स्थायी उपविजेता !

- पवन आचार्य

पेमा डोल्मा लामा, नेपाली महिला फुटबल टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । सन् १९९९ मा फिलिपिन्समा भएको एसियन वुमन च्याम्पियनसिपमा पेमाले उज्वेकिस्तानविरुद्ध गोल गर्दै नेपाली महिला फुटबलरको गोलको अन्तर्राष्ट्रिय खाता खोलिन् । पहिलो हाफमै ४ गोल खाइसकेको अवस्थामा पेमाले ६५ औँ मिनेटमा सान्त्वना गोल फर्काउँदा नेपाली खेलाडीमा खेल जितेभन्दा बढीको उत्साह भरिएको थियो । किनभने त्यसअघि सन् १९८६ र १९८९ मा खेलिएको सोही प्रतियोगितामा नेपालले गोल मात्रै खाएको थियो । उज्वेकिस्तानलाई ६-१ ले नतिजा सुम्पिए पनि नेपाली महिला टोली पहिलो अन्तर्राष्ट्रिय गोलको अनुभव बटुलेर घर फर्किएको थियो ।

संयोग नै मान्नुपर्छ, २ दशकपछि उज्वेकिस्तानसँग नाडेज्डा कपको फाइनल खेल्दा उनै पेमा टोलीको व्यवस्थापकको भूमिकामा देखा परिन् । फिफा वरीयतामा नेपालभन्दा ५७ स्थान माथि रहेको उज्वेकिस्तानसँग नेपाली महिला खेलाडीले ३-२ को नतिजा निकाले । पेमा भन्छिन्, "२० वर्षअघि हामीले खेलेको उज्वेकिस्तानभन्दा निकै बलियो टोली थियो । तर ३-२ को नतिजा निकाल्न सक्नु भनेको हाम्रो स्तर पनि बढेको प्रमाण हो ।" किर्गिस्तानमा भएको फाइनलमा २ गोल गरेकी सावित्रा भण्डारी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बनिन् । प्रतियोगितामा ७ गोल गरेकी सावित्राले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरिन् । महिला टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने पेमा नेतृत्वको टोलीले नेपाली महिला खेलाडीले बनाएको सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्नु पनि अर्को संयोग थियो ।

यद्यपि, यसबीचमा नेपाली महिला टोलीले खेलेको ९ वटा फाइनलमा उपविजेताभन्दा माथि उक्लिन सकेको छैन । सुरुका २३ वर्षमा मात्रै ३ वटा प्रतियोगिता खेल्ने अवसर पाएको महिला फुटबल टोली अहिले व्यस्त छ । नेपाली टोलीले यो वर्ष ५ वटा महत्त्वपूर्ण प्रतियोगिता खेलिसकेको छ । सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको पहिलो र दोस्रो चरण, हिरो कप, साफ च्याम्पियनसिप र नाडेज्डा कपमा नेपाली महिला टोलीको प्रदर्शन लोभलाग्दो छ । हिरो कपमा भारतीय भूमिमा उसैलाई हराउन सक्नु र समूह चरणमा महिला फुटबलको एसियाली पावरहाउस इरानलाई पराजित गर्नु नेपालको सफलता हो । त्यस्तै, ओलम्पिक छनोटको दोस्रो चरणमा इन्डोनेसियालाई हराएर पनि नेपाली टोलीले क्षमता प्रदर्शन गरिसकेको छ । यद्यपि स्थायी उपविजेताको कलंक मेटाउन भने बाँकी नै छ ।

नेपाली टोलीका प्रशिक्षक हरि खड्का भन्छन्, "खेलाडीमा लगानी बढाउने र प्रतियोगिताको संख्या थप्ने हो भने नेपाली महिला टोलीबाट उपाधिसँगै नतिजाको आश गर्न सकिन्छ ।" हुन पनि ५०-६० जनाले खेलेर मात्रै महिला फुटबल माथि जाँदैन । फुटबलको विकासका लागि देशभर हजारौँ खेलाडीले प्रतिस्पर्धा गर्ने वातावरण निर्माण हुनुपर्छ । फुटबलको स्तर वृद्धि तब मात्र सम्भव हुन्छ, जब लामो अवधिको लिग नियमित हुन्छ । नेपालको हकमा महिला लिग नाम मात्रैको छ ।

खेलाडी पलायनको मार

पछिल्लो एक वर्षमा महिला फुटबलले गति लिए पनि समय सधैँ उस्तै थिएन । सशस्त्र प्रहरी बलबाट व्यावसायिक फुटबल खेल्ने र नेपाली टोलीकी कप्तान सजना राना मगरले १६ औँ राष्ट्रिय लिग छाडेर वैदेशिक रोजगारीका लागि दुबई रोजिन् । उनीसँगै अनुभवी गोलरक्षक नमिताकुमारी दली पनि पुलिसको जागिर छाडेर विदेश उडिन् । भरपर्दो गोलरक्षकको अभाव नेपाली टोलीले अहिले पनि भोगिरहेको छ । पुलिसका धेरै महिला फुटबलरले विदेश यात्रा रोजिसकेका छन् । सुधा लामा र रीना गुभाजुले पनि फुटबललाई निरन्तरता दिन सकेनन् ।

अहिले समय फेरिएको छ । महिला फुटबलरले पनि अब विदेशमा व्यावसायिक फुटबल खेल्न थालेका छन् । पुरुष खेलाडीको हकमा धेरै पहिलेबाट विदेशी लिगको ढोका खुला भए पनि नेपाली महिलाले भने भर्खरै मात्रै यस्तो मौका पाउन थालेका हुन् । नेपालका सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय महिला लिग सेथु क्लबबाट खेले । सन् २०१७ मा अनिता मालदिभ्सको टोलीबाट खेल्न उता गएकी थिइन् ।

पहिलोपल्ट अन्तर्राष्ट्रिय व्यावसायिक लिगको अनुभव बटुलेकी सावित्रा भन्छिन्, "नेपालमा व्यावसायिक फुटबलको अवस्था दयनीय छ । क्लबको कुरै छाडौँ, राष्ट्रिय टोलीले अब के गर्ने भन्ने अन्योल छ । राष्ट्रिय प्रतियोगिता छैनन् । जिल्लामा महिला फुटबलर उत्पादन गर्ने कार्यक्रम छैनन् । भएका खेलाडीको क्षमताको पहिचान र मूल्यांकन पनि हुन सकेको छैन ।"

अन्तर्राष्ट्रिय एक्सपोजर पाए र नियमित फुटबल खेल्ने अवस्था भए नेपाली महिला फुटबलको भविष्य राम्रै देख्छिन्, उनी । लामो समयको लिग, बेलाबेला हुने अन्तर्राष्ट्रिय सहभागिता र महिलामा लगानी बढाए नेपाली महिला फुटबलले राष्ट्रका लागि उपविजेताको मात्र नभई विजेताको पदक दिलाउने सावित्राको विश्वास छ ।

लगानीबिनाका क्लब

विभागीय टोलीलाई हटाइदिने हो भने नेपाली महिला फुटबलको कल्पना पनि गर्न सकिँदैन । नेपाली राष्ट्रिय टोलीलाई मात्रै होइन, महिला फुटबलरलाई आश्रय दिने विभागीय टोली नै हुन् । सशस्त्र प्रहरी बलले ०६० सालमा महिला फुटबल क्लब स्थापना गरेर महिला खेलाडीको संरक्षण सुरु गरेको हो । त्यसको सिको अन्य दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिसले पनि गरेका छन् । विभागीय टोलीको संरचना र नियमित प्रशिक्षणले पनि महिला फुटबलमा भरथेग गरेको छ । जमुना गुरुङ र अनु लामाले सुरुआत गरेको नेपाली महिला फुटबलको विरासत अहिले सावित्राले धानिरहेकी छन् । उनी दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरका रूपमा परिचित छन् ।

राष्ट्रिय टिमका सदस्यमध्ये ६ खेलाडी रौतहट चन्द्रनिगाहपुरका छन् । उनीहरू आपmनै रहर र प्रशिक्षणबाट खेलाडी बनेका हुन् । खाली खुट्टाबाटै फुटबल खेल्न थालेकाहरूको बाहुल्य रहेको टिममा एन्फा आफैँले उत्पादन गरेको दाबी गर्न मिल्ने खेलाडी पनि छैनन् ।

फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफा आफैँले पनि महिला फुटबलको विकासमा ठूलो लगानी गर्न थालेको छ । फिफाले फुटबललाई लैंगिक भेदभाव हटाउने माध्यमको रूपमा अघि सारेको छ । फिफा सदस्य राष्ट्रहरूले पाउने आर्थिक सहयोगमा १५ प्रतिशत रकम महिला फुटबलमा खर्च गर्नैपर्ने प्रावधान छ । तर नेपालमा अखिल नेपाल फुटबल संघ एन्फाले त्यो १५ प्रतिशत रकम पनि महिला फुटबलमा लगानी गरेको छैन । पछिल्लो वर्षको बजेटबाट महिला फुटबलमा खर्चिन नसकेको रकम फिफाले कटौती गर्ने चेतावनी एन्फालाई दिइसकेको छ । वाषिर्क २०-२२ करोड रुपैयाँको बजेटमा चलिरहेको एन्फाले महिला फुटबलमा बिनालगानी नै दक्षिण एसियाली च्याम्पियन बन्ने सपना देखेको छ ।

प्रकाशित: आश्विन ६, २०७६