोमिला, द क्विन अफ पोयट्री रिसाइटेसन । उहाँलाई तालीले स्वागत गरौँ । मोमिला, हाजिर हो !”

त्यसपछि ताली बज्यो । बजिरह्यो ।

मोमिला आसनबाट जुरुक्क उठी । स्टुडियोको चारैतर्फ नजर दौडाइ । भित्तामा विभिन्न आकार–प्रकारका तैलचित्र झुन्डिएका थिए । वातावरण पिन–ड्रप–साइलेन्समा चुर्लुम्म डुबेको थियो । एक कुनामा एउटा अधबैँसे चित्रकार मोमिलाको स्वप्निल मुहारलाई एकाग्र चित्तका साथ क्यानभासमा उतारिरहेको थियो । निजले भन्यो, “मोमिलाजी, नचलमलाउनुस् । एउटै पोजमा कुर्सीमा स्थिर बस्नुस् । नत्र बन्न गइरहेको तपाईंको मुहारचित्र बिग्रन्छ ।”

चित्रकारको कुरा नसुन्याझैँ गरी मोमिला आत्मकेन्द्रित भावमा टोलाइरही । अनि चित्रकारसामु गई भनी, “तपाईंले कुनै आवाज सुन्नुभयो ? ताली बजेको सुन्नुभयो ?” चित्रकार जिल्ल पर्‍यो ।

विचरोले अलमलिँदै सोध्यो, “कस्तो आवाज ? कस्तो ताली ?” अनि थप्यो, “यो सुनसान स्टुडियोमा त तपाईं र म मात्रै छौँ ।” मोमिला बोली, “सुन्नुभएन ? मलाई कोही बोलाइरहेछ ।” चित्रकारले सोध्यो, “कहाँ बोलाइरहेछ ?”

– कठघरामा बोलाइरहेछ ।

– किन बोलाइरहेछ ?

– कविता वाचन गर्न ।

– कठघरामा कविता वाचन ? अचम्म छ !

अरु प्रश्नोत्तरको झन्झटमा नलागी मोमिला त्यसपछि चित्रकारको स्टुडियोबाट निस्की । फुटपाथमा केही बेर चुपचाप हिँडी । अनि ल्याम्प–पोस्टमुनि उभिएर जेब्राक्रसिङबाट सडक पार गरिरहेका गर्भवती महिलालाई हेर्न थाली । यस्तो लाग्थ्यो, सहरका सम्पूर्ण महिला एकै पटक गर्भवती भएका छन् । ती दोजिया महिला जेब्राक्रसिङ पार गरी कता जाँदै थिए ? मोमिला सोचमग्न भई ।

हिउँदको अपराह्न घमाइलो भए पनि मौसममा चिसोपना लुकेको थियो । परिवेशमा चैहानिक मौनता छाएको थियो । हर्न बजाउँदै गुड्ने धुम्रयानहरुको नाम–ओ–निसान थिएन । चकमन्नता सर्वव्याप्त थियो । यस्तैमा एक अँगालो बतासले कवयित्रीलाई घप्लक्क छोप्यो । र, कानमा साउती मार्‍यो, “मोमिला, हाजिर हो !”

♦♦♦

– तपाईंको नाम चैँ के पर्‍यो कुन्नि ?

– मोमिला ।

– क्या मिला ?

– क्यामिला होइन, मोमिला ।

त्यसपछि मोमिलाले इन्स्पेक्टरसमक्ष कुरा राखी, “पाँच दिनदेखि कसैले मलाई कठघरामा बोलाइरहेछ । मलाई कविता पाठ गर्न आदेश दिँदै भनिरहेछ  : मोमिला, हाजिर हो ! त्यो आवाज हरबखत कानमा गुञ्जिरहेछ । इन्स्पेक्टर साब, मलाई कठघरा जाने चाँजो मिलाइदिनुपर्‍यो ।”

इन्स्पेक्टरले कन्स्टेबललाई भन्यो, “म्याडमलाई कठघरा पुर्‍याइदे ।” कन्स्टेबलले ‘हस् साब’ भन्दै सलाम ठोक्यो । अनि मोमिलासित भन्यो, “मेरो पछिपछि आउनुस् म्याडम । तपाईंलाई कठघरा पुर्‍याउने जिम्मा मेरो भयो ।”

मोमिला कन्स्टेबलको पछि लागी । भ्यानको अघिल्लो सिटमा गई बसी । गाडी साइरन बजाउँदै गुड्न थाल्यो । गाडी सहर छाडी जंगलतिर प्रवेश गरेपश्चात् मोमिलाका आँखा लोलाउन थाले । ऊ निदाइ ।

♦♦♦

ब्युँझदा मोमिलाले देखी : भ्यान एउटा निर्जन गल्लीमा रोकिएको थियो । गाडीबाट ओर्लंदै उसले कन्स्टेबललाई सोधी, “यो कुन इलाका हो ? म अहिले कहाँ छु ?” कन्स्टेबलले भन्यो, “यो फिक्सन डिजाइनरको सर्रियल इलाका हो । तपाईं अहिले नगरकोटीको स्वैरकाल्पनिक मनभित्र हुनुहुन्छ । यो गल्लीको अन्तिम भवनमा कविताको सर्वोच्च अदालत छ । अदालत जानुस् र कठघरामा उभिएर कविता वाचन गर्नुस् ।”

मोमिला हिँड्नै लाग्दा कन्स्टेबलले पुनः भन्यो, “तपाईंझैँ अरु कवि सरस्वती प्रतीक्षा, मनु मञ्जिल, श्रवण मुकारुङ, भूपिन, उपेन्द्र सुब्बा आदिलाई पनि मैले यसै गरी पुलिस भ्यानमा हाली यहाँ ल्याइपुर्‍याएको थिएँ । गुड बाई म्याडम ।” कन्स्टेबललाई धन्यवाद दिँदै मोमिला गल्लीको पुछारमा रहेको भवनतिर जान अग्रसर भई ।

यसरी मोमिला मेरो स्वैरकाल्पनिक मनको कठघरामा आइपुगेकी थिई । कविता वाचन गरेकी थिई । दर्शकदीर्घामा देवकोटा, पौड्याल, रिमाल, शेरचन तथा ईश्वरबल्लभजस्ता काव्य–आत्माहरुलाई देखेर मोमिला, द क्विन अफ् पोयट्री रिसाइटेसन, हर्षविभोर भएकी थिई । अरु के भनुँ ! बाँकी कथा भन्न कुनै दिन म तपाईंकै मनभित्र जरुर आउँला । बस्, तपाईंले पुकारे हुन्छ : नगरकोटी, हाजिर हो !   

प्रकाशित: श्रावण ३०, २०७६