जय शम्भो

- खगेन्द्र संग्रौला

अर्को बिहान । नवसिकुवा वाकेको नूतन प्रयोगको बिहान । म साबिककै समयमा उठेँ । र, सोचीविचारी गुरुद्वयको विकल्पको बन्दोबस्त गरेँ । एक हातमा चाइना मेड टर्च लाइट, अर्को हातमा डेढ हाते लठ्ठी । एक्लो वाकमा मेरा साथी भने पनि यिनै, भरअभरका सहारा भने पनि यिनै । बस्, आज भने गुरुजीको बाटो नहेरी म फटाफट लागेँ, आफ्नो बाटो । निर्बन्ध एवं विलम्बमुक्त बाटो । हैरानीयुत्त उच्छ्वासरहित बाटो । सेरोफेरो अन्धकार छ । यो अन्धकारमा मनको अन्तरमा कताकता डर चलखेल गर्छ । गुरुजीले देखाएका हाउगुजी चित्तको भित्तोमा सल्बलाउँछन् । सर्प, स्याल, चितुवा, चोर आदि । एयरपोर्टमुन्तिर यही बाटोमा पोहोर एक वाकेलाई चितुवाले झम्टेको घटनाले मलाई झस्काउँछ । एक्लै छु । गुरुको आज्ञाको ठाडो अवज्ञा गरेर हिँडेको छु । एक बारको ज्यानलाई चितुवाले बिताउने पो हो कि ! आफ्नै रोजाइले समरमा निस्कनु, अनि बैरीदेखि डराउनु ! धइत्, पामर ! नडराई अघि बढ् !

उही पिपलको बोट, गौरीघाट, गुह्येश्वरी । टर्च लाइटको मार्गदर्शनमा म फटाफट हिँड्दै छु । बाटो सुनसान छ । दुई–ढाई सौ मिटरमा एउटा वाके भेटिन्छ । आफूजस्तै एक्लो । उस्तै फटाफट । ऊ बोल्दैन, म बोल्दिनँ । उसलाई उछिनेर म अगाडि टाप दिन्छु । दायाँतिर पाखो छ । पाखामा बुट्यान र पोथ्राहरुको वन छ । कतै खस्य्राक्क गर्‍यो कि मेरो सातो जालाजस्तो हुन्छ । सास दबाएर हुत्तिँदै लम्किन्छु म । जब म गोठाटारको टुप्पो टेकेर फिर्ती यात्रामा ओरालो लाग्छु, उकालोमुखी गुरुद्वय झ्वास्स भेट हुन्छन् । ‘ खगेन दाइ, हामीलाई छलेर तपाईं एक्लै ?’ प्रेमिल स्वरमा भोला गुरु भन्छन् । ‘ मलाई त वाक छाड्नुभो क्यार भन्ने लाग्याथ्यो । यति छिट्टै यहाँ एक्लै ?’ केशव गुरु विस्मय प्रकट गर्छन् । म केही नबोली, लठ्ठी हल्लाउँदै ओरालो हुइँकिन्छु । गुरुद्वयले चित्त दुःखाउँदै तर्कना गरे हुनन् सायद– इहलोकमा अघोरीसँग केही लाग्दैन । मुन्टिओस् नाथे !

घामको अघि लागेर झिसमिसे उज्यालो धर्तीमा फैलियो । अब भने वाकेको देखादेख हुन थाल्यो । र, सुरु भयो ‘जय शम्भो’ को अविरल राग–रटना । यो पनि ‘जय शम्भो’ भन्छ, ऊ पनि ‘जय शम्भो’ भन्छ, जो पनि ‘जय शम्भो’ भन्छ । पहिले गुरुद्वयले प्रत्युत्तर नदिँदा मलाई बडो असहज लागेको थियो । अहिले म आफैँ घेराउमा परेँ, गाँठ्ठे ! प्रत्युत्तरमा मैले के भन्ने ! एक मन त मलाई सारा जगत्ले चिन्दो रहेछ भनेर मेरो नाक घिरौँलोजत्रो भयो । तर कुराको तत्व अर्कै रहेछ । वाकेलाई वाके को हो चिन्नु छैन, केवल जमाएर दिनु छ– ‘जय शम्भो !’ अचम्म भयो ! एक शम्भो अर्को शम्भोमा, अर्को शम्भो अझ अर्को शम्भोमा खापियो । र अविच्छिन्न शम्भोहरुको विराट् शृंखला बन्यो । र, त्यो शृंखला मानौँ सर्पले झैँ मलाई लपेट्न तम्सियो । ममाथि यो कत्रो धावा ! म त्यसैत्यसै अत्तालिएँ । बिनाप्रत्युत्तर सुमुसुमु हिँडू, आफू अहंकारी ठहरिने । वाकेले चिताएअनुसारको प्रत्युत्तर दिऊँ, आफ्नो आस्था धूलिसात् हुने । अहो ! मलाई यो क्या संकट !

सुनेको नसुन्यै गरेर, दायाँ–बायाँ फिटिक्क नहेरी वेगवान् गतिमा म अघि बढेँ । अझ भनूँ, शम्भोको अविरल प्रहारलाई छल्दै म बेतोडले भागेँ । तर के लाग्छ, म जति भाग्दो छु, शम्भो मलाई उति लखेट्दो छ । अझ भाका फेर्दै ऊ त ‘जय भोले’ पो भन्छ बा । म कानमा प्युरी कोचेर हिँडू कि  ! अथवा म यो वाकै पो त्यागूँ कि ! एक महिना, दुई महिना, तीन महिना । आस्थाघाती ‘जय शम्भो’ र ‘जय भोले’ ले कान खाएर म आजित भएँ । तर एक बिहान उल्का भयो । चरम् झोकको मुडमा ‘जय भोले’ को प्रत्युत्तरमा मेरा ओठबाट वचन फुत्कियो– ‘ खालास् खोले !’ वचन नाथेको स्वभावै अप्ठ्यारो । भुइँमा खस्यो कि कसै गरी मुखमा फर्काउन नसकिने । भोलेमार्गीको प्रतिक्रियाको कल्पनाले मेरा नौनाडी गले । ल है, आज बजियाले बिताउने भो ! तर भाग्यवश, त्यस्तो केही भएन । गजब छ बा ! मूढाग्रही मनुवा भन्नेले भनेको सुन्दैन, केवल आफूले चिताएको सुन्छ । ‘खालास् खोले’ लाई उसले सायद ‘जय भोले’ सुन्यो होला । र, नै धर्मभीरुको भौतिक प्रहारबाट मेरो चर्मरक्षा भयो । जय शम्भो !

प्रकाशित: भाद्र २०, २०७६

×