फोहोरबाट फलिफाप
कवाडी सामानलाई नयाँ जीवन दिने चार उद्यमी चेली
दराजमा जिन्सका पुराना कपडाको थाक थियो, लगाउन नमिल्ने । फाल्न पनि सकिरहेकी थिइनन्, पुष्पा स्थापित, २७, ले । बच्चादेखि तन्नेरी हुँदासम्म लगाएका ती जिन्ससँग पुष्पाका याद जोडिएका थिए । मिल्काउनु पनि कसरी !
बबरमहलस्थित किङ्स कलेज एमबीए अध्ययनरत पुष्पाले उद्यमशीलतासम्बन्धी प्रोजेक्ट वर्क बनाउनुपर्ने भयो । धेरै दिन घोत्लिइन् तर मेलोमेसो पाइरहेकी थिइनन् । त्यही बेला उनको आँखा पर्यो, दराजका तिनै जिन्समा । त्यसलाई काटकुट पारेर नयाँ डिजाइनका झोला बनाएर 'पि्रजेन्टेसन' दिइन् । फालिएका जिन्सबाट नयाँ ब्याग ! कलेजमा सबैले तारिफ गरे ।
पुराना जिन्सलाई नवीन जीवन दिएपछि पुष्पा भावनात्मक रूपमा अझ नजिक भइन् । त्यसैले यसलाई कलेजको प्रोजेक्ट वर्कमा सीमित गरिनन्, एमबीए सकेपछि उद्यममा बदलिन् । नाम दिएकी छन्, 'अपसाइकल नेपाल' । प्रयोगविहीन भइसकेका जिन्सबाट के-के बनाउन सकिन्छ ? बजार कसरी बिस्तार गर्ने ? यसमै घोत्लिरहेकी हुन्छिन् ।
पुष्पा प्रतिनिधि पात्र हुन्, जसले फालिएका सामानलाई सिर्जनशील र उत्पादनशील कर्ममा बदलिरहेका छन् । राजधानीमा फोहोर व्यवस्थापन कहिल्यै समाधान नहुने समस्या हो । घरमै यत्रतत्र फोहोर फालिएको हुन्छ, सडकको दुर्दशा त पाइलैपिच्छे देखिन्छ । फोहोर सहरको सुन्दरतामा धब्बा मात्र होइन, वातावरणीय प्रदूषणको मूलस्रोत पनि हो । हामीकहाँ अवसर नभएको गुनासो औधी सुनिन्छ, यसमा सत्यता नभएको होइन । तर प्रतिभावान् भनिएको नयाँ पुस्ताले समस्यालाई अवसरमा रूपान्तरण गर्न नसकेको अर्को सत्य हो । बहाना बनाएर विदेश जानेको संख्या त्यत्तिकै छ ।
पुष्पाजस्तै अन्य तीन चेलीचाहिँ फोहोरको समस्यालाई उद्यममा बदलेर मोहोरमा परिणत गर्दै छन् । आफूले कमाएका मात्र छैनन्, अरूलाई रोजगारी पनि दिइरहेका छन् । र, सबभन्दा ठूलो योगदानचाहिँ वातावरणमैत्री समाज निर्माणमा भूमिका खेल्दैछन् । उनीहरू हुन्, पुष्पासहित शक्ति मिलन नेपालकी प्रकृति मैनाली, खालीसिसीडटकमकी आयुषी केसी अनि टायर ट्रेजर्सकी ओजस्वी वैद्य । प्रकृति भन्छिन्, "हामीले जहाँ समस्या देख्छौँ, त्यसैलाई उद्यममा परिणत गर्नुपर्छ । ताकि त्यसले वातावरण, सशक्तीकरण, रोजगारीजस्ता पक्ष सुधार्न सकारात्मक भूमिका खेलोस् ।"
फोहोरबाट फाइदा उठाइरहेका यी चार चेलीको कथा :
जिन्सलाई जीवन
कलेजमा प्रोजेक्ट वर्कको तारिफपछि पुष्पाले जिन्सको बहुआयामिक प्रयोगबारे रिसर्च गरिन् । आमा डिजाइनर भएकाले पनि कपडा डिजाइन गर्न, बुन्नमा उनको रुचि र दक्षता थियो । त्यही बेला सामाजिक व्यापार प्रतिस्पर्धा आयोजना भयो, जहाँ रचनात्मक आइडिया भएकाले भाग लिन सक्थे । पुष्पा सहभागी भइन् । त्यहाँ पनि अरूको ध्यानाकषिर्त गर्न सफल भइन्, फालिएको जिन्सको उपयोग जो थियो । प्रतिस्पर्धामा एक लाख रुपैयाँ जितिन् । र, त्यही रकमबाट जन्मियो, 'अपसाइकल नेपाल' । त्यतिबेला उनको एमबीएको पढाइ सकिएकै थिएन । यो काम सुरुआतबाटै उनले सँगै पढेका साथी राजन चक्रधरसँग मिलेर गरिरहेकी थिइन् ।
असनमा घर थियो, अन्त भाडा लिनुभन्दा घरमै काम थाल्नु उपयुक्त देखिन् । घरको जिन्स त सकिइहाल्यो, अब कहाँबाट ल्याउने ? चिन्ताले सतायो उनलाई । उनले पुराना जिन्सबाट नयाँ ब्याग र अन्य कपडा बनाउँदैछिन् भन्ने थाहा पाएपछि आफन्त र छिमेकीले आफैँ जिन्स ल्याइदिन थाले । कोही फोन गरेर बोलाउँथे । पुष्पा भन्छिन्, "अलपत्र छाड्नु र फाल्नुभन्दा नयाँ कपडा बन्ने भएपछि उहाँहरू उत्साहित हुनुभयो । मलाई पनि फाइदा भयो ।" सुरुमा जिन्सलाई घरेलु शैलीमा सफा पारेर धोइन्छ । सुकेपछि त्यसको आकार हेरेर के सामान बनाउने हो, निक्र्योल गरिन्छ । खासगरी उनको टिमले हातमा भिर्ने र पछाडि बोक्ने ब्याग, ल्यापटप कभर र कार्ड होल्डर बनाउँछ । उनका अनुसार जिन्समा 'भ्यालु एड्' गरेर थप बलियो बनाइन्छ ।
व्यक्तिगत सम्पर्क त भइहाल्यो, त्यसबाहेक अनलाइनबाट बेच्छिन्, पुष्पाले । ललितपुरस्थित यस्तै उद्यमशील मौलिक सामानको प्रवर्द्धन गर्ने स्टोर 'लिटिल थिङ्स नेपाल' मा उनका ब्याग पाइन्छन् । भन्छिन्, "सुरुमा पुरानो जिन्सबाट बनेको भनेपछि अर्कै नजरले हेरिन्थ्यो, बिकाउनै गाह्रो पथ्र्यो । तर यो बलियो र पर्यामैत्री पनि हुन्छ भन्ने बुझाएपछि माग बढ्न थालेको छ ।" हिजोआज जिन्सबाहेक अन्य पुराना कपडालाई पनि नयाँ जीवन दिन लागिपरेकाले बजार फराकिलो हुने उनको आशा छ । उनका सामानको मूल्य एक सयदेखि २ हजार ५ सय रुपैयाँसम्म छ । पुष्पा मुस्कुराउँछिन्, "अब पढाइ सकियो । अझ दत्तचित्त भएर लाग्दै छु । नयाँ पेसा भएकाले मिहिनेत धेरै गर्नुपर्छ तर यसबाट प्राप्त सन्तुष्टि बेग्लै हुन्छ ।"
सशक्तीकरणको प्रयास
तीन छोरी मात्र थिए, त्यसमाथि आमा निरक्षर । न छोरा थिए, न त कमाइ गर्न सक्ने खुबी । आमाले भोग्नुपरेको विभेद र सास्तीलाई बच्चैबाटै नियालेकी थिइन् प्रकृति मैनाली, ३१, ले । वरपर आमाजस्तै अरू महिला पनि थिए, जो आर्थिक रूपमा आत्मनिर्भर नभएकै कारण परिवारपीडित थिए । धन्न ! प्रकृतिले पढ्न पाइन् । एमबीए गरिन् । कहिल्यै जागिर खान भने मन लागेन । एउटै ध्याउन्न हुन्थ्यो, कमजोर महिलालाई आर्थिक रूपमा सबल बनाउने ।
प्रकृतिकी आमाले सिलाइबुनाइ सिकेकी थिइन्, अन्य महिलामा पनि यो दक्षता देखेकी थिइन् । तर यसलाई उनीहरूले आयको भरपर्दो स्रोत बनाउन सकिरहेका थिएनन् । त्यसैले प्रकृतिलाई लाग्यो, धेरै शारीरिक मिहिनेत नपर्ने भएकाले सिलाइबुनाइ नै उपयुक्त हुन्छ । तर अरूले जस्तै काम गरेर बजारमा टिक्ने अवस्था थिएन । नयाँ के गर्न सकिन्छ भनेर बजार अध्ययन गरिन् । त्यही बेला उनको हातमा पर्यो, बोराबाट बनेको झोला । उक्त झोला आकर्षक त थियो नै, सँगै टिकाउ र सस्तो पनि । तर नेपाल होइन, कम्बोडियामा बनेको । प्रकृति सम्भिmन्छिन्, "हामीकहाँ घरमा प्रयोग भएर त्यत्तिकै फालिएका बोरा टन्नै हुन्छन्, कति जलाएर नष्ट गरिन्छ तर बोराबाट झोला बनाउन सकियो भने वातावरण प्रदूषणमा कमी हुन्छजस्तो लाग्यो ।"
सुरुमा प्रकृतिले एचआईभी संक्रमित दिदीबहिनीलाई तालिम दिइन् । एचआईभीपीडितकै लागि काम गरिरहेको शक्ति मिलन समाजसँग सहकार्य गरिन् । रोजगारी पाएपछि पीडित महिला पनि खुसी । प्रकृतिको भनाइमा कवाडीबाट बोरा किनेपछि सफा गरेर धोइन्छ अनि त्यसको आकारअनुसार झोला बनाइन्छ । जब बजारमा पुग्छ, देख्नेहरू भन्न थाल्छन्- 'वाउ ! क्या कुल', 'पुरानो बोराबाट पनि ब्याग' । "तर हामीकहाँ अझ वातावरणीय सचेतना आइसकेको छैन, किन्न गाह्रो मान्छन्," प्रकृति भन्छिन्, "त्यसैले हामीले नेपालभन्दा विदेश लक्षित गरेर सामान बनाइरहेका छौँ । हामीलाई टिकाएको पनि बाहिरकै बजारले हो ।" उनका अनुसार शक्ति मिलन नेपालको ट्याग भएका झोला जर्मनी, अस्ट्रेलिया, अमेरिका, अस्ट्रियाजस्ता मुलुकमा बढी पुग्छन् । यहाँ १५ सय पर्ने झोलाको मूल्य युरोपमा ४९ युरो हुने गर्छ । जर्मनीमा त उनीहरूको आफ्नै अनलाइन स्टोर छ ।
सुरुमा एउटा कोठा र एउटा मेसिन थियो । अहिले धापासीमा चार वटा फ्ल्याट र १५ वटा मेसिनमा निरन्तर काम हुन्छ । २३ महिलाले रोजगारी पाएका छन् । एक जनाले दैनिक औसत ७ वटा झोला बनाउँछन् । उनीहरूको मासिक आम्दानी १८ हजार रुपैयाँ हुन्छ । त्यसबाहेक सामाजिक सुरक्षा कोषको पनि व्यवस्था छ । बच्चा हुने महिलाका लागि नजिकै शिशु स्याहार केन्द्र खोलेकी छन् । स्कुलबाट फर्किएपछि त्यहीँ गृहकार्य गर्छन् र आमासँगै घर जान्छन् । एकातिर वातावरण स्वच्छ, अर्कातिर महिलाको आर्थिक सशक्तीकरण । प्रकृति खुसी साट्छिन्, "मेरो सपना पूरा हुँदै छ । हामी बजार थप विस्तार गर्न खोज्दै छौँ ताकि अन्य एकल र निम्न आय भएका दिदीबहिनीलाई रोजगारी दिएर सक्षम बनाउन सकियोस् ।"
फोहोरदेखि फोब्र्ससम्म
जागिरे मानसिकताबाट टाढै थिइन्, आयुषी केसी, २८ । प्रतिफलमूलक र चुनौतीपूर्ण काम गर्ने चाह थियो तर सधैँ चाहेजस्तो कहाँ हुन्छ र ! व्यवस्थापनमा स्नातक गरेपछि गोर्खा बु्रअरीमा जागिर खाइन् । मन रम्दै रमेन । त्यसपछि युएसआईडीमा काम गरिन् । तलब र सुविधा आकर्षक भए पनि आयुषी सन्तुष्ट हुन सकिनन् । उनलाई रुचि थियो, वातावरणसम्बन्धी काम गर्ने । त्यस्तो चाँजोपाँजो मिलेन । आयुषी भन्छिन्, "त्यसपछि ममा वातावरण प्रदूषण रोक्ने र आम्दानी पनि हुने काम आफैँ गर्नुपर्छ भन्ने भावना र आँट पलायो ।"
काठमाडौँमै हुर्किएकी उनलाई बच्चाबाटै 'खाली सिसी, बोतल चाहिए' भन्दै साँघुरामा गल्लीमा साइकल डोर्याउँदै हिँड्नेहरू देख्दा अचम्म लाग्थ्यो । तर उनीहरूसँग कहिल्यै कुरा गर्न पाइनन् । बरु अरूले 'भैया, कवाडीवाला' भनेर हेपेको देखिन् । ठूली भएपछि बुझ्दै गइन्, यी 'कवाडीवाला' हरू नहुने हो भने काठमाडौँ झन् कति प्रदूषित र कुरूप हुन्थ्यो । तर न उनीहरूको कमाइ राम्राे थियो, न त पेसा सम्मानित । भन्छिन्, "खाली सिसी दाइ र फोहोर व्यवस्थापनबारे केही समय अध्ययन गरेपछि सँगै मिलेरै काम गर्ने निर्णय गरेँ ।" त्यसको प्रतिफल हो, खालीसिसीडटकम ।
यो काम सुरु गरेको दुई वर्ष बित्दै छ । आर्थिक नाफा मात्र होइन, अन्तर्राष्ट्रिय ख्यातिसमेत कमाइन्, आयुषीले । सन् २०१८ मा विश्वप्रसिद्ध म्यागजिन फोब्र्सले सार्वजनिक गरेको एसियाका प्रभावशाली युवाको सूचीमा आयुषी पनि परिन् । फोब्र्सको '३० अन्डर ३०' मा सामाजिक उद्यमशीलता क्याटोगोरीमा उनी अटाएकी हुन् ।
फोहोर व्यवस्थापनमा अरूले पनि हात नहालेका होइनन् । यसलाई सामाजिक सेवा मात्र मानिन्छ । तर आयुषीले चाहिँ पुनः प्रयोग उद्यममै परिणत गरिदिइन्, प्रविधिसँग जोडेर । सुरुआती दिनमा भने उनलाई मुस्किल परेको थियो । फोहोर उठाउँदै हिँडेको भनेर परिवार खुसी थिएन, कतिले मजाक गर्थे । खाली सिसी दाइहरूलाई आफ्नो सन्जालमा जोड्न सकिरहेकी थिइनन् । भन्छिन्, "उहाँहरू सानो घेरामा सीमित हुनुहुन्थ्यो, त्यसैले बुझाउनै गाह्राे भयो । कतिपयले त आफ्नो भाग खोस्न आएकी हो भन्नेसमेत सोचेछन् ।" बल्लतल्ल साइकलबाट फोहोर उठाउँदै हिँड्ने रामसागर यादवलाई मनाइन् । पहिलो महिनामै रामसागरले ८ हजार रुपैयाँ अतिरिक्त कमाइ गरे । त्यसपछि उनले अरूलाई पनि खाली सिसीमा जोड्दै लगे ।
पहिले साइकलवालाले दूतावास, स्कुल-कलेज, अपार्टमेन्टमा छिर्नै पाउँदैनथे । तर खाली सिसीबारे आयुषीले बुझाएपछि त्यहाँ उनीहरूको पहुँच पुग्यो । फोन वा अनलाइनमार्फत खबर गरेपछि खाली सिसी दाइहरू घरमै पुगेर संकलन गर्छन्, परेको मूल्य तिर्छन् । उनीहरूले सबै फोहोर उठाउने होइनन् । कागज, फलाम, प्लास्टिक र आल्मुनियम मात्र किन्छन्, जुन पुनः उपयोग गर्न सकियोस् । आयुषीका अनुसार राजधानीमा दैनिक ८ देखि ९ लाख किलो फोहोर फालिन्छ, त्यसमध्ये झन्डै ७० प्रतिशत त कवाडी सामान हुन्छ ।
पहिले हेपिएका खाली सिसी दाइहरूलाई अहिले फोहोर लिन जाँदा 'सर' भनेर सम्बोधन गरिन्छ । सम्मान पाएपछि उनीहरू पनि फुरुंग । बाटोमा कराउँदै होइन, ज्याकेट, परिचयपत्र र नोटप्याडका साथ व्यावसायिक ढंगले फोहोर लिन जान्छन् । मासिक ३० देखि ३५ प्रतिशत आम्दानी बढेको छ । आयुषीका अनुसार राजधानीमा १३ हजार कवाडी संकलक छन्, त्यसमध्ये अढाई सय खाली सिसीमा जोडिइसकेका छन् । कवाडी सामान जता काम लाग्दो हुन्छ, त्यतै लगेर बेच्छन् । त्यसको निश्चित कमिसन खालीसिसीडटकमलाई दिनुपर्छ ।
खालीसिसीडटकमले पत्रपत्रिकाबाट पेन्सिल र कलम अनि पुरानो जिन्सबाट ब्याग र थैली बनाउन थालेको छ । भन्छिन्, "खाली सिसी दाइहरूले स्मार्ट फोन नबोक्ने भएकाले हामीसँग जोड्न गाह्रो भएको छ । बिस्तारै उहाँहरूलाई प्रविधिमैत्री बनाएर राजधानीबाहिरका सहरमा सेवा विस्तार गर्दै छौँ ।"
टायरको करामत
२ वर्षअघि गि्रनोभेसन च्यालेन्जमा भेट भयो, ओजस्वी वैद्य, २८ र लुनिभा मानन्धर, २३, को । अपरिचित थिए, आ-आफ्नो उद्यम योजना लिएर च्यालेन्जमा भाग लिएका थिए । दुवैको आधारभूत उद्देश्य समान थियो, वातावरण प्रदूषण रोकथाममा भूमिका खेल्ने उद्यम गर्ने । यही सोचबाट जन्मियो, टायर ट्रेजर्स ।
मोटरसाइकल र गाडीमा काम नलाग्ने भएपछि टायर कि वर्कसपमा त्यत्तिकै थन्किन्थे कि आन्दोलनमा जलाइन्थ्यो । वातावरणमा दीर्घकालसम्म असर पथ्र्यो तर कसैलाई वास्तै थिएन । आन्दोलनमा टायर दन्काउनु 'फेसन' बनेको थियो । तर ओजस्वी र लुनिभाले ती फालिएका र जल्ने प्रतीक्षामा रहेका टायरमाथि सम्भावना देखे । टायर बलियो हुन्छ । त्यसलाई नयाँ स्वरूपमा ढालियो भने फर्निचर बनाएर बेच्न सकिन्छ भन्ने सोच यथार्थमा बदल्न उनीहरू लागिपरे । भयो पनि त्यस्तै ।
च्यालेन्जमा जितेको १ लाख ५० हजारबाट काम सुरु गरे । टायर कहाँ-कहाँ पाइन्छ भनी सम्पर्क बढाउँदै गए । पुरानो टायरलाई पहिले डिटरजेन्टबाट पखाल्छन्, घाममा सुकाएर रङ लगाइदिन्छन् अनि विभिन्न फर्निचर बनाउँछन् । उनीहरूले खासगरी मुडा, टेबल र गमला बनाउँछन् । ओजस्वी भन्छिन्, "काठमाडौँमा नयाँ सोचका साथ खुलिरहेका होटल र रेस्टुराँमा हाम्रो फर्निचरको माग छ । व्यक्तिगत प्रयोजनका लागि किन्ने पनि उत्तिकै छन् ।" टायर भएकाले टिकाउ हुन्छ, यताउता सार्न पनि सहज हुन्छ अनि अन्य फर्निचरभन्दा आकर्षक र पर्यामैत्री पनि । यही कारण हुनुपर्छ, टायर टे्रजर्सका फर्निचर खोज्नेहरू बाक्लिँदै छन् । टायरबाहेक रक्सीका बोतललाई पनि पुनः प्रयोग गरिरहेका छन् । बोतलभित्र सोलार लाइट जडान गरिन्छ, बाहिर जुटले बेरिन्छ । यसो गर्दा बोतलको रंगअनुसार भिन्न प्रकाश बाहिर निस्कन्छ ।
तीन महिनाअगाडि थप अध्ययनका लागि लुनिभा विदेश गएपछि ओजस्वी एक्लैले टायर ट्रेजर्सको कमान्ड सम्हालिरहेकी छन् । उत्पादनसँगै बजार विस्तारमा लागिपरेको उनको भनाइ छ । हाल उनका सामान अनलाइन स्टोर दराजमा पनि पाइन्छन् । राजधानीबाहेक पोखरा, धरान, नेपालगन्जबाट समेत माग आउन थालेको छ । लाइट बोतलको मूल्य ६ सयदेखि ८ सय, टेबलको ६ हजारदेखि १४ हजार र मुडाको २ हजारदेखि ८ हजारसम्म पर्छ । ओजस्वी भन्छिन्, "जागिर वा विदेशको सट्टा सिर्जनशील उद्यममा अधिक सम्भावना छ । अवसर पर्खेर समय खेर फाल्नुको सट्टा आफैँ रोजगारी सिर्जना गर्नुपर्छ ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...