प्रेमको प्रशंसामा
प्रेमलाई बुझ्ने प्रयास गर्नु भनेको स्वतन्त्रतालाई समेत बुझ्नु हो ।
प्रेम व्यक्तिविशेषको निजी अनुभव मात्र होइन । प्रेमसँग सामाजिक सम्बन्ध, मानवीय मनोभाव र स्वतन्त्रताको पक्ष जेलिएको छ । प्लेटोले भनेका थिए, 'जसले प्रेमलाई प्रस्थानबिन्दुको रूपमा लिँदैन, उसले कहिल्यै पनि दर्शनको प्रकृतिलाई बुझ्दैन ।' प्रस्थानको रूपमा लिनु भनेको प्रेमलाई परिभाषित गर्न खोज्नु होइन । प्रेमलाई परिभाषित गर्न चाहने प्राज्ञले बुझ्नुपर्छ, जीवनका धेरै दिनचर्यामा उनीहरूका अनुभव पनि सामान्य मानिसका जस्तै हुन् । प्लेटोको आशयअनुसार प्रेमको हुरीले जसलाई पनि प्रभावित पार्न सक्छ । प्रेमको आवेगमा प्लेटोले मानव जातिको सार्वभौम अनुभव निहित भएको देखे । प्रेमको आवेग त्यस्तो मनोभाव हो, जसलाई उनी विचार भन्छन् । त्यहाँ शारीरिक आकर्षण मात्रै छ भने आकषिर्त हुनेले नचाहे पनि त्यसतर्फको चाहनामा सौन्दर्यको विचार निहित छ । आकस्मिक भेटबाट सुरु हुने प्रेमावेग खास किसिमको यात्रामा रूपान्तरित हुने क्रममा त्यसले सार्वभौमिक मूल्य-मान्यतालाई स्वीकार्ने गर्छ । त्यसैले प्रेम सार्वभौम अनुभव हुन पुग्छ ।
प्रेमलाई सदैव दुई किसिमको जोखिम हुन्छ । प्रेमको पहिलो जोखिम योजनाबद्ध विवाह हो । वैवाहिक संस्थाको धार्मिक आस्था, सामाजिक मूल्य-मान्यता तथा कानुनी थिति हुन्छ । विभिन्न किसिमको योजनाबद्ध विवाहमा प्रेममा जस्तो प्रभावशाली आकस्मिकता प्रायः हुँदैन । विवाह एक वा अर्को किसिमको तयारीसाथ आउँछ । विवाहमा सधैँ मातापिताको निरंकुश चाहना र पारिवारिक प्रतिष्ठा बचाउने अभिप्राय नहुन सक्छ । तथापि विवाहले धेरै हदसम्म दुवै व्यक्तिको सुरक्षालाई प्राथमिकता दिन्छ । सो क्रममा प्रारम्भिक सहमतिद्वारा उत्पन्न हुने अनियमितता र संयोगवश हुने आकस्मिक भेटलाई योजनाबद्ध सिलसिलाले जित्छ ।
प्रेमको दोस्रो जोखिम प्रेम अत्यावश्यक भावना होइन भन्ने बुझाइ हो । यस्तो बुझाइका केही पक्ष छन् । एउटा पक्षले प्रेमलाई यौनानन्द, कतिपय अवस्थामा उच्छृंखल सुखभोग र विभिन्न किसिमको सम्भावित मोजमस्तीको रूपमा हेर्छ । यस दृष्टिकोणको निहितार्थ प्रेममा बुनिएको तात्कालिक चुनौती र अर्को व्यक्तिको जीवनसँग गाँसिदा उत्पन्न हुने खाँटी अनुभवलाई नकार्नु हो ।
दोस्रो पक्ष पहिलोसँग जोडिएर आएको आधुनिकता हो । कृषिप्रधान आर्थिक, सामाजिक संरचनामा भइरहेको परिवर्तनसँगै नेपाली समाज तीव्र गतिमा पुँजीवादी अर्थतन्त्रमा प्रवेश गरिरहेको छ । कृषि उत्पादनमा भइरहेको ह्राससँगै नेपाली श्रम वैश्विक पुँजीवादी अर्थतन्त्रको बजारमा संसारभर प्रतिस्पर्धामा छ, त्यो पनि सस्तो मूल्यमा । उत्पादन व्यवस्थामा भइरहेको परिवर्तनले प्रेम सम्बन्ध, वैवाहिक सम्बन्ध र पारिवारिक सम्बन्धमा ठूलो फेरबदल ल्याइरहेको छ । आर्थिक, सामाजिक संरचनामा भइरहेको परिवर्तनसँगै शारीरिक सुखभोगमा प्रवेश गर्ने तर प्रेममा निहित जोखिम नअँगाल्ने अभ्यासले समेत समाजमा स्वीकार्यता पाउँदै छ । प्रेम कतिपय अवस्थामा यौनभोग बनिरहेछ, जहाँ पारिवारिक तहमा परिणत नहुने समझदारी कायम छ । अन्य कतिपय अवस्थामा सजिलै पारपाचुके गर्ने अभ्यास स्वीकार्य बन्दै छ । नेपाली समाजमा हाबी रहेको ठिमाहा अर्थव्यवस्थासँग यस्तो अभ्यास बढिरहेछ ।
समाजमा परिवर्तित सम्बन्धले प्रेमको चार आधारभूत आयामबारे सम्झना दिलाउँछन् । पहिलो, प्रेमको रोमाञ्चक व्याख्या हो । यस बुझाइले भावविभोर खुसी आपसी आकर्षणमा परिणत हुन्छ, जहाँ खास किसिमको मिलन हुने विश्वास गरिन्छ । यहाँ मनोभावबाट उत्पन्न सौन्दर्य आफैँमा सार्वभौम अनुभव हुने अपेक्षा गरिन्छ । प्लेटो यस्तो मान्यता राख्छन् ।
दोस्रो, प्रेम हेर्ने प्रयोगवादी, उपभोग्य वा कानुनी दृष्टिकोण हो । यसले प्रेम अन्ततः खास किसिमको करारमा परिणत हुने विश्वास गर्छ । यहाँ दुई व्यक्तिले निश्चित बिन्दुमा पुगेपछि एकअर्काप्रतिको प्रेमलाई विधिवत रूप दिन्छन् । आपसी फाइदा, मनोवैज्ञानिक सन्तुष्टि र सामाजिक सम्बन्धका लागि खास व्यवस्थामा प्रवेश गर्न रुचाउँछन् । यस्तो समझदारीमा प्रवेश गर्दा प्रेमपूर्ण सम्बन्धमा रहेको आधारभूत समानतालाई नबिर्सने प्रण गर्छन् । सामाजमा हुने अधिकांश प्रेमविवाह मूलतः यस्तै मान्यतामा टिकेको विश्वास गरिन्छ ।
तेस्रो, प्रेम भ्रम हो वा अन्ततः भ्रममा परिणत हुन्छ भन्ने दृष्टिकोण हो । यहाँ प्रेममा हुने परस्पर आकर्षणलाई सन्देहसाथ हेरिन्छ । यस्तो मान्यता राख्ने दार्शनिकमा जर्मनीका आर्थर सोपेनहावर अग्रपंक्तिमा पर्छन् । प्रेमले मूलतः प्रेमीलाई हासिल गर्ने चाहना राख्छ । तर प्रारम्भदेखि नै जसको सौन्दर्यमा कोही प्रेममा परेको हुन्छ, उसले आफ्नो आकर्षणले उस्तै परस्पर मायाको अपेक्षा राख्छ । एक उर्दू सायरले 'प्यार पाने मै नहीँ पा जाने कि अरमाने मै हैं' भनेजस्तै कसैलाई हासिल गरेपछि आकस्मिक आवेगमा रहेको जुनून र मनोभाव उस्तै रहँदैन, न त प्रेमले अपेक्षा गरेको परस्परको सामन्जस्य उस्तै रहन्छ । त्यसैले सोपेनहावरजस्तै प्रेमलाई भ्रम मान्नेहरूको कमी छैन ।
चौथो, प्रेमलाई यी कुनै पनि मान्यतामा सीमित गरिनु हुँदैन किनकि त्यो सत्यको खोज हो । फ्रान्सेली दार्शनिक एलेन बाडियो यस्तो मान्यता राख्छन् । उनले सत्यलाई अर्मूत रूपमा होइन, खास किसिमले ठम्याउन खोजेका छन् । जस्तो, आफ्नो मात्र नभएर अर्को व्यक्तिको दृष्टिकोणबाट हेर्ने प्रयास गर्दा संसार कस्तो देखिन्छ ? भिन्न दृष्टिकोण वा मूल्य-मान्यता भएको व्यक्ति सँगसँगै बाँच्दा, परिपक्व हुँदा र अनुभव गर्दा जीवन र जगत् कस्तो देखिन्छ ? यसरी प्रेममा एकाकार भएर संसारलाई नै भिन्न दृष्टिकोणबाट बाँच्न र हेर्न सिक्दा त्यसबाट यौनाकांक्षा वा सन्ततिको रहर अलग हुन्छ भन्ने होइन । भिन्न दृष्टिकोण पनि आफ्नो दृष्टिकोणमा गाभिँदा संसारलाई हेर्ने नजर प्रेममा परेको बिन्दुबाट अर्कै हुन्छ भन्ने हो । त्यसैले प्रेममा भावविह्वल भएपछि अर्को व्यक्तिको दृष्टिकोणबाट प्रेमीले संसार हेर्न सिक्छ । अर्को शब्दमा, प्रेममा परेपछि विभेद र भिन्नतालाई हेर्ने मान्यतासमेत परिवर्तन हुन सक्छ ।
आधुनिक समाजमा प्रेम उच्च तहको मनोभाव भएकाले त्यो सामान्यतः विभिन्न चरणबाट गुज्रने विश्वास गरिन्छ । डेनमार्कका दार्शनिक सोरेन किर्केगार्डका लागि प्रेम अस्तित्वको तीन चरणबाट गुज्रन्छ । सौन्दर्यको तह पहिलो हो । यस तहमा प्रेम फगत यौनाकांक्षा र त्यस्तो आसक्ति दोहोरिरहने क्रममा हुन्छ । सुखभोगको स्वार्थ र त्यस्तो स्वार्थ पूर्ति गर्ने उत्कट अभिलाषाबाट व्यक्ति परिचालित हुन्छ । नीतिगत तह अर्को हो । यहाँ प्रेम चोखो वा वास्तविक हुन्छ । चोखो प्रेमले आफ्नै निष्ठा र गाम्भीर्यको सिर्जना गर्छ । त्यो विशिष्ट किसिमको प्रतिबद्धताबाट उत्पन्न हुने हुनाले प्रेम आफ्नै किसिमको निष्ठामा चल्छ । अन्ततः यदि वैवाहिक मूल्य-मान्यताले प्रेमलाई औपचारिकता दिए नीतिगत तहको उच्चतम स्वरूपले धार्मिक तह हासिल गर्न सक्छ । यहाँ विवाहलाई केवल आपसी सामाजिक सम्बन्धलाई मजबुत बनाउने संस्थाको रूपमा मात्र कल्पना गरिएको छैन, जहाँ प्रेमले नयाँ स्वरूप ग्रहण गर्छ । त्योभन्दा भिन्न दृष्टिकोण राख्दै विवाहलाई त्यस्तो संस्थाको रूपमा कल्पना गरिएको छ जहाँ वास्तविक प्रेम आफ्नो आधारभूत लक्ष्यमा पुग्न सफल हुन्छ ।
प्रायः अवस्थामा प्रेमीहरूले एकापसमा एकाकार नहुने सम्भावना त्याग्नु अर्को चरण हो । कति प्रेमीले एकअर्कालाई हासिल गर्न धर्म त्याग्छन् । कतिपय अवस्थामा प्रेमीलाई पाउन सुविधा त्याग्छन् । यस्तो गरिरहँदा धेरै प्रेमीले आपसी मिलनका लागि प्रारम्भदेखि नै विशिष्ट जोखिमलाई आमन्त्रणा दिन्छन् । यी सबै अवस्थामा प्रेमले आपसी निष्ठा र विश्वासको बाटो स्वयं तय गर्छ । त्यसो गरिरहँदा प्रेमले धेरै अवस्थामा धर्मभेद, वर्गभेद, जातिभेद र उमेरभेदलाई अस्वीकार गर्छ । विद्यामा विभेद बलशाली रहेको अवस्थामा प्रेमीलाई थाहा हुन्छ, परिवार र गाउँ-समाजले उनीहरूलाई सहजै स्वीकार्दैन । सम्भवतः अस्वीकार गर्छ । यस्तो अवस्थामा धेरै प्रेमीको प्रेम विशिष्ट किसिमको 'वान वे' मा प्रवेश गरेजस्तै हो । त्यस्तो 'वान वे' जहाँबाट पछाडि फर्किन सम्भवः छैन, अगाडि कहाँ पुगिने हो, थाहा हुन्न । तथापि प्रेमीलाई के थाहा हुन्छ भने विवाहमार्फत एकअर्कामा समाहित भएर एकअर्काको दृष्टि अँगाल्दै जीवन र जगत्लाई सँगै भोग्ने, अनुभव गर्ने र अन्ततः आधारभूत लक्ष्य हासिल गर्ने सम्बन्धमा उनीहरू प्रवेश गर्ने हो । यसो गरिरहँदा प्रेमीहरूको नीतिगत निष्ठाले उच्च तहको मनोभाव हासिल गरिरहेको हुन्छ ।
प्रेममा निहित शक्तिले नै प्रेम र स्वतन्त्रताबीच अन्योन्याश्रति सम्बन्ध छ । प्रेममा स्वतन्त्रताको भ्रुण र परिवार तथा समाजसँग विद्रोह गर्ने शक्ति भएकाले त्यसमा निहित स्वतन्त्रता कुनै व्यक्तिविशेषको अनुभवमा मात्र सीमित हुँदैन । प्रेम अन्य सामाजिक सम्बन्धसँग जेलिएकाले निजी अनुभव मात्र होइन । प्रेम भौतिक संसारमा घटित हुन्छ । प्रेम अन्य सामाजिक सम्बन्धबाट प्रभावित हुन्छ र ती सम्बन्धलाई समेत यसले प्रभावित गर्छ । यही सांसारिक स्वतन्त्रताले प्रेमलाई नैतिक कसीमा बाँध्छ । प्रत्येक सांसारिक स्वतन्त्रताले प्रेमलाई खास किसिमको परिस्थितिजन्य वास्तविकतामा समेत ढाल्न खोज्छ । तर प्रेमले तय गरेको निष्ठामा स्वतन्त्रता निहित भएकाले सामाजिक जडता हल्लाउने तागत यसले राख्छ । त्यसैले प्रेमलाई बुझ्ने प्रयास गर्नु भनेको स्वतन्त्रतालाई समेत बुझ्नु हो ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...