स्वप्नदंश

- कुमार नगरकोटी

अलार्म क्लकको जागरण घन्टी बज्यो ।

पलङकी स्वप्नवती शिवानीसिंह थारुको निद्रा खलबलियो । उसको एक जोर आल्मोन्ड आँखा सिलिङमा स्थिर भयो । सिलिङमा एउटा किङसाइज्ड छेपारो थियो । अचल एवं शान्त । लाग्थ्यो, ध्यान गरिरहेको तपस्वी हो । खस्यो । फ्यात्त । ब्लाङ्केटमा ।

उसले जीवनलाई हातले हल्का स्पर्श गरी । गिलो-गिलो, खस्रो-खस्रो । सरीसृप चलमलाएन । सम्भवतः मरिसकेको थियो । त्यसलाई दुई औँलाबीच झुन्ड्याउँदै ऊ ओछ्यानबाट उठी । र, डस्टबिनमा लगेर मिल्काइदिई ।

"गुड मर्निङ, ब्ल्याक ब्युटी ! " पिँजडाको सुगाले अभिवादन गर्दै भन्यो, "आजको तिम्रो प्रोग्राम के छ ?" ब्ल्याक ब्युटीले भनी, "एउटा किताब समारोहमा जानु छ ।" हरित पन्छीले आग्रह गर्‍यो, "आज त शनिबार, मलाई पनि कतै जानु छ ।" पिँजडाको ढोका खोलिदिँदै शिवानीले भनी, "जा, सहर चहारेर साँझपख फर्की आ । ओके ?"

ओके भन्दै सुगा पिँजडाबाट बाहिरियो । पखेटा फडफडायो । बेडरुममै दुई फन्को भुर्रभुर्र गरेपछि झ्यालबाट उडिगयो ।

कसैले द्वारघन्टी बजायो ।

शिवानीलाई लाग्यो, अखबार-मानव आइपुग्यो । उसले ढोका खोलिदिई । किन्तु आशाविपरीत आफ्नो सामुन्ने डा बाबुराम भट्टराईलाई देखेर ऊ अलमलमा परी । ट्रयाकसुटमा सजधजिएका बाबुरामको हातमा काठमाडौँमा एक दिन थियो । अभिवादनको आदानप्रदानपछि बाबुरामले भने, "शिवानीजी, हिजो राती तपाईंको उपन्यास पढेर सुतेँ । सपनामा तपाईंलाई देखेँ । स्वयंलाई पनि देखेँ । म त मृत छेपारोमा कायाकल्प भएकै रहेछु । तपाईंले मलाई डस्टबिनमा मिल्काइदिनुभयो ।"

पूर्वप्रधानमन्त्रीको छेपारे कुरा सुनेर शिवानी झसंग भई । उसलाई आफ्नो दिमागमा छेपारो सल्बलाएजस्तो लाग्यो । "रातभरि निदाउन सकिनँ," बाबुरामले भने, "एनिवे, यो किताबमा दस्तखत गरिदिनुहुन्छ कि Û" शिवानीले दस्तखत गरिदिई ।

यस्तैमा सेलफोनको आर्तनादले उसलाई बोलायो । एक्स्क्युज मी भन्दै ऊ बेडरुमतिर गई र फोन रिसिभ गरी । "मैले तिम्रो सपना देखिबक्सेको थिएँ," कसैले राजकीय लवजमा भन्यो, "सपनामा म सुगा भइबक्सेको थिएँ । राजतन्त्रको पिँजडाभित्र शाहवंशीय बन्दी भइबक्सेको थिएँ । तिमीले मलाई मुक्त गरिदियौ । शिवानी, तिमीलाई धन्यवाद ! श्री पशुपतिनाथले हाम्रो कल्याण गरुन् ।"

हरित स्कुटीमा सवार शिवानी अखिल नेपाल प्रज्ञा-प्रतिष्ठानतिर गइरहेकी थिई । प्रतिष्ठानको डबलीमा आयोजित चैतन्य मिश्रको नयाँ किताब लोकतन्त्र र आजको माक्र्सवादको विमोचन समारोहमा उसलाई पुग्नु थियो । पुतलीसडकको ट्राफिक जाममा फसी । छेवैको जगल्टे बाइकवालाले भन्यो, "शिवानीजी, तपाईंले मलाई किन डस्टबिनमा मिल्काइदिनुभएको ?"

शिवानीले निजलाई आश्चर्यचकित नजरले हेर्दै भनी, "तपाईं को पर्नुभयो होला कुन्नि !" निजले संक्षिप्त उत्तर दियो, "छेपारो ! "

बिहानैदेखि यो के भइरहेको हो ? ऊ अचम्म मानिरहेकी थिई । जो कसैले पनि उसलाई सपनामा देखेको कुरा गरिरहेका थिए । मल्टिपल अचम्म त झन् त्यसबेला भई, जब डबलीमा भेला भएका कवि, लेखक, कलाकारले पालैपालो ऊसित भने, "इट वाज् अ नाइस डि्रम यु सी ! "

किताब विमोचनलगत्तै आफ्नो बोल्ने पालो आएपछि समारोहमा उपस्थित दर्शक-श्रोतालाई माइकबाट सम्बोधन गर्दै मिश्रले भने, "आज हामी शिवानीसिंह थारुको सपनाभित्र यसरी भेला भएका छौँ । तसर्थ यो एक स्वप्निल समारोह हो । सपनाको यो अद्वितीय जमघट सर्वाधिक सुखद हुन गएको छ ।"

अखिल नेपाल प्रज्ञा-प्रतिष्ठान परिसर तालीको गडगडाहटले गुञ्जायमान भइगयो । यस्तैमा हेर्दाहेर्दै डबलीको प्याराफिटमा बसेका दर्शक-श्रोता छेपारामा कायाकल्य हुँदै यत्रतत्र चलमलाउन थाले । सलबलाउँदै तितरवितर भए । अन्त्यमा दुई जना सग्ला मनुख्खे मात्र बाँकी रहे । गुरु चैतन्य र शिष्या शिवानी !

गुरु : म केही कन्फ्युज्ड भएँ शिवानी । खासमा तिम्रो सपना हो या मेरो ?

शिष्या : मलाई अहिले के महसुस हुँदै छ भने यो न मेरो सपना हो, न त तपाइर्ंको नै ! वास्तवमा यो अरु नै कसैको सपना हो ।

गुरु : यो कसको सपना हो त्यसो भए ? हु इज डि्रमिङ अस् ? हु इज द डि्रमर ?

शिष्या : मेरो स्कुटीमा बस्नुस् सर ! हामी अब त्यो अज्ञात डि्रमरको खोजमा निस्कौँ ।

शिवानीले स्कुटी स्टार्ट गरी । एक प्रति लोकतन्त्र र आजको माक्र्सवाद च्यापी । मिश्र पछिल्लो सिटमा बसे । त्यसपछि गुरु-शिष्या सपनाको अर्को संघीय प्रदेशतिर लागे ।

  क्लोज-अप

झ्यालबाट छिरेको सुगा मेरो राइटिङ टेबलमा आएर बस्यो । लगत्तै सोधिहाल्यो, "मिस्टर नगरकोटी, कथाको के-कस्तो प्रगति छ ? लेखेर सकियो ?" मैले भनेँ, "सकियो ।" कथाको ड्राफ्ट हेर्दै उसले पुनः सोध्यो, "शीर्षक चैँ के हो नि  ?" मैले भनेँ, "स्वप्नदंश ! "

प्रकाशित: आश्विन १, २०७६