लोकतन्त्रमा समय

- भास्कर गौतम

गत साता मेक्सिकोकी पूर्ववातावरणमन्त्री योसेफा गोञ्जालेज ब्लांको चर्चामा रहिन् । त्यो पनि नेपालमा । पर्यटनमन्त्री योगेश भट्टराई र अभियन्ता ज्ञानेन्द्र शाही वरिपरिको विवादले उनको जवाफदेहीको सम्झना दिलायो । ब्लांकोले चार महिनाअघि ३८ मिनेट उडान ढिलो गराएपछि राजीनामा दिएको सन्दर्भ सार्वजनिक वृत्तमा दोहोरियो । आफ्नै कारणले विमान ढिलो भएको आलोचना भएपछि तारिफयोग्य राजीनामा लेखेर पदबाट हटिन् । आफूले बुझाएको राजीनामा पत्रमा योसेफाले लेखिन्, 'जनतालाई दुःख दिने विशेषाधिकार कसैले पाउनुहुन्न । एक जना व्यक्तिको सुविधाका लागि सर्वसाधारणलाई समस्यामा पार्नुहुन्न । तर मेरो कारणले ३८ मिनेट जहाज ढिलो भयो । यो गल्ती अक्षम्य भएकाले म राजीनामा दिन चाहन्छु ।' मेक्सिकोकी मन्त्रीले राजीनामा दिएको धेरै समयपछि उक्त सन्दर्भ नेपालमा उठिरहँदा नेपाली समाजको चारित्रिक भिन्नताबारे भने खासै चर्चा भएको पाइँदैन ।

नेपाली समाजले सार्थक परिवर्तन खोजेको धेरै भए पनि समयको गति ठम्याउन हम्मे परिरहेको छ । परिवर्तन खोज्ने तर समयको बहावलाई बेवास्ता गर्ने समाजको चरित्र बुझ्न सोचेजस्तो सजिलो हुँदैन । लोकतान्त्रिक व्यवस्थाको चाहना राख्ने तर सामान्यजनको समयलाई अवमूल्यन गर्ने सत्तासीनहरूको मनोवृत्ति केवल एउटा दृष्टान्त मात्र हो । कालपरिस्थितिका कारण यी सत्तासीनहरूमा लोकतान्त्रिक मूल्य-मान्यताको जपना छ । सामाजिक आडम्बरका कारण यिनका व्यवहारमा सामन्तवादी तुजुक छ । पुरानो तुजुक र नयाँ जपको बीचमा सार्थक परिवर्तन हासिल गर्ने समयबोध भने कतै अल्झिएको छ ।

हालका सत्तासीनहरूमध्ये अधिकांश पञ्चायत कालमा हुर्के । चाहे नेता हुन् वा प्रशासक । व्यापारी हुन् वा समाजका ठालूहरू । त्यसैले ०४६ सालपछिको खुला राजनीतिमा धेरै कार्य समयमा गरिएको दृष्टान्त थोरै छन् । प्रायः कार्य ढिलो गरेका दृष्टान्त बग्रेल्ती छन् । यस्तो सिलसिला अद्यापि कायम छ ।

समाजमा कुनै कार्य पनि समयमा नहुने भन्ने होइन । सामाजिक जीवनमा क्षण, घडी, पलाको विशाल महत्त्व छ । जसले एक वा अर्को तरिकाले जोगीहरूको संगत गर्ने मौका पाए, तिनले समयबोधको महत्त्व बुझेका छन् । तिनलाई थाहा छ, प्रत्येक पला मूल्यवान छ । जसले जोगीको संगत गर्न पाएका छैनन्, तिनले पनि साइतबारे सुनेका छन् । कतिपय अवस्थामा साइतलाई पछ्याएका छन् । कहिले पूजाआजा र विवाहभोजमा । कहिले दसैँ, तिहार, रमादान र लोसार आदि चाडपर्वमा साइतअनुसार चल्न खोजेका छन् ।

रीतिरिवाजले साइतलाई उच्चतम् महत्व दिइरहे पनि सामाजिक र राजनीतिक जीवनमा समयमा चल्ने मनुवाहरू थोरै छन् । क्षण र पलाको महत्त्वलाई सबैले आत्मसात् गरेका छैनन् । समयको गतिलाई धेरैले नजरअन्दाज गरेको दृष्टान्त सर्वत्र पाइन्छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमदेखि मन्त्रालयका बैठकसम्म । प्रतिनिधिसभादेखि आमसभासम्म । व्यापारिक समारोहदेखि सामाजिक कार्यक्रमसम्म । सामान्य यात्रादेखि औपचारिक उडानसम्म । समयको गति कतै नेताको त ओहोदाको, कतै सामन्तको त कतै शक्तिको, कतै प्रतिष्ठाको त कतै मर्यादाको, कतै बेढंगपनको त कतै शिष्टताको सिकार बनिरहेको अवस्था छ ।

समय अन्यायमा परिरहँदा समाज नै अन्यायमा पर्ने गर्छ । यस्तो वास्तविकतादेखि परिवर्तनकामी अनभिज्ञ देखिन्छन् । सत्तासीनहरू भने अनभिज्ञ मात्र होइन, आफ्नो ओहोदा र कर्तव्यप्रति, आधारभूत काम र सामान्यजनप्रति गैरजिम्मेवार देखिन्छन् । समाजलाई चौतर्फी हिसाबले उन्नत बनाउने क्षमताको पनि उनीहरूमा अभाव छ ।

गत साता पर्यटनमन्त्री भट्टराई र अभियन्ता शाही चर्चामा रहे । मन्त्रीले लामो समय नेपालगन्ज-काठमाडौँ उड्ने उडान रोकेको भन्दै शाहीको नेतृत्वमा केही यात्रुले विरोध जनाए । नाराबाजी गरे । उनीहरूमाथि तथानाम बोलेको र हुलहुज्जत गरेकोसमेत आरोप छ । त्यस क्षणमा मौन रहेका मन्त्रीले काठमाडौँ आइसकेपछि सामाजिक सन्जालमार्फत आफूबाट गल्ली भएको सकारे । माफी मागे । तर यो विषय यही टुंगिएन ।

प्रहरीले शाहीलाई केही बेर समात्यो । शाहीले पत्रकार सम्मेलनमार्फत आफ्नो बचाउमा बोले । त्यसपछि मन्त्री भट्टराई संलग्न दलको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ कास्कीले 'ज्ञानेन्द्र शाहीहरूजस्ता कुपात्रहरूलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध' गर्ने विज्ञप्ति निकाल्यो । उनीमाथि 'सामाजिक सन्जालको दुरुपयोग गरेको, द्वन्द्व सिर्जना गर्न उक्स्याएको र परिवर्तनविरोधी तत्त्वबाट सञ्चालित रहेको' आरोप लगायो ।

शाहीमाथि लगाइएको आरोप सही हो वा गलत भन्ने चासो धेरैलाई हुन सक्छ । यस्तो सवालमा शाही र उनका शुभेच्छुकको रुचि अझ बढी हुनु स्वाभाविकै हो । तर यस परिघटनाले जन्माएको प्रमुख सवाल यो होइन ।

सही सूचना सम्प्रेषण नहुँदा अनावश्यक रूपमा यो घटना तन्किँदै गयो । मन्त्रीको उडान र समयलाई लिएर विवाद उब्जिएपछि पर्यटन मन्त्रालयले आधिकारिक तबरमा सबै कुरा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्नुपथ्र्यो । त्यसो नगर्दा मन्त्रालय गम्भीर देखिएन । मन्त्री भट्टराई भने अतिरिक्त गम्भीर भए । त्यसैले शाहीलाई तर्साउन प्रहरी खटाइयो । दलका कार्यकर्ता परिचालित गरियो ।

प्रहरी खटाउनु प्रस्टसँग शक्तिको दुरुपयोग थियो । एउटा गल्तीलाई अर्को गल्तीले छोप्ने प्रयास । पर्यटनमन्त्रीले नगुहारी पक्कै पनि गृहबाट प्रहरी खटिएन । कुनै यात्रुले मन्त्री किन ढिलो आए भनेर सोध्यो, दुई-चार जनासँग मिलेर धेरथोर नाराबाजी नै गर्‍यो भन्दैमा सरकारको काम प्रहरी खटाउने, धरपकड गर्ने र प्रहरी आतंक सिर्जना गर्ने होइन । जवाफदेही भएर प्रस्तुत हुने हो । कसैमाथि कुनै आशंका भए सरकारले अवश्य पनि छानबिन गर्न पाउँछ । खोजीनिधि गर्न मिल्छ । तर कानुन मिचेर, शक्तिको तुजुक देखाएर र पुलिस आतंक सिर्जना गरेर त्यसो गर्न मिल्दैन । सत्तासीनहरूलाई हेक्का हुनुपर्ने हो, यो पञ्चायती समय होइन, गणतान्त्रिक काल हो । गणतान्त्रिक युगमा शासनसत्तामा बस्नुको अर्थ सामान्यजनमाथि अधिकार जमाउनु होइन, तिनको सेवा गर्नु हो ।

कास्कीमा सक्रिय राष्ट्रिय युवा संघको विज्ञप्ति हेर्दा लाग्छ- सत्तारुढ दलका कार्यकर्ता उनीहरूको दलले निर्वाचित कार्यकाल मात्र होइन, मुलुक नै बिर्तामा पाएको हो भन्ने ठानिरहेका छन् । नेकपाका नेता-कार्यकर्तालाई हेक्का रहोस्, गणतन्त्रमा गण मात्र होइन, पूर्वराजासमेत जहाँकहीँ हिँड्डुल गर्न सक्छन्, पाउँछन् । मुलुकका सबै बासिन्दालाई पृथक् विचार व्यक्त गर्ने अधिकार छ । फरक विचार एक्लै वा संगठित भएर व्यक्त गर्न जोकोही स्वतन्त्र छ । यी सबै हक अधिकार केवल एकआपसमा केही गर्न मात्र नभएर सत्तासीनलाई उनीहरूको काम-कर्तव्य बोध गराउन र जनगणप्रति सरकारलाई जवाफदेही बनाउनका लागिसमेत हो । त्यसैले सत्तारुढ दलका नेता-कार्यकर्ताले सबै दृष्टिबाट राष्ट्रिय युवा संघ कास्कीले निकालेको विज्ञप्तिको खुलेर निन्दा गर्नु आधारभूत कर्तव्य हो । उक्त विज्ञप्ति लोकतन्त्रको मूल्य-मान्यताविपरीत छ ।

हिजो राजारजौटालाई लाग्थ्यो- जन्मनुपूर्व नै उनीहरूले रैतीमाथि शासन गर्ने नैसर्गिक अधिकार लिएर आएका छन् । रैतीहरूको न जीवनको कुनै मूल्य छ, न त समयको । सत्तासीनहरूले रैतीमा शासन होइन, शोषण गरे । प्रत्यक्ष हिंसा प्रयोग नगरेको अवस्थामा वर्णाश्रमलाई सामाजिक उचनीचको आधार बनाएर गरे । त्यसैको जगमा कानुन बनाएर गरे । अनि, सामाजिक र राजनीतिक वृत्तमा भयको वातावरण निर्माण गरेर शोषण गरे ।

जब रैतीहरूले आफ्नो जीवनलाई आफ्नै हातमा लिने निर्णय गरे, समय फेरियो । न्यायका आधारको खोजी हुन थाल्यो । परिवर्तन आयो । रैतीहरू प्रजा हुँदै नागरिक बन्न उद्धत रहे । नागरिक बन्नुको अर्थ हो, प्रत्येक नागरिक समान हुन् । नागरिकमध्येबाट नै कोही केही कालका लागि शासनमा जाने हो । त्यसैले शासक र शासितको जीवनको उत्तिकै महत्त्व छ । प्रकारान्तरले सबैको समय उत्तिकै मूल्यवान छ । विभिन्न ठाउँबाट सबै नागरिकगण मुलुकको र सामूहिक भविष्यका निम्ति लागिपरेका छन् । सबैको क्रियाशीलता, चिन्तनशीलताले सम्मानपूर्ण वर्तमान र समतामूलक भविष्यको खोजी गरिरहेको छ । सत्तासीनले मात्र उन्नत भविष्यको खोजी गर्ने युग यो होइन । न त उनीहरूमा मात्र त्यसो गर्ने क्षमता छ ।

सत्तासीनहरूको समय स्वर्ण र बाँकीको समय कास्य ठान्ने प्रवृत्तिको अन्त्य लोकतन्त्रको आधारभूत प्रस्तावना हो । अतिशयोक्ति चर्चा हुने र सबै कुरा संविधानमै लेखिनुपर्ने जिद्दी गर्ने देशमा यो कुरा नेताहरूले लेख्न छुटाएका हुन सक्छन् । तर समयको अवमूल्यन अन्यायको आधारसमेत हुन सक्छ भन्ने सामान्यबोध संविधानमा लेखिरहनु पर्दैन । अनुभवजनित ज्ञान नै त्यसका लागि काफी छ । त्यसैले गणतन्त्रलाई सार्थक बनाउन नागरिकगणमा र सरकारी अधिकारीहरूमा समेत समयलाई कदर गर्ने अभ्यास प्रत्येक दिन झल्किनुपर्छ । यस्तो अवस्था रच्न अधिकारीहरूको सामान्य जवाफदेहिताले मात्र पुग्दैन । प्रत्येक नागरिकले निजी र सामूहिक जीवन उच्चतम तबरमा उपयोग गर्ने वातावरण बनाउनु लोकतान्त्रिक सरकारको आधारभूत कर्तव्य हो । यस्तो प्राथमिक कर्तव्यबाट समेत च्यूत हुँदा मूलतः लोकतान्त्रिक विरोधी अभ्यासको पक्षपोषण भइरहेको छ । 

प्रकाशित: आश्विन ६, २०७६

ट्याग: (अ) सहमति