जब सन्ध्या हुन्छ...

- कुमार नगरकोटी

जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ । जब दिल घबराउँछ, कसैको अपहरण गर्ने रहर पलाएर आउँछ ।

याद रहोस्, म एक पार्टटाइम अपहरणकारी हुँ । अपहरणकारिता मेरो गुप्त सोख हो । फिक्सन डिजाइनर त हुँ नै, त्यसबाहेक एक सोखिन किडन्यापर पनि हुँ । जब मनुष्यको प्राग-ऐतिहासिक प्रजातिबारे जान्ने इच्छा हुन्छ, तब कुनै मानवशास्त्रीलाई अपहरण गर्छु । स्त्री रोगका जटिलताबारे ज्ञान प्राप्त गर्ने लालसा जागे कुनै गाइनेकोलोजिस्टलाई किडन्याप गर्छु । कहिले जोगीलाई उठाउँछु त कहिले भिक्षुलाई ।

अपहरितहरुको कुरा ध्यानपूर्वक सुन्छु । मनमा गुन्छु । र, आख्यानका नयाँ-नयाँ प्लटहरु बुन्छु । तिनलाई कथा, नाटक र उपन्यासहरुमा उन्छु । म यसैगरी साहित्य सिर्जना गर्छु ।

चिन्तक चित्रकार, समाजशास्त्री, इतिहासकार, पुरातत्वविद्, फोटोग्राफरजस्ता मानिसहरुलाई विनम्रतापूर्वक अपहरण गरेको छु । आफ्नो अपार्टमेन्टमा उनीहरुकै रुचिअनुसारका पेय-परिकार सर्भ गर्दै बातचित गरेको छु ।

उनीहरुसित म शिष्ट व्यवहार गर्छु । यद्यपि उनीहरु अड्बांगिए, म पनि अडबांगिन्छु । कनपट्टीमा पिस्तोल तेर्साउँदै भन्छु, 'उस्तादज्यू, बेकारमा किन ज्यान जोखिममा पार्नुहुन्छ ? तपाईं मेरो कब्जामा हुनुहुन्छ । कृपया, खुरुखुरु राग भैरवी र राग मल्हारबारे मलाई विस्तृतमा जानकारी दिनुस् । किनकि मलाई म्युजिकल प्ले लेख्नुछ । प्लेमा शास्त्रीय संगीतको डिटेलिङ गर्नुछ । मलाई मद्दत गर्नुस्, अन्यथा गोली खान तयार हुनुस् ।'

पोलिटिकल थ्रिलर लेख्नका निम्ति एक दिन पोलिटिकल क्रियचरको अपहरण गर्नुपर्ने भयो । मेरो दुर्भाग्य हेर्नुस्, अपहरित व्यक्ति कुनै कम्युनिस्ट पार्टीको प्रवक्ता परेछ । तपाईं आराम हुनुहन्छ भनी सोधिएको प्रश्नमा निजले मलाई डेढ घन्टाको अत्यासलाग्दो व्याख्यान दिँदै अन्त्यमा भन्यो, 'आरामको रुप र सारलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको दृष्टिविन्दुबाट नियाली हेर्दा हामी के कुराको अनुमानित निष्कर्षमा पुग्न सक्छौँ भने म आधा आराम छु, आधा विराम छु ।' रातभर ननस्टप बोलेर उसले मलाई नवमाक्र्सवादलगायत अनेक अजिबोगरिब शब्दावलीको भँवरजालमा यसरी अल्झाइदियो कि मस्तिष्कपीडा कम गर्न मैले पेनकिलरका चक्कीहरु नै खानु पर्‍यो । भाले डाँकमा मैले निजको चरणस्पर्श गर्दै भनेँ, 'हजुरलाई अपहरण गरेर मैले महाभूल गरेछु । जनी गरी मलाई माफ गरिबक्सियोस् । बिन्ती छ, अब चुप लागिबक्सियोस् ।'

एक दिनको कुरा हो । टिभी हेर्दै थिएँ ।

कुनै सांगीतिक कार्यक्रममा योगेश्वर अमात्यको अन्तर्वार्ता प्रसारण भइरहेको थियो । कुराकानीको क्रममा मिस्टर अमात्यले भने, 'म गायक होइन, गाइने हुँ । मलाई गाइने भनियोस् ।' मलाई गाइनेको कुरा औधी मन पर्‍यो । यसपटक यिनै गाइनेलाई अपहरण गर्नुपर्‍यो, सोचेँ ।

भनिरहनु परोइन, म यी गाइनेको गीत गाउने शैलीको घनघोर प्रशंसक हुँ । अधिकांश आधुनिक गायकहरुभन्दा बिल्कुलै अलग । यिनी जब गीत गाउन स्टेज चढ्छन्, आफ्नो तिलस्मी अदा, हाउभाउ र अन्दाजले दर्शकलाई मन्त्रमुग्ध पार्छन् । गीत चाहे 'लैजा चरी' होस् या 'क्या बोर भयो' जब गाउँछन्, यस्तो लाग्छ- यिनी ग्रेभडिगर हुन्, जो मेरो मनको चिहानमा निदाएकी प्रेयसीको लास उत्खनन गर्न तम्तयार छन् ।

ती दिनहरुमा म नेपाल  म्यागजिनमा पर्सोनाज नामक स्तम्भ लेख्ने गर्थें, जहाँ विभिन्न पात्रबारे क्याजुअल चर्चा गरिन्थ्यो । पर्सोनाजको अन्तिम पात्र मैले गायक माफ गर्नुस्, गाइनेलाई बनाउने अठोट गरेँ ।

जुन दिन मैले योगेश्वर अमात्यलाई अपहरण गरेँ, त्यो दिन उनी माइतीघर मण्डलामा आयोजित एक विरोध कार्यक्रममा प्रहरीहरुलाई गुलाफ बाँडिरहेका थिए । मलाई पनि उनले गुलाफ दिए । मैले चाहिँ उनलाई गन देखाएँ । र,कर्‍यापझ्याप पारी भ्यानमा कोचेँ ।

गुलाफ मेरो हातमा थियो । रातो फूलबाट अनौठो प्रकारको सुगन्ध आइरहेको थियो, सुघेँ । र, अचेत भइगएँ ।

ब्युझँदा मैले आफूलाई कुनै अज्ञात भूगृहमा फेला पारेँ । हामी सोफामा आमनेसामने बसेका थियौँ । बीचमा कफी टेबल थियो । टेबलमा ब्ल्याक कफी र ब्ल्याक लेभल थियो । गुलाफ र मिस्टिका थियो । मिस्टर अमात्यको हातमा पिस्तोल थियो । हि्वस्कीको एक चुस्की लिँदै उनले मकन भने, 'मिस्टर नगरकोटी, कफीको मजा लिनुस् । तपाईं अपहरणमा पर्नुभएको छ । तर चिन्ता नगर्नुस् । फिल कम्फर्टेबल । म अरुजस्तो क्रूर टाइपको अपहरणकारी होइन । हेर्नुस्, जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ... । जब दिल घबराउँछ, कसैको अपहरण गर्ने रहर पलाएर आउँछ ।'

मैले कफी लिएँ । उनले आफ्नो कुरा जारी राखे, 'म साहित्य पढ्न रुचाउने गाइने हुँ । साहित्य बुझ्छु । तर, मैले तपाईंले लेखेको साहित्य भने कहिल्यै बुझ्न सकिनँ । तपाईंको मिस्टिका  पढ्न खोजेको, छेउटुप्पा केही पहिल्याउन सकिनँ ।

म : यो तपाईंको समस्या हो ।

गाइने : मेरो समस्या ? तपाईंको साहित्य नबुझ्नु मेरो समस्या हो ?

म : यस् अफकोर्स । तपाईंको समस्या हो ।

गाइने : मलाई त के लाग्छ भने तपाईं नै बरु नेपाली साहित्यको समस्या हो ।

उनले मलाई मिस्टिका  उठाएर दिए र पढेर बुझाउन भने । कन्चटमा पेस्तोल तेस्र्याए । गन-प्वाइन्टमा मैले उपन्यास वाचन गर्न थालेँ । जतिजति म पढ्दै गएँ, त्यतित्यति उनी निराश हुँदै छटपटाउन थाले । आक्रोशित हुँदै गए । औपन्यासिक यातनाले हुनुपर्छ, उनको मुहारमा पसिना-दाना उम्रिए। यस्तैमा उनले टि्रगर दबाए । गोलीको आवाजसितै म ढलेँ ।

यसरी त्यो सन्ध्या मेरो मृत्यु भयो । अज्ञात भूगृहको माटोमुनि म पुरिएको छु । अपितु अचेल पनि जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ । जब दिल घबराउँछ, कसैको अपहरण गर्ने रहर पलाएर आउँछ ।

प्रकाशित: आश्विन १४, २०७६