चुनौती र अवसरबीच क्रिकेटका नयाँ कप्तान

  • क्रिकेट

- पवन आचार्य

सन् २०१२ मा अस्ट्रेलियन दूतावासले भिसा दिएको भए ज्ञानेन्द्र मल्ल पत्नी संगीता महर्जनसँगै उतै भासिने योजनामा थिए । तर नेपाली क्रिकेटको सौभाग्य विकेटकिपर, ओपनिङ ब्याट्सम्यान, दायाँ र बायाँ दुवै हातले स्पीन गर्न सक्ने बलरसमेत रहेका ज्ञानेन्द्र नेपाली टिममा अझै छन् । एक दशकसम्म उपकप्तानको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रको १३ कात्तिकमा कप्तानमा बढुवा भएको छ । पूर्वकप्तान पारस खड्काले क्यानमाथिको निलम्बन फुकुवा भएको २४ घन्टा नबित्दै पदबाट राजीनामा दिएका थिए । त्यसपछि बसेको क्यानको बोर्ड बैठकले पदाधिकारीलाई नयाँ कप्तान छान्ने जिम्मेवारी दिएको एक सातामा ज्ञानेन्द्रलाई कप्तान चुनिएको हो ।

नेवार समुदायको किजा पूजा अर्थात् भाइटीकामा व्यस्त ज्ञानेन्द्रलाई क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले अर्को निर्णय नभएसम्म र कम्तीमा १३ औँ सागसम्मका लागि कप्तान नियुक्त गरिएको जानकारी दिँदा उनी एकछिन अवाक् भए । हुन पनि तिहारको उपहारझैँ क्यानले उनलाई कप्तानको जिम्मेवारी सुम्पेको थियो । यसअघि पारस खड्काको अनुपस्थितिमा कैयौँ पटक नेपाली क्रिकेट टोलीलाई नेतृत्व प्रदान गरेका ज्ञानेन्द्रलाई अब पारस लिगेसीलाई निरन्तरता दिनुपर्ने दबाब आइपरेको छ ।

जीवनमा कहिल्यै नेपाली टोलीको कप्तान बन्ने सपना नदेखेका ज्ञानेन्द्रको काँधमा यतिबेला संक्रमणकालबाट गुजि्रएको नेपाली क्रिकेटलाई हाँक्ने चुनौती र अवसर दुवै छ । "जीवनमा क्रिकेटर बन्छु भन्नेसमेत थिएन । विश्वकप पनि खेलियो । कप्तान बन्छु भन्ने त सोचेकै थिइनँ," उनी भन्छन्, "पारस टिममा भइन्जेल अर्थोक केही सोच्नै पर्दैनथ्यो । ऊ मेरा लागि सधैँ कप्तान नै हो । नेपाली टिमलाई नेतृत्व प्रदान गर्न पाउँदा गौरवको अनुभूति भएको छ ।"

साढे ३ वर्षसम्म निलम्बनमा परेको नेपाली क्रिकेट अहिले फुकुवा भए पनि संक्रमणकाल सकिएको छैन । वान डे हैसियत अझै ३ वर्षका लागि छ ।

अन्तर्राष्ट्रिय सहभागिता राम्रै भए पनि घरेलु क्रिकेटको संरचनासमेत राम्ररी कोरिएको छैन । यस्तोमा नेपाली क्रिकेटको स्वर्ण युगलाई प्रतिनिधित्व गर्ने कप्तान पारसको उपलब्धिलाई निरन्तरता दिनु चानचुने कुरा होइन । ज्ञानेन्द्र स्वयंलाई पनि यो थाहा छ । भन्छन्, "एउटा व्यक्तिले गर्दैमा केही हुने होइन । क्यानमा नयाँ नेतृत्व आएको छ । नयाँ टिमसँग नयाँ सोचका साथ काम गर्ने योजना छ । नेपाली क्रिकेटलाई यहाँभन्दा माथिल्लो स्तरमा लैजान सानोतिनो मिहिनेत मात्रै पर्याप्त छैन ।"

ज्ञानेन्द्र मल्ल हाल नेपाली टोलीमा भएका क्रिकेटरमध्येका बहुमुखी प्रतिभा हुन् । छोटो र लामो दुवै फम्र्याटको क्रिकेट खेल्ने क्षमता राख्छन्, उनी । उनको सबैभन्दा बलियो पक्ष टेक्निक हो । स्ट्रेट र कभर ड्राइभ मात्रै हैन, उनी रन बिटविन द विकेटका लागि पनि चर्चित छन् । ज्ञानेन्द्र मल्ल एक तर्फबाट टिमको इनिङ्स नै बिल्ड गर्न सक्छन् । क्रिजमा हुँदा उनी नयाँ खेलाडीका लागि भरोसाको केन्द्रसमेत बनिदिन्छन् । टिमलाई आवश्यक पर्दा उनी फिल्डर, विकेटकिपर, स्पीन बलर जे पनि भइदिन सक्छन् । त्यसैले पनि हुन सक्छ, राष्ट्रिय टोलीमा डेब्यु गरेयता उनी फालिएका छैनन् ।

सन् २००६ मा नामिबियामा चारदिवसीय क्रिकेट खेल्दा अन्तिम दिन कप्तान विनोद दासले ज्ञानेन्द्रलाई दायाँ र बायाँ दुवै हातले बलिङ गर्न लगाएका थिए । उनको त्यो अद्भुत कला देखेर पाकिस्तानी पूर्वक्रिकेटर इकवाल सिकन्दर पनि प्रभावित भए । ज्ञानेन्द्र त्यो क्षणलाई अझै भुल्दैनन्, "त्यो बेलासम्म मलाई आफूसँग यस्तो प्रतिभा रहेछ भन्ने थाहा थिएन । त्यसपछि झन् हौसला मिल्यो ।" हुन पनि त्यतिबेला उनले तीन बल दायाँ हातले फाले । पछिल्लो तीन बल बायाँ हातले फाल्छु भन्दै अम्पायरलाई कल गरेपछि अम्पायरसमेत अलमलिए । छक्क पर्ने पालो अर्को एन्डमा रहेका ब्याट्सम्यानको थियो ।

ज्ञानेन्द्रको औपचारिक क्रिकेट सन् २००५ बाट सुरु भयो । क्यानले एसीसी यू-१५ का लागि ३३ जनालाई बन्दसत्रमा बोलाउँदा ज्ञानेन्द्र पनि थिए । पछि शशीकेशरी टोलीको कप्तान र ज्ञानेन्द्र उपकप्तान भए । त्यो टोलीले संयुक्त अरब इमिरेट्समा उपाधि नै जित्यो । यही वर्ष ज्ञानेन्द्र सम्मिलित टोलीले एसीसी यू-१९ को उपाधि जित्यो । ज्ञानेन्द्र एकै वर्ष तीन फरक उमेर समूह र राष्ट्रिय टोलीबाट खेल्ने एक्ला खेलाडी हुन् ।

सन् २००५ मा मलेसियासँगको तीन दिवसीय खेलका लागि उनलाई सिनियर टोलीमा बोलावट भयो । अभ्यासको दोस्रो खेलमा उनले शतक प्रहार गरे । तर उनले मलेसियासँगको खेलमा डेब्यु गर्न पाएनन् । सन् २००६ मा एसीसी ट्रफी उनको यादगार प्रतियोगिता बन्यो । पहिलो खेलमा कुवेतविरुद्ध ७९ रन हानेका ज्ञानेन्द्रले दोस्रोमा भुटानविरुद्ध ५० रन प्रहार गरे । सो प्रतियोगिताभर उनले तीन अर्धशतक प्रहार गरे र आफूलाई उम्दा क्रिकेटर प्रमाणित गरे ।

एसीसी ट्रफीका लागि क्याम्प चलेका बेला पाकिस्तानमा पाकिस्तान क्रिकेट एकेडेमीसँगको पहिलो खेलमा उनले मात्रै ९ रन मात्रै बनाउन सके । दोस्रो खेलमा प्रशिक्षक रोयुलक डायसले टिकेर खेल्न भनेपछि पूरै ५० ओभर टिकेर अविजित ७९ रन बनाए, ज्ञानेन्द्रले । त्यसपछि ज्ञानेन्द्रलाई टिकेर खेल्न सक्ने खेलाडीका रूपमा समेत हेर्न थालियो ।

तर उनी आफूलाई त्यो मान्न तयार छैनन् । "क्रिकेट टिम गेम हो । यहाँ एउटै खेलाडीले जिताउने वा हराउने भन्ने हुँदैन," उनी थप्छन्, "टिमलाई आवश्यक पर्दा आफूले सकेजति योगदान दिने हो । मेरै वा अरू कसैको भरमा मात्रै नेपाली टिम छैन ।"

पारसको कप्तानीमा रहेको नेपाली टोलीले डिभिजन ५ देखि एकदिवसीय मान्यता पाउँदाका उपकप्तान हुन्, ज्ञानेन्द्र । त्यसैले पनि उनीबाट नेपाली क्रिकेट र समर्थकले धेरै आशा गरेका छन् । नेपालले वान डे मान्यता पाएपछिको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध यिनै ज्ञानेन्द्रले अर्धशतक प्रहार गरेर इतिहास रचेका थिए ।

ज्ञानेन्द्रले सन् २०१७ मा काठमाडौँको त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्यासँगको दुवै खेलमा कप्तानी गरेका थिए । सन् २०१७ मै भएको एसीसी इमर्जिङ टिम कपमा उनले नेपालको कप्तानी सम्हाले । दुई महिनाअघि आईसीसी टी ट्वान्टी एसिया कप छनोटमा पनि पारस घाइते हुँदा ज्ञानेन्द्रले मलेसियाविरुद्ध कप्तानी गरेका थिए ।

ज्ञानेन्द्रले कप्तानी सम्हाल्दा नेपाली क्रिकेटले धेरै उतारचढाव बेहोरिसकेको छ । क्यानमा निर्वाचनपछि नयाँ नेतृत्व आएको छ । राष्ट्रिय टोलीमा पनि धेरै नयाँ अनुहार आइसकेका छन् । सबैभन्दा महत्त्वपूर्ण त, निलम्बनको साढे ३ वर्षमा नेपाली क्रिकेट खुम्चिसकेको छ । त्यसलाई कसरी फैलाउने भन्ने योजना क्यानसँग होला तर मूर्त रूप दिने अभिभारा यिनै ज्ञानेन्द्रको काँधमा छ ।

पूर्वकप्तान पारसले क्यानले सबैभन्दा योग्य व्यक्ति कप्तान चुनेको भन्दै खुसी व्यक्त गरेका छन् । पारसले सामाजिक सञ्जालमा लेखेका छन्, 'सबैभन्दा योग्य व्यक्ति ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको कप्तान नियुक्त भएकामा हार्दिक बधाई छ ।'

उपकप्तान र खेलाडीको रूपमा सफलताको स्वाद चाखेका ज्ञानेन्द्रले कप्तानको रूपमा कत्तिको सफलता हात पार्छन्, हेर्न बाँकी छ । एक महिनाअघि मात्रै छोरीको पिता बनेका ज्ञानेन्द्र सबै खाले अनुभवका लागि तयार छन् । भन्छन्, "घरमा लक्ष्मी भित्रिएकै समय पिताको जिम्मेवारीसँगै नेपाली क्रिकेट टोलीको कमानी पनि सम्हाल्नुपर्ने भएको छ । सबै जिम्मेवारीका लागि मानसिक रूपमा समेत तयार भइसकेँ ।"

प्रकाशित: कार्तिक १९, २०७६