‘मेरो जीवन सकिएको छैन’
एसिड आक्रमणपीडित मुस्कान खातुनको अठोट
सबेरै ५ बजे उठिन्, नुहाइन्, नमाज पढिन्, खाजा खाइन्, ड्रेस लगाइन् र झोला भिरेर घरबाट निस्किन् ।
वीरगन्ज छपकैया-२ की मुस्कान खातुनलाई स्कुल पुग्न हतार थियो, २० भदौमा । तर आधी बाटोमै उनको यात्रा रोकियो । स्कुल होइन, अस्पताल पुगिन् । कीर्तिपुरस्थित बर्न मोडल अस्पतालमा ४२ रात बिताइसकिन् । चिकित्सक भन्दै छन्, अझ एक-डेढ महिना अस्पतालमै बस्नुपर्छ ।
२९ असोजमा शैय्याबाट मुस्कानले नेपालसँग भनिन्, "तर मलाई जति छिटो स्कुल जान मन छ ।"
१४ वर्षकी मुस्कान ९ कक्षामा अध्ययनरत छिन् । नामजस्तै हरदम मुस्कुराउँथिन् तर अहिले खुलेर हाँस्न सक्दिनन्, अचाक्ली पीडा हुन्छ । अनुहारको दायाँ भाग पूरै डढेको छ, दुवै हातको हालत उस्तै । फूलजस्तै कोमल मुस्कानको शरीरमा एसिड जो प्रहार भयो ।
उनले एसिडको नाम सुनेकी थिइन् तर यसले आफ्नै जीवन बर्बाद पार्ने अहँ ! कल्पनै थिएन । मान्छेलाई हानिन्छ भन्ने पनि हेक्का थिएन । न उनको कुनै गल्ती, न त दुर्घटना । तर यत्तिका दिन असीमित शारीरिक दुखाइ र मानसिक छटपटी । अझ कत्ति बाँकी छ !
एसिड प्रहारको त्यो आततायी क्षण सम्झँदा मुस्कानका आँखामा आँसु होइन, आक्रोश भरिन्छ ।
स्कुल पुग्न केही मिनेट बाँकी थियो, अलि अघि र पछि साथीहरू थिए, बीचमा मुस्कान एक्लै थिइन् । बाटो छेउ उनलाई ढुकिरहेका रहेछन्, सम्साद आलम । मुस्कानलाई मन पराउँछु भन्दै जिस्काएर दुःख दिने माजिद मियाका लंगौटिया थिए, सम्साद । त्यसैले उनलाई देख्नासाथ मुस्कानको ढुकढुकी हल्का बढ्यो, तैपनि नदेखेझैँ फटाफट हिँडिरहिन् । सम्सादले जिस्काउँदै सोधे, 'कता हिँडेकी ?' यसो हेरिन्, एउटा हातमा ढुंगा थियो, अर्को हातमा सिसाको जग ।
डर बढ्यो तर नडराए जसरी जवाफ दिइन्, 'ड्रेस देखेनौँ, स्कुल जान लाग्या नि ।' त्यसपछि सम्सादले 'लाउ पानी खाऊ' भन्दै जग थमाउन खोजे, मुस्कानले मानिनन् । चार पाइला अगाडि बढिसकेकी थिइन् । सम्सादले बोलाए, 'मुस्कान यता हेर त ।' उनी ठ्याक्क पछाडि फर्किन्, सम्सादले जगको तरल पदार्थ उनको अनुहारमा फालिहाले । त्यही बेला माजिदलाई पनि त्यहीँ देखिन् । उनी छेवैमा लुकेर बसेका रहेछन् ।
सम्सादले भनेजस्तो जगमा पानी नभई एसिड थियो । मुस्कानको उपचारमा दिनरात खटिरहेका बुबा रसुल अन्सारीका अनुसार एसिड खुवाएर र ढुंगाले हान्ने योजनामा थिए, सम्साद र माजिद । खान नमानेपछि माजिदकै इसारामा सम्सादले अनुहारमा हुत्याइदिए ।
भाग्यवश ! त्यसरी जग आफूतिर ताक्दा डराउँदै मुस्कानले दुई हातले अनुहार छोपिन्, त्यसैले एसिडले उनको अनुहार पूरै जलेन, आँखा पनि बच्यो, अनुहारको दायाँ भागदेखि छातीसम्म जल्यो । तर त्यतिबेला मुस्कानलाई एसिड हो भन्ने लागेन, भकभक उमालेको पानीजस्तो लाग्यो । किनभने एसिडले सुरुमै जलाइहाल्दैन, बिस्तारै जल्दै र दुखाइ बढ्दै जान्छ । एसिड हान्नासाथ उनीहरू भागिहाले, वरपर अरू मान्छे जम्मा भए, मुस्कानले बुबाको फोन नम्बर दिइन्, त्यसपछि बेहोस भइन् ।
होस आउँदा अस्पतालमा थिइन् । जलेका हात देखिन्, आँखामा आँसुका धारा बगिरहे, बुबाआमा सहनाज खातुन अन्सारीसँगै रोइरहेका थिए । सहनाजका अनुसार कैयौँ रात मुस्कान निदाउनै सकिनन्, रातभर रोइरहन्थिन्, दुखाइले चिच्याउँथिन्, बेडमा थाम्नै धौ-धौ पथ्र्यो । पेनकिलरले 'किल' गर्न नसकेको पीडा ! मानसिक रूपमा उस्तै विक्षिप्त । मुस्कान सुनाउँछिन्, "नमरे पनि मेरो जीवन सक्कियोजस्तो लाग्थ्यो, बाँच्नु बेकार ठान्थेँ । जे सम्झ्यो, त्यही अन्धकार लाग्थ्यो ।"
रुवाइमै बितिरहेका थिए दिनहरू । एक सातापछि फेरि एसिड हानेझैँ भयो, जब बाथरुमको ऐनामा आफ्नो अनुहार देखिन् । आधी जलेको अनुहार देख्दा आफैँसँग तर्सिन्, ऐना फुटेझैँ लागेछ । अनुहार नै यस्तो क्षतिविक्षत, किन बाँच्नु ! यस्तै-यस्तै सम्झँदै डाँको छाडेर रुन थालिन् ।
बल्ल-तल्ल आमाले बाथरुमबाट बेडसम्म ल्याइन्, मुस्कानले देखिन्, बुबा पनि रुँदै रहेछन् । नमीठो लाग्यो । बेडमा उत्तानो परेर माथितिर हेरिन्, सोचाइ शून्यमा झरिरहेको थियो, दुखाइबाट सकेसम्म उम्कन खोज्दै थिइन् । स्कुलमा पढेका कुरा सम्झिन् । सबै याद छ, गणितका सूत्रदेखि अंगेजीका व्याकरणसम्म । शिक्षक र साथीहरू आँखामा झल्झली नाचे ।
उनको मानसपटलमा एउटा जादूयी सोचाइ जन्मियो, 'मेरो अनुहारको आवरण पो जल्यो, दिमाग त जस्ताको तस्तै छ । मेरो जीवन सकिएको छैन । मज्जाले पढ्न सक्छु ।' मुस्कानले मुस्काराउँदै भनिन्, "त्यसपछि मैले कहिल्यै नरुने प्रण गरेँ, बुबाआमालाई पनि सम्झाएँ । आजकल पनि अति दुख्छ तर आँसु झार्दिनँ । बरु अहिले जति दुखेको छ, त्यो सबै बिर्सने गरी पछि पढ्छु भनेर आत्मबल बढाउँछु ।" मुस्कानले यसो भनिरहँदा छेवैका आमाबुबाको मुहारमा मुस्कान नाच्यो । सहनाजले सुनाइन्, "आजकल म पनि रुन छोड्या छु ।"
मुस्कानलाई लाग्छ, त्यो प्रण उनका लागि दोस्रो जन्म हो ।
मुस्कानको शैय्या नजिकै औषधी मात्र छैनन्, किताबहरू पनि छन् । पाकिस्तानमा तालिवानको आक्रमणमा परेकी मलाला युसुफको आत्मकथा आई एम मलाला, झमक घिमिरेको जीवन काँडा कि फूल, हेनरी केल्लरको द स्टोरी अफ माई लाइफ आदि-इत्यादि । चिकित्सकले उपहार दिएको आई एम मलालाले उनलाई औषधीकै काम गर्यो । जति पनि पुस्तक पढ्दै जान्छिन्, आत्मबल चुलिँदै जान्छ ।निश्चिन्त हुन्छिन्, बेडबाट उठेर मैले पुराना-नयाँ सपना पूरा गर्छु र गर्नुपर्छ । उनलाई जीवनप्रति प्रेम जगाउने अरू कारण पनि छन् ।
उनलाई पहिले लागेको थियो, एसिडपीडित पहिलो केटी मै हुँ । तर केही दिनअघि सीमा बस्नेत, जेनी खड्का र संगीता मगर अस्पताल पुगे, जो उनीजस्तै एसिडबाट डढेका थिए । शरीर जले पनि उनीहरूको मन जलेको थिएन, साहस मरेको थिएन । उनीहरूले मुस्कानलाई आफ्नो भोगाइ सुनाए, आँट र अठोट साटे, जीवनप्रतिको मोह पोखे, मुस्कानको मन थप हल्का भयो ।
मुस्कानलाई अमिताभ बच्चन, शाहरुख खान, बरुण धवन, कृति सानोनजस्ता बलिउड स्टारले भिडियो सन्देश पठाए । राजेश हमाल, पारस खड्का, सञ्चिता लुइँटेल, नीति शाह, शृंखला खतिवडालगायतका सेलिबि्रटीले भेटेर उनमा मुस्कान थपे । उनलाई मन पर्ने गायक राजु लामाले बेडमा सँगै बसेर गीत गाए । दैनिक कैयौँ अपरिचित अनुहारहरू स्वास्थ्यलाभको कामना गर्दै अस्पताल पुग्छन् । मुस्कानले मधुर स्वरमा भनिन्, "शरीर दुःखे पनि संसार मेरो साथमा छ । यो पनि उपचारजस्तै हुने रहेछ ।"
डेढ महिना पढाइ छुटिसक्यो, अझ त्यति नै समय स्कुल जान सक्दिनन् । ९ कक्षाको फाइनल परीक्षा दिन मुस्किल छ । छोरीलाई प्रेसर नहोस् भनेरै आमाको चाह छ, यो वर्ष 'ग्याप' गर्ने, अर्को वर्ष पढ्ने । आमाको यो कुरा उनलाई मन परेनछ । हामीतिर फर्केर भनिन्, "होइन, अर्को वर्ष त एसईई दिने हो । ९ कक्षा यही साल पास गर्छु ।"
योजना पनि सुनाइहालिन्, बिस्तारै दिमाग एकाग्र हुँदै छ, त्यसैले अब अस्पतालमै पढ्न थाल्ने, डिस्चार्ज भएर घर गएपछि अझ बढी पढ्ने, अरू साथीहरूसँगै परीक्षा दिने । जब स्कुल र पढाइको कुरा हुन्थ्यो, उनका आँखा उज्यालिन्थे । काटिएको कानको दुखाइ झेल्दै भए पनि मुस्कुराउन खोज्थिन् । लाग्थ्यो, उनको भौतिक शरीर मात्र शैय्यामा लमतन्न छ, मन त स्कुलमा साथीसँगै पढ्दै र खेल्दै छ ।
मेधावी मुस्कानको जीवनको लक्ष्य थियो, डाक्टर बन्ने । यो घटनाले लक्ष्य, जिम्मेवारी थपेको छ, डाक्टर त बन्ने नै, समाजसेवा पनि गर्ने, हिंसापीडितलाई सक्षम बनाउने अभियान चलाउने । दृढतासाथ भनिन्, "यति त गर्छु-गर्छु ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...