चल् भाइ गोविन्दपथतिर

- खगेन्द्र संग्रौला

सुत्यो, मरिगए निद्रा लाग्दैन । उही बिहान चार बजे आँखामा नाच्न थाल्छ । यो नृत्यमा वाके गुरुद्वयका विलम्बकारी अनुहार गोचर हुन्छन् । अनि मलाई याद आउँछ, चार बजे अनिवार्य हाजिर हुनुपर्ने आदेशको । घरअगाडिको उही छोटी मोडमा । एक मन त लाग्छ, आ... यत्रो पनि जान्नँ । बित्थामा मलाई वाक किन चाहिया छ ? आजका मितिसम्म देहमा रोग केही छैन । उसो त फिस्टे ज्यानमा अनेक ओली रोगको मुहानतुल्य बोसोको सञ्चय पनि छैन । आ....बित्थामा भालेको डाकमा कति मीठो निद्रा मारेर ! तर बिहान साढे तीन बज्यो कि निद्राले मलाई छाडिहाल्छ । अनि गर्ने के ? हत्तपत्त नित्य कर्म सम्पन्न गर्‍यो, थपक्क रातो झोला भिर्‍यो, वाकको दिशातर्फ फटाफट हिँड्यो । भनेको ठाउँमा, भनेको बेलामा आफू ट्याक्क पुग्यो, गुरुजी कहिल्यै बेलामा आउने होइनन् । तिनले दिनदिनै मलाई कम्तीमा पाँच मिनेट कुराउनैपर्ने । कुराएको कसुरबापत कहिल्यै विनयशील भावले सरीधरी नभन्ने । मानौँ, शिष्यलाई कुराउनु वाके गुरुको नैसर्गिक अधिकार हो, कुर्नु शिष्यको अनिवार्य कर्तव्य । क्या दिक्कलाग्दो प्राचीन गुरुकुले काइदा हो यो !

एवं रीतले तीन महिना बिते । खुट्टा तन्काउँदै जाँदा मलाई क्रमशः वाकमा रस बस्दै गयो । शनैःशनैः मेरो फुर्ति बढ्यो । मेरो चाल तीव्र भयो । बाटाका कणकणसँग मेरा पैतालाको नाता गाँसियो । मानौँ, मेरा खुट्टाका औँलाऔँलामा आँखा पलाए । बाटाको माटो कहाँ कसिलो छ, कहाँ फस्को ? कहाँ ढुंगो छ, कहाँ जरा ? कहाँ पेटी छ, कहाँ डिल ? मेरा नयनधारी औँलालाई सब कण्ठ । अब भने म गुरुसँग हाराहारी हिँड्न थालेँ । गर्दै भन्दै जाँदा गोठाटारमुनिको उकालोमा म गुरुद्वयलाई सहजै उछिन्ने भएँ । यो सिद्धिसँगै मेरो अहंको शिर ठडियो । हिमालको उत्तुंग शिखरझैँ मेरो मनोबल हुत्त उक्सियो । र, मेरो चित्तमा एउटा उमंगमय विचार तरंग उठ्यो– भाइ, अब भने गुरुजीको छायाबाट मुक्त हुने हो ! चेतना, सीप, सामर्थ्य र साहसको वृद्धिसँगै चिक्तमा मुत्तिको तृष्णा पैदा हुनु मानव स्वभाव हो । अबलाई आफ्नो सुर, आफ्नै समयतालिका । आफ्नो सोच, आफ्नै निर्णय । आफ्नो स्वत्व, आफ्नै निजत्व । बस् प्यारेलाल, अबलाई गोविन्दपथमा एकला चलो !

मैले गुरुजी छेउ सविनय आफ्नो इच्छा जाहेर गरेँ । आखिर गुरु–चेलाका नाताको बन्धन न हो, त्यो सजिलै किन फुक्थ्यो ? यहाँनेर मलाई पीडक द्रोणाचार्य र पीडित एकलव्यको याद आयो । लाग्छ, लोकका हरेक गुरुमा द्रोणाचार्यको केही न केही अंश हुन्छ । अपवादलाई छाडेर प्रायः कुनै पनि गुरुलाई चेलो आफ्नो कुमभन्दा माथि उठेको एकरत्ति मन पर्दैन । मुक्ति त झन् धेरै परको कुरा । वाके गुरुले मेरो बिन्ती सकारेनन् । बरु तिनले त डर पो देखाए । वत्स ! एक्लै अँध्यारोमा हिँड्दा सर्प, स्याल, चितुवा, चोर आदिको डर हुन्छ । मैले आँखैआँखाले गुरुद्वयका देह मापन गरेँ । भन्नु मात्र वाके गुरुजी हो । छनलाई तिनका हुत्त उछिट्टिएका प्यान्टे भुँडी छन् । आफ्नो भुँडी भने रामदेवको जस्तो छ, दाबिलो टाइपको । तथापि जीवनको साँगुरो वृत्तबाट विस्तारतर्फ लम्किन खोज्ने वाके चेलालाई आफ्नै सेपमा पारिरहन मेरा आदरणीय गुरुजी जिद्दी गर्दा छन् ।

बिहानैपिच्छेको पर्खाइको पीडाले म आजित भा’छु । पर्खनु पनि थोरै हो र  ? प्रतिबिहान घटीमा पाँच मिनेट  ! तीन महिनामा नब्बे पाँच बराबर घटीमा सात घन्टा  ! पिकनिक जान पर्खिइन्छ । जन्ती जान पर्खिइन्छ । मलामी जान पर्खिइन्छ । प्रेमको प्रत्युत्तरलाई पर्खिइन्छ । तर वाकमा जान पर्खिइँदैन । वाक लेखन कर्मजस्तै नितान्त ऐकान्तिक एवं एकल कर्म हो । तर फसाद छ बा । प्रतीक्षाको नाममा बित्थामा चेलाको यत्रो आयु भक्षण भइसक्यो तैपनि चेलालाई आफ्नै छायामा राखिछाड्न गुरुजीको यत्रो जिद्दी छ ! मुक्तिको इच्छा र बन्धनको जिद्दीबीच भीषण घर्षण भयो । आखिरमा संकीर्ण जिद्दी परास्त भयो र मुक्तिको उदात्त सपना विजयी भयो । गुणग्राही हुनु विनयशीलता हो । आरम्भमा मर्निङ वाक पथमा गुरुद्वयले मलाई सप्रेम मार्गदर्शन गरेकै हुन् । यसबापत गुरुजीप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै अब भने म गोविन्दपथमा सहर्ष प्रवृत्त भएँ ।

प्रकाशित: भाद्र ९, २०७६

×