जनजातिका लुगाको लैंगिकता

- कैलाश राई

हिन्दु वर्णाश्रमबाहिरको समानतामा आधारित समुदाय भएको दाबी गर्दै आएका जनजातिले हिन्दु दर्शनमा आधारित नारीत्व र पुरुषत्वको शास्त्रीय गुण अवलम्बनकै प्रदर्शन गर्दै आइरहेका छन् ।

लुगाकपडाले व्यक्तिको सामाजिक-सांस्कृतिक धरातल चित्रण गर्छ । पञ्चायतकालीन 'राष्ट्रिय पोसाक' नीतिले दौरा-सुरुवाल-टोपी, गुन्यू-चोलीबाहेकका पोसाकलाई 'अन्यकरण' गर्‍यो । अन्यकृतका पोसाकको वृत्त साँघुर्‍याउँदै लग्यो । त्यहीमाथि विश्वव्यापीकरण, आधुनिकीकरण आदिबाट निर्देशित राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारको प्रभाव झाँगिँदै गयो । त्यसले मौलिक भेषभूषाको सामाजिक-सांस्कृतिक महत्त्व भने बढायो ।

०४६ सालको परिवर्तनपछि आदिवासी जनजाति आन्दोलनले 'अन्यकरण' को राजनीतिलाई आफ्नो अस्त्र बनायो । दिनचर्यामा नदेखिएका जनजातीय लुगा निश्चित अवसरमा पहिरिने जुक्ति निकाल्यो । धर्ना, जुलुस तथा झाँकीमा आन्दोलनकारी मौलिक पोसाकमा उपस्थित हुने चलन बसाल्यो । जनजातीय चाड, दिवसहरू मनाउँदा मौलिक पोसाक प्रयोगमा जोड दियो । यो तौरतरिका अझसम्म यथावत छ ।

कतिपय मिथकीय पात्रदेखि पाका महिलामा रहेको तान, राडीपाखी, खाँडी, ढाका बुन्ने कलालाई मौलिक सीप भन्दै महिमा गरिन्छ । यस्ता सीपको पुस्तान्तरण महिलाले राम्रोसँग गराउँछन् भन्ने धारणा जीवित छ । त्यसै प्रभावको निरन्तरता हुन सक्छ, र्‍यालीहरूमा उभिने/उभ्याइनेमा महिला रहँदै आएका छन् ।

मानवशास्त्री जनक राईका अनुसार धिमाल महिलाले 'बोना' लगाएर आफूलाई 'मधेसी' र ' पहाडी' महिलाभन्दा भिन्न रूपमा उभ्याउँदै आएका छन् । ०५८ सालमा खुलेको आदिवासी जनजाति महिला महासंघले आफ्नो उद्देश्यमा लेखेको थियो- आदिवासी जनजाति महिलाका पहिचान खुलाउने खालका भाषा, भेषभूषा आदिको संरक्षण, सम्वर्द्धन गर्ने-गराउने । पहिले आ-आफ्नै भेषभूषामा रहँदै आएका महिलाले पछिल्लो समय पोसाक पहिरिनुको अलग्गै कारण भेटे । जनजातीय पोसाकमा उपस्थित हुनुलाई जनजाति महिला आन्दोलनले सकारात्मक रूपमा आत्मसात गर्‍यो । नेपालका महिलाबीच अलग सामाजिक-सांस्कृतिक चिनारी कायम राख्न त्यसले भूमिका खेल्यो ।

सामूहिकता आदिवासी जनजातिको विशेषता हो । पञ्चायतकालपूर्व विविध महिलाकेन्द्री उत्पादित केही लेखले जनजातीय मौलिक पोसाकबारे उल्लेख गरेका छन् । जीवनाथ कोइरालाले ०१६ सालमा 'कुलुङका आइमाई' शीर्षकमा लेखेका थिए, 'जंगलमा उम्रेका, आफ्ना हातले काढेका, सफा गरी कातेका, बुनेका अल्लो नामक वनस्पतिका बोक्राको कपडा सर्वांगमा लगाउँछन् ।' त्यस्तै, 'पाल्पाली मगर्नी' शीर्षकमा ज्ञानप्रसाद खनालले ०१८ सालमा लेखेका थिए, 'अगाडिपट्ट िमुजा पर्दै गोलीगाँठासम्म लर्केको कालो फरियालाई कम्मरमा सेतो पटुकाले टमक्क बाँधेको, पनेलाको कालो चोलीमाथि रातो घलेक, टाउकामा आफैँले बुनेको जालीरुमाले मुजेत्रो, ...पिठयुँमा सानो चिल्लो सोलीलाई रातो रुमालले मोरी झुम्के रंगीन नाम्लोले हल्कासाथ बोकेका हुन्छन् । सहर अथवा कुनै ठाउँ जानु छ भने एकै भेषमा एक हूल भएर हिँड्छन् ।'

पत्रपत्रिकाले जनजातीय पोसाकमा रहेको महिला तस्बिरलाई फोकस गरेर समाचार छाप्ने गरेको देखिन्छ । तस्बिरले जति स्थान उनीहरूको वास्तविक सरोकारले पाएको भेटिन्न । सवालको उत्खनन, तिनको पहिचान र सम्बोधनतर्फ जनजाति आन्दोलनको कदम लम्किएकै छैन । जनजाति महिला आन्दोलनले पुरुषले रचेको जनजाति आन्दोलनकै खाका र क्रियाकलापको अनुसरण गर्दै आएको छ । हिन्दु वर्णाश्रमबाहिरको समानतामा आधारित समुदाय भएको दाबी गर्दै आएका जनजातिले हिन्दु दर्शनमा आधारित नारीत्व र पुरुषत्वको शास्त्रीय गुण अवलम्बनकै कुशल प्रदर्शन गर्दै आइरहेका छन् ।

जनजाति आन्दोलनका अभियन्ताको छविभित्र निःसन्देह पुरुष पर्ने गर्छन् । पुरुष हुनुको संरचनागत पहिचानले ऊसँग विचार र नेतृत्वको अपेक्षा गर्ने बनिबनाउ धारणा छ । त्यसैले उसले आफ्नो भूमिका प्रस्ट्याउन जातीय पोसाक पहिरिनैपर्ने आवश्यकता कमै महसुस गर्ने गरिन्छ । महिलाको हकमा भने भेषभूषा पहिरिएका सांस्कृतिक संवाहकको भूमिका सार्वजनिक वृत्तमा बढी रुचाइएको वा अपनाइएको देखिन्छ ।

छरिएर रहेका आदिवासी जनजाति मनोरञ्जन र पहिरन प्रदर्शनको प्रवृत्ति तोड्ने प्रयत्नमा पनि छन् । तैपनि अनेक कारणले पहिचान र मौलिकताको नाममा जनजातीय भेषभूषाधारी महिला छवि छनोटमा पर्ने र त्यसलाई आकर्षक आवरण वा मुखाकृतिमा सीमित राख्ने प्रवृत्ति यथावतै छ । समुदायभित्रै र बृहत् समाजमा पनि उनीहरूको सहयोगी र पूरक भूमिकालाई मात्रै अपनाइएको पाइन्छ । यस्तो प्रवृत्तिले आदिवासी जनजातिको असन्तुलित लैंगिक भूमिका सुधार्न सक्दैन । सामूहिक उत्थानमा तात्त्विक परिवर्तन ल्याउँदैन । 

प्रकाशित: भाद्र २४, २०७६

×