गुरु फटाफट, चेलो लुखुर–लुखुर

- खगेन्द्र संग्रौला

बाह्र बजेतिर सुत्ने मेरो बानी । हिजो राती दसै बजे सुतेँ । सुत्नलाई दस बजे सुतेँ, निद्रा लागे त मार्दिनु । मर्निङ वाके गुरुको आज्ञा थियो– चार बजे हाजिर हुनू, गणेशथान पछाडि । बुलबुले मास्तिरको छोटी मोडमा । मर्निङ वाकमा पलपलको हिसाब हुन्छ– गुरुले शिक्षा दिए । एक पल विलम्ब हुँदा वाके एक पाइलो पछि पर्छ । त्यो एक पाइलो पछिले वाकेको एक सुता नाक काटिन्छ । गुरुको शिक्षा गुरुकुलीय चेलाले झैँ मैले सुनेँ । र, आज्ञाकारी मुद्रामा मौन भावले ‘हस् सर’ भनेँ । अलाराम बज्यो । र, म हत्तहत्त उठेँ । मित्र कृष्ण पहाडी सम्झनामा आए । समयको माम्लोमा अचुक मनुवा उनै पहाडी । पहाडीजीको हिसाबमा चार बजे भनेको चारै बजे हो । न एक मिनेटअघि, न त एक मिनेटपछि । लाग्छ, समयको अनन्त प्रवाहमा जीवनको क्षणभंगुरता यी ज्ञानीले बुझेका छन् । त्यसैले त यी भन्छन्– चार बजे भनेको चारै बजे हो ! मेरा वाके गुरु पहाडी पथका पथिक भएका पो हुन् कि ? होलान् भन्ठान्दै म किञ्चित् प्रसन्न भएँ ।

तोकिएको थलोमा हाजिर भएँ म । निद्रा कचल्टिएर आँखा पोलेका छन् । देहमा चैन छैन । मनमा वाक नाउँको व्यर्थको अझ्याउलो पो थाल्दै छु कि भन्ने द्विविधा छ । पाँच मिनेट बित्यो । खै गुरुवर ? भन्दा त्यसो भन्ने, गर्दा यसो गर्ने ? चार बजे भनेको कति बजे हो आज्ञाकर्ता सर ? मलाई झोँक चल्न थाल्यो । सात मिनेट कुराएर गुरुजीद्वय भोला र केशव प्रकट भए । विलम्बबापत न सरी भन्नु छ, न त क्षमायाचना । बरु प्राण जाओस्, वचन नजाओस् । म भने चारै बजे हाजिर भाछु । गुरुलाई म वाकमा नारिउँला भन्ने लागेकै थिएन रे । गुरुका कुरा पनि !

मर्निङ वाकको पहिलो बिहान । अघिअघि केशव छन्, माझमा भोला, पछिपछि म । गुरुका मुखारबिन्दबाट अर्तीको वर्षा सुरु भयो । मर्निङ वाकमा स्टप हुँदैन । केवल वाक हुन्छ, फटाफट वाक । दायाँ नाइँ, बायाँ नाइँ । कसैले अभिवादन गरे फ्लाइङ किस दियो, लम्कियो । नित्य, अटुट । अँध्यारो छ । ज्यानका हातमा लाइट छैन । जानिफकार गुरुबाट बोक्न निर्देशन भएन । वाकमा गुरुद्वय पारंगत छन् । बाटो कण्ठ छ । कहाँ खाल्डो छ, कहाँ फस्को माटो ? कहाँ अग्लो छ, कहाँ होचो ? कहाँ ढुंगो छ, कहाँ जरो ? खली गुरुजीलाई सब कण्ठ छ । आफूलाई एकरत्ति मेसो छैन । उः केशव गैँडा शैलीमा सौ–पचास कदम अगाडि पुगिसके । भोला मलाई पर्खिन अडिए । र, ममतामयी माताले झैँ भने– खगेन्दाइ, गाह्रो भो ? हिँड्दै जाँदा सजिलो हुन्छ, खगेन्दाइ । सान्त्वनाकारी गुरुलाई धन्यवाद दिँदै म लर्‍याङतर्‍याङ अघि बढ्छु । उनीहरु हिँड्दै छन्, भेट्न म कुद्दै छु । वाकको चालमा उनीहरु वयष्कजस्ता छन्, म बालकजस्तो । र, मातृतुल्य भोला मलाई औँलो समातेर सप्रेम डोर्‍याइरहेका छन् ।

भेटौँ भनेको ठाउँमा गोविन्द भेटिएनन् । अल्छी माने, बिरामी भए, हापे वा एक्लै बाटो लागे । जेठको तातो बिहान । मलाई खल्खली पसिना आयो । अगुवालाई भेट्न कुदेको कुदेयै छु म । मनमा कुरा खेल्दा छन्– तन्नेरी वयको म खेलाडी । फुटबलको, भलिबलको । उकालोमा मलाई जोकोहीले भेट्न नसक्ने । अहिले ? अहिले मर्निङ वाकमा भोला र केशवसामु म सुस्त, शुष्क र फ्याँफ्याँ । मेरो गति ग्रास भो । खै, भोलि त म आउँदिनँ कि !

गौरीघाट, गुह्येश्वरी र गोठाटारको टुप्पो । बस्, हाम्रो वाकको अग्रगमन तुरियो । र, टोली फिर्ती वाकमा प्रवृत्त भयो । जाँदा बाटामा चिरबिरे चरा र लोसे मुसासिवाय कोही थिएनन् । फर्कंदा वाकेहरु भेटिए । जय शम्भो– एउटा भन्छ । भोले–भोले– अर्को कहन्छ । भक्तिमार्गी ती अभिवादन भोला र केशवप्रति लक्षित छन् । तिनमा प्रत्युत्तरको उत्कट अपेक्षा छन् । तर भोला चुप, केशव चुप । म परेँ रिकुटे टाइपको वाके । त्यस्तोमा के भन्ने हो, म सर्वथा अज्ञानी छु । तर ज्ञानी गुरुद्वय अघोरी मुद्रामा छन् । मौन, अटेर र उपेक्षापूर्ण । मलाई कसोकसो ननिको लाग्यो । अभिवादनको प्रत्युत्तरधरी नदिनु– यो कत्रो अहंकार !

प्रकाशित: भाद्र ३, २०७६

×