बुद्धस्थलबाट देखियो रोमाञ्चक हिमाल

  • फोटो फिचर

- मनोज पौडेल

२६ सय वर्षअघि ज्ञानको खोजीमा भिक्षु भेषमा राजकुमार सिद्धार्थ राजगृह पुगे । त्यहाँ भिक्षा माग्दै हिँडे तर उनलाई राजकुमार भनेर कसैले चिन्न सकेनन् । नगरमा प्रतिभावान भिक्षुको आगमन भएको छ भनेर मगध नरेश बिम्बिसारको कानसम्म पुग्यो । खबर सुन्नासाथ रथमा चढेर भिक्षु भएको ठाउँ पुगे । सादर बन्दना गरे । तिमी को हौ, कहाँबाट आएका हौ भनेर प्रश्न गरे । म शाक्य राज्यबाट शान्तिको खोजीमा हिँडेको व्यक्ति हुँ । म त्यहाँबाट आएको हुँ, जहाँ सेताम्य मनोरम हिमाल देखिन्छ । हिमालको काखमुनि घर छ । त्यतैबाट बगेर आएको पानी पिउँथ्यौँ ।

जसरी शुभ्र हिमालको व्याख्या राजकुमार सिद्धार्थले राजा बिम्बिसारलाई गरेका थिए, त्यसैगरी गत शुक्रबार तिलौराकोट आसपास गजबले हिमाल देखियो । पंक्तिकारलाई मौसम गजबले सफा लाग्यो । मगध नरेशलाई राजकुमार सिद्धार्थले व्याख्याजस्तै हिमाल देखिएको जानकारी लुम्बिनीबाट पर्यटन उद्यमी लीलामणि शर्माले फोनमा भने । त्यसपछि पंक्तिकार ७५-१५० र १५०-६०० एमएमका लेन्ससहित क्यामेरा लिएर बिहान ७ नबज्दै निस्कियो । घरबाट तिलौराकोट पुग्दा गजबका हिमालको दृश्यले लोभ्यायो, जुन यसअघि देखिएकै थिएन । फोटो कहाँबाट खिच्ने मनमनै योजना बुनेँ । परतिर आँखाअगाडि गजबले उभिएको हिमाल देखेँ । २४ हजार नहरनिरबाट कोण राम्रै भेटियो । तल एक धार्मिक रंगीचंगी झन्डा देखेँ । त्यसलाई पृष्ठभूमि बनाएँ । माथि हिमालको फोटो खिचेँ ।

हिमालमा बिहानको सूर्योदयको किरण परेको थियो । सेताम्य हिमाल राताम्य देखिए । अद्वितीय तस्बिर लिइयो । त्यसपछि राजकुमार सिद्धार्थलाई ज्ञानको खोजी गर्न अनुमा नदीसम्म छाडेर फर्केर आउँदा घोडा कन्थक मरेको ठाउँ तिलौराकोटसँगैको पूर्वमा अवस्थित कन्थक स्तुपबाट हिमालको तस्बिर लिएँ । हिमालको तल मान्छेको दैनिकी देखिने गरी उतारेँ । पुरातात्त्विक स्थल रहेको बोर्डलाई पनि लिएर प्रमाणसहित क्यामेरामा कैद गरेँ, जसले पछि तिलौराकोटबाट पनि हिमाल देखिन्छ भन्ने प्रमाण होस् । तस्बिर क्यामेरामा लिइरहँदा मन प्रफुल्लित हुँदै गयो । त्यसपछि राजा शुद्धोधनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको ठाउँ तिलौराकोटभित्रैबाट तस्बिर लिन मन लाग्यो । ठूल्ठूला रूख हुँदा मध्यभागबाट देखिएन । पूर्वी द्वारबाट सिद्धार्थ ज्ञान प्राप्त गर्न दरबार छाडेर निस्केका थिए । त्यहाँबाट थोरै देखियो । मैले पूर्वी द्वारसमेत देखिने गरी हिमालको फोटो खिचेँ । यसपछि बाहिरिएँ, सदरमुकाम बजारतिरबाट फोटो खिच्न । मुख्य बजार क्षेत्र नयाँ टोलको ४ तले घरमाथि चढेर बजारका घरसहित हिमशृंखलाका तस्बिर लिएँ । हिमाल थोरै देखिए पनि गजबको फोटो आयो । त्यसपछि अझ राम्रो फोटो खिच्ने हुटहुटी चल्यो । बजारदेखि पर अर्को बुद्धस्थल निग्रोधाराम पुगेँ, जहाँ सिद्धार्थले ज्ञान प्राप्त गरेपछि राजधानी कपिलवस्तुमा आमाबाबुसँग पहिलोपल्ट भेटघाट गरेका थिए । त्यहाँबाट पनि प्रसिद्ध तौलेश्वरनाथ मन्दिरलाई पृष्ठभूमि बनाएर बजारसहित तस्बिर लिएँ । बिहानको १० बजिसकेको थियो तर क्यामेराको टि्रगरलाई विश्राम दिन मन मानेन । मोटरसाइकलमा हुइँकिएर मानव निर्मित नेपालकै ठूलो ताल जगदीशपुर पुगेँ । तालबाट पनि हिमालको सानो टुक्राको फोटो कैद गरेँ । पृष्ठभूमि पानी र डुंगा सयरलाई बनाएँ । तालको फोटोले फेवातालको स्मरण गरायो । तराईबाटै हिमाल हेर्दै डुंगा सयरको रोमाञ्चक अनुभूति गर्न पाएको दृश्य पनि लिइयो ।

वर्षौपछि मनमोहक मौसम बनेको थियो । सायद यस्तो दृश्य कहिल्यै देखिएको थिएन, नगरबासी भन्दै थिए । त्यही भएर शुभ्र हिमाल हेर्नेको भीड थियो । नगरबासीले घरका छतछतबाट हिमालको दर्शन गरे । धेरैका मोबाइलले हिमालका फोटो खिचे । फेसबुक वाल हिमालमय भए । दशकयता क्यामेरा चलाउन थालेदेखि यस्तो मौसम पंक्तिकारले पनि पाएको थियो । त्यही भएर हिमालका तस्बिर मनभरि लिएँ । यहाँबाट देखिएका हिमालको नाम यही हो भन्न सक्ने कोही भएन । तर अन्नपूर्ण र धवलागिरि हिमशृंखलामध्ये एक भएको धेरैले अनुमान गरे । अढाई दशकअघि हिमाल राम्ररी देखिन्थ्यो । तर वातावरणीय प्रदूषण, जलवायु परिवर्तनलगायत कारणले आजभोलि हिमाल देखिन छाडेको थियो ।

तस्बिरहरु हेर्नुहोस् :

प्रकाशित: कार्तिक ७, २०७६